२०८३ बैशाख १३

भदौ १४ गते शनिबार दिनभरका प्रमुख २० समाचार

काठमाडौँ । भदौ १४ शनिबार देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक बारे चिनियाँ राष्ट्रपति सी जीङपीङसँग स्पष्ट कुरा राखेका छन् । शनिबार चीनको थियानजिनको अतिथि गृहमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति सी जीनपीडसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ । साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा मैले राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन् । सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने नेपालले विश्वास लिएको राष्ट्रपति सी जीङपीङसँगको कुराकानीका क्रममा राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

२- वीरगंज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालयहरू बन्द गरेको छ । वीरगंजमा झाडापखाला र हैजाको संक्रमण कायमै रहेकाले विद्यालयहरू थप तीन दिनका लागि बन्द गरेको जानकारी दिएको छ । यसअघि भदौ १३ गतेसम्म बन्द रहेका महानगर क्षेत्रका विद्यालय अब १७ गतेसम्म बन्द हुने भएका छन् । महानगरले भनेको छ- विगत केही समयदेखि बढ्दै गएको हैजाको प्रकोपलाई मध्यनजर गर्दै भोलि मिति २०८२ भाद्र १५ गतेदेखि १७ गतेसम्म सबै विद्यालय तथा कोचिङ सेन्टरहरूको पठनपाठन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्नुहुन अनुरोध छ ।’

३- भारतीय प्रधानमन्त्री मोदी शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन चीनको तियानजिन पुगेका छन् । जापान भ्रमण सकेर मोदी सिधै चीन पुगेका हुन् । २०२० मा गलवान उपत्यकामा भारत-चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण रहेकाले यस भ्रमणलाई विशेष रुपमा हेरिएको छ । अर्कोतर्फ अमेरिकाले कर लगाएपछि सम्बन्ध चिसिएको समयमा मोदीको चीन भ्रमणले विश्वको ध्यान केन्द्रित गरेको छ । मोदीले यसअघि २०१८ मा चीनको भ्रमण गरेका थिए । यो उनको चीनको छैटौं भ्रमण हुनेछ । गत महिना विदेशमन्त्री एस. जयशंकरले चीनको भ्रमण गरेका थिए, जहाँ उनले राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यीलाई भेटेका थिए । जयशंकरले जलस्रोत तथ्याङ्क साझा गर्ने, व्यापार प्रतिबन्ध, एलएसीमा तनाव कम गर्ने र आतंकवाद र अतिवाद विरुद्ध कडा अडान लिने जस्ता मुद्दाहरूमा छलफल गरेका थिए । मिडिया रिपोर्टका अनुसार, यो बैठकले मोदीको चीन भ्रमणको लागि रोडम्याप तयार पारेको थियो ।

४- प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जीनपीङसँग भेटवार्ता भएको छ । चीनको थियानजिनमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी जीनपीङसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षिय भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आजै चीनको थियानजिन शहरमा पुगेका हुन् ।

५- काठमाडौंमा आन्दोलनरत उखु किसानले सर्लाहीको हरिवनमा भदौ २५ देखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् । शनिबार माइतीघरमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन् ।आन्दोलनका संयोजक श्यामबाबु रायले भनेका छन्- ‘हामीले एक हप्ता काठमाडौंमा आएर आन्दोलन गर्दा समेत सरकारले ध्यान दिएको छैन। झरीमा भिजेर आन्दोलन गर्दा केही किसान बिरामी समेत परे, त्यसैले हामी अब राजमार्ग केन्द्रित आन्दोलनमा होमिएका हौँ। हामीले अनुदान चन्दा माग्न आएका हैनौँ। हामीले उत्पादन गरेको उखुबाट बनेको चिनीबाट पनि हामीले कर तिरेका हौँ ।’ उखु उत्पादक महासंघ, नेपालको अगुवाइमा पूर्व निर्धारित आन्दोलनको कार्यक्रमअन्तर्गत नेपाल सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान रकममा बदनियतपूर्ण ढंगबाट कटौती गरेको भन्दै विरोधमा उत्रिएका थिए। उनीहरूले उखुको मूल्य तोक्दा उखु किसानको सहभागिता सुनिश्चित गर्न १३ जिल्लाका उखु किसानको भदौ ८ गतेबाट काठमाडौंको माइतीघर मण्डलामा ७ दिनदेखि धर्ना एवं विरोध प्रदर्शन गरिरहँदा पनि सरकारले चासो नदिएको गुनासो गरेका छन् ।

