२०८३ जेष्ठ २

सेवा निवृत्त पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा स्थगन, कार्यान्वयन गर्न गृहलाई पत्राचार

काठमाडौँ । अर्थ मन्त्रालयले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई सरकारले दिएको सवारी तथा सुरक्षाकर्मीको सुविधा स्थगन गरेको छ ।

मन्त्रालयले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गराउनु र कानून बमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गराउनका लागि गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।

यसअघि अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न मन्त्रिपरिषदको असोज ५ को बैठकले निर्णय गरेको थियो ।

Read More

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको दोस्रो दिन के के हुदैछ ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको सातौं पूर्ण बैठकको दोस्रो दिन आज प्रज्ञा भवन, कमलादीमा जारी छ ।

बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि विभिन्न १० वटा टोलीका नेताहरूले धारणा राखेका छन् ।

साथै बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरुले धारणा राख्नेक्रम सकिएको छ । बैठकमा आफ्नो छुट्टै प्रस्ताव राख्ने जनार्दन शर्माले १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा आफ्नो धारणा राखिरहेका छन् ।

त्यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा धारणा राख्ने छन् । ततः पश्चात् अध्यक्ष प्रचण्डले धारणा राख्ने र आजै बैठक सम्पन्न हुने छ ।

Read More

रामेछापमा भूकम्पको धक्का

काठमाडौं । रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटौली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जानकारी दिएको छ ।  

Read More

असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकका १९ निर्णयहरु सार्बजनिक

काठमाडौँ । असोज ९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १९ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

जसमा सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय अन्तर्गतनै सार्ने निर्णय गरेको छ ।

विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय अन्तर्गतनै सार्ने निर्णय गरको हो । यस अघि पनि अर्थमन्त्रालय अन्तर्गत रहेका यी विभागलाई केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएका थिए ।

त्यस्तै मन्त्रिपरिषदले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको अन्तर्गत लैजाने निर्णय गरेको छ । सरकारका प्रवक्ता जगदिश खरेलका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु भइ पहिचान खुलेका मृतक नेपाली नागरिक (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दी बाहेक) का परिवारलाई प्रति परिवार १० लाख र अन्य खर्च ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।  त्यस्तै सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्न सकिने व्यवस्था गरेको छ भने सरकारको प्रवक्तामा खरेललाई तोक्ने निर्णय गरेको छ ।

Read More

भारतको जोगवनी बजार तनावग्रस्त, नेपालीलाई प्रवेशमा रोक

विराटनगर । भारतको जोगवनी बजार तनावग्रस्त बनेपछि सीमा नाकाबाट नेपाली नागरिकलाई प्रवेश रोकिएको छ । दुई पक्षबीच विवाद बढेर झडप भएपछि जोगवनीमा तनाव भएको बताइएको छ ।

साप्रदायिक दंगा हुनसक्ने भन्दै सीमाबाट नेपालीको प्रवेश बन्द गरिएको छ । नेपालीको किनमेल गर्ने मुख्य बजार जोगवनी चाडपर्व बाहेक अन्य समयमा पनि दैनिक किनमेल गर्न ठुलो संख्यामा जाने गर्दछन् । 

अवस्था असामान्य बनेपछि जोगवनी प्रवेश गर्ने नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । किनमेलका लागि जोगवनी जान लागेका नेपालीलाई विराटनगरको रानी नाकामै रोकिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपालीलाई जोगवनी प्रवेशमा रोक लगाइएको र विराटनगरको रानी नाकामा सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

सुरक्षाकर्मीले जोगवनी जान लागेका नेपालीहरुलाई सीमा क्षेत्रमै रोकेका छन् । बिहान करिब ११ बजेदेखि सुरु भएको तनाव पछिल्लो समय उग्र बन्दै गएको बताइएको छ । इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै विरोध सुरु भएको र मुस्लिम र हिन्दु समुदायका युवाबीच दोहोरो झडप भएको सीमामा तैनाथ एक प्रहरीले जानकारी दिएका छन् ।

