२०८३ बैशाख १८

सुनचाँदीको मुल्य आज कति छ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १६ सयले बढेर तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५१९० मा कारोबार भएको थियो ।

Read More

वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीतिको तयारी गरेको चेतावनी

काठमाडौँ । इरानले अमेरिकासँग वार्ताको सम्भावना भइरहेकै बेला कडा अडान सार्वजनिक गर्दै युद्धक्षेत्रमा नयाँ रणनीति अपनाउने तयारी गरेको जनाएको छ ।

इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत अमेरिकाको दबाबमा वार्ता स्वीकार नगर्ने स्पष्ट पारेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी र युद्धविराम उल्लंघन गर्दै वार्तालाई आत्मसमर्पणको रूपमा प्रस्तुत गर्न खोजेको आरोप लगाए ।

गालिबाफले धम्कीको वातावरणमा कुनै पनि वार्ता स्वीकार्य नहुने उल्लेख गर्दै पछिल्ला दुई हप्तादेखि युद्धक्षेत्रमा नयाँ चाल अपनाउने तयारी भइसकेको बताएका छन् ।

यसअघि अमेरिका–इरानबीचको पहिलो चरणको वार्तामा गालिबाफले इरानी टोलीको नेतृत्व गरेका थिए । दोस्रो चरणको वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबादमा तयारी भइरहेको बताइएको छ ।

तर इरानको परराष्ट्र मन्त्रालयले भने वार्तामा सहभागी हुने बारे अन्तिम निर्णय भइनसकेको जनाए पनि मिडिया रिपोर्टमा वार्ता टोली पठाउने तयारी भएको बताइएको छ । अर्कोतर्फ अमेरिकाले पनि आफ्नो प्रतिनिधिमण्डल पाकिस्तान पठाउने संकेत दिएको छ ।

Read More

निर्माण कार्य गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ४ गतेसम्म राति ७ घण्टा बन्द गरिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ ।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११: ४५ बजेदेखि बिहान ६: ३० बजेसम्म ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सम्पन्न गर्न विमानस्थल बन्द गरिने भएको हो ।

हाल धावनमार्ग छेउको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य भइरहेकाले सुरक्षाका कारण रातिको समयमा पूर्ण रूपमा उडान सञ्चालन रोक्न लागिएको जनाइएको छ । यस अवधिमा यात्रु तथा उडान व्यवस्थापनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विमानस्थल कार्यालयले सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आवश्यकताअनुसार आफ्नो उडान तथा अवतरण तालिका समायोजन गर्न आग्रह गरेको छ ।

Read More

नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन गर्न ३ दिनको समय

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ ।

गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रुपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न बसेको वैठकले अन्तिम पटक तीन दिनको अवधि दिएको हो । 

वैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनीहरु सम्पर्कमा आएको बताउँदै धादिङ तर्फ यातायात सञ्चालन गर्ने कम्पनीहरुले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । यसरी महानगरपालिकाको सूचनालाई अवज्ञा गर्ने कम्पनीहरुलाई ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो । 

वैठकमा यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कुरा गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न निर्देशन दिएकी छन् । 

वैठकमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले, सहरी सुरक्षालाई जनशक्तिबाट भन्दा पनि प्रविधिबाट निगरानी बढाउँदै लैजानु पर्ने बताए । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गुण्डागर्दी विरुद्धको अभियानले अनधिकृत काम गर्नेहरुको संख्यामा कमी आएको बताए । ठमेल क्षेत्रको सामाजिक अवस्थाको कुरा गर्दै थापाले, निषेधित काम गर्ने २० जना विदेशी महिलालाई डिपोट गरिएको जानकारी दिँदै अपराधमाथिको निगरानी  जारी रहेको बताए । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले, सडक संकेत र सडक अनुशासन पालना गराउन महानगरपालिका र ट्राफिक प्रहरीका बिचमा समन्वयात्मक कार्यक्रमलाई बढाउनु पर्ने बताए । 

सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउण्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप, सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनका विषयमा वैठक केन्द्रीत थियो । 

यसमा पनि महानगरपालिकाले जारी गरेका सूचना तथा पटक पटक भएका सहमति तथा निर्णय विपरीत बसपार्क क्षेत्र बाहिरबाट यातायात सेवा सञ्चालन भइरहेकोमा यसको नियन्त्रण र व्यवस्थापनको विषय विश्लेषण भएको थियो । 

प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा ७ सय वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् । काठमाडौँमा सवारी साधन व्यवस्थापनका चुनौतीमध्ये यो प्रमुख समस्या बनेको, शाहको भनाइ छ । 