६- नेपालले साउथ अस्ट्रेलियाले पराजित गरेको छ । शनिबार सम्पन्न एकदिवसीय खेलमा नेपालले साउथ अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो । साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य पछाएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपाललाई जिताउने क्रममा कप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए भने सोमपाल कामीले महत्वपूर्ण अविजित ३८ रनको योगदान गरेका थिए । रोहित र सोमपालले नवौं विकेटका लागि ८३ रनको साझेदारी गरेर नेपाललाई जित दिलाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अल आउट हुदै २४२ रन बनाएको थियो । अभ्यास खेलमा नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो । योसंगै नेपाली राष्ट्रिय क्रिकेट टिमको अस्ट्रेलिया टूर सकिएको छ ।

७- प्रशिक्षक राहुल द्रविडले आइपीएल फ्रेन्चाइजी राजस्थान रोयल्स छोडेका छन् । फ्रेन्चाइजीले शनिबार द्रविड टिमबाट अलग भएको घोषणा गरेको हो । राजस्थानले द्रविडले आइपीएल २०२६ सिजन अगाडि फ्रेन्चाइजीको मुख्य प्रशिक्षकको रूपमा आफ्नो कार्यकाल पूरा गरेका छन् । द्रविडलाई गत वर्ष सेप्टेम्बरमा राजस्थानको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो । भारतीय टोलीलाई २०२४ को टी-२० विश्वकपको विजेता बनाएपछि द्रविडले राजस्थान रोयल्ससँग सम्झौता गरेका थिए । पूर्व ब्याट्सम्यान राहुल द्रविडको राजस्थान रोयल्ससँग लामो सम्बन्ध रहेको छ । उनले आइपीएलमा राजस्थानबाट खेलेका पनि थिए र उनले कप्तानी पनि गरेका छन् । उनको नेतृत्वमा राजस्थानले २०१२ र २०१३ मा खेलेको थियो । साथै, उनी २०१४ र २०१५ मा टोलीको मेन्टर पनि थिए । यसपछि, २०१६ मा, अनुभवी दिल्ली डेयरडेभिल्स (अहिले क्यापिटल्स) मा सामेल भए । द्रविड फेरि राजस्थान फ्रान्चाइजसँग जोडिएका थिए, तर यस पटक उनको यात्रा एक वर्षमै सकिएको छ । मिडिया रिपोर्टका अनुसार राजस्थान रोयल्सले द्रविडलाई प्रशिक्षकबह्न्दा बढी भूमिका दिन अफर गरेपनि उनले सो प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

८- इन्डोनेसियाको मकासर शहरमा प्रदर्शनकारीहरूले क्षेत्रीय संसद भवनमा आगजनी गरेका छन् । यस घटनामा तीन जनाको मृत्यु भएको र ५ जना घाइते भएको रिपोर्टमा उल्लेख छ । प्रदर्शनकारीहरूले भवनमा आगो लगाएको आरोप लगाएको र आगलागीपछि भवनबाट हाम फाल्ने प्रयास गर्दा केही व्यक्तिहरू घाइते भएको बताइएको छ । हाल सांसदहरुको तलब भत्ता बढी भएको भन्दै इन्डोनेसियाका धेरै शहरहरूमा ठूला प्रदर्शनहरू भइरहेका छन् । शुक्रबार, एक प्रहरी गाडीले मोटरसाइकलमा गइरहेका एक डेलिभरी चालकलाई कुल्चिएर मृत्यु भएपछि प्रदर्शनकारी आक्रोशित बनेका थिए । प्रदर्शनकारीहरूले प्रहरी र सरकारी भवनहरूमा ढुङ्गा र पटाका प्रहार गरे र उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । चालकको मृत्युको सम्बन्धमा सात अधिकारीहरूलाई हिरासतमा लिइएको छ । रिपोर्टका अनुसार, यी प्रदर्शनहरूमा २०० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन् । राष्ट्रपति प्रबोवो सुबियान्तोले मानिसहरूलाई शान्ति कायम राख्न अपील गरेका छन् । उनले घटनाको अनुसन्धानको आदेश दिए र मृतक चालकको परिवारलाई भेट गरेको रिपोर्टमा उल्लेख छ ।

