२०८३ बैशाख १३

मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षा: इलाम १४६ मिमी, कँहा कति पर्यो पानि ?

काठमाडौँ, २९ साउन। पछिल्लो २४ घण्टामा मनसुन थप सक्रिय बनेसँगै देशका धेरै स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार साँझसम्म सबैभन्दा बढी वर्षा इलामको कन्याममा १४६ मिलिमिटर रेकर्ड गरिएको छ । त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर, अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर र उदयपुरको गाईघाटमा ११४.४ मिलिमिटर वर्षा भएको छ ।

कास्कीमा १२४ मिलिमिटर र सिन्धुपाल्चोकको गोब्रेमा १०८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यस्तै, नौवटा मापन केन्द्रमा ८० देखि १०० मिलिमिटर बीचको वर्षा र ५० भन्दा बढी केन्द्रमा ५०–६० मिलिमिटर वर्षा मापन भएको छ । यी सबै भारी वर्षाको श्रेणीमा पर्ने विभागको भनाइ छ ।

विभागका अनुसार पछिल्ला तीन दिनयता मनसुन पुनः सक्रिय भई बुधबार देशभर बदली र वर्षा भएको हो । दार्चुला, डोटी, जुम्ला, बाजुरा, जाजरकोट, रुकुम, पर्वत, सुर्खेत, गुल्मी, रुपन्देही, नुवाकोट, मकवानपुर, दोलखा, बारा, काठमाडौंका विभिन्न स्थान, ओखलढुङ्गा, सङ्खुवासभा, धनकुटा, धनुषा, उदयपुर र झापा लगायतका जिल्लामा वर्षा भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले मनसुन अझै सक्रिय रहेको बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा दक्षिणतिर रहेकाले आगामी २४ घण्टा पश्चिम नेपालतर्फ मनसुन बढी सक्रिय रहनेछ ।

हाल देशभर पूर्ण बदली रहँदा कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा समेत वर्षा जारी छ । विभागले संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।