भारतीय सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । परिस्थिति नियन्त्रण बाहिर गएर दंग भड्किने सम्भावना बढेको बताइएको छ । भारतीय अधिकारीहरुले दुवै पक्षलाई संयम हुन आग्रह गर्दै वार्ताका लागि आह्वान गरेका छन् ।

Read More

ऊर्जामन्त्री घिसिङ र जापानका राजदूत तोरुबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखिको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रुपमा रहेको जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई पुर्याउँदै आएको द्धिपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्थालगायतका विषयमा छलफल भएको थियो ।

जापानको सहयोगमा निर्माणाधीन नागढुंगा सुरुङका लागि आवश्यक थप सहायता, विपी राजमार्ग पुनर्निर्माण,१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाका लागि आवश्यक थप सहायता,कोटेश्वर चोक सुधार, विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि सञ्चालित आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो ।

नेपालको विकास प्राथमिकता प्राप्त क्षेत्रमा जापानको सहायताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री मन्त्री घिसिङले विद्युत क्षेत्रमा रणनीतिक महत्वका ६७० मेगावाटको दूधकोशी, १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी, काठमाडौं उपत्यकाको एक सय वर्षको शहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारीलगायतका सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गरे ।

भेटमा राजदूत तोरुले नेपालका रणनीतिम महत्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार रहेको उल्लेख गरेका थिए । 

Read More

अर्थमन्त्री खनालले गरे स्थानीय विकास साझेदारहरुसँग छलफल तथा अन्तर्किया

काठमाडौँ । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक सम्पन्न भएको छ ।

उक्त बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा विभिन्न देशका नेपाल स्थित राजदूतहरु, नेपाल स्थित संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुका प्रमुख तथा प्रतिनिधिहरु, मिशनका प्रतिनिधिहरु र बहुपक्षीय तथा द्धिपक्षीय विकास साझेदारका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विकास साझेदारहरुले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याउदै आएकोमा धन्यवाद दिदै वर्तमान सरकारका तत्कालका प्राथमिकताहरु प्रकाश पारेका थिए । साथै, नेपालमा हाल भएको परिवर्तन पश्चात गठित अन्तरिम सरकार युवाहरुको चाहना अनुरुप पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिवद्ध रहेको बताए । आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षती भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितब्ययीताका माध्यमवाट पुनर्निमाण अघि बढाईने र आर्थिक सुधारका कार्यक्रम लाई तीव्रता दिईने उल्लेख गरेका थिए । 

कार्यक्रममा विकास साझेदारहरुको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरु, भारत र नर्वेका प्रतिनिधिहरु, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि लगायतले आफ्नो भनाई राख्दै नेपालको वर्तमान अवस्था प्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रम प्रति सहमति जनाएका थिए । विकास साझेदारहरुले चालू रहेका आयोजनाहरुलाई निरन्तरता दिने र थप कार्यक्रम संचालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधै तयार रहेको उल्लेख गरेका थिए ।  

Read More

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिनपनि जारी

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि विभिन्न टोलीका नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।

यस अघि विहिबारदेखि काठमाडौँकोप प्रज्ञा भवनमा शुरु भएको केन्द्रीय समितिको बैठकमा वरिष्ठ उपाध्याक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पद छोड्न दबाब दिएका थिए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफुलाई कार्यवाहक अध्यक्ष दिन प्रचण्डसँग माग गरेका हुन् ।  प्रचण्डले हालको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति भंग गरेर मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेपनि श्रेष्ठले मङ्सिरमा विशेष महाधिवेशन सम्भव नभएको भन्दै बदलिएको अवस्थामा प्रचण्डले अहिलेनै नेतृत्व छोड्नुपर्ने बताएका थिए । त्यस्तै उपमहासचिव जनार्दन शर्माले पनि जनताले सुन्ने गरि नयाँ अनुहारले पार्टीको नेतृत्व गर्नुपर्ने भन्दै प्रचण्डलाई नेतृत्व छोड्न दबाब दिएका छन् ।