९- भारतको रिलायन्स जियोले आफ्नो पहिलो स्मार्ट चश्मा ‘जियो फ्रेम्स’ लन्च गरेको छ । आफ्नो वार्षिक साधारण सभा (एजीएम) मा रिलायन्स जियोले आफ्नो पहिलो स्मार्ट चश्मा ‘जियो फ्रेम्स’ लन्च गरेको हो । यो साधारण चश्मा होइन, तर एक स्मार्ट उपकरण हो जसले तपाईंको धेरै कामहरू सजिलो बनाउने दाबी गरिएको छ । अब तपाईंले कल गर्न वा फोटो खिच्न बारम्बार आफ्नो खल्तीबाट फोन निकाल्नु पर्दैन । यो एक स्मार्ट चश्मा हो, जुन सामान्य स्टाइलिश चश्मा जस्तो देखिन्छ, तर भित्र प्रविधिको खजाना रहेको छ । यसको सबैभन्दा ठूलो आकर्षण यसको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधा हो, जसले यसलाई केवल ग्याजेट मात्र होइन, व्यक्तिगत सहायक पनि बनाउँछ । जियोले यो अद्भुत चश्माको झलक देखाएको छ, तर यो कहिले बजारमा उपलब्ध हुन थाल्छ र यसको मूल्य कति हुनेछ भनेर अहिलेसम्म बताएको छैन । यद्यपि, जानकारीको लागि, भारतमा मेटा रेब्यान स्मार्ट चश्माको मूल्य लगभग ३५ हजार भारुबाट सुरु हुनसक्ने बताइएको छ ।

१०- अफ्रिकी देश मौरिटानियाको तट नजिकै डुङ्गा डुब्दा ४९ जनाको मृत्यु र करिब सय जना बेपत्ता भएका छन् । समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार गस्ती टोलीले १७ जनालाई उद्धार गरेको छ । अहिलेसम्म ४९ जनाको शव निकालिएको छ भने बेपत्ता व्यक्तिहरूको खोजी जारी छ । उद्धार गरिएका व्यक्तिहरूले डुङ्गामा सेनेगल र गाम्बियाका नागरिकहरू सहित लगभग १६० जना रहेको बताएका छन् । स्थानीय प्रहरीले पनि मृत्यु हुनेको संख्या पुष्टि गरेको छ । दुर्घटना राति अबेर भएको थियो जब डुङ्गामा सवार आप्रवासीहरूले मौरिटानियाको राजधानी नौआकचोटबाट ८० किलोमिटर उत्तरमा रहेको शहरको बत्ती देखेपछि उनीहरु डुङ्गामा एक छेउमा झुकेपछि डुङ्गाको सन्तुलन बिग्रिएर पल्टिएको बताइएको छ ।

११- फिल्म ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । निर्माणपक्षले चलचित्रको रिलिज डेट तोक्दै कात्तिक २७ गते रिलिज गर्ने घोषणा गरेको हो । कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । यसको अर्थ र चलचित्रसँग के सम्बन्ध छ, यसबारे भने निर्माणपक्षले केही जानकारी दिएको छैन । पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्टप्रोडक्सनमा छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् । प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको ‘शिवांश : च्याप्टर–१’मा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।

१२- जापान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी उन्नत बुलेट ट्रेनमा यात्रा गरेका छन् । मोदीले जापानका प्रधानमन्त्री शिगेरु इशिबासँग रेल यात्रा गर्दै मियागी प्रान्तको सेन्दाई पुगेका थिए । यस क्रममा मोदीले भारतीय रेल चालकहरूलाई पनि भेटे । जापानको पूर्वी रेलवेले उनीहरूलाई तालिम दिइरहेको छ । उनीहरूले भारतमा चल्ने बुलेट ट्रेनहरू चलाउने तालिम लिइरहेका छन् । मोदीले शुक्रबार १५औं भारत-जापान शिखर सम्मेलनमा भाग लिएका थिए । यस क्रममा दुई देशबीच १५० सम्झौतामा हस्ताक्षर भएको थियो ।

