२०८३ बैशाख १३

इन्डोनेसियामा प्रदर्शन चर्किदै: क्षेत्रीय संसद भवनमा आगजनी, ३ जनाको मृत्यु

काठमाडौँ । इन्डोनेसियाको मकासर शहरमा प्रदर्शनकारीहरूले क्षेत्रीय संसद भवनमा आगजनी गरेका छन् । यस घटनामा तीन जनाको मृत्यु भएको र ५ जना घाइते भएको रिपोर्टमा उल्लेख छ ।

प्रदर्शनकारीहरूले भवनमा आगो लगाएको आरोप लगाएको र आगलागीपछि भवनबाट हाम फाल्ने प्रयास गर्दा केही व्यक्तिहरू घाइते भएको बताइएको छ ।

हाल सांसदहरुको तलब भत्ता बढी भएको भन्दै इन्डोनेसियाका धेरै शहरहरूमा ठूला प्रदर्शनहरू भइरहेका छन् । शुक्रबार, एक प्रहरी गाडीले मोटरसाइकलमा गइरहेका एक डेलिभरी चालकलाई कुल्चिएर मृत्यु भएपछि प्रदर्शनकारी आक्रोशित बनेका थिए ।

प्रदर्शनकारीहरूले प्रहरी र सरकारी भवनहरूमा ढुङ्गा र पटाका प्रहार गरे र उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो ।

चालकको मृत्युको सम्बन्धमा सात अधिकारीहरूलाई हिरासतमा लिइएको छ । रिपोर्टका अनुसार, यी प्रदर्शनहरूमा २०० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन् । राष्ट्रपति प्रबोवो सुबियान्तोले मानिसहरूलाई शान्ति कायम राख्न अपील गरेका छन् । उनले घटनाको अनुसन्धानको आदेश दिए र मृतक चालकको परिवारलाई भेट गरेको रिपोर्टमा उल्लेख छ ।

Read More

वीरगंज महानगरका विद्यालय थप तीन दिनका लागि बन्द

वीरगंज । वीरगंज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालयहरू बन्द गरेको छ । वीरगंजमा झाडापखाला र हैजाको संक्रमण कायमै रहेकाले विद्यालयहरू थप तीन दिनका लागि बन्द गरेको जानकारी दिएको छ ।

यसअघि भदौ १३ गतेसम्म बन्द रहेका महानगर क्षेत्रका विद्यालय अब १७ गतेसम्म बन्द हुने भएका छन् । महानगरले भनेको छ- विगत केही समयदेखि बढ्दै गएको हैजाको प्रकोपलाई मध्यनजर गर्दै भोलि मिति २०८२ भाद्र १५ गतेदेखि १७ गतेसम्म सबै विद्यालय तथा कोचिङ सेन्टरहरूको पठनपाठन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्नुहुन अनुरोध छ ।’ 

साथै महानगरले विद्यालयमा हैजाको  सङ्क्रमणलाई रोकथाम गर्न र विद्यालय सञ्चालनको पूर्व तयारीका लागि देहाय बमोजिम गर्न गराउन आग्रह गरको छ ।

महानगरले विद्यालयको शौचालय, खानेपानीको ट्याङ्की लगायतको सरसफाई गर्न, खानेपानीको ट्याङ्कीमा क्लोरिनको झोल राखी पानी शुद्धिकरण गर्न, विद्यालयमा वाशको फोकल पर्सन तोकी स्वास्थ्य संस्थाको प्रत्यक्ष सम्पर्कमा रहन, विद्यालयका विद्यार्थीहरू कोही संक्रमित भए-नभएको जानकारी लिई हैजा रोग लागेको भए सोको जानकारी महाशाखामा गराउन, साथै सरसफाईका मापदण्डहरुलाई पूर्ण रुपले परिपालना गरी विद्यालयमा पठनपाठन गर्नका लागि पूर्व तयारी गर्न गराउनु हुन सबै विद्यालय, इन्स्टिच्युट तथा शैक्षिक संस्थाहरूलाई आग्रह गरको छ ।

