२०८३ जेष्ठ २

२०८२ असोज ६ गते सोमबार: आजको राशिफल

आज असोज ६ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर २२ नेपाल सम्बत ११४५ कौलाथ्व पारु- १, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण प्रतिपदा, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र,  शुल्क योग, किन्स्तुघ्ना करण ।

आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । 

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५४ मिनेट देखि ८ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।  आज बडा दशैंको घटस्थापना र नवरात्र आरम्भ हुदैछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
विपरीत लिङ्गीहरूसँग उठबस हुने वा कुनै विशेष सहयोग पाउन सक्नुहुन्छ, किनमेलका क्षेत्रबाट पनि लाभ हुनेछ, सँगीसाथीले पूणर्रूपेण सहयोग गर्नेछन् । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन । जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठीक हुन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । मन प्रेमिल बन्ने समय हो । नयाँ÷नयाँ विषय र काम प्रति जागरुकता बढ्नुका साथै रचनात्मक र सीपमूलक काममा सफलता मिल्नेछ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु÷दिदी वा गुरु÷गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूणर् काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूणर्ता पाउने समय हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
अभिव्यक्तिगत कलात्मकता एवं आन्तरिक प्रतिभा प्रस्फुटन हुने राम्रो समय छ, वौद्धिक क्षेत्र, प्रकाशन वा एजेन्सीसम्बद्ध काम गर्नेले फाइदा लिने र इज्जत कमाउने दिन हो । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ । बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
कठोर र क्रूर निणर्य लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । गलत क्रियाकलाप वा पूरा हुन नसक्ने महत्त्वाकाङ्क्षी काममा सरिक नहुनु होला । आत्मज्ञान, धैर्यता र संयमता आजका मित्र हुन् भन्ने बुझ्नुपर्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
कुनै प्रस्तावउपर विचार÷विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । कामधन्दामा सहजताको अनुभूति हुनेछ, घरपरिवारमा पनि समझदारी रहने छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ । दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नति÷प्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश÷परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ ।

Read More

एआइजी डा. मनोज केसीलाई सीआईबीको जिम्मेवारी

काठमाडौं । एआइजी डा. मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी डा. केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिएका हुन् । केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका थिए । 

Read More

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन आयोग गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय छानबिन आयोग गठन गरेको हो।  

तीन महिनाको समय दिइएको आयोगमा जाँचबुझ आयोग ऐन, २०२६ अन्तर्गत गठित आयोगमा सदस्य नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।  

Read More

हितेन्द्रदेव शाक्यको सरुवा, प्राधिकरणमा सिलवाल नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ ।

उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यको सरुवा जल तथा ऊर्जा आयोगमा गरेको छ । 

Read More

मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीमा प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीमा रहेकी छन् ।

हाल तीन जना मात्र मन्त्री बनाएकी प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्न स्वतन्त्र, पुर्व कर्मचारी र अन्य क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेकी छन् । उनले आजै मन्त्रीहरुको टुंगो लगाउने गरि छलफल गरिरहेको बुझिएको छ । 

प्रधानमन्त्री कार्कीले जेनजीका केहि प्रतिनिधिहरु, आफु निकट सहयोगीहरुसँग छलफल गरिरहेकी छन् । 

अहिलेसम्म महावीर पुन, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा.  संगीता मिश्र, सञ्चारकर्मी जगदीश खरेल,  सुदन गुरुङ, रक्षा बम, पुर्व न्यायाधीश अनिलकुमार सिन्हा लगायतको नामको बारेमा छलफल भएको छ । यी नामको विषयमा छलफल भएपनि निर्णय हुन बने बाँकी रहेको बताइएको छ ।

प्रधानमन्त्री कार्कीले १० देखि १२ मन्त्री बनाएर एक जनालाई कम्तिमा दुई मन्त्रालयको जिम्मेवारी दिने यसअघि नै बताएकी छन् ।

यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Read More

घृणाजन्य अभिव्यक्ति बन्द गर्न राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले घृणाजन्य अभिव्यक्ति बन्द गर्न निर्देशन दिएको छ । 

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै  जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको र निर्वाचन समेत घोषणा भएको अवस्थामा समाजका विभिन्न क्षेत्रका केही व्यक्ति, समूह र दलका नेताहरुबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आइरहेकोले त्यसलाई बन्द गर्न निर्देशन दिएका हुन् ।  

