२०८३ बैशाख २४

ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

काठमाडौँ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ४८ घण्टाभित्र होर्मुज जलडमरूमध्य खोल्ने अल्टिमेटम अस्वीकार गरेको छ । इरानी सेनाले अमेरिका डराएर धम्की दिइरहेको आरोप लगाएको छ ।

इरानको केन्द्रीय सैन्य मुख्यालय खातम अल अनबिया अन्तर्गतका जनरल अली अब्दोल्लाही अलीअबादीले ट्रम्पको चेतावनीलाई मूर्खतापूर्ण भन्दै पूर्ण रूपमा खारेज गरेका छन् । उनले यस्तो धम्कीले उल्टै ठूलो परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।

यसअघि ट्रम्पले ४८ घण्टाभित्र होर्मुज खोल्न वा सम्झौता गर्न इरानलाई चेतावनी दिएका थिए । उनले समय सकिँदै गएको भन्दै नमाने ऊर्जा संरचनामा आक्रमण गर्ने बताएका थिए । यस विषयमा ट्रम्पले पटक-पटक अल्टिमेटम दिँदा क्षेत्रीय तनाव झन् बढ्दै गएको छ।

यसबीच इजराइलले इरानको ऊर्जा संरचनामा आक्रमण गर्ने तयारी गरिरहेको बताइएको छ । उक्त योजनाका लागि अमेरिकाको स्वीकृतिको प्रतीक्षा भइरहेको जनाइएको छ ।

रिपोर्टअनुसार इजराइली सैन्य अधिकारीहरूले आगामी चरणमा ऊर्जा क्षेत्रलाई लक्षित गर्ने बताएका छन् । योजनामा विद्युत् गृह, ऊर्जा उत्पादन केन्द्र र वितरण सञ्जालमा आक्रमण गर्ने तयारी रहेको छ ।

शनिबार साँझ इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भिडियो सन्देश जारी गर्दै आक्रमणको दायरा विस्तार गरिएको जानकारी दिएका छन् । उनका अनुसार अब सामान्य पूर्वाधारसमेत निशानामा परेको छ, जसमा स्टील उद्योगजस्ता क्षेत्र पनि समावेश छन् ।

इजराइलले हालसम्म इरानको करिब ७० प्रतिशत स्टील उद्योग ध्वस्त पारिएको दाबी गरेको छ । ती उद्योगमा उत्पादन भएको स्टील हतियार निर्माणमा प्रयोग भइरहेको उसको भनाइ छ ।

Read More

राशफोर्ड र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिकोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्कश राशफोर्ड र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि गिउलिआनो सिमेओनले एक गोल गरेका थिए ।

यस खेलमा एटलेटिको म्याड्रिडका निकोलस गोन्जालेजले खेलको पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाउदा १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता बढाएको छ । बार्सिलोनाको ३० खेलमा ७६ अंक भएको छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा स्पष्ट ७ अंकले अगाडी भएको छ । त्यस्तै एटलेटिको म्याड्रिडको ३० खेलमा ५७ अंक रहेको छ र लिगमा चौथो स्थानमा छ ।

Read More

कालिन्चोक हाइड्रोको आइपिओ सर्वसाधारणका लागि खुला

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्ड बाट पाएको थियो । जसमध्ये केही हिस्सा प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड भइसकेको छ ।

अब ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन चैत २५ गतेसम्म खुल्ला रहने छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आवेदन सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर प्रणाली तथा सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ ।

२०१६ मा स्थापना भएको र पछि २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कालिञ्चोक हाइड्रोपावर लिमिटेडले नेपालको दोलखा जिल्लामा ५ मेगावाटको रन-अफ-रिभर साङ्गु (सोरुण) खोला जलविद्युत परियोजना विकास गरिरहेको छ । यो परियोजना बूट (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मोडेल अन्तर्गत कार्यान्वयन भइरहेको छ ।

Read More

रियल म्याड्रिड मल्लोर्कासँग स्तब्ध

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड माल्लोर्कासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा मल्लोर्काले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

मल्लोर्काको जितमा मानु मोर्लानेस र भेडाट मुरिकीले एक एक गोल गरेका थिए । त्यस्तै एडर मिलिटाओले एक गोल गरेका थिए ।

