काठमाडौँ । जर्मनीको प्रसिद्ध बहुराष्ट्रिय निर्माण उपकरण निर्माता विटगन ग्रुपको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा प्राईम एसोसिएट्स प्रालि नियुक्त भएको छ ।
सम्झौतापत्रमा विटगन ग्रुपको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रमेश पालागिरी र प्राईम एसोसिएट्स प्रालिको तर्फबाट कार्यकारी निर्देशक दिपक आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौतासगै अब ठूला निर्माण परियोजनामा आवश्यक प्रविधियुक्त मेसिन र उपकरणहरु नेपाली बजारमा सहजै उपलब्ध हुने छ । प्राईम एसोसिएट्सका अनुसार यो सहकार्यले नेपालका ठूला सडक तथा पूर्वाधार परियोजनामा गुणस्तरीय काम गर्न सहज हुने छ ।
प्राईम एसोसिएट्सका कार्यकारी निर्देशक आचार्यका अनुसार, नेपालमा विगत लामो समयदेखि गुणस्तरीय मेसिनरीको अभावका कारण ठूला निर्माण परियोजना ढिलो हुने समस्या आइरहेको थियो। उनले भने:, “अब नेपालमै अत्याधुनिक प्रविधियुक्त उपकरण सहज रूपमा उपलब्ध हुने भएकाले निर्माण क्षेत्रको स्तर नै माथि उठ्नेछ।” उनले भने:, “अब नेपालमै जर्मन प्रविधि पाइने भएकाले निर्माण क्षेत्रमै नयाँ युग सुरु हुनेछ।”

विश्वस्तरिय ब्रान्ड अब नेपालमै
विश्वभर निर्माण उपकरणमा अग्रणी विटगन ग्रुप अन्तर्गत Wirtgen, Vogele, Hamm र Kleemann जस्ता ब्रान्डहरू पर्दछन् । यी ब्रान्डका मेसिनहरू विश्वका ठूला सडक, विमानस्थल, तथा पूर्वाधार निर्माणमा प्रयोग हुँदै आएका छन् । अब त्यही प्रविधि नेपाली ठेकेदार, इन्जिनियर र परियोजनाका हातमा पुग्नेछ ।
लामो प्रतीक्षापछिको उपलब्धि
नेपालमा गुणस्तरीय मेसिन नहुँदा कतिपय परियोजना आधा-अधुरो बन्ने वा ढिलाइ हुने समस्या बारम्बार देखिँदै आएको थियो । तर अबदेखि सरकारी निकायदेखि निजी निर्माण कम्पनीसम्मले प्रोजेक्टमा विश्वस्तरिय मेसिन प्रयोग गर्न पाउनेछन् ।
केवल मेसिन मात्र होइन, सेवा पनि
प्राईम एसोसिएट्स प्रालिले उपकरण मात्र नभई प्राविधिक सहयोग, मर्मत-सम्भार र स्पेयर पार्ट्स सेवा पनि उपलब्ध गराउने जनाएको छ । यसले नेपाली इन्जिनियर र प्राविधिकलाई नयाँ प्रविधि सिक्ने अवसर समेत दिलाउनेछ।
विगतदेखि आजसम्म
सन् १९६१ मा सुरु भएको विटगन ग्रुपले आज १२० भन्दा बढी देशमा आफ्नो उपस्थिति जमाइसकेको छ। नेपालमा यसको आधिकारिक प्रवेशलाई निर्माण क्षेत्रका विज्ञहरूले “गेम चेंजर” का रूपमा व्याख्या गरेका छन् ।





