२०८३ बैशाख १६

सरकारले कसरी खाली गराउदै छ सुकुम्बासी बस्ति ? यी हुन् ११ बुँदे निर्णय

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रको अव्यवस्थित बस्ती हटाउने विषयमा सरकारले विभिन्न निर्णय गरेको छ ।

शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षमा शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले नदी किनारका सरकारी जग्गामा रहेका घर र टहरा खाली गरेर त्यहाँ बसोबास गरेका नागरिकहरुलाई व्यवस्थापन गर्ने विषयमा विभिन्न निर्णय गरेको हो । 

निर्णयहरु

१. जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको सूचना बमोजिम प्रचार प्रसारका कार्यहरू गर्ने, बस्ती खाली गर्ने सन्दर्भमा माइकिङ गर्दै पूर्वसूचना दिँदै संरचनाहरू भत्काउनु पूर्व नै उक्त स्थानहरू खाली गर्ने तर्फ जोड दिने ।

२. जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको सूचना एवम् माइकिङ बमोजिम २०८३ बैशाख १२ र १३ गते बस्ती संरचनाहरू हटाउने, भत्काउने र खाली गर्ने कार्यका लागि आवश्यक पर्ने मेसिनरी उपकरण तथा अन्य सर सामानका लागि उक्त कार्यालयबाट पत्राचार भए बमोजिमका निकायहरूबाट आवश्यक प्रबन्ध तत्काल गर्ने ।

३. बस्ती खाली गराउने सिलसिलामा माइकिङ गरिसकेपछि सुरक्षित आश्रयस्थलसम्म लैजाने सन्दर्भमा मानवीय मद्दत उपलब्ध गराउँदै सामानको ढुवानी, अशक्त, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध(वृद्धा र दीर्घरोगीहरूलाई प्राथमिकता दिई उद्धार गरी सुरक्षित तवरबाट तोकिएको पहिलो आश्रयस्थलसम्म वा आवश्यकतानुसार अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाउने । यस कार्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक एम्बुलेन्स, मेडिकल टिमसमेतको व्यवस्था गर्ने । सामान ढुवानीका लागि आवश्यक पर्ने सवारी साधन र मानिसहरूलाई सुरक्षित स्थलसम्म लिएर जानका लागि आवश्यक पर्ने सवारी साधनको समेत बन्दोबस्त गृह मन्त्रालयको समन्वयमा गर्ने ।

४. बस्तीहरूबाट मानिसहरूलाई पहिलो आश्रयस्थलमा ‌ओसारपसार गरेपछि उक्त स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने र मेडिकल टिमसहितको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने ।

५. पहिलो आश्रयस्थलबाट तोकिएका विभिन्न स्थलहरूमा लगी अल्पकालीन रूपमा बसोबासको प्रबन्ध मिलाउने । उक्त स्थानमा आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री र पानी लगायतका अत्यावश्यक आपूर्ति व्यवस्थाहरू मिलाउने कार्य शहरी विकास मन्त्रालयले गर्ने  ।

६. यसरी व्यवस्थापन गरिएका बसोबासका क्षेत्रहरूमा प्रत्येक परिवारको भेरिफिकेशन क्याम्प खडा गर्ने र निजहरूलाई फोटो सहितको परिचयपत्र वितरण गर्ने । भेरिफिकेशन हुन नसकेका व्यक्तिहरूलाई क्रमशः उक्त स्थानबाट समेत बिदा गर्दै जाने कार्य शहरी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गर्ने ।

७. बस्ती खाली भइसकेपछि उक्त स्थानहरूको भत्केका संरचनाहरू हटाउने, ट्र्याक खोल्ने र अन्य आवश्यक पूर्वाधार तयारीका कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले तत्काल सुरु गर्ने ।

८. अग्रपङ्क्तिमा रही माइकिङ गर्ने, सूचना दिने, बस्ती खाली गराउने तथा मानवीय सहायताका लागि आवश्यक पर्ने व्यक्तिहरूको पहिचान गर्ने समेतका कार्यहरू काठमाडौं महानगरपालिकाले गर्ने । यस कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध जिल्ला सुरक्षा समितिले मिलाउने ।

९. यी माथिका निर्णयहरू बमोजिमका कार्यहरू गर्न केन्द्रीय समन्वय समितिको रूपमा देहायबमोजिमको समिति गठन गर्ने । उक्त समितिले समन्वय, निर्देशन, आवश्यक नीतिगत निर्णय र साधन स्रोतको व्यवस्थासमेतका विषयलाई तत्काल सम्बोधन गर्ने ।

