२०८३ बैशाख २२

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भईरहेको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी  प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको  सम्भावना रहेको छ। 

आज राती कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने,  लुम्बिनी र सुदुरपश्चिम प्रदेश सहित बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

Read More

२०८३ बैशाख ३ गते विहिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख ३ गते विहिबार ईस २०२६ अप्रिल १६ नेपाल सम्बत ११४६ चौलागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा मीन राशिमा, उत्तर भाद्रपदा नक्षत्र, एन्द्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ, काम छाडेर गफगाफमा भुलिन सक्नुहुन्छ, तर रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनुपर्ने दिन हो । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ । मौसमी रोगको सामान्य जोखिम छ, सचेत हुँदै कार्यक्षेत्रमा खट्ने समय हो, व्यक्तिगत प्रतिष्ठा र सम्मान पाउन सकिने छ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । मन एकतमासको बन्नेछ, लड्ने, चिप्लने सम्भावना पनि छ, बोल्दा पनि ख्याल राख्नु होला, नत्र सिनियर्ससित झगडापर्ने दिन हो । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । निणर्य लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । भ्रम र महत्त्वाकाङ्क्षामा अलमलिनाले चाहिंदारनचाहिंदा काम गर्ने मनसाय बन्नसक्छ । उता विपरीत लिङ्गीसँगको सम्बन्धमा समेत चिसोपन आउनसक्छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निणर्य लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

बौद्धिक सामथ्र्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

शत्रु वा प्रतिद्वन्द्वीको चाकरी गरेर आफ्ना स्वार्थ पूरा गर्नुपर्ने बाध्यता देखिन्छ । आज कारणवश लुक्नुपर्ने वा मोबाइल स्वीचअफ गर्ने परिस्थिति सिर्जना हुनेछ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । नियमरकानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा नाइँ पनि भन्न सक्नुपर्छ ।

Read More

सुनसरीबाट करिब २२५ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौँ ।  सुनसरीको बराहक्षेत्र नगरपालिका-६ पटवारीबाट अवैध लागूऔषध गाँजा करिब २२५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका-६ बस्ने २० वर्षीय बिशेष माझीसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको को.३० प ९४७५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

Read More

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी सर्वसाधारणका लागि सञ्चालनमा

काठमाडौँ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि सञ्चालनमा आएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रसाशन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो । 

सो अवसरमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख देवराज कट्वाल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख लीलाराम बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

हरेक दिन पौडी पोखरी १०–१२, १–३ र ४–७ बजेसम्म गरी ३ सिफ्टमा सञ्चालन हुनेछ । पहिलो र दोश्रो सिफ्टका लागि २ सय तथा तेश्रो सिफ्टका लागि २ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।

Read More

कांग्रेस नेता खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा कागजात पेश गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामा राख्नुको कारण सोधेको छ ।

बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले खड्कालाई थुनामा राख्नुको कारणसहित लिखित जवाफ समेत पेश गर्न भोलीसम्मको समय दिएको हो । सर्वोच्चले खड्कालाई राजश्व अनुसन्धान विभागको अनुरोधमा ललितपुर जिल्ला अदालतले म्याद थप गरेको भन्ने कागज अप्रमाणित देखिएको र अदालतमा महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गरिएको उक्त पत्र आधिकारिक पुष्टि नभएकोले सो सम्बन्धी सम्पू्र्ण कागज विहिबार पेश गर्न आदेश दिएको हो ।

राजश्व अनुसन्धान विभागको अनुरोधमा ललितपुर जिल्ला अदालतले थुनामा राख्न म्याद थप गरेको हो भने त्यससम्बन्धी सबै मिसिल म्याद थप गर्दा तयार गरिएको पर्चासहितका कागजात पेश गर्न आदेश दिएको छ ।

खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

Read More

इजरायलसहित चार देशको श्रम स्वीकृति पुन: खुल्यो

काठमाडौं । सरकारले थप चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको जानकारी दिएको हो । 

मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति रोकिएको थियो ।

यस्तै नेपालीको अर्को श्रम गन्तव्य देश इराकको हकमा भने नेपाल सरकार मन्त्रिपरिषदको २०८२ पुस ११ गतेको निर्णय वमोजिम श्रम स्वीकृति प्रदान हुने पनि विभागले जनाएको छ । यसअघि साउदी अरेबिया, युएइ, कतार, ओमान, यम, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुचारु गरिसकिएको विभागले जनाएको छ ।

Read More

नेप्से ३३.२७ अंकले बढ्यो, १० अर्ब ५३ करोडको कारोबार

काठमाडौँ । नेप्से आज बढेको छ । आज बुधबार नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४४ कम्पनिका २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर १० अर्ब ५३ करोड ७०  लाख ८ हजार ७९६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, रिज लाइन इनर्जी, सुर्यकुण्ड हाइड्रो,  होटल फोरेस्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदीको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको शेयर ५.६१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ५८ करोड ९ लाख बराबर कारोबार भएको छ भने रिनेशनल हाइड्रोको ५७ करोड ११ लाख बराबरको कारोबार भएको छ ।

Read More

पीएम कपका लिग चरणका खेल सकिए, जय ट्रफीमा यी ६ टिम छानिए

काठमाडौँ । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणका खेल सकिएका छन् ।

बुधबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र मधेश प्रदेसले जित हासिल गरेसँगै यस सिजनको पीएम कपका लिग चरणका खेल सकिएका हुन् ।