Read More

ब्रान्डेड औषधिमा शत प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर घोषणा गरेका छन् । ट्रम्पले अमेरिका बाहिर उत्पादित ब्रान्डेड औषधिहरूमा अक्टोबर १, २०२५ देखि लागू हुने गरी शत प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले कर घोषणा गरेका नयाँ वस्तुहरूमा हेभी-ड्युटी ट्रक, भान्सा र बाथरूम क्याबिनेटहरू समावेश छन् । हेभी-ड्युटी ट्रकहरूमा २५ प्रतिशत कर लाग्नेछ र भान्सा र बाथरूम क्याबिनेटहरूमा ५० प्रतिशत कर लाग्नेछ ।

भारत अमेरिकी बजारमा औषधिहरूको प्रमुख निर्यातकर्ता हो । अमेरिकाले पहिले नै भारतीय निर्यातमा ५० प्रतिशत कर लगाइसकेको छ ।

ट्रम्पले लेखेका छन्- ‘अक्टोबर १, २०२५ देखि, हामी सबै ब्रान्डेड वा पेटेन्ट गरिएका औषधि उत्पादनहरूमा १०० प्रतिशत कर लगाउनेछौं । यहाँ उत्पादित औषधिहरू यसबाट बहिष्कृत हुनेछन् ।’

उनले लेखेका छन्- ‘अक्टोबर १, २०२५ देखि, हामी सबै भान्सा क्याबिनेट, बाथरूम भ्यानिटी र सम्बन्धित उत्पादनहरूमा ५० प्रतिशत कर लगाउनेछौं । थप रूपमा, अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत कर लगाइनेछ । किनभने यी उत्पादनहरू अन्य देशहरूबाट ओइरिरहेका छन् । यो अनुचित हो, तर हामीले राष्ट्रिय सुरक्षाको लागि उत्पादन क्षेत्रलाई जोगाउनु पर्छ ।’

भारी ट्रकहरूमा कर लगाउने कुरालाई औचित्य दिँदै ट्रम्पले भने- ‘हाम्रा ट्रक निर्माताहरूलाई अनुचित विदेशी प्रतिस्पर्धाबाट जोगाउन, म अक्टोबर १, २०२५ देखि विश्वका अन्य भागहरूमा उत्पादित सबै भारी ट्रकहरूमा २५ प्रतिशत कर लगाउनेछु । यस तरिकाले, हाम्रा प्रमुख ट्रक निर्माताहरू, जस्तै पिटरबिल्ट, केनवर्थ, फ्रेटलाइनर, म्याक ट्रकहरू, र अन्य कम्पनीहरू, बाह्य प्रतिबन्धहरूबाट सुरक्षित हुनेछन् ।’

व्यापार अनुसन्धान एजेन्सी (ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ) का अनुसार, औषधि क्षेत्र भारतको सबैभन्दा ठूलो औद्योगिक निर्यात हो । भारतले प्रत्येक वर्ष संयुक्त राज्य अमेरिकामा लगभग १२.७ बिलियन डलर मूल्यको औषधि निर्यात गर्छ ।

तर यीमध्ये धेरैजसो औषधिहरू जेनेरिक छन् । भारतले संयुक्त राज्य अमेरिकामा ब्रान्डेड औषधिहरू पनि निर्यात गर्छ, यद्यपि यो व्यापार जेनेरिक औषधिहरू भन्दा धेरै सानो छ । डा. रेड्डीज, लुपिन र सन फार्मा जस्ता भारतीय कम्पनीहरूले अमेरिकामा ब्रान्डेड औषधिहरू निर्यात गर्छन् । ट्रम्पले भारतीय आयातमा ५० प्रतिशत कर लगाएपछि, ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभले अमेरिकी करले जेनेरिक र ब्रान्डेड औषधिहरूको लागत बढाउने बताएको थियो । ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका अनुसार, अमेरिकामा ठूलो मात्रामा औषधि बेच्ने भारतीय कम्पनीहरूले धेरै कम मार्जिनमा काम गर्छन् ।