१३- कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेपछि उनको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा उनले गर्ने दैनिक प्रशासनिक कार्य गर्न सिंहलाई कार्यवाहक तोकेको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ ।

१४- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ । कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो । परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२ साउन १२ गते देखि नियमित रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आयोजनाको व्यापारिक उत्पादन सुरुथालेको हो। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड उर्जाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ । आयोजनाले ३ चैत्र २०६८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो । ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन (आइइइ ) २०८१ असोज ८ गते स्वीकृत भएको थियो । यस प्लान्टबाट वार्षिक ६१ दशमलव ३१९ गीगावाटघण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये ५० दशमलव ८९३ गीगावाटघण्टा वर्षायाममा र १० दशमलव ४२५ गीगावाटघण्टा सुख्खा मौसमी अवधिमा उत्पादन हुने अनुमान गरिएको छ।

१५- रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानको शनिबार बिहान निधन भएको छ । ७२ वर्षीय मुसलमानको हृदयघातका कारण शनिबार बिहान निधन भएको हो । मुसलमान गत निर्वाचनमा नेपाली कांग्रेसबाट नगर प्रमुखमा विजयी भएका थिए । मुसलमानको छातीमा समस्या देखिएपछि परिवारले उपचारका लागि चिकित्सकसहित भैरहवास्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवार निकटले जानकारी दिएका छन् ।

१६- काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको शुभकामना दिदै लिपुलेक बारे चीनलाई सम्झाउन नबिर्सिन आग्रह गरेका छन् । बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उल्लेख गर्दै लिपुलेक हाम्रै भएको चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् । बालेनले भनेका छन्: चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । अल द बेस्ट हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।

१७- अल नासरले साउदी प्रो लिगको नयाँ सिजनमा शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल-तावाउन एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै सिजनको शानदार शुरुवात गरेको हो । पहिलो हाफमा १-० ले अगाडी रहेको अल नासरले दोस्रो हाफमा ४ गोल थपेको थियो । अल नासरको जितमा जोआओ फेलिक्सले लिगको डेभ्यु खेलमा ह्याट्रिक गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डो र किंग्सले कोम्यानले एक एक गोल गरेका थिए । कोम्यानको पनि यो लिगमा डेभ्यु गोल हो ।

१८- श्रीलंकाले जिम्बाबेलाई एकदिवसीय सिरिजको पहिलो खेलमा पराजित गरेको छ । हरारेमा शुक्रबार राति सम्पन्न खेलमा श्रीलंकाले जिम्बाबेलाई ७ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको २९९ रनको लक्ष्य पछाएको जिम्बाबेले ५० ओभरमा ८ विकेट गुमाउदै २९१ रन बनाएपछि खेल ७ रनले हारेको थियो । जिम्बाबेका लागि सिकन्दर राजाले सर्बाधिक ९२ रन बनाएका थिए भने बेन कुरानले ७०, कप्तान सीन विलियम्सले ५७ र टोनी मुनीओन्गाले ४३ रन बनाएका थिए । त्यस्तै श्रीलंकाका बलर दिलशान मदुशंकाले सर्बाधिक ४ विकेट लिएका थिए भने असिथा फेर्नान्डोले ह्याट्रिक लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २९८ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले सर्बाधिक ७६ रन बनाए भने जनिथ लियानांगेले अविजित ७० रन बनाए भने कमिन्दु मेन्डिसले ५७ रन बनाएका थिए । यो जितपछि श्रीलंकाले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुदैछ ।

१९- अल हिलालले साउदी प्रो लिगमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल रियादलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । अल हिलालको जितमा मोटेब अल हार्बी र माल्कमले एक एक गोल गरेका थिए । अल हिलालले दुवै गोल पहिलो हाफमा गरेको थियो । योसँगै साउदी लिगमा अल हिलालसहित अल नासर, अल खालीज, अल इत्तिफाक अल अहली साउदी, डामाक र अल हाज्मले विजयी शुरुवात गरेका छन् ।

