२०८३ जेष्ठ १

अमेरिकामा ट्रम्पविरुद्ध ‘नो किङ्स’ प्रदर्शन

काठमाडौँ । पश्चिम एशियामा एक महिनादेखि जारी द्वन्द्व झन् चर्किँदै जाँदा विश्वभर चिन्ता बढेको छ । अमेरिका र इजरायलका कडा आक्रमणबीच इरानले पनि इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य आधारहरूमा शक्तिशाली प्रतिकार गरिरहेको छ । क्षेप्यास्त्र र मानवरहित विमानको आक्रमणबीच यो द्वन्द्व ३०औँ दिनमा प्रवेश गरेको छ भने समग्र क्षेत्रमा तनाव अझै उच्च अवस्थामा रहेको छ ।

यसैबीच अमेरिकाभर शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसम्बन्धी युद्ध नीतिको विरोधमा ‘नो किङ्स’ नामक प्रदर्शन भएको छ । उक्त प्रदर्शनमा लाखौं मानिस सहभागी भएका छन् । प्रदर्शनकारीहरूले सरकारी नीति, बढ्दो महँगी र इरानसँगको युद्धविरुद्ध आवाज उठाएका छन् ।

ठूला सहरदेखि साना सहरसम्म भएका प्रदर्शनमा विभिन्न राजनीतिक धारका नागरिक सहभागी भएका थिए । उनीहरूले नाराबाजी, प्लेकार्ड प्रदर्शन तथा गीत-संगीत र नृत्यमार्फत विरोध जनाएका थिए । न्युयोर्क सहरमा मानिसहरू मिडटाउन म्यानहटनबाट मार्च गर्दै आप्रवासन नीति, ट्रम्प प्रशासन र इरान द्वन्द्वविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै सान फ्रान्सिस्कोमा पनि मानिसहरू एक स्थानबाट अर्को स्थानतर्फ मार्च गर्दै विभिन्न सामाजिक अभियानका समर्थनमा ब्यानर प्रदर्शन गरेका थिए ।

यसै क्रममा मिनेसोटा राज्यको सेन्ट पल सहरमा ठूलो प्रदर्शन भएको छ । कार्यक्रममा चर्चित गायक ब्रुस स्प्रिङ्स्टिनले प्रस्तुति दिएका थिए । उनले मिनेसोटालाई देशकै लागि प्रेरणादायी स्थान भएको बताए । साथै आप्रवासन कारबाहीका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली पनि अर्पण गरिएको थियो । मिनेसोटाका गभर्नर टिम वाल्जले संघीय आप्रवासन नीतिको कडा आलोचना गर्दै स्थानीय नागरिकको साहस र एकताको प्रशंसा गरेका छन् ।

अमेरिकामा भइरहेको ‘नो किङ्स’ प्रदर्शनको यो तेस्रो चरण हो । यसअघि पनि यस्ता ठूला प्रदर्शन भएका थिए, जसमा लाखौं मानिस सहभागी भएका थिए । महँगी, इन्धन मूल्य वृद्धि र आर्थिक सुस्तता जस्ता कारणले पनि जनआक्रोश बढेको बताइएको छ ।

यद्यपि फ्लोरिडा राज्यको वेस्ट पाम बीच क्षेत्रमा प्रदर्शनकारी र ट्रम्प समर्थकबीच सामान्य भनाभन भएको थियो। तर समग्रमा प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र नागरिकहरूले सरकारको नीति तथा आर्थिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

Read More

३६ घण्टापछि खुल्यो बीपी राजमार्ग

काठमाडौँ । शुक्रबार साँझ ६ बजेबाट अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अवरुद्ध भएको करिब ३६ घण्टापछि आइतबार बिहान ६ बजेबाट राजमार्गमा यातायात दुईतर्फी सञ्चालन गरिएको हो । 

सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बाढी र पहिरोले अवरुद्ध भएको राजमार्ग खुलाइएको हो । मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

Read More

थप ३५ सय अमेरिकी सैनिक मध्यपूर्व पुगे

काठमाडौँ । अमेरिकाले इरानमा केही सातासम्म चल्न सक्ने स्थल सैनिक कारबाहीको तयारीमा रहेको जनाएको छ ।

