काठमाडौँ । हरितालिका तीज पर्वको अवसरमा आज विहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको घुइँचो छ ।
दर्शनार्थीलाई सहज होस् भनि पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरेको छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनका लागि दर्शनार्थीलाई सहज होस् भन्ने हेतु कोषले उत्तम प्रबन्ध मिलाएको छ ।
दर्शनका लाईन बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने व्यवस्था कोषले गरेको छ । आज करिब तीन हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा मेला व्यवस्थापनका लागि खटाइएको छ ।
पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको छ ।




