काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वसाधारणलाई ‘प्री–आईपीओ’ नाम दिई सेयर खरिदका लागि गरिएको भ्रामक प्रस्तावमा नफस्न आग्रह गरेको छ। सोमबार जारी सूचनामार्फत बोर्डले हाल सामाजिक सञ्जाल, इमेल, छोटकरी सन्देश (एसएमएस) तथा विभिन्न सञ्चार माध्यममार्फत केही कम्पनीहरूले प्रलोभन देखाउँदै सर्वसाधारणलाई सेयर बिक्री गर्न खोजिरहेको उल्लेख गर्दै त्यस्तो क्रियाकलाप कानुन विपरीत रहेको स्पष्ट पारेको हो।
बोर्डले सूचनामा भनिएको छ, “सार्वजनिक निष्काशन नभएका कुनै पनि कम्पनीले प्री–आईपीओ नाम दिई सेयर बिक्री गर्ने गतिविधि हाल प्रचलित कानुन विपरीत रहेको छ। त्यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई धितोपत्र ऐन, २०६३ अनुसार कानुनी कारबाही हुनेछ।” बोर्डले लगानीकर्ताहरूलाई सजग रहन आह्वान गर्दै अवैधानिक प्रस्तावमा फसे आर्थिक क्षति व्यहोर्नुपर्ने जोखिम औंल्याएको छ।
धितोपत्र बोर्डले हालसम्म कुनै पनि कम्पनीलाई प्री–आईपीओ नाममा सेयर बिक्री गर्न स्वीकृति नदिएको स्पष्ट गरेको छ। नियामक निकायको हैसियतले बोर्डले स्मरण गराएको छ कि सार्वजनिक निष्काशन प्रक्रिया पूरा नगरी कुनै पनि कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न पाउँदैन। यस प्रावधानलाई तोड्ने व्यक्तिहरू कानुनी दायरामा पर्ने चेतावनी पनि दिइएको छ।
हालका दिनमा प्री–आईपीओ को नाममा सर्वसाधारणलाई प्रलोभनमा पार्ने गतिविधि बढ्दै गएको भन्दै बोर्डले विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ। त्यस्ता प्रस्ताव वा सन्देश प्राप्त भएमा तत्काल नजिकको प्रहरी निकाय वा धितोपत्र बोर्डमा उजुरी दिन आग्रह गरिएको छ।
यसअघि पनि बोर्डले सेयर बजारमा हुने ठगी, अफवाहपूर्ण गतिविधि र अवैधानिक कारोबार नियन्त्रणका लागि सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको थियो। यसपटक फेरि स्पष्ट पारिएको छ कि प्री–आईपीओ नाममा सेयर बिक्री कानुन विपरीत छ र यसमा संलग्नलाई कडा कारबाही हुनेछ।