यो हारपछि रियल म्याड्रिडको ३० खेलमा ६९ अंक रहेको छ । त्यस्तै जितपछि मल्लोर्काको ३० खेलमा ३१ अंक भएको छ र १७औं स्थानमा उक्लिएको छ ।

Read More

गुजरातमाथि राजस्थान रोयल्सको ६ रनको रोमाञ्चक जित

काठमाडौँ । राजस्थान रोयल्सले जारी आइपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको २११ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको थियो ।

गुजरातका लागि साई सुदर्शनले सर्बाधिक ७३ रन बनाएका थिए भने जोस बटलरले २६, राशिद खानले २४ रन बनाएका थिए ।त्यस्तै राजस्थानका लागि रवि विश्नोईले ४ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले सर्बाधिक ७५ रन बनाएका थिए भने यशस्वी जैसवालले ५५ र वैभव सूर्यवंशीले ३१ रन बनाएका थिए । यो जितपछि राजस्थान रोयल्सको २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातले भने लगातार दोस्रो हार बेहोरेको छ ।

Read More

प्यूठानमा आगलागी हुदा दुई दर्जन घर गोठ जलेर नष्ट

काठमाडौँ । प्यूठानको ऐरावती गाउँपालिका-१ को छेडाघाटमा आगलागी हुँदा २४ घर र गोठ जलेर नष्ट भएका छन् । 

गएराती भएको आगलागीमा ९३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । स्थानीय धन बहादुर रानाले घर गोठ र २४ बाख्रा र केहि गाइगोरु जलेको बताएका छन् । आगलागीपछि स्थानीय, प्रहरी सशस्त्र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए ।

Read More

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाई हुदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ पेश गरिसकेकाले आज सुनुवाइ हुने भएको हो । 

भदौ २३ र २४ गतेको आन्दोलनको जाँचबुझ समितिको सिफारिसका आधारमा ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

यसअघि सर्वोच्चमा दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेका थिए ।

Read More

नव निर्वाचित सभामुख अर्यालले आज पद तथा गोपनियताको शपथ लिदै

काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज पद तथा गोपनियताको शपथ लिदैछन् ।

नव निर्वाचित सभामुख अर्यालले आज दिउँसो २: ३० बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थले सूचना जारी गर्दै सभामुखको शपथ कार्यक्रममा उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु र संसद सचिवालयका सचिवहरुलाई आग्रह समेत गरेका छन् । शुक्रबार सभामुखको मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए । 

आज प्रतिनिधि सभाको बैठकबाट अर्याल निर्वाचित भएको प्रक्रिया पुरा गरेपछि शपथको कार्यक्रम हुने तयारी गरिएको छ । 

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भई रहेको ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।  देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई मेघगर्जन/चट्याङ्ग/ सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।  मधेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भाग, कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।  मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Read More

२०८२ चैत २२ गते आइतबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत २२ गते आइतबार ईस २०२६ अप्रिल ५ नेपाल सम्बत ११४६ चौलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल तृतीया, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, बज्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुनै महत्त्वपूर्ण काम सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रतीक्षित इच्छा र आकाङ्क्षाको परिपूर्ति हुने समय छ । कर्मक्षेत्रमा गरिएको मिहिनेत र लगनशीलताका कारण विभिन्न अवसरले पछ्याउने तथा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देशरपरदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । प्रतीक्षित इच्छा र आकाङ्क्षाको परिपूर्ति हुने समय छ । कर्मक्षेत्रमा गरिएको मिहिनेत र लगनशीलताका कारण विभिन्न अवसरले पछ्याउने तथा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निणर्य लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिने समय छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहाररविहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन । जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठीक हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन, घरपरिवारको खुसीका लागि बित्दो काम भए पनि समय निकाल्नु बुद्धिमानी हुनेछ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन हो, भावना र इच्छाहरूको कदर हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूणर्ता पाउने समय हो । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । झैझगडा र मुद्दामामिलाभन्दा एक कदमपछाडि हटेको जाती हुन्छ । तर आज त्यस्तो ज्ञान प्राप्त हुने दिन हो, जसले भविष्यमा राम्रो काम गर्नसक्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कठोर र क्रूर निणर्य लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुने समय हो, तर कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्छ, सचेत हुनुपर्छ ।

Read More