२०८३ बैशाख १३

युवाको आँसु रोक्न भाषण होइन, रोजगारी चाहिन्छ: धनराज गुरुङ

स्याङ्जा । पुर्व मन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गफ र भाषणले मात्रै युवा पलायन नरोकिने बताएका छन् ।
श्री कालिका पुस्तकालयको आयोजनामा भिरकोट नगरपालिका ७ मा आयोजना भएको जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता एवम् दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले देशमा विकास नहुदा युवा विदेश पलायन हुनुपरेको प्रसङ्ग जोड्दै नेताको भाषणले मात्रै युवा पलायन नरोकिने ठोकुवा गरे ।

देश समृद्धि बनाउन एक नेताले अर्को नेतालाई गाली गरेर मात्र नहुने उनको भनाइ थियो । उनले भने: माइक पाउना साथ एक नेताले अर्को नेतालाई गाली गर्ने प्रवृत्ति बढेको छ । यसले गर्दा देश विकासमा पनि अबरोध गरेको छ ।

देशलाई समृद्धि बनाउन सके मात्रै युवा पलायन रोकिने भन्दै देशले जडिबुटी, पर्यटन, कृषि क्षेत्र लगायतमा जोड दिन सके मात्र युवा पलायन रोकिने उनको धारणा थियो । उनले भने: बुबा, आमा, भर्खर बिहे गरेकी श्रीमती छोडेर रुदै विदेशीने रहर कसैलाई हुँदैन, युवालाई भाषण भन्दा पनि रोजगारीको खाचो छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री गुरुङले सिद्धार्थ राजमार्गको स्तरउन्नति गर्ने तयारीको काम अन्तिम अन्तिम चरणमा पुगेको समेत बताए । उनले भने: सिद्धार्थ राजमार्ग डेडिकेटेट डबल लेनमा स्तर उन्नति गर्ने प्रक्रिया छिट्टै सुरु हुन्छ । यसको काम द्रुत गतिमा अगाडि बढेको छ।

स्याङ्जाका ग्रामीण भेगमा रहेका जोखिमयुक्त सडकलाई जोखिममुक्त बनाउने अभियान निरन्तर चलिरहेको बताउदै उनले विकास एउटा ब्यक्तिले मात्रै गर्न नसक्ने बताए ।

सबै राजनैतिक दल,नेता,नागरिक,सरकार सबै मिलेर देशको विकास गर्ने हो,त्यसैले विकास यो नेताले उ नेताले गरेको हुँदैन, उनको भनाइ थियो ।