२०८३ बैशाख १८

आइपिएलमा लखनउमाथि पञ्जाव ५४ रनले विजयी

काठमाडौँ । पञ्जाव किंग्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ५४ रनले पराजित गरेको हो ।

पञ्जावले दिएको २५५ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो ।

लखनउका लागि ऋषव पन्तले सर्बाधिक ४३ रन बनाएका थिए भने एडन मार्क्रमले ४२, मिचेल मार्चले ४०, आयुष बदानीले ३५ र मुकुल चौधरीले २१ रन बनाएका थिए ।

त्यस्तै पञ्जावका बलर मार्को जानसेनले २ विकेट लिएका थिए भने अर्शदीप सिंह, युजवेन्द्र चहल र विजयकुमार वैश्यकले एक एक विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले प्रियांस आर्याको ९३ र कूपर कोनोल्लीको ८७ रनको सहयोगले २० ओभरमा ७ विकेट गुमाउदै २५४ रन बनाएको थियो ।

यो जितपछि पञ्जावको ६ खेलमा ११ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै लखनउको भने ६ खेलमा यो चुठो हार हो । 

Read More

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेले आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने गरि बैठक बोलाएका छन् ।

बैठकमा सबै सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ । बैठकले पार्टीको महाधिवेशन बारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । यसअघि आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन बैशाख १५ गतेदेखि शुरु गर्ने निर्णय गरिसकेको छ ।

Read More

नेपाल र युएईबीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौँ । नेपाल र युएईबीचको २ खेलको टी-२० सिरिजको पहिलो खेल आज हुदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजेदेखि शुरु हुनेछ ।

यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउदैछ । 

जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।

सिरिजको दोस्रो खेल भोली हुने छ । नेपालले पहिलो पटक टी-२० र एकदिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ । पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी-२० टिमबाट बाहिर रहेका छन् ।

Read More

अक्षय तृतीया मनाइदै, यस्तो छ शास्त्रीय महत्व

काठमाडौँ । आज अक्षय तृतीया । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजको तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनवाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ । 

आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएकाले आजको दिन  बिशेष रूपमा लिइने गरिन्छ । राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् भने यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए।

यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारतलगायतका हिन्दु धर्मालम्बीहरूले जौको सातु खाएर वा दान दक्षिणा दिएर यो पर्ब मनाउछन् ।

अक्षय तृतीयामा मुख्यत: सातु खाने चलन रहि आएको छ । यस दिनमा जुन गहुँलगायतवाट बनेका सातु खाने चलन छ । यसले शितलतासमेत दिने भएकाले हिन्दु धर्ममा जुनलाई पवित्र मानिन्छ । बढ्दो गर्मीलाइ शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको सातु खाने चलन छ । आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

हरेक वर्ष अक्षय तृतीयाका दिन सुनका गहना किन्ने चलन छ । यस दिन किनेको सुन सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ । यस दिन किनेको वा लगानी गरेको सुन कहिल्यै समाप्त नहुने जनविश्वास छ । अक्षय तृतीयाको दिन भगवान विष्णु र देवी लक्ष्मीले खरिद गरेको सुन र लगानीले स्वयम् रक्षा र वृद्धि गर्ने जनविश्वास रहेको छ ।

यस पर्वमा सुन वा गरगहनाबाट बनेका नयाँ वस्तुको किनमेल गर्नुलाई निकै शुभ मानिन्छ । स्कन्द पुराणका अनुसार यस दिन गरेको शुभकर्म र दानले पुण्य अक्षय पुण्य प्राप्त हुनेछ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपात भईरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग लगायत देशका बाँकी हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको  सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

Read More

२०८३ बैशाख ७ गते सोमबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख ७ गते सोमबार ईस २०२६ अप्रिल २० नेपाल सम्बत ११४६ वछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष तृतीया, चन्द्रमा वृष राशिमा, रोहणी नक्षत्र, सौभाग्य योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज अक्षय तृतीया व्रत, शिव पार्वती विवाह महोत्सव र राष्ट्रिय याक दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठीक हुन्छ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