केन्द्रीय समन्वय समिति: 

१. शहरी विकास मन्त्री संयोजक

२. काठमाडौं महानगरपालिका प्रमुख सदस्य

३. गृह मन्त्रालयका सचिव सदस्य

४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव  सदस्य

५. शहरी विकास मन्त्रालयका सचिव  सदस्य

६. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सदस्य

७. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बन्धित विषय हेर्ने सचिव सदस्य

१०. माथि निर्णय नम्बर ९ बमोजिम गठन भएको केन्द्रीय समन्वय समितिको अधीनमा रही सम्बन्धित मन्त्रालय, निकायहरूबाट आ आफ्ना क्षेत्रगत विषयहरूलाई तत्काल कार्यान्वयनमा लैजान कार्यान्वयन समिति एक्सन टिम बनाई तोकिए बमोजिमका कार्यहरू गर्ने र सोको नियमित रिपोर्टिङको कार्य केन्द्रीय समन्वय समितिलाई गर्ने ।

११. बस्तीहरू खाली गर्ने, सुरक्षाकर्मीहरू परिचालन एवम् आश्रयस्थलहरूमा व्यवस्थापन र पुनर्वाससमेतका कार्यहरू गर्दा प्रत्येक चरणमा क्षेत्र स्तरमा आउनसक्ने सम्भावित समस्याहरू र आवश्यक पर्ने साधन स्रोतको माग जिल्ला प्रशासन कार्यालय, काठमाडौं मार्फत भएको खण्डमा तत्काल सम्बन्धित निकायहरूबाट उपलब्ध गराउने ।

Read More

क्रिकेटर आदिल आलम सडक दुर्घटनामा घाइते

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल आलम बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । 

बाराको बम नहर रोड अन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते अन्सारीको उद्धारमा सहयोग गरेका थिए ।

अन्सारीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो । अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारले जानकारी दिएको छ ।

Read More

सुकुम्बासी तथा भूमिहीनको उचित व्यवस्थापन गर्न लागिएको हो- नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियामा वास्तविक लाभग्राहीलाई न्याय दिलाउन सबैलाई सजग हुन आग्रह गरेको छ।

प्रहरीले नेपाल सरकारले सञ्चालन गरेको सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन प्रक्रिया उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने महत्वपूर्ण पहल भएको जनाएको छ।

प्रहरीले भनेको छ- ‘ नेपाल सरकारले सुरु गरेको सुकुम्वासी / भूमिहीन व्यवस्थापन प्रक्रिया तपाइँहरुकै उज्ज्वल भविष्य सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको महत्वपूर्ण पहल हो । यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी/ भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ ।’

यस प्रक्रियाको मुख्य उद्देश्य वास्तविक सुकुम्बासी तथा भूमिहीनको पहिचान गरी उनीहरूलाई न्यायोचित आवास र अधिकार उपलब्ध गराउनु रहेको प्रहरीले स्पष्ट पारेको छ । तर केही स्वार्थी तथा पहुँचवाला व्यक्तिहरूले वास्तविक सुकुम्बासीको नाम र अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिन खोजिरहेको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ ।

यस्ता गतिविधिका कारण वास्तविक सुकुम्बासी तथा भूमिहीनहरू अवसरबाट वञ्चित हुनुका साथै राज्यबाट प्राप्त हुने सेवा–सुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको जनाएको छ ।

प्रहरीले नक्कली सुकुम्बासी तथा भूमिहीनको पहिचान गर्न र आफ्नो हक मिच्ने व्यक्तिविरुद्ध सचेत रहन आग्रह गरेको छ ।

वास्तविक सुकुम्बासी तथा भूमिहीनहरू एकजुट भएर राज्यले अघि बढाएको व्यवस्थापन कार्यमा सहयोग गर्न, सुरक्षा निकायलाई समयमै सही सूचना दिन तथा सहकार्य गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

प्रहरीका अनुसार नागरिकको सानो सहयोगले वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवाससहितको भविष्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

Read More

कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित गरिएको छ । 

शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाइएपछि तत्कालका लागि संसदीय दलको नेताको निर्वाचन स्थगन गरिएको हो ।

कार्यसम्पादन समिति बैठकबाट शर्माको नेतृत्वमा दुई उपसभापति र दुई महामन्त्री रहेको कार्यदल बनाइएको छ । अब कार्यदलले सर्वसम्मतिको पहल गर्ने र सहमति हुन नसकेपाची निर्वाचनमा जाने निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिएका छन् ।