उत्तर अमेरिका भारतीय औषधि कम्पनीहरूको लागि राजस्वको प्रमुख स्रोत हो।

यो क्षेत्रले यी कम्पनीहरूको राजस्वको अधिकांश भाग र उनीहरूको नाफाको एक तिहाइ योगदान गर्दछ ।

वास्तवमा, आयरल्याण्ड ब्रान्डेड औषधिहरूको प्रमुख निर्माताहरू मध्ये एक हो ।

विश्वका एक दर्जन भन्दा बढी ठूला औषधि कम्पनीहरूको आयरल्याण्डमा कारखानाहरू छन्, जसमध्ये केही दशक पुरानो छन् । धेरै कम्पनीहरूले अमेरिकी बजारको लागि औषधिहरू उत्पादन गर्छन् । मर्क फार्माले विश्वको सबैभन्दा धेरै बिक्री हुने प्रिस्क्रिप्शन क्यान्सर औषधि किट्रुडा उत्पादन गर्छ, जुन राजधानी डब्लिन नजिकै छ ।  वेस्टपोर्टमा रहेको एबभीले बोटोक्स इन्जेक्सन उत्पादन गर्छ, जबकि एली लिलीको किन्सेल प्लान्टले मोटोपनको औषधिको बढ्दो अमेरिकी माग पूरा गर्न मद्दत गर्छ । रोयटर्सका अनुसार, ट्रम्पले बारम्बार आयरल्याण्डलाई जोनसन एण्ड जोनसन र फाइजर जस्ता अमेरिकी कम्पनीहरूलाई कम कर्पोरेट कर दरमा लोभ्याएको आरोप लगाएका छन् । अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले पनि आयरल्याण्डको नीतिहरूलाई ट्रम्प प्रशासनले रोक्ने ‘घोटाला’ को रूपमा वर्णन गरेका छन् ।

अर्कोतर्फ भारत अमेरिकालाई जेनेरिक औषधिहरूको प्रमुख आपूर्तिकर्ता पनि हो।

अमेरिकामा बेचिने जेनेरिक औषधिहरूको लगभग आधा भारतबाट मात्र आउँछ । जेनेरिक औषधिहरू ब्रान्ड-नाम औषधिहरूको सस्तो संस्करण हुन् । यी औषधिहरू भारत जस्ता देशहरूबाट अमेरिकामा आयात गरिन्छन्, र १० मध्ये नौ प्रिस्क्रिप्शनहरू यी औषधिहरूको लागि हुन् । यसले अमेरिकी अर्बौं डलरको स्वास्थ्य सेवा लागत बचत गर्छ । एक अध्ययन अनुसार, २०२२ मा, भारतीय जेनेरिक औषधिहरूले २१९ बिलियन डलर कमाएका थिए । विज्ञहरू रिपोर्टका अनुसार, व्यापार सम्झौता बिना, डोनाल्ड ट्रम्पको शुल्कले बाध्य पार्न सक्छ केही भारतीय जेनेरिक औषधि कम्पनीहरू बजारबाट बाहिरिन सक्ने छन् । यसले अमेरिकामा औषधि अभावलाई अझ बढाउन सक्छ ।

Read More

काठमाडौँ महानगरमा डेङ्गी संक्रमणमा उतारचढाव, लार्भा खोजेर नष्ट गर्ने अभियान जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सन् २०२२ मा २ हजार ९७३ जनामा डेङ्गी संक्रमण देखिएको थियो । यस्तै सन् २०२३ मा ६४३ जनामा संक्रमण देखियो । सन् २०२४ मा २ हजार ८४ जनामा संक्रमण देखियो ।

यस वर्ष अर्थात् गएको पुसदेखि अहिलेसम्म २४८ जनामा संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका अनुसार सन् २०२२ मा ९ हजार ८८६ जना, सन् २०२३ मा १ हजार ७१४ जना सन् २०२४ मा २ हजार ९८४ जना र सन् २०२५ को अहिलेसम्म २२७ जना संक्रमण भएका व्यक्तिको परीक्षण काठमाडौँ जिल्लामा भएको छ । तर, ठेगानामा पालिकाको नाम उल्लेख पाइँदैन । अस्पतालले संक्रमितमध्ये धेरै व्यक्ति काठमाडौँमा बसोबास गर्ने भएको उल्लेख गरेको छ ।