आज सम्पन्न खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई एक विकेटले पराजित गरेको थियो । लुम्बिनीले दिएको १३९ रनको लक्ष्य पछाएको आर्मीले २५.२ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

त्यस्तै अर्को खेलमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको थियो । पुलिसले दिएको १३१ रनको लक्ष्य पछाएको मधेशले २४.१ ओभरमै ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

जितसँगै अर्को बर्ष तेस्रो संस्करणको जय ट्रफी खेल्ने ६ टिमको पनि टुंगो लागेको छ । त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम, एपीएफ क्लब, मधेश प्रदेश, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश जय ट्रफीका लागि छनौट भएका हुन् ।  यसअघि प्रधानमन्त्री कपका शीर्ष चार टोलीले जय ट्रफी खेल्दै आएका थिए। नेपाल क्रिकेट संघ (क्यान)ले यस वर्षदेखि शीर्ष ६ टोलीलाई जय ट्रफीमा सहभागिता गराउने निर्णय गरेको हो।

त्यस्तै प्रधानमन्त्री कपका शीर्ष दुई टोली फाइनलमा पुगेका छन् । फाइनल खेल शुक्रबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच हुने भएको छ ।  

Read More

संसदमा सम्बोधन नगरेकोप्रति प्रधानमन्त्रीसँग रक्षा बम असन्तुष्ट, दिइन् यस्तो सुझाव

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाहले संसदमा सम्बोधन नगरेको विषय उठाएकी छन् । संसदको पहिलो अधिवेशनमा प्रधानमन्त्रीको सम्बोधन सुन्न नपाएको उल्लेख गर्दै संसद मार्फत राष्ट्रलाई संबोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको बताएकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै रक्षाले प्रधानमन्त्रीले संसदलाई सम्बोधन नगरेर निजी शैलीमा शासन चलाउने सोचेको भए पहिलो खुड्किलाबाटै फर्किन सुझाव दिएकी छन् । उनले भनेकी छन्- ‘यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नु भएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस् र पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट लोकतान्त्रिक अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गरेर उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई सच्याउनुस् ।’

रक्षाले लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य-मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनु पर्दछ भन्दै जनतालाई आफ्ना समस्याहरूको प्राविधिक समाधान मात्रै होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिने उल्लेख गरेकी छन् ।

उनले प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै सक्षम र सबल भए पनि अब एक व्यक्तिका हिसाबले सीमित नभएको र पुरानाहरू जस्तै आफूलाई असीमित ठान्ने भूल नदोहोर्याउन चेतावनी समेत दिएकी छन् । 

उनले भनेकी छन्: 

सम्माननीय प्रधानमन्त्रीज्यू, संसद्को पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौं। चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपर्थ्यो। यो परिवर्तनलाई स्वीकार्दै जनतालाई सम्बोधन गर्नु तपाईंको जिम्मेवारी थियो। तर तपाईंले संसदमा नबोली अधिवेशन सक्नु भयो।

हामी तपाईंको आवाज सुन्न चाहन्छौं। “कुरा कम, काम बढी” भन्ने धारणा तपाईंको व्यक्तिगत विश्वास होला तर संसद मार्फत राष्ट्रलाई संबोधन गर्नु पनि तपाईको कर्तव्य हो। लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनु पर्दछ।जनतालाई आफ्ना समस्याहरूको प्राविधिक समाधान मात्रै होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिने गर्दछ।

यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नु भएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस् र पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट लोकतान्त्रिक अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गरेर उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई सच्याउनुस्।

Read More

अण्डमान सागरमा डुङ्गा डुब्दा करिब २५० रोहिंग्या र बंगलादेशी नागरिक बेपत्ता

काठमाडौँ । अण्डमान सागरमा एउटा डुङ्गा डुब्दा करिब २५० रोहिंग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन् ।

संयुक्त राष्ट्रसंघको शरणार्थी तथा आप्रवासन निकायका अनुसार गत साता खराब मौसम र अत्यधिक यात्रु चढाइएका कारण दुर्घटना भएको हो । उक्त डुङ्गा बंगलादेशबाट मलेसियातर्फ जाँदै थियो । बंगलादेश तटरक्षकले अप्रिल ९ मा आफ्नै जहाजमार्फत ९ जनालाई उद्धार गरेको जनाएको छ । तर बाँकी यात्रुहरूको अवस्था अझै अज्ञात रहेको छ ।

सन् २०१७ मा म्यानमारमा भएको हिंसापछि ठूलो संख्यामा रोहिंग्या समुदाय बंगलादेशमा शरण लिन बाध्य भएका थिए । म्यानमार सरकारले उनीहरूलाई नागरिकता दिएको छैन । उता बंगलादेशका शरणार्थी शिविरमा कमजोर अवस्थाका कारण धेरैजसो रोहिंग्या राम्रो जीवनको खोजीमा मलेसिया लगायत देशतर्फ जोखिमपूर्ण समुद्री यात्रा गर्ने गरेका छन् ।

उद्धार गरिएका रफिकुल इस्लामले आफू करिब ३६ घण्टा समुद्रमा पौडिएर बाँचेको बताएका छन् । उनले डुङ्गाबाट बगेको तेलका कारण शरीर जलेको पनि बताएका छन् । उनले मलेसियामा काम पाउने आशामा यो यात्रा सुरु गरेको बताएका छन् ।

Read More