२०८३ बैशाख २३

रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’ को छायांकन सम्पन्न

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रको २८ औँ दिनमा सकिएको निर्माण टिमले जानकारी दिएको छ ।

फाल्गुन २५ गते छायांकन सुरु भएर काठमाडौं आसपासकै विभिन्न स्थानमा खिचिएको ‘माया भनेकै यस्तो होला’को नियमित छायांकनपछि टुंगिएको फिल्म कोअर्डिनेटर राजन घिमिरेले जानकारी दिए । चलचित्र ‘माया भनेकै यस्तो होला’ मार्फत अभिनेत्री रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।

अभिनयमा नभएर  निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित भएकी रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर आएर चलचित्रमा काम गरिरहेकी हुन् । नेपाली चलचित्र इतिहासमा कुनै पनि स्थापित महिला निर्देशकले बाहिरी ब्यानरको चलचित्र निर्देशन गरेको यो सम्भवतः पहिलो पटक हो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारको जम्बो टोली छ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । यस हिसाबले चलचित्रमा एक साथ चार मिस नेपाल समेटिएका छन् । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण यो चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ ।

यसअघि निर्माण पक्षले चलचित्रको औपचारिक घोषण गर्दा दुईवटा पोस्टर सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दुई पोष्टरमा कलाकारहरूको भावुक र रोमान्टिक अवतार देखाइएको थियो ।

एक पोस्टरमा दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखाइएको थियो । जसमा तीनै अभिनेत्रीहरू रातो रङको पहिरन (लेहेंगा र सारी) मा सजिएका थिए । दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् । अर्को पोस्टरमा अभिनेता दिल एक वृद्ध (कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा समावेश थिए । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरिएको थियो ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ ।  यस चलचित्रमा ध्रुव लम्सालको पटकथा लेखन रहेको छ । १० वर्षपछि लेखनमा फर्किएका उनले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए ।

सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् । निर्माण टोलीले यस चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर देशभरका हलहरूमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

Read More

अरबाज खानको फिल्म ‘राजदार’ मा मनिषा कोइराला अनुबन्ध

काठमाडौँ । नेपाली मूलकी चर्चित अभिनेत्री मनिषा कोइराला नयाँ चलचित्र ‘राजदार’ मा अनुबन्धित भएकी छन् । यो चलचित्र अरबाज खानले निर्माण गर्न लागेका हुन् ।

मनिषाले यसअघि हीरामण्डी सिरिजमार्फत ओटिटी क्षेत्रमा डेब्यु गरेकी थिइन् । उक्त श्रृंखलामा उनको अभिनय निकै प्रशंसित भएको थियो । त्यसपछि उनलाई धेरै प्रस्ताव आए पनि उनले सोचेर मात्र भूमिका छनोट गर्ने निर्णय लिएकी थिइन् ।

रिपोर्ट अनुसार ‘राजदार’ को कथा र भूमिकाले मनिषालाई आकर्षित गरेपछि उनले यो चलचित्र स्वीकार गरेकी हुन् । यसअघि अर्को एक परियोजनामा छलफल भए पनि त्यो अघि बढ्न सकेको थिएन ।

यो चलचित्रको छायांकन यस वर्षको सुरुआतदेखि सुरु भइसकेको छ । मध्यप्रदेशको भोपालमा करिब २५ दिन छायांकन गरिएको थियो भने मुम्बईमा थप १० दिनको छायांकन सम्पन्न भएको छ ।

चलचित्रमा भुवन अरोरा पनि मुख्य भूमिकामा देखिनेछन् । निर्माण कम्पनी अरबाज खान प्रोडक्सन अन्तर्गत यो सातौँ चलचित्रका रूपमा तयार हुँदैछ ।

यसअघि पनि मनिषा र अरबाज एउटै पर्दामा देखिइसकेका छन् । उनीहरू सन् २००५ मा बनेको ताजमहल: एन इटर्नल लभ स्टोरी मा सँगै अभिनय गरेका थिए । अहिले ‘राजदार’ मार्फत उनीहरूको पुनः सहकार्य हुन लागेको हो ।

Read More

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा कोशी प्रदेश र बागमती प्रदेशबीच जनकपुरमा खेल हुदैछ । 

जारी पीएम कपमा कोशी प्रदेशले ६ खेलमा एक अंकसहित पुछारमा रहेको छ र प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै बागमती प्रदेश भने ६ खेलमा ४ अंकसहित आठौँ स्थानमा रहेको छ ।

त्यस्तै आज अर्को खेल मधेश प्रदेश र गण्डकी प्रदेशबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा मधेश प्रदेशको ५ खेलमा ७ अंकसहित पाँचौं स्थानमा छ भने गण्डकी प्रदेशको ६ खेलमा ५ अंकसहित सातौं स्थानमा रहेको छ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

इन्धन संकटले चीनलाई किन असर गरेन ?

काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावका बीचमा धेरै देशहरू ऊर्जा संकटसँग जुधिरहेका छन् भने, चीन विश्वका अन्य देशहरू भन्दा कम प्रभावित देखिएको छ । किनभने चीनले वर्षौंदेखि यस्तो अवस्थाको लागि आफूलाई तयार गरिरहेको छ ।

चीन विश्वको सबैभन्दा ठूलो तेल खरिदकर्ता हो, त्यसैले तेल आपूर्तिमा कुनै पनि अवरोधले सबैभन्दा ठूलो नोक्सान पुर्‍याउनु पर्ने थियो । तर, चीनले पहिले नै ठूलो मात्रामा तेल भण्डारण गरेर आफुलाई यस्तो अवस्थाको लागि तयार गरेका कारण अहिले विश्वभर इन्धन संकट देखिदा चीन तुलनात्मक रुपमा असर विहिन जस्तै देखिएको छ । यसबाहेक, चीन विद्युतीय प्रणालीमा सरेको छ र कोइलाबाट आवश्यक वस्तुहरू पनि उत्पादन गरिरहेको छ । विश्वव्यापी आपूर्ति झट्काको सामना गर्न चीनले बिस्तारै आफ्नो ऊर्जा नीति परिवर्तन गरेको छ । सरकारले प्रमुख क्षेत्रहरूमा लगानी बढाएको छ र औद्योगिक शक्तिलाई राष्ट्रिय सुरक्षाको प्रमुख घटक बनाएको छ ।

साथै, चीनले सौर्य ऊर्जा, वायु ऊर्जा र जलविद्युत जस्ता बिजुलीका अन्य स्रोतहरूमा पनि आफ्नो ऊर्जा उत्पादन द्रुत रूपमा विस्तार गरेको छ । फलस्वरूप, चीनमा पेट्रोल र डिजेलको माग बिस्तारै घट्दै गइरहेको छ । चिनियाँ सरकारले लामो समयदेखि बलियो उद्योग देशको वास्तविक शक्ति भएको विश्वास गर्दै आएको छ । यस दर्शनलाई पछ्याउँदै, यसले आफ्नो कारखाना र उत्पादन क्षमतालाई विदेशी देशहरूमा कम निर्भरता भएको बिन्दुमा बलियो बनाएको छ ।

विशेष गरी, यसले चीनको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरूमा ध्यान केन्द्रित गरेको छ । सरकारले पश्चिमी देशहरूको दबाबमा नझुक्ने सुनिश्चित गर्दै, क्षेत्रहरूलाई बलियो बनाउन प्रत्यक्ष रूपमा निर्देशित गरेको छ । ऊर्जा यस रणनीतिको प्रमुख घटक रहेको छ । केही वर्ष अघिसम्म, चीन पेट्रोल र डिजेल सवारी साधनहरूको लागि सबैभन्दा ठूलो बजार थियो, तर अब यो विद्युतीय सवारी साधनहरूको लागि सबैभन्दा ठूलो बजार बनेको छ । यसको अर्थ त्यहाँ धेरै संख्यामा सवारी साधनहरू अब तेलको सट्टा बिजुलीमा चल्छन्, जसले तेल निर्भरता घटाउछ ।

कोइला प्रयोग गरेर आवश्यक रसायनहरू उत्पादन गर्न सिक्दै

१९९० को दशकमा, जब चीनले धेरै कारखानाहरू निर्माण गरिरहेको थियो, यसले रासायनिक उत्पादनको लागि विदेशी कम्पनीहरूमा भर पर्नुपर्थ्यो । यी प्लास्टिक, रबर, धातुका भागहरू र अन्य धेरै चीजहरू बनाउन प्रयोग गरिने उही रसायनहरू हुन् । तर अब चीनले एउटा प्रविधि विकास गरेको छ जसले यसलाई कोइला प्रयोग गरेर मेथानोल र सिंथेटिक अमोनिया जस्ता धेरै आवश्यक रसायनहरू उत्पादन गर्न अनुमति दिन्छ । यो प्रविधि नयाँ होइन; जर्मनीले दोस्रो विश्वयुद्धको समयमा पनि यसलाई प्रयोग गर्‍यो । अब, यो प्रविधि प्रयोग गरेर, चीनले तेल बिना नै आफ्नो उद्योग चलाउन सक्छ । आज, विश्वको ठूलो हिस्सा रासायनिक आपूर्तिको लागि चीनमा निर्भर छ । उदाहरणका लागि, विश्वको लगभग तीन-चौथाई पलिएस्टर र नायलन चीनमा उत्पादन गरिन्छ ।