Read More

प्रशिक्षक राहुल द्रविडले छोडे राजस्थान रोयल्स

काठमाडौँ । प्रशिक्षक राहुल द्रविडले आइपीएल फ्रेन्चाइजी राजस्थान रोयल्स छोडेका छन् । फ्रेन्चाइजीले शनिबार द्रविड टिमबाट अलग भएको घोषणा गरेको हो ।

राजस्थानले द्रविडले आइपीएल २०२६ सिजन अगाडि फ्रेन्चाइजीको मुख्य प्रशिक्षकको रूपमा आफ्नो कार्यकाल पूरा गरेका छन् ।

द्रविडलाई गत वर्ष सेप्टेम्बरमा राजस्थानको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो । भारतीय टोलीलाई २०२४ को टी-२० विश्वकपको विजेता बनाएपछि द्रविडले राजस्थान रोयल्ससँग सम्झौता गरेका थिए । पूर्व ब्याट्सम्यान राहुल द्रविडको राजस्थान रोयल्ससँग लामो सम्बन्ध रहेको छ । उनले आइपीएलमा राजस्थानबाट खेलेका पनि थिए र उनले कप्तानी पनि गरेका छन् । उनको नेतृत्वमा राजस्थानले २०१२ र २०१३ मा खेलेको थियो । साथै, उनी २०१४ र २०१५ मा टोलीको मेन्टर पनि थिए । यसपछि, २०१६ मा, अनुभवी दिल्ली डेयरडेभिल्स (अहिले क्यापिटल्स) मा सामेल भए । द्रविड फेरि राजस्थान फ्रान्चाइजसँग जोडिएका थिए, तर यस पटक उनको यात्रा एक वर्षमै सकिएको छ ।

मिडिया रिपोर्टका अनुसार राजस्थान रोयल्सले द्रविडलाई प्रशिक्षकबह्न्दा बढी भूमिका दिन अफर गरेपनि उनले सो प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

Read More

पृथ्वी राजमार्गको बादरेमा पुन: पहिरो, सडक अवरुद्ध

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित बादरेमोड नजिकै सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

शनिवार बिहानदेखि सडक माथिबाट सुक्खा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध राजमार्ग केही समय अघिदेखि एकतर्फी रूपमा खुलाइएको भएपनि फेरी पहिरो आउदा अवरुद्ध बनेको छ ।

 जिल्ला प्रहरी कार्यालय धादिङले लामो समय सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको छ । ठुलो पहिरो र ढुङ्गा झरिरहेका कारण पहिरो पन्छ्याउन समय लागेको प्रहरीले जनाएको छ ।

Read More

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जीनपीङबीच भेटवार्ता (तस्विरहरु सहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जीनपीङसँग भेटवार्ता भएको छ ।

चीनको थियानजिनमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी जीनपीङसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षिय भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आजै चीनको थियानजिन शहरमा पुगेका हुन् ।

Read More

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी जीनपीङसँग आजै भेटवार्ता (तस्विरहरु सहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मित्रराष्ट्र चीनका राष्ट्रपति सी जीनपीङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३: १५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् । उनलाई चीन सरकारका उच्चाधिकारी र  चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले चिनीया राष्ट्रपति सी जीनपीङसँग आजै भेटवार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Read More

उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने

काठमाडौँ । काठमाडौंमा आन्दोलनरत उखु किसानले सर्लाहीको हरिवनमा भदौ २५ देखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् । शनिबार माइतीघरमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन्।

आन्दोलनका संयोजक श्यामबाबु रायले भनेका छन्- ‘हामीले एक हप्ता काठमाडौंमा आएर आन्दोलन गर्दा समेत सरकारले ध्यान दिएको छैन। झरीमा भिजेर आन्दोलन गर्दा केही किसान बिरामी समेत परे, त्यसैले हामी अब राजमार्ग केन्द्रित आन्दोलनमा होमिएका हौँ। हामीले अनुदान चन्दा माग्न आएका हैनौँ। हामीले उत्पादन गरेको उखुबाट बनेको चिनीबाट पनि हामीले कर तिरेका हौँ ।’

