२०८३ बैशाख १३

कस्तो छ आज तपाईंको दिन, यो हेर्नुहोस आजको राशिफल

काठमाडौं । आज भदौ २० गते शुक्रबार ई.सं. २०२५ सेप्टेम्बर ०५ नेपाल सम्बत ११४५ ञलाथ्व त्रयोदशी- १३, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल त्रयोदशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शोभन योग, कौलव करण ।

आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४४ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर २२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २२ मिनेट देखि ०८ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज प्रदोष व्रत र मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । काम जोखिमपूर्ण देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ, अझ सिनियर वा अनुभवीको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । सफलता हासिल गर्न प्रतिस्पर्द्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो, तर घरायसी वातावरण प्रतिकूल बन्नाले घरिघरि निराशाका भावना आउनसक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक÷सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । दाम्पत्य जीवनमा किचलो र विवादको योग बनेको छ, लामो समयदेखि घरमा सम्पर्क छैन भने फुर्सद निकालेर कुराकानी गर्नु ठीक हुन्छ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ । स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पर्द्धामा विजय प्राप्त हुने दिन हो । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ससाना कुरा र विषयमा झैझगडां र विवाद हुने लक्षण छ, त्यसैले तनाव र बोझलाई धैर्यताका साथमा व्यवस्थापन गर्ने दिन हो । होटल÷मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हर्षित हुने समाचार आउने छ, सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ, त्यसैले मिहिनेत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध÷सम्पर्क बढ्ने तथा सरसहयोग लिन÷दिन सकिने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ । गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला ।

Read More

सामाजिक सञ्जाल बन्द गरेर देशलाई ‘उत्तर कोरिया’ बनाउँदै सरकार: बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनेर गरेको निर्णयको विरोध गरेका छन् । आफूले नियमनको प्रविधिको प्रवन्ध मिलाउने र कानून बनाउने भनेको पनि स्मरण गराएका छन् ।

तर, सरकारले नर्थ कोरिया (उत्तर कोरिया) बनाउने भएछ भनेर आलोचना गरेका छन् । उनले विकृतिको अन्त्य गर्न सूचनामा बिर्को लगाउने होइन भनेका छन् । यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सरकार उल्टो बाटोमा हिँडेको भनेर आलोचना गरेका छन् । थापाले तत्काल सोसल मिडिया बन्द गर्ने निर्णयमा पूनर्विचार गर्न भनेका छन् ।

सरकारले बिहिबार राति १२ बजेबाट लागु हुनेगरि दर्ता हुन नआएका सोसल मिडिया बन्द गर्ने निर्णय गरेको हो ।

Read More

एनसेलले भन्यो- दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म अब चल्दैनन्

काठमाडौं । एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै एनसेलले नेपाल दूर सञ्चार प्राधिकरणको निर्देशन अनुसार सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू मोबाइल डाटाबाट नचल्ने जानकारी गराएको हो ।

एनसेलले भनेको छ- 

नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्‌को भदौ ९, २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९, २०८२ को मन्त्रिस्तरिय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि यस कम्पनीलाई निर्देशन दिए बमोजिम एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नचल्ने अग्रिम जानकारी गराउन चाहन्छौं । यसबाट पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । यद्यपि टिकटक र भाइबर लगायत अन्य दर्ता भईसकेका सामाजिक सञ्जाल प्लेटफर्महरु भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिने व्यहोरा जानकारी गराउँदछौं ।

Read More

सम्पर्कमा आयो मेटा, दर्ता प्रक्रियाको विवरण माग्यो

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतको मुख्य कम्पनि मेटा सरकारको सम्पर्कमा आएको छ । 

मेटाको सिंगापुरस्थित कार्यालयका कर्मचारीले सञ्चार मन्त्रालयमा सम्पर्क गरेर दर्ता हुने विवरण मागेको प्रवक्ता गजेन्द्र प्रसाद ठाकुरले जानकारी दिएका छन् ।  मेटाका एक कर्मचारीले मन्त्रीका स्वकीय सचिवसँग दर्ता गर्ने विवरण माग गरेपछि सो विवरण इमेलमार्फत पठाएको उनले जानकारी दिएका छन् । 

मन्त्रालयले आजै २६ सामाजिक सञ्जाल कम्पनिलाई बन्द गर्न दिएको निर्देशन बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनिलाई ति सामाजिक सञ्जाल निष्क्रिय गराउन पत्राचार गरिसकेको छ । 

Read More

यी २६ सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन प्राधिकरणको इन्टरनेट सेवा प्रदायकलाई पत्राचार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २६ सामाजिक सञ्जाल कम्पनिलाई निष्क्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेको छ । 

प्राधिकरणले सर्वोच्च अदालतको आदेश र सरकारको निर्णयअनुसार ती सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो ।

प्राधिकरणले फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिङ्क्डइन, स्यानपच्याट, रेड्डीट, डिस्कर्ड, पिनट्रेस्ट, सिग्नल, थ्रेड, वीच्याट, कोरा, टम्बलर, क्लबह्वाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो ।

यसअघि भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयको आधारमा अन्तिमपटक सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन ७ दिनको समय दिदै भदौ १२ गते सूचना प्रकाशित गरेको थियो । बुधबार राति १२ बजे सो समयसम्म कुनै पनि सामाजिक सञ्जाल कम्पनि दर्ता नभएपछि सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयको बिहीबार बसेको बैठकले ती सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने निर्णय गरेको थियो । 

Read More

सामाजिक सञ्जाल बारे सरकारको निर्णय गलत छ, उल्टो बाटो हिड्यो- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले सामाजिक सञ्जालका बारेमा गरेको निर्णय गलत भएको टिप्पणी गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै सरकार उल्टोबाटो हिडेको उल्लेख गर्दै यसलाई पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