भियतनाम र फिलिपिन्सले चीनको सहयोग खोजे

हालै, जब भियतनाम र फिलिपिन्स जस्ता देशहरूले ऊर्जा संकटको सामना गरे, तिनीहरूले चीनको सहयोग खोजे । चीनले पनि ऊर्जा सुरक्षामा दक्षिणपूर्वी एसियाली देशहरूसँग काम गर्न इच्छुकता व्यक्त गर्यो । यो सोच चीनको लागि नयाँ होइन । सन् २००० तिर नै चीनले आफ्नो तेल मलाक्का जलडमरू जस्ता निश्चित समुद्री मार्गहरूमा निर्भर रहेको अवस्थामा यदि त्यहाँ समस्या आएमा आपूर्ति अवरुद्ध हुन सक्ने विश्लेषण गर्दै २००४ मा आपतकालीन तेल भण्डारहरू निर्माण गर्न थाल्यो र अब तिनीहरूलाई निरन्तर विस्तार गरिरहेको छ ।

यद्यपि, चीन पूर्ण रूपमा सुरक्षित छैन । चीन अझै पनि तेल र ग्यासको विश्वको सबैभन्दा ठूलो खरिदकर्ता हो । आज पनि, यसको तेल आवश्यकताको लगभग ७५ प्रतिशत आयात मार्फत पूरा गरिन्छ । चीनले वास्तविक भण्डार खुलासा नगरे पनि, सरकारी तथ्याङ्क अनुसार, २०२५ मा यसको कच्चा तेल आयात ४.४ प्रतिशतले बढेको छ, जबकि खपत ३.६ प्रतिशतले बढेको छ । यद्यपि, पछिल्ला केही वर्षहरूमा, चीनले विद्युतीय सवारी साधन र नवीकरणीय ऊर्जा (जस्तै सौर्य र हावा) मा ठूलो लगानी गरेको छ । यसको प्रभाव अब देखिन थालेको छ । पेट्रोल, डिजेल र प्रशोधित तेलको माग लगातार दुई वर्षदेखि घट्दै गएको छ । विज्ञहरू चीनमा तेल र ग्यासको खपत या त चरम सीमामा पुगेको छ वा स्तरोन्नति गर्न थालेको बताउछन् ।

यसको बावजुद, चीनको तेलको माग पूर्ण रूपमा हराएको छैन । यसको आपूर्ति श्रृंखलालाई बलियो बनाउन पेट्रोकेमिकल उद्योग (प्लास्टिक, रसायन आदि उत्पादन गर्ने क्षेत्र) मा यसको प्रयोग अझै पनि बढिरहेको छ । चीनको रासायनिक उद्योग द्रुत गतिमा बढ्यो किनभने सरकारले यसमा ठूलो लगानी गर्‍यो, सस्तो ऋण प्रदान गर्‍यो र यस क्षेत्रको लागि विश्वविद्यालयहरू तयार पार्‍यो । सी जिनपिङको कार्यकालमा यो गति अझ तीव्र भयो ।

विज्ञहरूले ट्रम्पको नीतिले चीनलाई अझ बढी आत्मनिर्भर बन्न बाध्य बनाएको विश्लेषण गर्दछन् । २०१९ मा, तत्कालीन प्रधानमन्त्री ली केकियाङले भनेका थिए, चीनले समुद्री तेलमा निर्भरता कम गर्न बिजुलीको लागि कोइला र रसायन उत्पादन गर्नुपर्छ । यो कोइलाको प्रयोग घटाउने कुरामा केन्द्रित उसको अघिल्लो नीतिबाट प्रस्थान थियो ।

