२०८३ बैशाख १३

राज्य विचारले होइन, दलाल पुँजीपतिहरुको झोले नेताले चलाउँदै छन्: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमाथि घात हुने को कि भन्ने खतरा बाँकी नै रहेको बताएका छन् । आज (बुधबार) पार्टीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को ७औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानमाथिको खतरा नटरेको र अस्थिरता, अराजकता, बेथिति, भ्रष्टाचार संस्थागत भइरहेको बताएका हुन् । ‘अहिले हामीकहाँ समस्या छ । संविधानमाथि पनि घात हुने हो कि भन्ने खतरा टरेको छैन । अस्थिरता, अराजकता, बेथिति, भ्रष्टाचार संस्थागत भएकै छ,’– उनले भने ।

साथै, मन्त्री हुनका लागि सांसद हुनुपर्ने व्यवस्थाबाट भ्रष्टाचार जन्मिएको उनले बताए । आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विज्ञहरुबाट मन्त्री चुन्ने व्यवस्था हुनुपर्ने कुरा संविधानसभामै उठाएको उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भयो भनेमात्रै देशमा स्थिरता हुने उनले बताए । ‘यो देशमा जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँदैन, सम्पूर्ण जनताले चुनेको र त्यो कार्यकारी प्रमुखले विभिन्न विषयमा विज्ञहरु, विद्वानहरुलाई मन्त्री बनाउने, सांसद हुन नपर्ने । मन्त्री हुन सांसद हुनुपर्ने भएपछि भ्रष्टाचार त्यहीँबाट जन्मिएको छ । त्यसकारण एक पटक प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भइसकेपछि राष्ट्रपतिले आफ्नो कार्यकाल सफल पार्न र जनतासँग गरेको प्रतिवद्धता पूरा गर्न सबैभन्दा योग्य व्यक्ति कसलाई ठान्छ, त्यसलाई मन्त्री बनाउन पाउनुपर्छ,’– उनले भने ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको निम्ति अपिल गर्नुपर्ने र आन्दोलित हुनुपर्ने आवश्यकता रहेको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा नगएसम्म देशमा स्थिरता नहुने र भ्रष्टाचारको अन्त्य पनि नहुने उनको भनाइ छ । साथै, अहिलेको निर्वाचन प्रणालीले पनि उत्पीडित वर्ग, समुदायलाई न्याय दिन नसकेको उनको भनाइ छ । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भनेमात्रै जनताको पक्षमा काम गर्ने वातावरण बन्ने बताए । ‘हामीले जो निर्वाचन प्रणाली अपनाएका छौं, त्यो निर्वाचन प्रणालीले पनि सबै उत्पीडित वर्ग, समुदायलाई न्याय दिन सक्दैन । धनीहरुले मात्रै लड्न सक्ने चुनाव प्रणाली हो त्यो । गरिबहरु, श्रमिकहरु या किसानहरुले लड्न सक्ने चुनावी प्रणाली नै होइन त्यो । त्यसकारण पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भनेमात्रै सम्पूर्ण जनताले निर्वाचनमा सहभागी हुने, निर्वाचन जित्ने र त्यसबाट जनताको पक्षमा काम गर्ने वातावरण बन्न सक्छ भनेर हामीले त्यो पनि त्यतिबेला नै भनेका थियौं,’– उनले भने ।

अध्यक्ष प्रचण्डले सामन्तवाद राजनीतिक रुपले परास्त भए पनि दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद परास्त हुन नसकेको बताए । अहिले राज्य दल र दलको विचारले भन्दा पनि पुँजीपतिहरुको पैसाको बलले चलिरहेको प्रचण्डको भनाइ छ । ‘अहिले राज्य कसको हातमा छ भन्दा, यसो हेर्दा त पार्टीका नेताहरु, पार्टीहरुले राज्य चलाएका छन् भनेको जस्तो देखिन्छ । रूप हेर्दा कहिले माओवादी र कांग्रेस, कहिले माओवादी र एमाले, कहिले कांग्रेस र एमाले भनेको जस्तो देखिन्छ । तर, यथार्थमा राज्य पार्टी र पार्टीको विचारले भन्दा दलाल पुँजीपतिहरुको पैसाको बलले, विचौलियाहरुले करोडौं र अर्बौं खर्च गरेर पार्टीका नेता र कार्यकर्ता खरिद गरेर चलाएको व्यवस्था हो यो,’– उनले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दलाल र विचौलियाहरुको इच्छाअनुसार बनेको दाबी गरे । वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराजकताको विरुद्धमा केही पनि गर्न नसक्ने प्रचण्डको जिकिर छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जनजातिहरुलाई छानीछानी कारबाही गरेको उनले बताए । कुलमान घिसिङ, पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जनजाति भएकै कारण राम्रो काम गर्दागर्दै पनि सरकारले हटाएको र अहिले उपसभामुख इन्दिरा राना हटाउन लागिपरेको बताए ।