धनको कारोबारमा जोखिम र रिस्क भएको दिन हो, नयाँ कारोबार वा व्यवसाय फाप्दैन, अनि कुनै करार वा समझौता गर्नुछ भने राम्ररी पढ्नु बेस हुन्छ । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । मनमा सार्वजनिक हीत र परोपकारको भावना पलाउन सक्छ । कमाएको धनको व्यवस्थापन गर्ने तथा व्यक्तित्वविकासका लागि प्रयास गर्ने समय छ । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आम्दानीका स्रोतहरू बढ्नेछन्, पछिसम्म फाइदा हुने कुनै काम प्रारम्भ गर्न सकिने छ । प्रशासनिक वा राज्यपक्षका काम गर्न अनुकूल समय छ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

प्रतियोगिता वा प्रतिस्पर्द्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । विशेष काम गर्ने परिस्थितिमा दुविधा वा दोधारको अवस्थामा निर्णय नलिनु नै बेस हुनेछ, बरु जानकार व्यक्तिको सल्लाह लिएरमात्र काम थाल्नु होला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । यात्रामूलक कामबाट लाभ लिन सकिने छ, तर रिसाहा, घमण्डी र अहङ्कारी स्वभावको विकास हुनसक्छ, हरेक व्यवहारमा संयमता अपनाउनुपर्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ ।

Read More

सीमामा सयभन्दा बढी मूल्यका घरायसी सामानमा भन्सार शुल्क लगाइएकोमा काँग्रेसको आपत्ति

काठमाडौँ । नेपाली काँग्रेसले सीमावर्ती क्षेत्रमा १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका सामानमा अनिवार्य भन्सार शुल्क लगाइएको विषयमा आपत्ति जनाएको छ । पार्टीले यस्तो निर्णय जनविरोधी, अव्यवहारिक र असंवेदनशील भएको टिप्पणी गरेको छ ।

कांग्रेसका अनुसार खुला सीमाका कारण सीमावर्ती नागरिकहरू सस्तो मूल्यमा भारतबाट दैनिक उपभोग्य वस्तु ल्याएर जीविकोपार्जन गर्दै आएका छन् । विशेषगरी मधेश प्रदेशका सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान र न्यून आय भएका परिवार यस निर्णयबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

पार्टीले इन्धनको मूल्य उच्च रहेको अवस्थामा सानो परिमाणको खरिदमै अतिरिक्त शुल्क लगाउनु जनताको क्रयशक्ति कमजोर बनाउने कदम भएको जनाएको छ । यसले गरिबी झनै बढाउने खतरा रहेको पनि उल्लेख गरिएको छ ।

कांग्रेसले सानो परिमाणमा सामान ल्याउने नागरिकमाथि कडाइ गरिँदा अन्य माध्यमबाट ठूलो परिमाणमा सामान भित्र्याउनेलाई सहजता दिनु असमान व्यवहार भएको प्रश्न उठाएको छ । यसले सीमावर्ती क्षेत्रमा राज्यप्रति असन्तोष बढ्न सक्ने चेतावनी पनि दिएको छ ।

यस विषयमा कांग्रेसले सरकारसँग निर्णय तत्काल फिर्ता लिन वा व्यवहारिक सीमा निर्धारण गर्न, दैनिक उपभोग्य वस्तुमा भन्सार दर घटाउन, मधेश प्रदेशका लागि राहत कार्यक्रम ल्याउन तथा इन्धन मूल्य नियन्त्रणका लागि पारदर्शी प्रणाली लागू गर्न माग गरेको छ ।

पार्टीले राजस्व संकलन महत्वपूर्ण भए पनि जनताको जीवनस्तरको संरक्षण अझ ठूलो प्राथमिकता भएको भन्दै जनतामाथि थप बोझ पार्ने नीति पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ ।

Read More

गगन पूर्णबहादुर भेट, सुरु भयो ‘मेलमिलाप कूटनीति’

काठमाडौँ । कांग्रेस सभापति गगन कुमार थापाले पार्टीभित्र देखिएको असन्तुष्टि र मतभेदलाई कम गर्दै एकताबद्ध कांग्रेस निर्माण गर्ने उद्देश्यसहित कूटनीतिक पहल सुरु गरेका छन्।

आइतबार साँझ थापा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न गोल्फुटारस्थित निवास पुगेका थिए। सो भेटलाई पार्टीभित्रको एकता मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।

भेटपछि थापाले पार्टीको बृहत्तर एकताका लागि वरिष्ठ नेताहरूसँग छलफल सुरु गरिएको बताए। उनले पार्टीभित्र रहेका असमझदारी हटाउँदै साझा दिशामा अघि बढ्नु आवश्यक रहेको धारणा राखे। “पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले हामीले सिनियर नेताहरूसँग संवाद सुरु गरेका छौँ,” थापाले भने।