आयोगले विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवम् कुनै सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय भएपनि यस्ता अभिव्यक्तिहरु संयमित, मर्यादित र मानव अधिकारको मूल्य मान्यताको परिधिभित्र रहेर गर्नुपर्ने जनाएको छ ।

आयोगले भनेको छ:   
जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको र निर्वाचन समेत घोषणा भएको अवस्थामा समाजका विभिन्न क्षेत्रका केही व्यक्ति, समूह र दलका नेताहरुबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आएको र यस प्रकारका कार्यबाट हिंसात्मक कार्यलाई थप बल पुग्न जाने अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।  

विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवम् कुनै सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय हो । तर यस्ता अभिव्यक्तिहरु संयमित, मर्यादित र मानव अधिकारको मूल्य मान्यताको परिधिभित्र रहेर गर्नुपर्ने हुन्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नेपालको संविधानको धारा १९ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको व्यवस्था छ । नेपाल पक्षराष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ मा प्रत्येक व्यक्तिलाई बिना हस्तक्षेप विचारहरु राख्न पाउने अधिकारको व्यवस्थासँगै आफ्ना विचारहरु राख्दा अरुको अधिकार वा प्रतिष्ठाको सम्मान र राष्ट्रिय सुरक्षा वा नैतिकताको संरक्षण गर्नुपर्ने दायित्व उल्लेख गरिएको छ । त्यस्तै, मुलुकी अपराधसंहिता, २०७४ को दफा ३०५ र ३०६ मा गाली, बेइज्जती गर्न नहुने र दफा ३०७ मा त्यस्तो कार्य दण्डनीय हुने उल्लेख गरिएको छ । 

अतः आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस पुग्ने खालका अभिव्यक्ति नदिन, घृणाजन्य अभिव्यक्तिबाट समाजमा सिर्जना हुनसक्ने हिंसात्मक अवस्थाप्रति सचेत हुँदै कुनै पनि हिंसात्मक कार्यलाई प्रश्रय पुग्ने गरी गतिविधिहरु नगर्न र विकसित राजनीतिक परिस्थितिमा संयमित भएर उचित निकास खोज्ने कार्यमा लाग्न आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।

Read More

काठमाडौँ महानगरले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रोकेको एम्बुलेन्स वितरण गर्ने कार्य फेरी सुचारु गरेको छ ।

महानगरका प्रमुख बालेन शाहले यस बारेमा जानकारी दिदै असोज ७ गतेदेखि एम्बुलेन्स वितरण शुरु गर्ने बताएका हुन् । बालेनका अनुसार पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई  एम्बुलेन्स वितरण गरिने छ । 

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका  स्थानलाई प्राथमिकता दिइएको बालेनले उल्लेख गरेका छन् । उनले स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार भएको विश्वास व्यक्त गर्दै देशका दुर्गम भूभागमा जीवन बचाउनु आफुहरुको कर्तव्य समेत भएको बताएका छन् । बालेनले यो मात्र सुरुवात भएको बताउदै कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने आफुहरुको लक्ष्य भएको बताएका छन् ।

Read More

प्रधानमन्त्री कार्की र नाडाको प्रतिनिधिमण्डलबीच छलफल

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधी मण्डलले प्रधानमन्त्री शुशिला कार्कीसँग छलफल गरेको छ । नाडाको टोलीले देशको बर्तमान जटिल अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेको हो ।

अर्थमन्त्री रामेश्वर खनाल, उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा अध्यक्ष चौधरीले नाडा ७ वटा प्रदेशहरु सहित सवै किसिमका अटोमोवाइल वस्तुहरुको प्रतिनिधित्व गर्ने ४९ बर्ष पुरानो संस्था भएको जानकारी दिदै नाडाका सम्बन्धमा सरकारलाई आवश्यक जानकारी समेत दिन नसकेको दुखेसो पोखेका थिए । यसै क्रममा अध्यक्ष करण चौधरीले सरकारले नाडाले दिएका सुझावहरु मध्ये दुई तिनवटा सझावहरुलाई मात्र सम्बोधन गरेमा अटोमोवाइल व्यवसाय गतिशिल हुने बताए ।  

चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउदै व्यवसायीहरुको उत्थानका लागि सरकारले रोड म्याप समेत तयार गर्नु पर्ने धारणा राखे ।

छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरेका थिए । उक्त छलफलमा खाशगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोमा हाल ६० प्रतिशतको सिमा लाई बढाएर ८० प्रतिशत पुर्याउनु पर्ने भन्दै नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा नाडाकोतर्फबाट बन तथा वातावरण मन्त्रालयमा पेश गरिएको सुझावहरुको कार्यान्वयनका लागि समेत अनुरोध गरेका थिए । 

छलफलमा प्रधानमन्त्री कार्कीले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भिर रहेको बताएकी थिइन् । उनले आफु कानून व्यवसायी भएकोले नेपालको उद्योग व्यवसायका समस्याहरुका सम्बन्धमा कम जानकार भएको बताउदै नेपालको हरेक आन्दोलनबाट व्यवसायीहरु नै प्रताडित हुनु परेको र नेपालमा व्यवसाय गर्नु जुवा खेल्नु सरह भएको बताएकी थिइन् । 

उनले जस्तोसुकै विपद आईलागे पनि हामीहरु अठौतका साथ अघि बढनु पर्ने आश्वासन दिनु हुदै विधिको शासनलाई सवैले पालन गर्नु पर्ने र सरकार सदैव व्यवसायीहरुको साथमा रहने बताइन् । व्यवसायीहरुले समेत सरकारलाई सहयोग गर्न तयार रहेको कुरा सुन्दा आफुलाई गौरवको अनुभुति भईरहेको छ भन्नु हुदै नेपालको बैकिङ्ग प्रणालीलाई व्यवसायमैत्री बनाइने आश्वासन समेत दिइन् । यसै क्रममा उनले व्यवसायीहरुसँग धेरै अनुभव हुन्छ भन्दै सरकारले मात्र रोजगार दिन नसक्ने, नीजि उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिने, व्याजदरमा सहुलियत दिने, देशलाई आत्मनिर्भर बनाउन देशका उद्योगहरुलाई उच्च प्राथमिकता दिइने, भन्सार शुल्क कम गरिने आश्वासन दिइन्  । सोही छलफलको क्रममा उनले बर्तमान सरकारले निर्वाचन र शुसानलाई पहिलो प्राथमिकतामा राखिएको बताएकी थिइन् ।

उक्त छलफल कार्यक्रममा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकाल समेतको उपस्थिति रहेको थियो ।

Read More

ऊर्जामन्त्री घिसिङसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई  भारतीय राजदूत श्रीवास्तवले बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगतिका विषयमा छलफल भएको थियो ।

ऊर्जा तथा जलस्रोत क्षेत्रका द्धिपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण)को नहरबाट नेपालतर्फ पानी पठाउने, भारतीय सहायतामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाको प्रगति, इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माण, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृतिलगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री घिसिङलेले दशैं तिहारमा उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक रुपमा विद्युत् खपत घट्ने भएकाले थप विद्युत् निर्यातका लागि स्वीकृति दिन आग्रह गरिएको बताए ।

अहिले नेपालले बंगलादेशसहित भारततर्फ ११६५ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । थप ४ आयोजनाको १३८ मेगावाट निर्यातका स्वीकृतिका लागि भारत समक्ष प्रस्ताव पेश गरिएको छ । इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको अध्ययन सम्पन्न भएको भेटमा जानकारी गराइएको थियो । जेनजीको आन्दोलनका कारण क्षति पुगेका संरचना पुनर्निर्माणमा आवश्यक परेमा सहयोग गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवबाट जानकारी थियो ।

भेटमा मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका सहसचिवहरु चिरञ्जीवी चटौत, सन्दीप कुमार देव, परराष्ट्र मन्त्रालय दक्षिण एशिया महाशाखाका शाखा अधिकृत प्रतिक कार्कीको उपस्थिति थियो ।

Read More

मुग्लिन नारायणगढ सडक खण्ड सुचारु

चितवन । शुक्रबार साँझदेखि अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक खण्ड सुचारु भएको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार केहि बेरअघि तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य सम्पन्न भएसँगै सडक एकतर्फी सुचारु भएको हो ।

शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका थिए ।

Read More