‘राम्रो गर्न खोज्यो कुलमान हटाउ, राम्रो गर्न खोज्यो कान्छाराम हटाउ, अलि राम्रो गर्न खोज्यो इन्दिरा राना हटाउ । छानीछानी जनजाति हटाउ । छानीछानी राम्रो काम गर्ने मान्छे हटाउ । अनि आफूलाई फाइदा हुनेगरी दलाल र विचौलियाले भनेकोजस्तो मान्छे भर्ती गर । यही त अहिले भइराखेको छ,’– उनले भने ।

Read More

जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदान बिना गणतन्त्र सम्भव थिएन- प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका छन् ।

काठमाडौंको प्रज्ञाभवन, कमलादीमा आयोजित उक्त सम्मेलनमा प्रचण्डले भने- ‘उत्साहका लागि लाल सलाम भन्न चाहन्छु । मलाई विश्वास छ, यो सम्मेलनले महिला हिंसाविरुद्ध एउटा संकल्प प्रस्ताव पारित गर्नेछ ।’ उनले माओवादी जनयुद्धमा महिलाको उल्लेखनीय योगदानबारे चर्चा गर्दै भने- ‘यदि जनयुद्धमा हजारौं, लाखौं महिलाहरूको सहभागिता नभएको थियो भने आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन ।’

प्रचण्डले जनयुद्वको सुरूवातमा कालिकोट र रोल्पाका महिलाहरू देखाएको साहसपूर्ण योगदानलाई विशेष रूपमा स्मरण गर्दै भने- ‘यदि उनीहरूले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ भनेर नभनेको थियो भने जनयुद्ध सम्भव नहुन पनि सक्थ्यो ।’ उनले जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानबिना गणतन्त्र सम्भव थिएन भन्ने धारणा व्यक्त गरे ।

प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेको सडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र अन्त्य गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरे । ‘म यो विश्वास लिएको छु कि तपाईंहरूले यो सम्मेलनबाट समाजवादी यात्राका लागि  पार्टी र संविधानविरूद्व भैरहेको सड्यन्त्रविरुद्धको संकल्प लिनुहुनेछ ।’

उनले संविधान पार्टीले चाहे अनुसार निर्माण गर्न नसकिएपनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताए । तर जुन उदेश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयन भन्दा संविधान विरूद्व गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भने- ‘हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धिहरू उल्टिने खतरा देखिएको छ ।’

प्रचण्डले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता दोहोर्‍याए । उनले भने- ‘१० वर्षअघि संविधान निर्माण गर्दा हामीले भनेका थियौं — जननिर्वाचित कार्यकारी प्रमुख र निर्वाचन पूर्ण समानुपातिक हुनुपर्छ । अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको छ ।’

उनले समानुपातिक निर्वाचन प्रणालीलाई पनि प्रत्यक्ष बनाउन सकिने बताउँदै त्यसले महिलाहरूको सही प्रतिनिधित्व सुनिश्चित गर्ने बताए । प्रचण्डले हालको सत्ताको वास्तविक शक्ति नेताहरू नभइ, बिचौलियाहरूले नियन्त्रणमा लिएको बताए ।  प्रचण्डले अबको आन्दोलन बैज्ञानिक समाजवाद स्थापनाका लागि हुने भन्दै विचार मिल्ने सबै इमान्दार शक्तिहरूलाई एकजुट हुन आह्वान समेत गरे । 

Read More

आइसीसी वरियतामा तेस्रो स्थानमा झरे दीपेन्द्र

काठमाडौँ । नेपाली अलराउण्डर क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० क्रिकेटको अलराउन्डरको वरियतामा एक स्थान तल झरेका छन् ।

आइसीसीले जारी गरेको नयाँ वरियतामा यस अघि दोस्रो स्थानमा रहेका दीपेन्द्र तेस्रो स्थानमा पुगेका हुन् । दिपेन्द्र २०९ रेटिंगका साथ तेस्रो स्थानमा रहेका छन् । टी-२० क्रिकेटको अलराउन्डर वरियताको शिर्ष स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन् भने दोस्रो स्थानमा एक स्थानको सुधार गर्दै अफगानिस्तानका मोहमद नाबी दोस्रो स्थानमा उक्लिएका छन् ।