२०२० मा, कोभिड-१९ र अमेरिकासँग बढ्दो तनावको बीचमा, चीनले नयाँ रणनीति अपनायो । यसले देशको उद्योगले विदेशी देशहरूमा कम निर्भर रहन र आपूर्ति श्रृंखलामा अवरोधको प्रभाव कम होस् भनेर आफ्नो प्रविधि द्रुत रूपमा विकास गर्नुपर्ने बाटो अपनायो । फलस्वरूप, चीनको कोइला-आधारित रासायनिक उद्योग द्रुत गतिमा बढेको छ । २०२० मा, रासायनिक उत्पादनको लागि १५ करोड ५० लाख टन कोइला प्रयोग गरिएको थियो, जुन २०२४ सम्ममा २७ करोड ६० लाख टन पुगेको छ । २०२५ मा, यो थप १५ प्रतिशतले बढेको बताइएको छ, जबकी अमेरिकाको कुल कोइला प्रयोग २३ करोड टन मात्र रहेको छ ।

चीनले कोइला हाल अस्थायी विकल्प हो भनी राख्छ जबसम्म यो नवीकरणीय ऊर्जामा पूर्ण रूपमा निर्भर हुँदैन । यो बिजुलीबाट रसायन उत्पादन गर्न सक्ने प्रविधिहरूमा पनि काम गरिरहेको छ । हाल, चीन यसबाट लाभान्वित भइरहेको छ । उदाहरणका लागि, नाइट्रोजन मलको सन्दर्भमा, चीनले विश्वको उत्पादनको एक तिहाइ उत्पादन गर्छ, जसमध्ये ८० प्रतिशत कोइलाबाट बनाइन्छ । मध्य पूर्वमा युद्ध पछि, युरिया (मलमा मुख्य रसायन) को मूल्य विश्वव्यापी रूपमा ४० प्रतिशतभन्दा बढीले बढेको छ, तर चीनमा, यसको मूल्य विश्वव्यापी मूल्यको आधा भन्दा कम रहन्छ ।

विज्ञहरू यी परिस्थितिहरूले चीनको स्थिति बलियो बनाएको विश्लेषण गर्दछन् । उनीहरू चीनले यसलाई आत्मनिर्भरतातर्फको सही दिशामा एक कदमको रूपमा हेर्नेछ र यो बाटोमा निरन्तर अघि बढ्ने विश्वास गर्दछन् ।

Read More

प्रधानमन्त्री बालेनले आज विभिन्न मुलुकका राजदूतसँग सामुहिक छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज नेपालस्थित विभिन्न मुलुकका राजदूतसँग सामुहिक छलफल गर्दैछन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार बालेनले पहिलो पटक विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्न लागेका हुन् । 

कूटनीतिक क्षेत्रमा प्रधानमन्त्रीले कस्तो परराष्ट्र नीति अवलम्बन गर्छन् भन्ने चर्चा चलिरहेका बेला बालेनले राजदूतहरूलाई सामुहिक छलफलमा बोलाएका हुन् ।  प्रधानमन्त्री बालेन र राजदूतहरूको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालसमेत उपस्थित रहने छ । उनले सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने दाबी गरेका छन् ।

Read More

युद्धविरामपछि इरानमा उत्सव

काठमाडौँ । अमेरिका-इजरायल र इरानबीच दुई साताका लागि युद्धविरामको खबर सार्वजनिक हुनासाथ इरानमा खुशीको माहोल देखिएको छ । राजधानी तेहरानमा हजारौँ नागरिक सडकमा उत्रिएर उत्सव मनाएका छन् ।

बुधबार बिहानैदेखि ठूलो सङ्ख्यामा मानिसहरू सडकमा भेला भएर खुसी साटासाट गरेका छन । उनीहरूले इरानका झण्डा फहराउँदै युद्धविरामप्रति स्वागत जनाएका छन् ।

उत्सवका क्रममा धेरैले हातमा विभिन्न पोस्टर र तस्वीर बोकेका थिए । केहीले इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका तस्वीरसमेत प्रदर्शन गरेका थिए । खामेनीको युद्ध सुरु भएकै पहिलो दिन फेब्रुअरी २८ मा अमेरिका-इजरायलको आक्रमणमा मृत्यु भएको थियो ।

करिब ४० दिनसम्म निरन्तर चलेको तनाव र आक्रमणपछि आएको युद्धविरामको खबरले सर्वसाधारणमा राहत र उत्साह दुवै देखिएको छ ।

Read More

च्याम्पियन्स लिग: क्वाटरफाइनलको पहिलो लिगमा रियलमाथि बायर्नको अग्रता

काठमाडौं ।  युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

रियल म्याड्रिडको घरेलु मैदानमा गएराती भएको क्वाटरफाइनलको पहिलो लिगमा बायर्न म्युनिखले २-१ गोल अन्तरको जित हासिल गरेको हो ।