उनले सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको उल्लेख गर्दै यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउनु पर्ने बताएका हुन् ।

उनले भनेका छन्-  

सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ।

सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ। यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ। 

आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको छ। सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ।

सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले  यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ । त्यसैले सरकार सँग पुनः आग्रह छ-यो निर्णय पुनर्विचार गरियोस। सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस ।

Read More

सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयपछि बालेनले लेखे कविता

काठमाडौँ । काठमाडौँ महानगरमा मेयर बालेन सरकारले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेपछि कविता लेख्दै व्यंग्य गरेका छन् ।

बालेनले बाटोमा ढाट लागेपछि भोलीबाट सपनामा भेट होला भनेका छन् ।

उनले लेखेका छन्- 
भोलिबाट सपनामै भेट होला,

बाटोमा ढाट लागेपछि ।

घरबाट निस्किए, मनमा एक हौँला,

घमण्डको माझ परेपछि ।

तिमी सम्झ मात्र मलाई,

रातमा आइदिन्छु ।

हामीबीच संसार आउन सक्दैन,

हात समाइदिन्छु ।

Read More

अख्तियारको नक्कली कर्मचारी बनेर धम्काउने दुई जना पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनि धम्काई अपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-८ बस्ने डोटी घर भएका २७ वर्षीय लक्ष्मण पनेरू र काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने झापा घर भएका ५४ वर्षीय विनोद साह रहेका छन् ।

उनीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै टोखा नगरपालिका-८ बस्ने पीडितलाई तपाई लगायत तपाईको परिवारको नामको नेपाली नागरिकता नक्कली रहेको सूचना प्राप्‍त भई हामीले अनुसन्धान गरी रहेका छौँ र उक्त कारवाहीबाट बच्न १ करोड रकम दिएमा फाईल बन्द गरीदिन्छौ नत्र सबैलाई जेल हाल्छौ भनि योजनाबद्ध ढंगले डर त्रास देखाई धम्काएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ, मोबाइल ४ थान र १ गाडी १ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।

Read More

नेप्से ६.५५ अंकले घट्यो, ५ अर्ब १४ करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज विहिबार नेप्से ६.५५  अंकले घटेर २७१९.७७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३१७ कम्पनिका एक करोड २७ लाख १ हजार ९७ कित्ता शेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९८ प्रतिशतले बढेको छ भने बिन्ध्याबसिनी हाइड्रोको शेयर ६.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज बाराही हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ३.८३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर सबै भन्दा बढी ३५ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने बिन्ध्याबासिनी हाइड्रोको १९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Read More

११ जनाको ज्यान गएको भेनेजुएलाको डुङ्गामा ट्रम्पको आदेशमा आक्रमण गरेको खुलासा

काठमाडौँ । अमेरिकी सेनाले भेनेजुएलाको डुङ्गामा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त डुङ्गामा आक्रमणको आदेश ट्रम्प आफैंले दिएको खुलासा गरेका छन् ।

यो आक्रमण मंगलबार क्यारिबियन सागरमा भएको थियो । रुबियोले चाहेको भए त्यो डुङ्गा कब्जा गर्न सक्थे भने, तर ट्रम्पले त्यसलाई उडाउने आदेश दिएका थिए । रुबियोले लागूपदार्थको खेप जफत गर्नाले मात्र कार्टेललाई असर नगर्ने तर तिनीहरूलाई समाप्त गर्नु पर्छ भने, तिनीहरूलाई उडाउनु पर्ने बताए । रुबियोले डुङ्गामा रहेका मानिसहरूलाई कुनै चेतावनी नदिइएको र यो ‘कोकेन वा फेन्टानिल’ लागूपदार्थले भरिएको बताए ।

यसअघि राष्ट्रपति ट्रम्पले जहाजमा ‘ट्रेन डे अरागुआ गिरोह’ का सदस्यहरू रहेको दाबी गरेका थिए । अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको छ । ट्रम्पले डुङ्गामा ठूलो मात्रामा लागूपदार्थ रहेको दाबी गरेका थिए ।

ट्रम्पले भनेका थिए- हामीसँग उनीहरूको कुराकानीको टेप छ। हाम्रो देशमा ठूलो मात्रामा लागूऔषध आउँदै थियो, जसले धेरै मानिसहरूको ज्यान लिन सक्छ । यो कुरा सबैले बुझेका छन् । तपाईं आफैंले देख्न सक्नुहुन्छ कि डुङ्गामा लागूऔषधका प्याकेटहरू थिए र त्यसमाथि आक्रमण भएको थियो। अब तिनीहरूले फेरि यस्तो गर्ने छैनन् ।’

अमेरिकी रक्षा अधिकारीहरूले अहिलेसम्म यो आक्रमणको बारेमा विस्तृत जानकारी दिएका छैनन् । सेनाले किन डुङ्गा रोक्नुको सट्टा उडाउने निर्णय गर्‍यो भन्ने कुरा पनि स्पष्ट गरेको छैन । सामान्यतया तटरक्षक वा अमेरिकी नौसेनाले लागूऔषधले भरिएका डुङ्गाहरू समातेर चालक दललाई हिरासतमा लिने र उनीहरूलाई मुद्दा चलाउने काम पनि गर्दै आएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार, अमेरिकी नौसेनाले पहिले अन्तर्राष्ट्रिय पानीमा शंकास्पद जहाजहरूलाई रोकेर अनुसन्धान गरेको छ। तर मंगलबार क्यारिबियन सागरमा भएको आक्रमण पूर्णतया फरक थियो किनभने यस पटक प्रत्यक्ष आक्रमण गरिएको थियो । ट्रम्प प्रशासनले यस कारबाहीको लागि कुनै कानुनी तर्क दिएको छैन ।

Read More