त्यस्तै चौथो स्थानमा वेस्ट इन्डिजका रोस्टन चेज रहेका छन् । त्यस्तै नेपालका कुशल भुर्तेल अलराउन्डरको सूचीमा ३४औं स्थानमा छन् ।

Read More

संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भदौ २० गते हुने

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन भदौ २० गते हुने भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा उपसभामुख इन्दिरा राना मगरले रिक्त रहेको संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन भदौ २० गते हुने जानकारी दिदै निर्वाचनको तालिका सार्बजनिक गर्न संघीय संसद सचिवालयका महासचिवलाई निर्देशन दिएकी छन् ।

यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो । 

Read More

रास्वपाको वीरगंजमा फैलिएको हैजाको रोकथामका लागि १० बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगंजमा फैलिएको हैजाको रोकथाम गर्न ठोस कदम चाल्न १० बुँदे सुझाव दिएको छ ।

रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले हालसम्म ४ जनाको ज्यान लिएको र ६०० भन्दा बढी नागरिक संक्रमित हुनु गम्भीर स्वास्थ्य समस्याको विषय भएको उल्लेख गर्दै यस्तो विषम परिस्थितिको नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्न नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । 

रास्वपाका १० बुँदे सुझाव तथा माग: 
१- आपतकालीन शुद्ध पानी आपूर्ति– प्रभावित क्षेत्रमा तुरुन्तै ट्यांकरमार्फत शुद्ध पानी वितरण गरियोस् ।

२- खानेपानी मन्त्रालयलाई विशेष बजेट- दूषित पानीका स्रोत मर्मत तथा नयाँ शुद्धीकरण प्रणालीका लागि बजेट विनियोजन गरियोस् ।

३- नियमित परीक्षण र अनुगमन– सार्वजनिक र निजी तवरबाट सेवा प्रवाह गरिने पानीका स्रोतको गुणस्तर निरन्तर परीक्षण गरियोस् ।

४- जनचेतना अभियान–पानी उमालेर वा फिल्टर गरेर मात्र पिउने तथा सरसफाइबारे सचेतना फैलाइयोस् ।

५- स्वास्थ्य सेवा विस्तार– हैजाग्रस्त क्षेत्रमा अस्थायी स्वास्थ्य शिविर स्थापना गरियोस् ।

६- स्थानीय सरकारको सक्रियता–वडास्तरमा खानेपानी आपूर्ति र शुद्धीकरणलाई प्राथमिकता दिइयोस् ।

७- दीर्घकालीन पूर्वाधार सुधार– आधुनिक फिल्ट्रेसन, पाइपलाइन स्तरोन्नति र मर्मतमा लगानी बढाइयोस् ।

८- साझेदारी र समन्वय– संघ, प्रदेश, स्थानीय सरकार, नागरिक समाज र सामाजिक संस्थाबीचको समन्वयलाई सशक्त बनाइयोस् ।

९- स्रोत संरक्षण– नदी, इनार, ताल आदिलाई फोहोरमुक्त राख्ने कानूनी व्यवस्थाको कार्यान्वयन गरियोस् ।

१०- नागरिकलाई सचेत रहन आग्रह – उमालेर मात्र पानी पिउन, सरसफाइमा ध्यान दिन र स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अपील गर्दछौं ।

Read More

चीन पुगेकी किमकी छोरी चर्चामा

काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन देश भित्र र बाहिर रहदा सधै समाचारमा हुने गर्दछन् । चीन पुगेको बेला किमले उनकी छोरी किम जु ए पनि साथै लिएर गएको विषय अहिले चर्चामा रहेको छ ।

जु एलाई किम जोङ उनको उत्तराधिकारी मानिन्छ । जु पहिलो पटक आफ्नो बुबासँगै देशबाट बाहिर आएकी हुन् । १२ बर्षकी जु-ए १२ किमकी एक्ली सन्तान हुन् । उनी २०२२ देखि आफ्नो बुबासँग सैन्य परेड, हतियार परीक्षण र अन्य महत्त्वपूर्ण कार्यक्रमहरूमा भाग लिँदै आएकी छिन् ।

विज्ञहरू विश्वास गर्छन्, जु-एलाई चीन लैजानु उनको बढ्दो हैसियतको संकेत हो । बेइजिङ रेलवे स्टेशनमा बुबासँगै उभिएको देखेर, उनलाई विदेशमा पनि उत्तर कोरियाको नम्बर २ मानिन्छ भन्ने कुरा स्पष्ट भएको विश्लेषण गरिएको छ । छोरीलाई विदेश यात्रामा छोरीलाई लिएर किम जोङ उनले संसारलाई आफ्नो उत्तराधिकारी उनी रहेको सन्देश पठाइरहेको विश्वभर चर्चामा रहेको छ ।