काठमाडौँ महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले विगत संक्रमणको अवस्था विश्लेषण गर्दै भने, ‘डेङ्गीको संक्रमण कुनै वर्ष घट्ने र कुनै वर्ष बढ्ने गरेको देखिन्छ ।’ भुषालका अनुसार काठमाडौँ महानगरपालिकाभित्र पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा एकजना महिलामा यो संक्रमण देखिएको हो । दोस्रो विरामी बालाजु ढुङ्गेधारामा भेटिएका थिए । 

महानगरपालिकाले गएका वर्षहरुको संक्रमण दर हेर्दै अहिले डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने कार्यक्रमलाई तीब्र बनाएको छ । वडा र समुदाय स्तरमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, स्थानीयहरुको सहभागिता छ । 

नेपालमा २०६१ सालदेखि डेङ्गी देखिन थालेको हो । देशभरि डेङ्गी संक्रमणको तथ्याङ्क हेर्दा सन् २०२४ मा ६ हजार ८३१ जनामा संक्रमण देखिएको थियो । जसमध्ये ४ जनाको मृत्यु भयो । त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०२३ मा ५२ हजार ७९० जनामा संक्रमण देखिँदा २० जनाको मृत्यु भयो । सन् २०२२ मा पनि डेङ्गीको संक्रमण उच्च थियो । त्यस वर्ष ५४ हजार ७८४ जनामा संक्रमण देखिँदा ८८ जनाको मृत्यु भएको थियो । 

सन् २०२१ मा ५४० जनामा संक्रमण देखिँदा ५ जनाको मृत्यु भयो । सन् २०२० मा ५३० जनामा संक्रमण देखिँदा ४ जनाको मृत्यु भएको थियो । सन् २०१९ मा भने १७ हजार ९९२ जनामा संक्रमण देखिँदा ६ जनाको मृत्यु भएको थियो ।  

सामान्यतयाः बर्खायाममा देखिने यो संक्रमणको वृद्धि दर भदौ, असोज र कार्तिक महिनामा धेरै देखिन थालेको छ । काठमाडौँसहित नेपालका १० जिल्लामा यो संक्रमण प्रकोपका रुपमा देखा परेको छ । 

सन् २००४ देखिको तथ्याङ्क हेर्दा सन् २००९ सम्म डेङ्गी संक्रमणका कारण कुनै कसैको पनि मृत्यु भएको देखिँदैन । सन् २०१० मा ९१७ जनामा डेङ्गी देखिँदा ५ जनाको मृत्यु भएको थियो । यसपछिका ४ वर्ष संक्रमणबाट कसैको पनि मृत्यु भएन । सन् २०१५ मा १३५ जनामा डेङ्गीको संक्रमण देखियो । यसमध्ये १ जनाको मृत्यु भयो । सन् २०१६ मा १ हजार ५२७ जनामा डेङ्गी देखियो । सन् २०१७ मा २ हजार १११ जनामा, सन् २०१८ मा ८११ जनामा संक्रमण देखियो । यी वर्षहरुमा क्रमशः १, ३ र ३ जनाको मृत्यु भएको देखिन्छ ।   

यसरी हुने संक्रमण र त्यसबाट हुने मानव मृत्यु घटाउन, महानगरपालिकाको स्वास्थ्य विभागले लार्भा खोज्ने, नष्ट गर्ने र सचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिरहेको छ ।

आम नागरिकका स्वास्थ्य सम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि निःशुल्क महानगरपालिकाले ११८० टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ ।

डेङ्गी संक्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ । यसकारण सफा पानी राखिने भाँडाहरुमा पानी भरेर राख्नुहुँदैन । पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन । यो दायित्व हरेक नागरिकले पूरा गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

Read More