२०८३ बैशाख १३

राज्य व्यवस्था समितिको सभापतिमा निर्वाचित न्यौपानेले लिइन् शपथ

काठमाडौं । राज्य व्यवस्था तथा शासन समितिको सभापति कांग्रेस सांसद इश्वरी न्यौपाने निर्वाचित भएकी छन् ।

एकल उम्मेदवारी परेको न्यौपानेलाई बुधबार राज्य व्यवस्था समितिको बैठकले निर्वाचित गरेपछि उनले सभामुख देवराज घिमिरेसँग शपथ समेत लिएकी छन् ।

दलीय भागबन्डा अनुसार कांग्रेसको भागमा पारो हुनाले राज्य व्यवस्था समितिको सभापतिको लाग अन्य दलले उम्मेदवारी दिएका थिएनन् । न्यौपानेको प्रस्तावकमा कांग्रेसका सांसद रामहरी खतिवडा रहेका थिए भने समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए ।

यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले आज निर्वाचन भएको हो ।