२०- प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमूद अब्बास अर्को महिना न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिन नपाउने भएका छन् । अमेरिकी विदेश विभागले उनको र ८० अन्य प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरिएको पुष्टि गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनीहरूमाथि शान्तिका लागि भइरहेका प्रयासहरूलाई कमजोर बनाएको र ‘काल्पनिक प्यालेस्टिनी राज्यको एकतर्फी मान्यता’ माग गरेको आरोप लगाएका छन् । इजरायलले अमेरिकाको यो निर्णयको स्वागत गरेको छ । यो कदमलाई असामान्य मानिएको छ, किनकि सामान्यतया अमेरिकाले संयुक्त राष्ट्र संघको मुख्यालयमा भ्रमण गर्ने सबै देशका अधिकारीहरूको यात्रालाई सहज बनाउने र यसका लागि उनीहरूलाई सुविधा प्रदान गर्ने अपेक्षा गरिन्छ । यो प्रतिबन्ध त्यस्तो समयमा लगाइएको हो जब फ्रान्सले संयुक्त राष्ट्र संघको सत्रमा प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिन अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले फ्रान्सको यो कदमको विरोध गरिरहेको छ ।

Read More

आसामविरुद्ध नेपाल ए को लगातार दोस्रो जित

काठमाडौं । नेपाल ए ले आसाम राज्य टिमलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल ए ले आसामलाई ९ रनले पराजित गरेको हो ।  

नेपाल ए ले दिएको १९७ रनको लक्ष्य पछाएको आसाम राज्य टिमले २० ओभरमा अल आउट हुदै १८७ रन बनाएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो । नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ७४ रन बनाएका थिए भने मोहमद आदील आलमले ३५, तृत दासले ३३ र कप्तान अनिल शाहले ३१ रन बनाएका थिए ।

यो जितपछि ५ खेलको सिरिजमा नेपाल ए २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल भोली हुदै छ ।

Read More

लुना लुइँटेलले जितिन् मिस नेपालको उपाधि

काठमाडौँ । यस वर्षको ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन् ।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुना विजेता घोषित भएकी हुन् ।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले उपाधि जितेकी हुन् ।

त्यस्तै मिस अर्थ नेपाल २०२५ को उपाधि सोनी घलेले जितेकी छन् भने मिस नेपाल इन्टरनेशनल २०२५ को उपाधि उरुषा भण्डारीले जितेकी छन् । त्यसैगरी मिस नेपाल कोस्मो २०२५ को उपाधि दीपशिखा नेपालले जितेकी छन् ।  

Read More

अमेरिका र जापानबीचको व्यापार सम्झौताको वार्ता अवरुद्ध

काठमाडौँ । अमेरिकाको नयाँ सर्तका कारण सम्भावित व्यापार सम्झौताको बारेमा अमेरिका र जापानबीच जारी वार्ता अवरुद्ध भएको छ ।

अमेरिकाले जापानलाई थप अमेरिकी चामल किन्न माग गरेको छ, जुन जापान स्वीकार गर्न तयार देखिएको छैन ।

जापानी पत्रिका निक्केईका अनुसार टोकियोका शीर्ष व्यापार वार्ताकारले हालै आफ्नो अमेरिकी भ्रमण रद्द गरेका छन् । यसले दुई पक्षबीचको गतिरोध बढेको  संकेत गरेको छ । दुई देश जुलाईमा एक सम्झौतामा पुगेका थिए, जसअन्तर्गत जापानी सामानमा अमेरिकी कर १५ प्रतिशतमा घटाइएको थियो ।

यद्यपि, अब राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ सर्तले त्यो सम्झौताको भावनामाथि प्रश्न उठाएको छ । निक्केई रिपोर्टका अनुसार, यो माग पहिलेको सम्झौताको विरोधाभास भएको जापानको भनाई रहेको छ,  किनकी शुरुवातमा कर लगाउदा जापानको कृषि उत्पादनमा आयात शुल्क प्रभावित नहुने अमेरिकी पक्षले बताएको थियो ।

Read More

राष्ट्रिय सभाको विधायन समितिमा दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति जुट्यो