बायर्न म्युनिखको जितमा लुइस डियाज र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पेले एक गोल फर्काएका थिए ।

पहिलो लिगमा २-१ को अग्रता बनाएसँगै अब दोस्रो लिग अप्रिल १५ मा बायर्नको घरेलु मैदानमा हुने छ ।

Read More

अमेरिका र इरानबीच दुई साताको युद्धविराम, रोकियो युद्ध

काठमाडौँ । अमेरिका र इरानबीच करिब ४० दिनदेखि जारी युद्धपछि अन्ततः दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र त्यहाँका सेना प्रमुखको आग्रहपछि यस्तो निर्णय गरिएको बताएका छन् । युद्धविरामअघि उनले इरानलाई कडा चेतावनी दिँदै होर्मुज जलडमरूबाट जहाजको सुरक्षित आवागमन नभए गम्भीर परिणाम भोग्नुपर्ने बताएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको मध्यस्थता र अन्तिम समयमा चीनको पहलपछि यो सहमति सम्भव भएको हो । पाकिस्तानले अघि सारेको दुई साताको युद्धविराम प्रस्ताव इरानले स्वीकार गरेको जनाइएको छ ।

सम्झौताअनुसार अमेरिका र उसका सहयोगी इजरायलले आक्रमण रोक्नेछन् भने इरानले पनि आफ्ना सैन्य गतिविधि स्थगित गर्नेछ । यस अवधिमा होर्मुज जलडमरू हुँदै तेल, ग्यास तथा अन्य जहाजको सुरक्षित आवागमन इरानी सेनाको सहयोगमा सुनिश्चित गरिनेछ ।

यो युद्धविराम लेबनान लगायतका क्षेत्रमा पनि लागू हुने बताइएको छ । साथै, आगामी अप्रिल १० मा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच औपचारिक वार्ता सुरु हुने तय भएको छ ।

युद्धविराम घोषणा भएको करिब दुई घण्टापछि इरानका सर्वोच्च नेताले सबै सैन्य इकाइलाई तत्काल गोलीबारी रोक्न निर्देशन दिएका छन् । सरकारी सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा सबै सुरक्षा निकायलाई आदेश कडाइका साथ पालना गर्न भनिएको छ ।

यद्यपि, इरानले यो युद्धको पूर्ण अन्त्य नभई अस्थायी व्यवस्था मात्र भएको स्पष्ट पारेको छ ।

उता, अमेरिकी पक्षले पनि इरानविरुद्धका आफ्ना सबै आक्रामक सैन्य कारबाही रोकिएको जनाएको छ । तर सुरक्षा र प्रतिरक्षासम्बन्धी गतिविधि भने जारी रहने बताइएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि युद्धविरामको पुष्टि गर्दै पाकिस्तानको भूमिकाको प्रशंसा गरेका छन् । उनले आक्रमण रोकिएमा इरानले पनि आफ्नो प्रतिरक्षात्मक कदम स्थगित गर्ने बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अप्रिल १० मा इस्लामाबादमा दुवै पक्षलाई आमनेसामने वार्ताका लागि निमन्त्रणा गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार उक्त वार्ताको उद्देश्य दीर्घकालीन समाधान खोज्नु हो । पाकिस्तानले यस पहलबाट क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

Read More

राष्ट्रिय सभाको बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आजपनि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१-८२ को बार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Read More

मुम्बईमाथि राजस्थान रोयल्सको शानदार जित

काठमाडौं । राजस्थान रोयल्सले जारी आइपिएल अन्तर्गतको खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गरेको हो ।

बर्षाका काराण ११-११ ओभरमा खेलाइएको खेलमा राजस्थानले दिएको १५१ रनको लक्ष्य पछाएको मुम्बईले ११ ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । मुम्बईका लागि नमन धिर र शेरफान रुथरफोर्डले २५-२५ रन बनाएका थिए भने तिलक बर्माले १४ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर रवि विश्नोई, सन्दीप शर्मा र नान्द्रे बर्गरले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनाएको थियो । राजस्थानका लागि यशस्वी जैसवालले सर्बाधिक ७७ रन बनाए भने वैभव सूर्यवंशीले ३९ रन बनाए । त्यस्तै कप्तान रियान परागले २० रन बनाएका थिए ।

यो जितपछि राजस्थान ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने ३ खेलमा २ अंक रहेको छ ।

Read More