काठमाडौं, २५ साउन । गत असार २३ गते रसुवा जिल्लामा आएको अविरल वर्षा र बाढी–पहिरोबाट भएको क्षतिको प्रारम्भिक बीमा दाबी रकम रु. ९८ करोड ५९ लाख ८२ हजार पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। यही साउन २२ गतेसम्ममा कुल ७८ वटा बीमा दाबी दर्ता भएका छन्।
प्राधिकरणका अनुसार दाबीमध्ये सम्पत्ति बीमा सबैभन्दा बढी रहेको छ भने सामुद्रिक बीमा ९, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा ५, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ वटा रहेका छन्। बीमा कम्पनीवार हेर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्समा रु. ५५ करोड, शिखर इन्स्योरेन्समा रु. १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्योरेन्समा रु. ८ करोड ७३ लाख र सानिमा जिआइसीमा रु. ६ करोड ८४ लाख ८२ हजार बराबरको दाबी परेको छ।
त्यस्तै, नेको इन्स्योरेन्समा रु. ५ करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु. २ करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा रु. ९१ लाख, आइजीआई प्रुडेन्सियलमा रु. ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्समा रु. ४७ लाख, सिद्धार्थ प्रिमियरमा रु. ३१ लाख र प्रभु इन्स्योरेन्समा रु. २८ लाख बराबरको बीमा दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ।
लेहेन्दे खोलामा आएको भीषण बाढीका कारण नेपाल–चीन सीमास्थित मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरिएका सवारी साधन बगाएको थियो। साथै, रसुवागढी जलविद्युत् आयोजना लगायतका संरचनामा पनि व्यापक क्षति पुगेको थियो।
प्राधिकरणले बीमा कम्पनीहरूलाई क्षतिग्रस्त ग्राहकको दाबी प्रक्रियालाई छिटो टुंग्याउन र आवश्यक प्राविधिक मूल्याङ्कन सकेर भुक्तानी प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ। यस घटनालाई नेपालका पहाडी क्षेत्रमा बाढीजन्य जोखिम व्यवस्थापन र बीमा संरक्षणको आवश्यकता अझ स्पष्ट बनाउने उदाहरणका रूपमा लिइएको छ।