यसअघि कांग्रेसको आजै संसदीय दलको निर्वाचन गर्ने तयारी गरिएको थियो । जस अनुसार विहिबार नै मतदाता नामावली सार्बजनिक समेत गरिएको थियो ।

Read More

जिल्ला प्रशासन काठमाडौँले भन्यो- आज साँझ ७ बजेभित्र नदी किनारका घरटहरा खालि गर्नु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अवैध रूपमा बसोबास गर्दै आएका घरटहरा वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गर्न निर्देशन दिएको छ।

कार्यालयले सूचना जारी गर्दै वर्षौंदेखि अनधिकृत रूपमा सार्वजनिक आवागमन, शहरी पूर्वाधार निर्माण तथा नदीको बहावमा असर पुग्ने गरी बनाइएका घरटहरामा बसोबास गर्ने, भाडामा बस्ने तथा पसल व्यवसाय सञ्चालन गर्ने सबैलाई तत्काल स्थान खाली गर्न आग्रह गरेको हो।

सूचनाअनुसार आफैं सार्न नसक्ने अवस्थामा महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्न सकिनेछ। सुरक्षाकर्मीले आवश्यक ढुवानीको व्यवस्था मिलाउने जनाइएको छ।

घरटहरामा रहेका निजी सरसामान, लत्ताकपडा तथा घरपालुवा पशुपन्छी सुरक्षित स्थानमा तत्काल सार्न पनि प्रशासनले आग्रह गरेको छ ।

अपाङ्गता भएका व्यक्ति, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा तथा बिरामीलाई प्राथमिकतामा राखेर अन्यत्र सार्नुपर्ने उल्लेख गर्दै यसका लागि सुरक्षाकर्मीको सहयोग लिन सकिने बताइएको छ ।

प्रशासनका अनुसार वैशाख १२ गते बिहान ६ बजेदेखि घरटहरा भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने काम सुरु हुनेछ ।  यस क्रममा कसैले बाधा अवरोध सिर्जना गरेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ । उक्त स्थानबाट हटाइएका व्यक्ति तथा परिवारलाई सरकारले तोकेका आधारभूत न्यूनतम सुविधा भएका बसोबास स्थलमा राखिने प्रशासनले जनाएको छ ।

सुरक्षित बसोबासको व्यवस्था भएपछि सम्बन्धित मन्त्रालय तथा अधिकारप्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीको लगत संकलन र परीक्षण प्रक्रिया तत्काल सुरु गरिनेछ । आगामी १० देखि १५ दिनभित्र पहिचान भएका वास्तविक भूमिहीनलाई उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

सूचनालाई अटेर गरी बसेमा संयुक्त रूपमा हुने कारबाहीबाट भत्काइने संरचना र व्यक्तिगत सम्पत्तिको क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले लिनुपर्ने प्रशासनले स्पष्ट गरेको छ ।

Read More

वुमेन्स च्यालेन्ज ट्रफीमा नेपाल भानुआटूसँग पराजित

काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गतको खेलमा नेपाल भानुआटुसँग पराजित भएको छ ।

शुक्रबार सम्पन्न खेलमा नेपाल भानुआटूसँग २२ रनले पराजित भएको हो ।

भानुआटुले दिएको ९८ रनको लक्ष्य पछाएको नेपाल १५.३ ओभरमा अलआउट हुदै ७५ रन मात्र बनाएको थियो । यसअघि भानुआटुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो । 

यो हारपछि नेपालले ४ खेलमा २ जित र २ खेलमा हार बेहोरेको छ । त्यस्तै यसअघि लगतार तीन खेलमा हार बेहोरेको भानुआटुले पहिलो जित हासिल गरेको छ ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

नेपालले अर्को खेल अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

Read More

मध्यपूर्व नजिक पुग्यो अमेरिकाको अर्को युद्धपोत

काठमाडौँ । अमेरिकाको अर्को युद्धपोत मध्यपूर्व नजिक पुगेको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमका अनुसार अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस जर्ज एचडब्ल्यू बुश मध्यपूर्व क्षेत्र नजिक पुगेर सेन्टकमको जिम्मेवारी क्षेत्रभित्र प्रवेश गरिसकेको छ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको तस्वीरमा निमिट्ज वर्गको यो विशाल विमानवाहक जहाज हिन्द महासागरमा सञ्चालनमा रहेको देखिएको छ।