समाचारअनुसार यो कारबाही ठूलो स्तरको नहुने, विशेष फौजद्वारा छापा मार्ने र सामान्य स्थल सैनिकको सीमित कार्यमा केन्द्रित हुन सक्ने बताइएको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयको योजनालाई पूर्ण रूपमा स्वीकृति दिने वा नदिने विषय अझै स्पष्ट छैन ।

यसैबीच अमेरिकी केन्द्रीय कमान्डका अनुसार करिब ३५ सय अतिरिक्त सैनिक मध्यपूर्व क्षेत्रमा पुगिसकेका छन् । ती सैनिक ट्रिपोली नामक युद्धपोतमार्फत पठाइएका हुन् ।

उनीहरू ३१औँ मरीन अभियान एकाइ अन्तर्गतका सैनिक र नाविक हुन्, जो २७ मार्चमा उक्त क्षेत्रमा पुगेका छन् । उनीहरूसँगै यातायात तथा लडाकु विमान पनि परिचालन गरिएको छ ।

यससँगै अमेरिकी सेना ८२औँ हवाई आक्रमण डिभिजनबाट थप हजारौं सैनिक पठाउने तयारीमा रहेको पनि जनाइएको छ ।

यसबीच अमेरिका र इजरायलले पछिल्ला केही घण्टामा इरानका विभिन्न सहरमा आक्रमण गरेका छन् । आजको सबैभन्दा ठूलो आक्रमण करिब एक करोड लिटर क्षमताको पानी आपूर्ति केन्द्रमा गरिएको बताइएको छ, जुन सर्वसाधारणका लागि अत्यन्त महत्वपूर्ण संरचना थियो ।

यसअघि पनि नागरिक संरचनामा आक्रमण भएका भए पनि यस्तो महत्वपूर्ण पानी सेवामाथि भएको आक्रमणलाई निकै गम्भीर रूपमा हेरिएको छ ।

पछिल्लो २४ घण्टामा राजधानी तेहरानमा पनि तीव्र बमबारी भएको छ । रातिको समयमा दुई वटा विश्वविद्यालयमा अमेरिकी र इजरायली विमानले आक्रमण गरेका छन् ।

यसपछि इरानको इस्लामिक क्रान्तिकारी गार्डले कडा चेतावनी दिएको छ । उसले समान ढंगले जवाफ दिने र क्षेत्रमा अमेरिका सम्बन्धित विश्वविद्यालयलाई लक्ष्य बनाउन सक्ने जनाएको छ ।

Read More

इन्डोनेसियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक

काठमाडौँ । बालबालिकाको डिजिटल सुरक्षालाई प्राथमिकता दिँदै इन्डोनेसियाले कडा नियम लागू गरेको छ । शनिबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई धेरै डिजिटल माध्यम प्रयोग गर्न रोक लगाइएको छ ।

यससँगै इन्डोनेसिया यस्तो कडा निर्णय लिने दक्षिण-पूर्वी एसियाको पहिलो देश बनेको छ । सञ्चार तथा डिजिटल मामिला मन्त्री मेउत्या हफीदका अनुसार बालबालिकामाथि दुरुपयोग वा हानिकारक सामग्रीको जोखिम बढी हुने माध्यमहरूमा यो प्रतिबन्ध लागू गरिएको हो ।

सरकारले अपरिचित व्यक्तिसँग सजिलै सम्पर्क हुन सक्ने उच्च जोखिमका माध्यमहरूमा रोक लगाएको जनाएको छ। यसअन्तर्गत भिडियो तथा सामाजिक सञ्जाल, प्रत्यक्ष प्रसारण तथा छोटो सन्देश आदान-प्रदान हुने माध्यमहरू समेटिएका छन् । साथै, अनलाइन खेलसमेत यस नियमको दायरामा परेका छन् ।

करिब २८ करोड जनसंख्या रहेको इन्डोनेसियामा झण्डै ७ करोड बालबालिका यस नियमबाट प्रभावित हुने अनुमान गरिएको छ । सरकारले यसले परिवारलाई बालबालिकामाथि नियन्त्रण राख्न सहयोग पुग्ने विश्वास लिएको छ ।