उखु उत्पादक महासंघ, नेपालको अगुवाइमा पूर्व निर्धारित आन्दोलनको कार्यक्रमअन्तर्गत नेपाल सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान रकममा बदनियतपूर्ण ढंगबाट कटौती गरेको भन्दै विरोधमा उत्रिएका थिए। उनीहरूले उखुको मूल्य तोक्दा उखु किसानको सहभागिता सुनिश्चित गर्न १३ जिल्लाका उखु किसानको भदौ ८ गतेबाट काठमाडौंको माइतीघर मण्डलामा ७ दिनदेखि धर्ना एवं विरोध प्रदर्शन गरिरहँदा पनि सरकारले चासो नदिएको गुनासो गरेका छन् ।

Read More

कप्तान रोहितको शतकमा साउथ अस्ट्रेलियामाथि नेपाल २ विकेटले विजयी

काठमाडौँ । नेपालले साउथ अस्ट्रेलियालाई पराजित गरेको छ । शनिबार सम्पन्न एकदिवसीय खेलमा नेपालले साउथ अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।

साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य पछाएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  

नेपाललाई जिताउने क्रममा कप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए भने सोमपाल कामीले महत्वपूर्ण अविजित ३८ रनको योगदान गरेका थिए । रोहित र सोमपालले नवौं विकेटका लागि ८३ रनको साझेदारी गरेर नेपाललाई जित दिलाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अल आउट हुदै २४२ रन बनाएको थियो ।

नेपाली बलर सोमपाल कामी र नन्दन यादवले ३- विकेट लिएका थिए भने रुपेश सिंह, सन्दीप लामिछाने र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

अभ्यास खेलमा नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो । योसंगै नेपाली राष्ट्रिय क्रिकेट टिमको अस्ट्रेलिया टूर सकिएको छ । 

Read More

रिलायन्स जियोले ल्यायो स्मार्ट चश्मा

काठमाडौँ । भारतको रिलायन्स जियोले आफ्नो पहिलो स्मार्ट चश्मा ‘जियो फ्रेम्स’ लन्च गरेको छ ।  आफ्नो वार्षिक साधारण सभा (एजीएम) मा रिलायन्स जियोले आफ्नो पहिलो स्मार्ट चश्मा ‘जियो फ्रेम्स’ लन्च गरेको हो । 

यो साधारण चश्मा होइन, तर एक स्मार्ट उपकरण हो जसले तपाईंको धेरै कामहरू सजिलो बनाउने दाबी गरिएको छ । अब तपाईंले कल गर्न वा फोटो खिच्न बारम्बार आफ्नो खल्तीबाट फोन निकाल्नु पर्दैन ।

यो एक स्मार्ट चश्मा हो, जुन सामान्य स्टाइलिश चश्मा जस्तो देखिन्छ, तर भित्र प्रविधिको खजाना रहेको छ । यसको सबैभन्दा ठूलो आकर्षण यसको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधा हो, जसले यसलाई केवल ग्याजेट मात्र होइन, व्यक्तिगत सहायक पनि बनाउँछ ।

जियोको यो स्मार्ट चश्मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले सुसज्जित छ । यो सामान्य चश्मा जस्तै देखिने गरी डिजाइन गरिएको छ, तर यसका सुविधाहरू असाधारण छन् । यी चश्माहरूलाई आफ्नो स्मार्टफोनमा जडान गर्न सकिन्छ र त्यसपछि चश्माबाट सिधै अडियो र भिडियो कल गर्न पनि सकिन्छ । यति मात्र होइन, यदि तपाईंलाई संगीत सुन्न मन पर्छ भने, यी चश्माहरू तपाईंको लागि धेरै उपयोगी हुनेछन् । यसमा इनबिल्ट स्पिकरहरू छन्, जसले गर्दा इयरफोन बिना आफ्नो मनपर्ने गीतहरूको आनन्द लिन पनि सकिन्छ । यस बाहेक, बटन थिचेर वा इशारा गरेर तस्विरहरू क्लिक गर्न र भिडियो रेकर्ड गर्न सकिने सुबिधा रहेको छ ।