थापाका अनुसार सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता बलियो बनाउन र साझा यात्रामा अघि बढ्न सकारात्मक वातावरण सिर्जना गरेको छ।

नेपाली कांग्रेस का नेताहरूलाई आगामी १५औँ महाधिवेशनलाई केवल प्रक्रिया नभई पार्टी पुनर्गठन र सुदृढीकरणको अवसरका रूपमा लिन उनले आग्रह गरेका छन्।

थापाले महाधिवेशनलाई सफल बनाउँदै पार्टीलाई नयाँ दिशा दिने अवसरका रूपमा उपयोग गर्न सबै नेता–कार्यकर्तालाई आह्वान गरेका छन्। उनका अनुसार पार्टीभित्रको एकता नै आगामी राजनीतिक यात्राको आधार बन्नेछ।

Read More

सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब

काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूको तलबभत्ता मासिक होइन, अर्धमासिक रूपमा उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयले गत शुक्रबार महालेखा नियन्त्रक कार्यालय लाई पत्राचार गर्दै नयाँ भुक्तानी प्रणाली लागू गर्ने निर्णयबारे जानकारी गराएको हो।

यसअघि राष्ट्रसेवक कर्मचारीहरूले प्रत्येक महिनाको अन्त्यमा एकैपटक तलबभत्ता पाउँदै आएका थिए। तर अबदेखि महिनालाई दुई भागमा विभाजन गरेर नियमित अन्तरालमा भुक्तानी गरिने व्यवस्था लागू हुने भएको छ।

मन्त्रालयका अनुसार यो परिवर्तन कर्मचारीहरूको आर्थिक व्यवस्थापनलाई सहज बनाउन ल्याइएको हो।

अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहाल का अनुसार अर्थमन्त्रीस्तरीय निर्णयपछि अर्धमासिक तलब प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरिएको हो।

सरकारी भुक्तानी प्रणालीमा गरिएको यो परिवर्तनलाई प्रशासनिक सुधारको रूपमा हेरिएको छ। अबदेखि तलब वितरण प्रक्रिया नियमित र समयमै हुने अपेक्षा गरिएको छ।

सरकारको यो कदमले कर्मचारीहरूको दैनिक खर्च व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ।

Read More

स्टार माइक्रो साझेदारी खुलासा: गृहमन्त्री गुरुङ र दीपक भट्टबीच बिजनेश कनेक्सन

काठमाडौँ । गृहमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना पनि नबित्दै सुदन गुरुङ गम्भीर प्रश्नको घेरामा परेका छन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्ट सँग उनको व्यापारिक सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि विषयले राजनीतिक रंग लिन थालेको हो।

कम्पनी साझेदारी सार्वजनिक
सार्वजनिक विवरणअनुसार गुरुङ र भट्टबीच स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड मा साझेदारी रहेको देखिएको छ। भट्टलाई बिचौलियाका रूपमा समेत चिनिने गरेको पृष्ठभूमिमा यो सम्बन्ध बाहिरिएपछि राजनीतिक वृत्तमा चासो बढेको छ।

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भइरहेका बेला यो विषयले थप बहस जन्माएको छ।

रास्वपाको प्रतिक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टी का महामन्त्री कविन्द्र बुर्लाकोटी ले शेयर लगानी मात्रैका आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने प्रतिक्रिया दिएका छन्।

उनका अनुसार सम्बन्धित लगानी कानुनी हो वा होइन भन्ने विषयमा पार्टीले आन्तरिक रूपमा सोधपुछ गर्नेछ र आवश्यक परे राज्यका निकायले अनुसन्धान गर्नेछ। “दोषी प्रमाणित भए जोसुकै भए पनि पार्टीले कारबाही गर्छ,” उनले बताए।

गुरुङ सम्पर्क बाहिर
यस विषयमा प्रतिक्रिया लिन खोज्दा सुदन गुरुङ सम्पर्कमा आउन नसकेको बताइएको छ।

घटनाले सरकार र रास्वपा दुवैभित्र राजनीतिक दबाब बढाएको देखिएको छ भने आगामी दिनमा अनुसन्धानको दिशा के हुन्छ भन्नेमा चासो बढेको छ।

Read More