२०८३ बैशाख १३

कांग्रेस महामन्त्रीको प्रश्न- संसद स्थगनले प्रश्न उब्जायो, सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले आह्वान भएको २४ घण्टा नबित्दै संसद अधिवेशन स्थगन गरिनुले गम्भीर प्रश्नहरू उब्जाएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री पौडेलले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नु पर्नेमा अध्यादेशको बाटो रोज्न खोजेको त होइन भन्ने आशंका उब्जाएको उल्लेख गरेका छन् । 

उनले सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर ? भन्दै प्रश्न समेत गरेका छन् । 

लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्त्व दिइनुपर्दछ भन्दै उनले प्रक्रिया छलेर परिणाम खोज्नु पद्धति र मर्यादा दुवैको अवमूल्यन हुने टिप्पणी गरेका छन् ।

महामन्त्री पौडेलले जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र गरिमामय संसदलाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न सरकारलाई अनुरोध गरेका छन् ।

Read More

हिरासतमा श्रीकृष्णको शंकास्पद मृत्यु प्रकरण: रास्वपा सांसदहरु न्याय माग्दै धर्नामा

काठमाडौँ । सिन्धुलीको सुनकोसी गाउँपालिका-३ का २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएको घटनापछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू आफ्नै सरकारसँग न्याय माग्दै धर्नामा बसेका छन् ।

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका विकको शव वैशाख ७ गते साँझ शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा फेला परेको थियो । मृतकका परिवार र आफन्तले भने प्रहरीको यातनाका कारण उनको मृत्यु भएको दाबी गरेका छन् ।

सांसद खगेन्द्र सुनार र रीमा विश्वकर्मा विहिबारदेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा बसेका छन् । सुनारले लेखेका छन्- ‘हिजोदेखि रातभर जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौं ! प्रहरीले हत्या गरेको श्रीकृष्ण विकको न्यायको लागि अहिले १० बजे सबैलाई CDO गेटमा उपस्थितिको लागि अपिल छ !!’

रास्वपा सांसद रिमा विश्वकर्माले सामाजिक सञ्जालमा एकातिर दलित समुदायसँग क्षमायाचना अर्को तिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित) नागरिकको शंकास्पद मृत्यु भएको भन्दै सरकारसँग न्याय मागेकी छन् । 

धर्नामा रास्वपा सांसद सुनारसहित रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आसिस गजुरेल सहभागी रहेका छन् । उनिःरुले प्रमुख जिल्ला अधिकारी, प्रहरी एसपी र खुर्कोट इलाकाका इन्स्पेक्टरलाई तत्काल निलम्बन गर्न र उच्च स्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

मृतककी आमा विन्दामाया विकले एक ज्ञप्तिमार्फत आफ्नो छोराको प्रहरीको यातनाबाट मृत्यु भएको आरोप लगाएकी छन् । 

ललितपुरको सातदोबाटोबाट अन्तरजातीय विवाहको विषयमा पक्राउ परेका विकलाई वैशाख ४ गते खुर्कोट लगिएको थियो । प्रहरीले जबरजस्ती करणीको मुद्दा चलाउन दबाब दिँदै छोरालाई मानसिक र शारीरिक यातना दिएको आमा विन्दामायाले विज्ञप्तिमार्फत बताएकी छन्।

यस घटनाप्रति राष्ट्रिय दलित आयोगले पनि गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रहरी हिरासतमा व्यक्तिको मृत्यु हुनु मानव अधिकारको दृष्टिले गम्भीर विषय भएको बताएको छ । 

Read More

सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित होइन, जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै साझा दायित्व भएको बताएका छन् ।

उनले आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो रहेको उल्लेख गर्दै यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै भएको बताएका छन् । 

Read More

सुपरस्टार रजनीकान्तको जेलर २ को स्ट्रिमिङ अधिकार १६० करोडमा बिक्री

काठमाडौँ । सुपरस्टार रजनीकान्तको फिल्म जेलर २ को छायांकन पूरा भएको छ ।

निर्माण कम्पनी सन पिक्चर्सले सम्पूर्ण टोलीसँग अभिनेताले केक काट्दै गरेको तस्बिरहरू साझा गरेको छ । निर्देशक नेल्सन दिलीप कुमार, रजनीकान्त र फिल्ममा उनको छोराको भूमिका निर्वाह गर्ने वसन्त रवि पनि उपस्थित थिए ।