Read More

दुई उपाध्यक्षको फरक मत केन्द्रीय कमिटीको निर्णयमा हो, दस्ताबेजमा होइन- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेको विधान अधिवेशनको तयारी गरिरहेको जानकारी दिएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै  प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले भदौं २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको जानकारी दिदै यी प्रतिवेदनलाई सचिवालयले पारित गरेर विधान महाधिवेशनमा पेश गरिने जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीको बैठकमा दुई उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पुर्व राष्ट्रपतिलाई सदस्यता दिने विषयमा फरक मत राखेको स्पष्ट गर्दै दुवैको फरक मत दस्ताबेज माथि नरहेको स्पष्ट गरे । उनले सचिवालय बैठकले निर्णयको असहमतिलाई विधान महाधिवेशनमा प्रस्तुत गर्ने की नगर्ने भन्ने सचिवालय बैठकले निर्णय गर्ने बताए । 

उनले भने- दस्ताबेज माथिको फरक मत आएको छैन, केन्द्रिय कमिटीको निर्णयमाथि दुई उपाध्यक्षको फरक मत छ, त्यो हामीले जानकारी गराएका छौं । फरक मतको छलफल हुने आफ्नै विधि छ । कसैले फरक मत राखेमा सम्बन्धित अधिवेशनमा छलफल गर्ने पार्टीको विधि रहेको छ । अहिले केन्द्रिय कमिटीको निर्णयमाथिको फरक भएकोले विधान महाधिवेशनमा केन्द्रिय कमिटीको निर्णयको फरक मत बारे छलफल गर्ने या नगर्ने भन्ने विषय सचिवालय बैठकले स्पष्ट गर्ने छ ।’

त्यस्तै महासचिव पोखरेलले कर्ण बहादुर थापाले विधानकै बारेमा असहमति राखेको भन्दै त्यो विषय कसरी छलफलमा ल्याउने भन्ने बारे सचिवालयले निर्णय गर्ने स्पष्ट गरेका छन् ।

महासचिव पोखरेल पुर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता खोसिएको नभएर त्यागेको सदस्यता कायम गर्ने या नगर्ने भन्ने पार्टीले निर्णय गरिसकेको र सो निर्णयमा पार्टी अडिग रहेको स्पष्ट गरे ।

Read More

प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार ६ बजे नेपालका लागि प्रस्थान गरेका छन् । 

प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले  (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीङपीङ र उपराष्टपति हान चङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् भने रुसका राष्ट्रपति भ्लादमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथ, कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ भेटवार्ता गरेका थिए ।

Read More

नेप्से १५.६४ अंकले घट्यो, ४ अर्ब ७२ करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज बुधबार नेप्से १५.६४  अंकले घटेर २७२६.३३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२६ कम्पनिका एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९९ प्रतिशतले बढेको छ भने युनियन हाइड्रोको शेयर ७.०३ प्रतिशतले बढेको छ ।  

त्यस्तै आज लिबर्टी इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ६.९९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज युनियन हाइड्रोको शेयर सबै भन्दा बढी ३३ करोड ८० लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जीको २७ करोड ३७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Read More

गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लागेका महानिरीक्षक दिपक थापाको बिदाई

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामना सहित बिदाइ गरेका छन् । 

उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको सेवाको लागि थप महत्वपूर्ण योगदान गर्ने शुभकामना समेत दिए ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था, अमन चयन कायम गर्ने जस्तो महत्वपूर्ण र मुख्य जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त जीवन अझ बढि स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना समेत दिए । 

सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली तथा नागरिकको अत्यन्तै नजिक रहेको र देशको आन्तरिक सुरक्षाको मेरूदण्डको रूपमा रहेको सुरक्षा निकायको सदस्य भई देश र नागरिकको सेवा एवम् सुरक्षामा आफूलाई समर्पित गर्ने अवसर प्राप्त हुनु सौभाग्य र गौरवको विषय भएको बताए । आफ्नो कार्यकालको अवधिमा संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारीहरू पूर्ण इमानदार रहँदै पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गर्दै उक्त अवधिमा नेपाल प्रहरीको समायानुकुल आधुनिकिकरण, सांगठनिक सुदृढिकरण, विकास र स्तरउन्नतीको लागि नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञता समेत व्यक्त गरे । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

Read More