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति जुटेको छ ।  

शनिबार बसेको समिति बैठकले संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने विषयमा सहमति भएको हो । यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्ने क्रममा कुलिङ पिरियडमा हेरफेर भएपछि हंगामा भएको थियो भने राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा नै दिनुपरेको थियो ।

योसँगै प्रतिनिधिसभामा हेरफेरसहित पारित भएको कुलिङ पिरियडको प्रावधान अब राष्ट्रिय सभामा सच्चिने भएको छ । विधायन व्यवस्थापन समितिमा एमाले बाहेकका दलहरुले दुई वर्षको कुलिङ पिरियड राख्नुपर्नेमा एक मत भएका थिए ।

समिति सभापति तुलसा कुमारी दाहालले निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति जुटेको बताएकी छन् ।

Read More

इजरायलसँगको सबै व्यापारिक र आर्थिक सम्बन्ध समाप्त गर्ने टर्कीको घोषणा

काठमाडौँ । टर्कीले इजरायलसँगको सबै व्यापारिक र आर्थिक सम्बन्ध समाप्त गरेको छ । यसका साथै टर्कीले इजरायली विमानहरूका लागि आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको छ । इजरायलले गाजा शहर कब्जा गर्ने प्रयास गरेपछि टर्कीले यो निर्णय लिएको हो ।

टर्कीका विदेशमन्त्री हकान फिदानले यदि इजरायलले आफ्नो सैन्य कारबाही बन्द गरेन भने सम्पूर्ण क्षेत्र द्वन्द्वमा फस्न सक्ने बताएका छन् । फिदानले विश्वका प्रमुख शक्तिहरूलाई इजरायललाई समर्थन गर्न बन्द गर्न र यसको विरुद्ध अन्तर्राष्ट्रिय कदम चाल्न अपील गरेका छन् ।

फिदानले स्पष्ट रूपमा अब न त टर्कीका जहाजहरू इजरायली बन्दरगाहमा जानेछन् न त इजरायली जहाजहरूलाई यहाँ आउन दिने बताएका छन् । टर्कीले पहिले नै गाजामा इजरायलको आक्रमणको कडा विरोध गर्दै आएको छ । राष्ट्रपति एर्दोगानले यी आक्रमणहरूलाई धेरै पटक नरसंहारको रूपमा वर्णन गरेका छन् र प्रधानमन्त्री नेतान्याहूलाई हिटलरसँग तुलना गर्दै आएका छन् ।

Read More

सर्लाहीका अनिल कुमार सिंह लोसपा छोडेर माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । सर्लाही जिल्ला बलरा नगरपालिकाका अनिल कुमार सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

सिंहलाई आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित आफ्नो निजी निवासमा पार्टीमा स्वागत गरेका थिए ।

प्रचण्डले सिंहको प्रवेशले बलरामा माओवादी केन्द्र सुदृढ हुने विश्वास व्यक्त गर्दै थप सकृय रूपमा पार्टीको काममा लाग्न आग्रह गरेका थिए ।

Read More

चीन पुगे मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री मोदी  शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन चीनको तियानजिन पुगेका छन् । जापान भ्रमण सकेर मोदी सिधै चीन पुगेका हुन् ।

 २०२० मा गलवान उपत्यकामा भारत-चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण रहेकाले यस भ्रमणलाई विशेष रुपमा हेरिएको छ । अर्कोतर्फ अमेरिकाले कर लगाएपछि सम्बन्ध चिसिएको समयमा मोदीको चीन भ्रमणले विश्वको ध्यान केन्द्रित गरेको छ ।

मोदीले यसअघि २०१८ मा चीनको भ्रमण गरेका थिए । यो उनको चीनको छैटौं भ्रमण हुनेछ । 

गत महिना विदेशमन्त्री एस. जयशंकरले चीनको भ्रमण गरेका थिए, जहाँ उनले राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यीलाई भेटेका थिए । जयशंकरले जलस्रोत तथ्याङ्क साझा गर्ने, व्यापार प्रतिबन्ध, एलएसीमा तनाव कम गर्ने र आतंकवाद र अतिवाद विरुद्ध कडा अडान लिने जस्ता मुद्दाहरूमा छलफल गरेका थिए । मिडिया रिपोर्टका अनुसार, यो बैठकले मोदीको चीन भ्रमणको लागि रोडम्याप तयार पारेको थियो ।