रजनीकान्तले पहिले मिडियालाई फिल्म जुनमा रिलिज हुने बताएका थिए । यद्यपि, निर्माताहरूले चाँडै आधिकारिक रिलिज मिति तय गर्नेछन् ।

अमेजन प्राइम भिडियोले १६० करोड भारुमा फिल्मको थिएटर रिलिज पछि स्ट्रिमिङ अधिकार प्राप्त गरेको छ । यो तमिल सिनेमाको इतिहासमा सबैभन्दा ठूलो डिजिटल अधिकार सम्झौता हो ।

रजनीकान्तका फिल्महरूको डिजिटल अधिकारको मूल्य द्रुत गतिमा बढ्दै गएको छ । २०२३ मा जेलर ७५ करोडमा बिक्री भएको थियो । यो सम्झौताले तमिल फिल्म उद्योगमा नयाँ रेकर्ड कायम गरेको छ ।

Read More

हर्कको रविलाई प्रश्न- रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रश्न गर्दै सुकुम्बासीलाई गरेको बाचा बिर्सिएको आरोप लगाएका छन् ।

सरकारले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेपछि साम्पाङले लामिछानेलाई सुकुम्बासी बस्ती भत्काउने निर्णय रास्वपाकै हो ? भन्ने प्रश्न गर्दै बाचा बिर्सिएको आरोप लगाएका हुन् ।

उनले निर्वाचनताका सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर ‘चुपचाप घण्टीमा छाप’ भन्दै भोट मागेको स्मरण गराउदै बचनको पक्का देखियो भन्ने व्यंग्य गरेका छन । 

उनले भनेका छन्: 

रबी जी… तपाइँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा ।

Read More

इरान युद्धले ३ करोडभन्दा बढी गरिबीमा धकेलिन सक्ने चेतावनी

काठमाडौँ । इरान युद्धका कारण विश्वभर गरिबी र खाद्य संकट बढ्ने खतरा देखिएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रमका प्रमुख अलेक्जेन्डर डी क्रूले युद्धको प्रभावले ३ करोडभन्दा बढी मानिस फेरि गरिबीमा धकेलिन सक्ने चेतावनी दिएका छन् । उनले युद्ध तत्काल अन्त्य भए पनि यसको असर लामो समयसम्म रहने बताए । इन्धन र मल आपूर्तिमा आएको अवरोधले विशेषगरी गरिब देश र सर्वसाधारणमा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ ।

उनका अनुसार आगामी केही महिनामा विश्वस्तरमै खाद्य असुरक्षा उच्च बिन्दुमा पुग्न सक्छ । यस्तो अवस्था नियन्त्रण गर्न सीमित उपाय मात्रै उपलब्ध रहेको उनले उल्लेख गरेका छन् ।

यसैबीच, युद्धका कारण विश्व अर्थतन्त्र पनि प्रभावित भएको छ । अनुमानअनुसार विश्वको कुल आर्थिक उत्पादनमा ०.५ देखि ०.८ प्रतिशतसम्म क्षति भइसकेको छ ।

डी क्रूले केही साताको युद्धले दशकौंमा भएको आर्थिक तथा सामाजिक प्रगति समेत नष्ट गर्न सक्ने भन्दै तत्काल समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

Read More

लामिन यमल यस सिजनका खेल खेल्न नसक्ने, बार्सिलोनालाई धक्का

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामिन यमल ला लिगाको बाँकी सिजनबाट बाहिरिएका छन् । ह्यामस्ट्रिङ चोटका कारण उनी अब बाँकी खेलहरू खेल्न नसक्ने भएका हुन् ।

क्लबका अनुसार गरिएको स्वास्थ्य परीक्षणमा उनको खुट्टाको मांसपेशी च्यातिएको देखिएको छ । त्यसपछि क्लबले दीर्घकालीन फिटनेसलाई ध्यानमा राख्दै सावधानीपूर्वक उपचार योजना अपनाउने निर्णय गरेको जनाएको छ ।

यो चोट ला लिगाअन्तर्गत सेल्टा भिगोविरुद्धको खेलमा लागेको हो । उक्त खेलमा बार्सिलोनाले १–० को झिनो जित निकालेको थियो । सो खेलमा यमलले पेनाल्टी गोल गरेका थिए ।

