२०८३ बैशाख १३

रविको विशेष सुविधा विवाद, कारागार प्रशासनले सार्वजनिक गर्यो आफ्नो पक्ष

काठमाडौँ, २४ साउन। रूपन्देही कारागार प्रशासनले सहकारी ठगीसम्बन्धी मुद्दामा भैरहवा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री तथा निलम्बित सांसद रवि लामिछानेको सुरक्षालाई विशेष ध्यान दिँदै बसोबास व्यवस्था मिलाइएको स्पष्ट गरेको छ।

कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा लामिछानेलाई विगत चार महिनादेखि थुनुवाका रूपमा राखिएको उल्लेख गर्दै सुरक्षाका कारण छुट्टै कोठामा बसोबासको व्यवस्था गरिएको जानकारी दिइएको छ। विज्ञप्तिमा भनिएको छ कि लामिछानेलाई नियमित रूपमा भेटेर समस्या तथा आवश्यकताको बारेमा सोधपुछ गरिन्छ र देखिएका समस्याहरूको समाधान समेत गरिन्छ।

हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित लामिछानेसम्बन्धी समाचार र तस्बिरप्रति कारागार प्रशासनले आपत्ति जनाएको छ। प्रशासनले समाचारमा प्रयोग गरिएको तस्बिर कारागारभित्रको नभएको र समाचारमा वर्णन गरिएजस्तो अवस्था वास्तविकतामा नरहेको स्पष्ट पारेको छ।

विज्ञप्तिअनुसार, लामिछानेलाई अन्य सामान्य कैदीहरूले पाउने सबै सेवा र सुविधा उपलब्ध गराइएको छ। विभेद नगरी दिइने यी सेवामा बाहिरका व्यक्तिहरूसँग भेटघाट तथा सञ्चार सुविधा प्रयोग गर्न पाउने व्यवस्था पनि छ, तर यो लामिछानेको इच्छामा मात्र निर्भर हुने जनाइएको छ।

कारागार प्रशासनले कारागार संवेदनशील क्षेत्र भएकाले यससम्बन्धी समाचार प्रकाशन र प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तस्बिर वा सामग्री नसमेट्न मिडियासँग अनुरोध गरेको छ। प्रशासनका अनुसार यस्ता समाचारले अनावश्यक विवाद र गलत बुझाइ उत्पन्न गर्न सक्ने भएकाले यथार्थमा आधारित सूचनामात्र सार्वजनिक गर्नुपर्ने आवश्यकता छ।

यस स्पष्टीकरणमार्फत कारागार कार्यालयले लामिछानेको बसोबास र सुरक्षाबारे फैलिएको हल्ला र भ्रमलाई अन्त्य गर्दै यथार्थ अवस्था जनसमक्ष ल्याएको बताइएको छ।