ल्होत्से वहुउद्देश्यीय प्रा. लि. का मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार नयाँ बसपार्क भित्रबाट अहिले ५७ वटा कम्पनीका सवारी साधन सञ्चालन हुन्छन् । लामो दुरीको एउटा सवारी साधन ९ घण्टा पार्किङ् गरेको ४ सय ५० रुपियाँ शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दुरीका माइक्रो बसको २२० रुपियाँ लिने गरिएको मल्लको भनाइ छ । वसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, वुटबल, स्याङ्जा, दाङ् लगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ । 

नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ । 

Read More

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको राजीनामा

काठमाडौँ । एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले करिब १५ वर्ष नेतृत्व गरेको जिम्मेवारी अब कम्पनीका हार्डवेयर प्रमुख जोन टर्नसलाई सुम्पिने भएका छन् । कुकले आगामी सेप्टेम्बर १ देखि प्रमुख कार्यकारीको जिम्मेवारी टर्नसलाई हस्तान्तरण गर्ने जनाइएको छ । यद्यपि, उनी कम्पनीमै कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन् ।

सन् २०११ मा स्टिभ जब्सपछि नेतृत्व सम्हालेका कुकको कार्यकालमा एप्पलको बजार मूल्य उल्लेख्य रूपमा बढेको थियो । आइफोनको सफलतासँगै कम्पनीले ठूलो आर्थिक प्रगति गरेको मानिन्छ ।

कुकलाई नयाँ भूमिकामा लैजानका लागि हालका गैरकार्यकारी अध्यक्ष आर्थर लेभिन्सनले आफ्नो पद छाड्नेछन् । उनी भने कम्पनीको निर्देशक समितिमा यथावत रहनेछन् ।

कुकले आफ्नो कार्यकाललाई जीवनकै सबैभन्दा ठूलो अवसर भएको उल्लेख गर्दै एप्पलप्रति गहिरो माया र टोलीसँग काम गर्ने अवसरप्रति आभार व्यक्त गरेका छन् ।

Read More

एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ ।

अनुसन्धान जनवरी २०२५ मा सुरु भएको थियो । सुरुमा, एक्सको एल्गोरिदमहरू फ्रान्सेली राजनीतिलाई प्रभाव पार्न प्रयोग गर्न सकिन्छ भन्ने आरोपहरू बाहिर आएको थियो । पछि अनुसन्धानलाई एक्सको एआइ च्याटबोट, ‘ग्रोक’ समावेश गर्न विस्तार गरियो ।

एक्सको एआई च्याटबोटमा महिला र बालबालिकाको आपत्तिजनक तस्बिरहरू सिर्जना गरेको आरोप लगाइएको छ । यस मुद्दामा पूर्व सीईओ लिन्डा याकारिनो र केही कर्मचारीहरूलाई पनि सोधपुछ गरिएको छ । बेलायत र इयुमा पनि अनुसन्धान सुरु भएको छ ।

फ्रान्सले पहिले नै यही मामिलाको सम्बन्धमा मस्कलाई बोलाएको थियो । त्यतिबेला एक्सको कार्यालयहरूमा पनि खोजी गरिएको थियो । यद्यपि, कम्पनीले सबै आरोपहरू अस्वीकार गरेको छ ।

Read More

इरान युद्धपछि ‘सुनामीजस्तै आर्थिक संकट’

काठमाडौँ । इरानमा फेब्रुअरी २८ देखि सुरु भएको युद्धका कारण एशिया–प्रशान्त क्षेत्रका धेरै देश आर्थिक दबाबमा परेका छन् । तेल र ग्यास आपूर्ति अवरुद्ध भएपछि उद्योगधन्दा प्रभावित भएका छन् भने विज्ञहरूले यसलाई ‘सुनामीजस्तै आर्थिक संकट’ को संज्ञा दिएका छन् ।

सुरुमा असर बिस्तारै देखिने अनुमान गरिए पनि वास्तविकतामा धेरै देशको अर्थतन्त्र र जनजीवनमा एक्कासि ठूलो प्रभाव परेको छ । विज्ञहरूका अनुसार यो अवस्था महामारीजस्तै गम्भीर संकटतर्फ उन्मुख हुन सक्ने संकेत देखिएको छ ।

आगामी महिनाहरूमा उडान रद्द हुने, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने, कारखाना बन्द हुने, आपूर्ति ढिलो हुने र बजारमा अभाव देखिने सम्भावना बढेको छ । प्लास्टिक, तयारी खानाका सामग्री, औषधि, सुई, सौन्दर्य सामग्री, सूक्ष्म उपकरण र खेलकुद सामग्रीसमेत प्रभावित हुन सक्ने जनाइएको छ ।