जियोले यो अद्भुत चश्माको झलक देखाएको छ, तर यो कहिले बजारमा उपलब्ध हुन थाल्छ र यसको मूल्य कति हुनेछ भनेर अहिलेसम्म बताएको छैन । यद्यपि, जानकारीको लागि, भारतमा मेटा रेब्यान स्मार्ट चश्माको मूल्य लगभग ३५ हजार भारुबाट सुरु हुनसक्ने बताइएको छ । यसले प्रयोगकर्ताहरूलाई जियोको एआई भ्वाइस सहायकसँग निर्बाध रूपमा अन्तरक्रिया गर्न अनुमति दिन्छ । एक तरिकाले, जियो फ्रेम्सले मेटाको रे-ब्यान चश्मालाई प्रत्यक्ष प्रतिस्पर्धा दिनेछ । 

Read More

सेल्फी लिदा ज्यान गुमाउनेको संख्या बढ्दै, सबैभन्दा बढी भारतमा

काठमाडौँ । पछिल्ला केही वर्षहरूमा सेल्फीको क्रेज चरम सीमामा छ । यद्यपि, सेल्फीको क्रेजका कारण विश्वभरका मानिसहरूले खतरनाक ठाउँहरूमा गएर विभिन्न शैलीमा तस्बिर खिच्ने क्रममा ज्यान गुमाएका छन् । सेल्फी लिनको लागि सबैभन्दा खतरनाक १० देशहरूमा एक अध्ययन गरिएको छ ।

द न्यु योर्क पोस्टले द बार्बर ल फर्मलाई उद्धृत गर्दै प्रकाशित गरेको रिपोर्ट अनुसार भारत यस सूचीमा सबैभन्दा अगाडी रहेको छ । भारतमा सेल्फी लिदा अहिलेसम्म २१४ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । त्यस्तै संयुक्त राज्य अमेरिका यस सूचीमा दोस्रो स्थानमा छ, जहाँ ४५ सेल्फीसँग सम्बन्धित घटनाहरू भएका छन्, जसमा ३७ जनाको मृत्यु भएको छ र ८ जना घाइते भएका छन् ।

रूस यस सूचीमा तेस्रो स्थानमा छ । सेल्फीसँग सम्बन्धित १९ घटनाहरू भएका छन्, जसमा १८ जनाको मृत्यु भएको छ र १ जना घाइते भएका छन् । पाकिस्तान यस सूचीमा चौथो स्थानमा छ । पाकिस्तानमा सेल्फी खिच्ने क्रममा १६ जनाको मृत्यु भएको छ । त्यसैगरी अष्ट्रेलिया पाँचौं स्थानमा छ। त्यहाँ सेल्फीसँग सम्बन्धित १५ दुर्घटना भएका छन् । अहिलेसम्म १३ जनाको मृत्यु भएको छ र २ जना घाइते भएका छन् ।

इन्डोनेसिया यस सूचीमा छैटौं स्थानमा छ भने यस देशमा सेल्फी खिच्ने क्रममा १४ जनाको मृत्यु भएको छ । केन्या यस सूचीमा सातौं नम्बरमा छ । यस अफ्रिकी देशमा सेल्फी खिच्ने क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

बेलायत यस सूचीमा आठौं नम्बरमा छ । अहिलेसम्म बेलायतमा सेल्फी लिँदा १३ जना दुर्घटनाको शिकार भएका छन्, जसमध्ये धेरैजसोको मृत्यु भएको छ। 

स्पेन यस सूचीमा नवौं स्थानमा छ । यस युरोपेली देशमा सेल्फी खिच्ने क्रममा १३ जना दुर्घटनाको शिकार भएका छन् । यीमध्ये धेरैजसो मृत्यु घातक भएका छन् । यहाँ, सेल्फीसँग सम्बन्धित दुर्घटनाको मुख्य कारण पर्यटकीय स्थलहरू र उच्च स्थानहरू हुन् ।

त्यस्तै ब्राजिल यस सूचीमा दशौं स्थानमा छ । अहिलेसम्म यस दक्षिण अमेरिकी देशमा सेल्फी खिच्ने क्रममा १३ जनाको मृत्यु भएको छ ।

Read More