२०८३ बैशाख १३

निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर छ: गृहमन्त्री लेखक

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले सरकार निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् ।

शुक्रबार निर्माण व्यवसायी संघ कञ्चनपुरको २८औँ साधारणसभा एंव १५औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले सरकार र निर्माण व्यवसायको क्षेत्र मिलेर विकास निर्माणमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

गृहमन्त्री लेखकले भने- ‘सरकारी निकायको पनि पूर्ण रुपले क्षमता वृद्धि भएको छैन । सरकारी र गैरसरकारी निमार्णसंग सम्बन्धित संस्थाहरुको क्षमता वृद्धि भएमात्रै राष्ट्र निमार्णको आधार तयार गर्न सकिन्छ ।’ समयमा विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाहरुको लागत बढ्दै गएकाले निर्माण व्यवसायीहरुले समयमा गुणस्तरीय काम गर्नुपर्ने बताए । मन्त्री लेखकले भने- ‘निर्माण व्यसायीहरुले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ । निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्छ । कुनै पनि सार्वजनिक काममा अशान्ती हुदैन ।’

उनले मुलुकभर विकास निर्माणका काममा चन्दा अशुली गर्ने, धम्काउने जस्ता गतिविधिहरु सरकारले सहन गर्न नसक्ने बताए । पछिल्लो समय निर्माण व्यवसायको क्षेत्रमा गुणस्तरीय काम हुन नसक्नु र समयमा काम हुन ननसक्ने समस्या देखिएकाले यसको समाधानमा लाग्नुपर्ने बताए । उनले भने- ‘भौतिक पूर्वाधारका काममा गुणस्तरीयता आवश्यक छ, गुणस्तरीय काम हुन सकेन भने राज्यको अर्थको अपबेय हुन्छ नागरिकले ठिक ढंकले सेवा लिन सक्दैन । समयमा काम सम्पन्न नहुँदा आयोजनाको मुल्य बढ्दै गएको छ,अहिले एउटै आयोजनाको दुई सय प्रतिशतसम्म मुल्यअभिवृदि भएको छ ।’

वर्तमान सरकार अर्थतन्त्रलाई लयमा ल्याउने उद्देश्यका साथ काम गरिहेको बताउदै उनले भने- ‘यो सबै कुराको पूर्व सर्त स्थायी सरकार हो त्यसकारण दुई ठुला पार्टी मिलेर स्थायी सरकार बनेको छ । अहिलेको सरकारले नीतिगत र कानूनी सुधारलाई प्राथमिकताका साथ काम गरिरहेको छ ।’

उनले निमार्ण व्यवसायीहरुलाई निर्धक्कसंग विकास निमार्णका काम गर्न समेत आग्रह गरे । उनले वर्तमान सरकारले निर्माण व्यवसायीहरुलाई वर्षौदेखिको तिर्नुपर्ने ३५ अर्ब गत आर्थिक वर्षमा भुक्तानी गरेको जानकारी दिए ।