विज्ञहरूका अनुसार मध्यपूर्वमार्गको व्यापार केही हप्ता थप अवरुद्ध भए धेरै देशमा आर्थिक अवस्था बिग्रन सक्ने, अशान्ति फैलन सक्ने र मन्दी आउन सक्ने जोखिम छ । धेरै कम्पनी संकटमा छन् भने सरकारहरू महँगी नियन्त्रणका लागि ऋण लिन बाध्य भइरहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार वर्षअन्त्यसम्म एशियामा लाखौँ मानिस गरिबीमा धकेलिन सक्ने अनुमान छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्व अर्थतन्त्र सुस्त बन्दै गएको छ, किनभने विश्वको करिब २० प्रतिशत तेल आपूर्ति बजारबाट बाहिरिएको छ । यसले एशियाभर आपूर्ति प्रणाली प्रभावित भएको छ ।

एशिया–प्रशान्त क्षेत्र बढी प्रभावित हुनुको कारण यहाँ मध्यपूर्वको ऊर्जा आपूर्तिमा उच्च निर्भरता, परस्पर जोडिएको अर्थतन्त्र र पहिल्यै उच्च माग तथा कम आपूर्ति रहेको अवस्था हो ।

यातायात क्षेत्रमा सबैभन्दा ठूलो असर परेको छ । युद्ध सुरु भएसँगै ट्रक, जहाज र विमान सेवा प्रभावित भएका छन् । मार्च महिनामा विश्वभर ९२ हजारभन्दा बढी उडान रद्द भएका छन्, जसको सबैभन्दा ठूलो प्रभाव यही क्षेत्रमा परेको छ ।

इन्धन महँगिएपछि धेरै विमान कम्पनीहरूले सेवा कटौती गरेका छन् । हवाई यातायात एक तिहाइसम्म घटेको बताइएको छ । यसले पर्यटन, होटल र सेवा क्षेत्र पनि प्रभावित बनेका छन् ।

उद्योग क्षेत्रमा कच्चा पदार्थको अभाव देखिन थालेको छ । विभिन्न देशमा उत्पादन घट्दै गएको छ भने सूक्ष्म उपकरण उद्योगसमेत प्रभावित भएको छ । यसले ‘डोमिनो प्रभाव’ सिर्जना गर्दै एक समस्याले अर्को समस्या निम्त्याइरहेको जनाइएको छ ।

यसको प्रत्यक्ष असर सर्वसाधारणमा परेको छ । रोजगारी घट्दै गएको, खर्च बढेको, औषधि तथा खोपको आपूर्ति प्रभावित भएको र केही स्थानमा शिक्षा क्षेत्रसमेत प्रभावित भएको उल्लेख गरिएको छ ।

विशेषज्ञहरूका अनुसार यो संकट निकै तीव्र गतिमा फैलिएको छ र नियन्त्रण गर्न कठिन हुने देखिएको छ । युद्ध अन्त्य भए पनि महँगी र अभावको असर लामो समयसम्म रहन सक्ने चेतावनी दिइएको छ ।

Read More

आइपिएलमा गुजरातमाथि मुम्बई ९९ रनले विजयी

काठमाडौँ । मुम्बई इण्डियन्सले जारी आइपिएलमा गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा मुम्बईले गुजरातलाई ९९ रनले पराजित गरेको हो । मुम्बईले दिएको २०० रनको लक्ष्य पछाएको गुजरातले १५.५ ओभरमा अल आउट हुदै १०० रन मात्र बनाएको थियो ।

गुजरातका लागि वाशिंटन सुन्दरले २६ र शाहरुख खानले १७ रन बनाएका थिए ।

त्यस्तै मुम्बईका बलर अश्वानी कुमारले ४ विकेट लिए भने मिचेल सान्टनर र एएम घजानफारले २-२ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले तिलक बर्माको १०१ रनको शतकीय पारी र नमन धीरको ४५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।

यो मुम्बईको ६ खेलमा दोस्रो जित हो । त्यस्तै गुजरातको ६ खेलमा यो तेस्रो हार हो ।

Read More

गगन थापासँग अर्बौ रुपैयाँ छ भन्ने कान्छारामलाई काँग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेपाली कांग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले कान्छारामलाई जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले तीन दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

कान्छारामले सभापति गगन थापासँग अर्बौ रुपैयाँ छ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि अनुशासन समितिले स्पष्टिकरण सोधेको हो ।

सोमबार बसेको समितिको बैठकले गरेको निर्णयमा भनिएको छ- नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क)  (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टिकरण पेश गर्न निर्देशन गर्दछ ।

Read More

नेपाल र युएईबीचको दोस्रो टी-२० खेल आज हुदै

काठमाडौँ । नेपाल र युएईबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजेदेखि शुरु हुनेछ ।

सिरिजको पहिलो खेल युएईले जितेर सिरिजमा १-० को बढ्त बनाएको छ ।

यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउदैछ । जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।

नेपालले पहिलो पटक टी-२० र एकदिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ । पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी-२० टिमबाट बाहिर रहेका छन् ।

Read More