२०८३ बैशाख १३

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जादै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पाँच दिने भ्रमणका लागि चीन जादैछन् । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जीङपीङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजदेखि भदौ १८ गतेसम्मका लागि चीन भ्रमणमा जान लागेका हुन् । 

यस भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई  कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनु रहेको छ । 

शाङ्घाई सहयोग संगठन (एससिओ), सन् २००१ मा स्थापना गरिएको, आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । त्यस्तै अफगानिस्तान र मंगोलिया, दुई देश पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स शाङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) रहेका छन् । नेपाल, सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ । 

यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जीङपीङसँग दुई पक्षीय भेट हुने कार्यक्रम छ । त्यस्तै  बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुने तालिका रहेको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले भदौ १६ गते थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा सहभागिता जनाउदै त्यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एससिओ शिखर सम्मेलनका क्रमआमा प्रधानमन्त्री ओलीले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ । थियानजिनबाट सोही दिन प्रधानमन्त्री ओली बेइजिङ्ग जाने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हालसम्म रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका  प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको छ ।  

प्रधानमन्त्री ओलीले भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछन् । चीन सरकारले जानकारी दिए अनुसार ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउनेछन् ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा उनकी श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छबिलाल विश्वकर्मा  र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुने बताइएको छ ।

Read More

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बिहान ११ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।  

Read More

एकीकृत समाजवादी समाप्त पार्न ओली योजनाबद्ध रुपमा अघि बढिरहेका छन्: माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले पार्टीको निम्ति समस्या नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।

शुक्रबार एकीकृत समाजवादीको काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिमा पार्टीसामु सबैभन्दा ठूलो समस्या ओली भएको बताएका हुन् ।

‘हाम्रो पार्टीको सामु सबैभन्दा समस्या को भएको छ ? साँच्चै समस्या को छ ? एमालेको नेतृत्व भएको छ, केपी ओली । यथार्थ त्यही हो । एउटा कम्युनिष्ट पार्टीको निम्ति समस्या कथित कम्युनिष्ट पार्टीको नेता आफैं भएको छ,’– उनले भने ।

ओलीले अहिले कसरी कांग्रेसलाई शत्रु बनाइदिने, कसरी माओवादीसँग दोस्ती तोड्दिने र एकीकृत समाजवादीलाई ठिङ्गो एक्लै उभ्याइदिने खेल खेलिरहेको उनले बताए । ओलीभित्र एकीकृत समाजवादीलाई कमजोर र खतम बनाउने सोच रहेको बताउँदै उनले यस्ता सोचलाई स्वीकार गर्न नसकिने प्रष्ट पारे ।

Read More

सरकार-उखु किसानको वार्ता सहमति विहीन: सरकारलाई ७ दिने अल्टिमेटम, माग पुरा नभए सडक आन्दोलन

काठमाडौँ । उखु किसान संघर्ष समितिले सरकारलाई समितिले अघि सारेका माग पूरा गर्नको लागि ७ दिनको अल्टिमेटम दिएको छ । आज अपरान्ह भएको सरकारसँगको वार्तामा कुनै सहमति नभएको समितिले जनाएको छ ।

सिंहदरबारस्थित् कृषिमन्त्री रामनाथ अधिकारीको च्याम्बरमा भएको छलफल बिनानिश्कर्ष सकिएको हो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएकोले ७ दिन कुर्ने तर त्यसपछि राजमार्गकेन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग दोहोर्याएका छन् । वार्तामा सहभागीहरुले अर्थमन्त्री विष्णु पौडेलको नाम लिएर आलोचना गरेका थिए ।

Read More

आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा शनिबार विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदैछ ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सन् १९८१ देखि संयुक्त राष्ट्रसंघ र एम्नेष्टी इन्टरनेसनलको सक्रिय भूमिकामा हरेक वर्षको अगस्त ३० तारिखमा विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवस मनाउने क्रमको सुरुआत ल्याटिन अमेरिकी राष्ट्र कोष्टारिकाबाट भएको हो ।

संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्तको कार्यालयको तत्त्वावधान संयुक्त राष्ट्र सङ्घले महासभामा १८ डिसेम्बर १९९२ मा बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिको बचाउ गर्ने सम्बन्धी एक महत्त्वपूर्ण दस्ताबेजको रूपमा घोषणापत्र नै जारी गरेपछि जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्यका विरुद्ध औपचारिक बहसको थालनी भएको हो । अझ संयुक्त राष्ट्रसङको महासभामा बलपूर्वक बेपत्ता पारिनबाट सबै व्यक्तिहरूको संरक्षण गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई २० डिसेम्बर सन् २००६ मा जारी गरे पछि त अन्तर्राष्ट्रिय स्तरमै बेपत्ता पार्ने कार्यको रोकथाम र पीडितको सत्य, न्याय र परिपूरणको अधिकारलाई कानुनद्वारा नै सुनिश्चितता प्रदान गरिएको छ ।

नेपालमा पनि दशकौँ लामो द्वन्द्वका क्रममा हजारौँ मान्छे बेपत्ता भएको तथ्याकं छ तर युद्ध बिरामको आधा दशक भइसक्दा पनि न्याय हुन नसक्नु दुखदायी रहेको छ । अन्तर्राष्ट्रियरुपमा मानव अधिकारमा कार्यरत मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समिति जस्ता संस्थाले नेपालमा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिबारे विश्वव्यापी रूपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग सशस्त्र युद्धका क्रममा राज्य र तत्कालीन बिद्रोही पक्षबाट ३१ सय १४ जना बेपत्ता पारीएको तथ्यांक छ ।

Read More

शनिबार यी तिन स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने र बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ ।

Read More

नेपालले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दै

काठमाडौँ । अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु भएको छ ।

नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।

हाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम अस्ट्रेलियामा रहेको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन् ।

Read More

भदौ १४ गते शनिबार, बिशेष यी राशिहरुको हुदैछ आज भाग्य उदय

आज भदौ १४ गते शनिबार ई.सं. २०२५ अगस्त ३० नेपाल सम्बत ११४५ ञलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल सप्‍तमी , चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, एन्‍द्र योग, गर करण ।

आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४२ मिनेटमा हुदैछ भने सूर्यास्त साँझ ०६ बजेर २९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १५ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा महालक्ष्‍मी व्रतआरम्‍भ , गौरा सप्‍तमी र विश्‍व बेपत्ता विरुद्धको दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरीरमा खिन्नता र अस्वस्थता देखा पर्नेछ, तर पनि अचानक धन प्राप्ति हुने योग बनेको छ, कुनै लटरी वा चिट्ठा नै पनि पर्नसक्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्‌नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ, आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनु होला । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ । प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । दार्शनिक र धार्मिक प्रकृतिका काममा आकर्षण बढ्ने वा खट्ने दिन छ । घरबाट कुनै माङ्गलिक कर्म गर्ने सूचना आउनसक्छ, सम्पर्क गरी जानकारी बटुल्नु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्‌नै कमजोरीले मन दुःखित बन्नसक्छ । उधारो दिन वा ऋणसापटीमा रकम लगानी गर्नबाट जोगिनुपर्ने समय हो, तर पनि सँगीसाथीसँग समन्वय गरी अघि बढेमा लाभ पाउन सक्नुहुन्छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खानपानप्रतिको आकर्षण बढ्ने दिन हो, चिल्लोचापिल्लो र गुलियो पदार्थमा रुचि जाग्नेछ । फुर्सदमा कुनै ग्रन्थ, वाङ्मय र धार्मिक, पौराणिक विषयवस्तुको अध्ययन गर्न सकिन्छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बौद्धिक सामर्‌थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पर्‌द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । धार्मिक/सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो ।

Read More