विशेषज्ञहरूका अनुसार यस्तो कदमले बालबालिकामा बढ्दो चिन्ता र अवसाद घटाउन मद्दत गर्न सक्छ । सरकारका अनुसार ती माध्यमहरूमा हानिकारक सामग्री, अनलाइन दुर्व्यवहार, ठगी, डाटा चोरी र डिजिटल लतजस्ता जोखिम उच्च रहेको छ । यस निर्णयपछि धेरै बालबालिका असन्तुष्ट देखिएका छन्, किनभने उनीहरूको मनोरञ्जनका माध्यम सीमित हुनेछन् । तर अभिभावकहरूले भने यसलाई बालबालिकाको सुरक्षाका लागि आवश्यक कदमका रूपमा समर्थन गरेका छन् ।

प्रतिबन्धपछि प्रविधि कम्पनीहरूले पनि प्रतिक्रिया दिएका छन्। केहीले यो निर्णय सरकारी आवश्यकता भएको बताएका छन् भने केहीले सुरक्षा प्रणाली अझ बलियो बनाउन सहकार्य गर्ने जनाएका छन् ।

यसअघि अस्ट्रेलियाले सन् २०२५ मा यस्तै व्यवस्था लागू गरिसकेको थियो। त्यसैगरी फ्रान्स, स्पेन र बेलायतले पनि यस्ता नियमबारे छलफल गरिरहेका छन् ।

Read More

साफ यू- २० च्याम्सिपयनसिपको सेमिफाइनलको समीकरण पुरा, नेपाल बंगलादेशसँग खेल्ने

काठमाडौँ । माल्दिभ्समा जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएपछि सेमिफाइनलमा नेपालसहित भुटान, बंगलादेश र भारत पुगेका छन् ।

समुह ए बाट ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै समुह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको छ । त्यस्तै भुटानले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक हासिल गरेर उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट श्रीलंका र माल्दिभ्स बाहिरिएका छन् ।

त्यसैगरी समुह बी बाट  २ खेलमा एक जित र एक बराबरीसहित ४ अंक हासिल गर्दै भारत विजेता भएर सेमिफाइनलमा पुगेको छ भने २ खेलमा एक जित र एक बराबरी खेलेको बंगलादेश ४ अंकसहित गोल अन्तरको आधारमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै पाकिस्तानले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

अब सेमिफाइनलमा नेपाल र बंगलादेश तथा भारत र भुटान खेल्ने छन् । सेमिफाइनलका दुवै खेल आगामी बुधबार हुने तालिका रहेको छ भने फाइनल खेल शुक्रबार हुने छ ।

Read More

आइपिएलमा आज मुम्बई र कोलकोता आमने सामने

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदैछ । आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

मुम्बई इण्डियन्सको कप्तानी हार्दिक पाण्डेयले गर्दैछन् भने सूर्यकुमार यादव, तिलक बर्मा र रोहित शर्मा जस्ता प्रमुख खेलाडी रहेका छन् । त्यस्तै कोलकोताको कप्तानी आजिख्य रहानेले गर्दैछन् भने रिंकु सिंह उपकप्तान रहेका छन् ।  त्यस्तै कोलकोतामा वरुण चक्रवर्ती, सुनिल नारन, रमणदिप सिंह जस्ता प्रमुख खेलाडी रहेका छन् ।

आइपिएलको इतिहासमा अहिलेसम्म मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा गरि ५ पटक आइपिएलको उपाधि जितेको छ भने कोलकता नाइट राइडर्सले ३ पटक आइपिएल जितेको छ । कोलकोताले २०१२, २०१४ र २०२४ मा उपाधि जितेको थियो ।     

Read More

ओली र लेखकलाई आज अदालतमा पेश गरिदै, अब के हुन्छ ?

काठमाडौँ । पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकलाई आज अदालतमा पेश गरिने भएको छ ।

शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई आज अदालत खुल्नेबित्तिकै जिल्ला अदालत काठमाडौँ पेश गरिने भएको हो । 

अदालतमा प्रहरीको तर्फबाट सरकारी वकिल कार्यालयले ओली र लेखकलाई पक्राउ गर्दा जारी गरेको पक्राउ पुर्जी अनुसारको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । अदालतले अनुमति नदिएमा ओली र लेखक आजै छुट्ने छन् भने अदालतले दिन तोकेर अनुमति दिएमा दुवैको प्रहरी हिरासत बढ्न सक्ने हुनसक्छ । 