Read More

ओली- जीङपीङ भेटवार्ता: लिपुलेकलाई व्यापारिक मार्ग बनाउने समझदारीमा नेपालको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक बारे चिनियाँ राष्ट्रपति सी जीङपीङसँग स्पष्ट कुरा राखेका छन् ।

शनिबार चीनको थियानजिनको अतिथि गृहमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति सी जीनपीडसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ । 

साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा मैले राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन् । सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने नेपालले विश्वास लिएको राष्ट्रपति सी जीङपीङसँगको कुराकानीका क्रममा राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Read More

लिपुलेक नेपालको हो, यदी भारत र चीनलाई लिपुलेकबाट बाटो चाहिएको हो भने दिनुपर्छ: पूर्व राजदूत श्रेष्ठ

काठमाडौं । पूर्व राजदूत एवं कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनका नेताहरुसँग नेपाललाई नसोधी लिपुलेकको मार्ग प्रयोग गर्नेबारे भएको सम्झौताबारे कुरा राख्न सक्नुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीले चीन र भारत भ्रमणका क्रममा यो विषय उठाउन सक्नुपर्ने बताएका हुन् ।

‘लिपुलेकको बाटोको बारेमा नेपाललाई नसोधी, नेपालको सहमति नलिइकन जुन सम्झौता भयो, त्यसले देशभित्र सनसनी नै आएको छ । प्रधानमन्त्रीले यो कुरा उठाउनुहुन्छ कि उठाउनुहुँदैन, समाधान गर्नलाई के पहल होला भन्ने प्रश्न व्यापक रुपमा छ । म के भन्न चाहन्छु भन्दा– उठाउनुपर्छ,’– उनले भने ।

भारत र चीनलाई लिपुलेकको बाटो चाहिएको हो भने नेपाल दिन तयार रहेको पनि उनले बताए । त्रिदेशीय वार्ता गरेर त्यो भूमिको स्वामित्व नेपालको हुनुपर्ने शर्तसहित त्यो ठाउँबाट बाटो खोल्न सकिने उनले बताए । नेपाल बाटो खोल्ने कुराको बाधक हुन नहुने उनको भनाइ छ ।

साथै, उनले भारतले लिपुलेकदेखि लिम्पियाधुरासम्मको जग्गा स्थायी रुपमा कब्जा गरेर बस्न चाहेको बताए । भारतले नेपालको भू–क्षेत्र कब्जा गर्ने मनशाय राखेको भए पनि चीनको त्यस्तो मनशाय नरहेको उनले बताए । चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत आफ्नो व्यापार र प्रभाव बढाउन चाहिरहेको उनले बताए ।

तत्कालीन समयमा नेपालका राजा महेन्द्रलाई अनुरोध गरेर भारतीय सेना लिपुलेकमा बसेको आफूले जानकारी पाएको बताउँदै पूर्व राजदूत श्रेष्ठले उक्त पत्र सार्वजनिक गर्न माग गरे । ‘भारतले महेन्द्रलाई लेखेको त्यो चिठी सार्वजनिक गर । बाहिर ल्याउ, हामीलाई जान्ने अधिकार छ । त्यो नै थप प्रमाण हो । नेपालको नभएको भए नेपालको राजालाई अनुरोध गरेर बस्न पाउँ भन्थ्यो ? त्यो नेपालको स्वामित्वको थप प्रमाण हो । पूरानो प्रमाण त सुगौली सन्धी हो,’– उनले भने ।

उनले चीनको रेल–बे काठमाडौं, पोखरा भएर लुम्बिनीसम्म जानको लागि बनाउनुपर्ने बताए । चीनबाट आउने रेल लुम्बिनीसम्म पुर्याएको खण्डका धार्मिक पर्यटनमा बृद्धि हुने र आर्थिक रुपमा पनि फाइदा हुने उनले बताए । भारतको रेल पनि रक्सौलदेखि काठमाडौं ल्याइनुपर्ने उनको धारणा छ ।

Read More