गोल गरेलगत्तै उनले खुट्टामा असहज महसुस गर्दै मैदानमै लडेको देखिएको थियो । चिकित्सक टोलीले तुरुन्तै जाँच गरेपछि उनलाई मैदानबाट बाहिर लगिएको थियो । उनी आफैं हिँडेर बाहिरिए पनि सिधै ड्रेसिङ रुमतर्फ गएको दृश्यले चोट गम्भीर भएको संकेत दिएको थियो ।

पछि गरिएको विस्तृत परीक्षणमा उनको देब्रे खुट्टाको मांसपेशी च्यातिएको पुष्टि भएको हो । यससँगै क्लबले जोखिम नलिँदै उनलाई सिजनका बाँकी खेलबाट बाहिर राख्ने निर्णय गरेको छ । यमलको इन्जुरी बार्सिलोनाका लागि ठुलो धक्काको रुपमा हेरिएको छ ।

यद्यपि, फिफा विश्वकपसम्म उनी निको हुने आशा गरिएको छ । उपचार र पुनःस्थापनाको प्रक्रिया ठीकसँग अघि बढेमा उनी प्रतियोगितामा खेल्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

यसबीच स्पेनको राष्ट्रिय टोलीले पनि उनको अवस्थामाथि नजिकबाट निगरानी राखिरहेको जनाएको छ । छोटो समयमै अन्तर्राष्ट्रिय फुटबलमा प्रभाव जमाएका यमलको उपलब्धता टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

Read More

कांग्रेसको संसदीय दलको नेता चयन आज हुदै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन आज निर्वाचनबाट हुदैछ ।

कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरू गरेको हो ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता र निर्वाचन प्रक्रिया हुँदैछ । त्यसअघि बिहीबार नै सिंहदरबारमा निर्वाचन समितिले संसदीय दलमा संशोधित विधान पेश गरेको छ । २०७४ को संसदीय दलको विधानलाई संशोधन गर्दै नयाँ विधान पेश भएको छ । दलमा पेश भएको विधानमा संशोधन गर्नुपर्ने भए शुक्रबार बिहान ८ बजेसम्म संशोधन प्रस्ताव पेश गर्न समय दिइएको छ ।

त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरू भएपनि अन्तिम समयसम्म सहमतिको प्रयास गरिने बताएका छन् ।

दलको नेता चयनका लागि शुक्रबार ३ बजे उम्मेदवारी मनोनयन गर्ने समय तोकिएको छ । त्यस्तै दिउँसो ५ बजेपछि मतदान र मतदात सकिए पछि मतगणना गरेर शुक्रबार नै निर्वाचन परिणाम घोषणा हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा, निस्कल राईलगायतको दावी छ ।

Read More

विश्व खोप सप्ताह आजदेखि सुरु

काठमाडौँ । अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभरी खोप सप्ताहको रुपमा मनाइन्छ भने नेपालमा बैशाख महिनालाई नै खोप महिनाको रुपमा मनाउने गरिन्छ । 

यस बर्षको खोप सप्ताहको विषयवस्तु ‘प्रत्येक पुस्ताको लागि, खोपले काम गर्छ’ भन्ने रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ ।

बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ ।

यो सप्ताहमा पाँच वर्षमुनिका बालबालिकाले कुनै खोप लगाउन छुट भएकालाई  गाउँ टोलमा सोध खोज गरेर खोप लगाउन छुट भएका बालबालिका पहिचान गरिन्छ र छुट खोप लगाउने गरिन्छ ।

Read More

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालको सामना भानुआटुसँग

काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले भानुआटुको सामना गर्दैछ । आज यो खेल नेपाली समय अनुसार दिउसो १२: ४५ बजेदेखि शुरु हुदैछ ।

यसअघि खेलेका ३ खेलमा नेपालले २ जित एक हार बेहोरेको छ । नेपालले अमेरिकासँग हार बेहोरेको थियो भने इटाली र रुवाण्डालाई पराजित गरेको थियो । त्यस्तै भानुआटुले तीन खेलमा तिनै खेलमा हार बेहोरेको छ ।

यो प्रतियोगिता खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

नेपालले अर्को खेल अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

Read More