कानुनी रुपमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न गराउन यो म्याद २५ दिनसम्म थप्न सकिने व्यवस्था छ । त्यसपछि प्रहरीले उनीहरूलाई मुद्दा चलाउने आधार दिँदै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने र प्रतिवेदन बुझेपछि सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्छ । यस्तै मुद्दा चलाउनुपर्ने भए कुन कसुरमा कुन दफाअनुसार र कति सजायको माग दाबी गर्ने भन्ने निर्णय गर्छ । मुद्दा नचलाउने निर्णय भएमा सदरका लागि उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पठाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

त्यसै अर्कोतर्फ ओली र लेखक पक्ष जिल्ला अदालतले म्याद थप गरे पनि सर्वोच्च अदालतमा  बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्न सक्ने व्यवस्था छ । सर्वोच्चमा रिट दायर गरेर छुट्ने आदेश भएमा पनि उनीहरु छुट्न सक्ने सम्भावना रहन्छ । तर अदालतले रिहा गर्न आदेश दिएपनि यो विषयको अनुसन्धान भने जारी रहने छ ।

Read More

एमालेको आन्दोलन आजपनि, ७७ वटै जिल्ला विरोध पत्र बुझाउदै

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता कार्यकर्ताहरुले आजपनि देशभर प्रदर्शन गर्ने भएका छन् ।

एमाले सचिवालय बैठकको निर्णय अनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने र आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

शनिबार बिहान ओली पक्राउ परेपछि एमाले आन्दोलित भएको छ । शनिबार काठमाडौँको माइतीघर, भृकुटीमण्डपमा प्रदर्शन भएका थिए भने विभिन्न जिल्लामा विरोध प्रदर्शन भएका थिए ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शुक्रबार बालेन नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्यवन गर्ने निर्णय गरेसँगै शनिबार बिहान ओेली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।

Read More

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज पीएम कपमा आज गण्डकी प्रदेश र एपीएफ क्लबबीच तल्लो मुलपानी मैदानमा खेल हुदैछ । त्यस्तै अर्को खेल त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच माथिल्लो मुलपानी मैदानमा खेल हुदैछ ।  

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

सरकारले ६० दिनभित्र भूमिहीन सुकुम्बासीको प्रमाणीकरण सम्पन्न गर्ने

काठमाडौँ । सरकारले ६० दिनभित्र देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लग सङ्कलन तथा प्रमाणीकरण सम्पन्न गर्ने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धि एक सय कार्यसूचीमा देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लग सङ्कलन तथा प्रमाणीकरण ६० दिनभित्र सम्पन्न गर्ने र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या १००० दिनभित्र समाधान गर्न स्थानीय तहको समन्वयमा घर परिवार सर्वेक्षण सञ्चालन गर्ने निर्णय गरेको हो । 

त्यस्तै वास्तविक लाभग्राही पहिचानका लागि स्पष्ट मापदण्ड (कट- अफ मिति, आय स्तर, अन्य सम्पत्ति स्वामित्व ) लागू गर्ने, सार्वजनिक, ऐलानी तथा गुठी जग्गाको अभिलेख अद्यावधिक, नक्साङ्कन तथा जेग्रोफिक इन्फर्मेसन सिस्टममा आधारित डिजिटल डाटाबेस तयार गर्ने, पहिचान भएका वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा उपलब्ध गराउने वा घना शहरी क्षेत्रमा वैकल्पिक रूपमा एकीकृत आवासमार्फत पुनर्वासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

साथै जग्गा वितरण तथा पुनर्वास प्रक्रियालाई पूर्णतः पारदर्शी बनाउन सार्वजनिक ड्यासबोर्ड सञ्चालन गर्ने तथा सम्पूर्ण कार्यक्रमको समन्वय, अनुगमन र कार्यान्वयन सम्बन्धित मन्त्रालयको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने कार्य तत्काल प्रारम्भ गर्ने निर्णय गरेको छ भने नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाउने र अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

त्यस्तै नेपाल बाल सङ्गठनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग ( हरिबाबु आयोग ) को प्रतिवेदन बमोजिम बाल सङ्गठनको जग्गा अतिक्रमण तथा हिनामिनासम्बन्धी अनुसन्धान १५ दिनभित्र सुरु गर्ने निर्णय गरेको छ ।

Read More