यो युद्धपोत यसअघि नै क्षेत्रमा रहेका अमेरिकी जहाजहरूसँग मिसिने हो वा तिनको स्थान लिन आएको हो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। केही सञ्चारमाध्यमले यसले पुराना जहाजको स्थान लिन सक्ने अनुमान गरेका छन्।

यसअघि सेन्टकमले अर्को विज्ञप्तिमा विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्डले लाल सागर क्षेत्रमा आफ्नो काम जारी राखेको जनाएको थियो।

उक्त जहाजले अमेरिकी पाँचौं बेडाअन्तर्गत समुद्री सुरक्षामा सहयोग गरिरहेको सेन्टकमले उल्लेख गरेको छ ।

Read More

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब २७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५१ कम्पनिका एक करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, बीमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निजिव बीमा, अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोको शेयर शेयरमामा सकरात्मक सर्किट लागेको छ ।  त्यस्तै आज सबैभन्दा बढी प्राइम डिभेन्चारको शेयर ४.५९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिढी पावरको २७ करोड ३८ लाख र रिलायन्स स्पिनिग मिल्सको २४ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

Read More

काठमाडौंमा सुकुम्बासी व्यवस्थापनका लागि १५ दिने योजना, अवैध संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौंका सुकुम्बासीहरूको दिगो व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको ६ बुँदे सूचनामार्फत आगामी १५ दिनभित्र उचित व्यवस्थापन गर्ने तयारी रहेको जनाएको छ।

सूचनाअनुसार अवैध रूपमा निर्माण गरिएका घर–टहराहरू आज साँझ ७ बजेसम्म खाली गर्न निर्देशन दिइएको छ। प्रशासनले भोली बिहान ६ बजेदेखि ती संरचनाहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गरिने जानकारी दिएको छ।

सूचनामा उल्लेख गरिएअनुसार, “आगामी १० देखि १५ दिनभित्र एकिन भएका वास्तविक भूमिहीन नागरिकहरूका लागि उपयुक्त बसोबासको व्यवस्था गरिने तयारी भइरहेको छ। यस कार्यमा सबैको सहयोग अपेक्षित छ।”

यसका साथै, सूचनालाई बेवास्ता गरी बसिरहेमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिकाको संयुक्त कारबाहीमार्फत संरचना हटाइने चेतावनी दिइएको छ। यस्तो कारबाहीका क्रममा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।

Read More

सुकुम्बासीलाई बल पूर्वक हटाउनु संविधानको आधारभूत मूल्यको उलंघन- एमाले

काठमाडौँ । नेकपा एमालेले सुकुम्बासी बस्तीहरू जबर्जस्ती तथा बलपूर्वक हटाउन लागेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

एमालेले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कदमले नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार, मानवताका आधारभूत मूल्य, सामाजिक न्यायका सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानवअधिकारका आधारभूत मापदण्डहरूको प्रत्यक्ष उल्लंघन गरेको ठहर गरेको उल्लेख गरेको छ ।

एमालेले भनेको छ- ‘गरिब, विपन्न तथा सुकुम्बासी समुदायमाथि गरिएको अमानवीय र असंवेदनशील व्यवहारप्रति हाम्रो पार्टी कडा आपत्तिसहित घोर भर्त्सना प्रकट गर्दछ । सुकुम्बासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग गाँसिएको जटिल विषय भएकाले यसलाई बलपूर्वक हटाउने उपायबाट समाधान गर्न खोज्नु दिगो र न्यायोचित हुन सक्दैन।’

एमालेले बल प्रयोग, राज्यको संस्थागत धम्की तथा संवादविहीन एकपक्षीय निर्णयहरू मानवीय तथा कानुनी दुवै दृष्टिले अनुपयुक्त र आपत्तिजनक रहेको बताएको छ । यसको न्यायोचित र दीर्घकालिन समाधानका लागि राष्ट्रिय भूमि आयोगको गठन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, नापजाँच र जग्गा वितरण प्रक्रिया अगाडि बढाइएको विषय पनि स्मरण गराउदै भनेको छ- ‘जबरजस्ती विस्थापन अन्तिम विकल्प हुनसक्दैन् । प्रभावित व्यक्ति  र परिवारसँग पूर्वपरामर्श, वैकल्पिक आवासको सुनिश्चितता, क्षतिपूर्ति, पुनर्वास तथा पुनस्र्थापना, बालाबलिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका संवेदनशील समुदायको विशेष संरक्षण गर्नु सरकारको प्रथम दायित्वभित्र पर्छ । नेपालको संविधान र कानुनी व्यवस्थाको सम्मान गर्न हामी आह्वान गर्दछौं ।’

Read More