२०८३ बैशाख १३

सुनको मुल्यमा नयाँ किर्तिमान, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २५ सयले बढेर तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २४८० मा कारोबार भएको थियो ।

Read More

ज्योति विकास बैंकबाट हवाई टिकट काट्दा ५०० क्यासब्याक पाईने

काठमाडौं । दशैंको अवसरमा ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ। बैंकले आफ्नो मोबाईल बैंकिङ्ग सेवा ज्योति स्मार्ट मार्फत हवाई टिकट खरिद गर्ने ग्राहकलाई प्रतिटिकट अधिकतम रु. ५०० क्यासब्याक उपलब्ध गराउने घोषणा गरेको हो।

यस योजनाअन्तर्गत, ग्राहकहरूले जुनसुकै घरेलु एयरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार, हवाई टिकट खरिद गर्दा “JBBL500” प्रोमो कोड प्रयोग गर्नुपर्नेछ। तर, यो सुविधा पहिलो ४०० जना ग्राहकका लागि मात्र उपलब्ध हुनेछ।

बैंकले जनाएको छ कि ग्राहकहरूले ज्योति स्मार्ट एपमार्फत पहिलो पटक हवाई टिकट खरिद गर्दा मात्र यो अफर लागू हुनेछ। सीमित अवधिका लागि संचालन गरिएको यो योजना दशैंमा घर फर्कने तथा आन्तरिक भ्रमण गर्ने यात्रुहरूलाई सहज र लाभदायक बनाउन उद्देश्य गरिएको बैंकले स्पष्ट पारेको छ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै ग्राहकको सुविधालाई प्राथमिकता दिने नीतिअनुरूप बैंकले यस्ता योजनाहरू ल्याउँदै आएको छ। यसअघि पनि बैंकले विभिन्न चाडपर्व लक्षित अफरमार्फत ग्राहकलाई डिजिटल सेवा प्रयोगमा आकर्षित गर्दै आएको थियो।

Read More

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसंको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा सहभागी श्रीनाथ गण (शान्ति सेना) १४ औँ डफ्फालाई बदली गर्नको लागि  नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको पहिलो टोली विहिबार मिसन इलाका प्रस्थान गरेका छन् ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७५ जना नेपाली शान्ति सैनिकहरू पनि विहिबार नै स्वदेश फिर्ता भएको नेपाली सेनाले जनाएको छ ।  हाल उक्त मिसनमा नेपाली सेनाका १७५७ जना शान्ति सैनिकहरु कार्यरत रहेका छन् ।

Read More

पञ्जाबमा बाढीको विनाश, अहिलेसम्म ४३ जनाको मृत्यु

काठमाडौँ । भारतको पञ्जाबमा बाढीले ठूलो विनाश निम्त्याएको छ । अहिलेसम्म वर्षापछिको बाढीले ४३ जनाको मृत्यु भइसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । राज्यका २३ जिल्लाका १९०२ भन्दा बढी गाउँहरू बर्षाको चपेटामा परेका छन् भने ३.८४ लाखभन्दा बढी मानिसहरू प्रभावित भएको बताइएको छ । 

बाढी प्रभावित मानिसहरू र गाउँहरूमा प्रशासनबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न मुख्यमन्त्री भगवन्त मानले प्रत्येक प्रभावित गाउँमा एक राजपत्रित अधिकारी नियुक्त गर्न आदेश दिएका छन् । 

हिमाचलको माथिल्लो क्षेत्रहरूमा भारी वर्षा र बादल फुटेको कारण भाकरा बाँधको पानीको स्तरमा भएको तीव्र वृद्धिलाई ध्यानमा राख्दै, बीबीएमबी व्यवस्थापनले चारैवटा बाढीका ढोकाहरू ९-९ फिटले खोलेको छ ।

प्राप्त जानकारी अनुसार, एक लाखभन्दा बढी पानीको प्रवाहसँगै भाकरा बाँधको पानीको स्तर १६७९ फिट पुगेको छ । यस अवधिमा टर्बाइन र बाढीका ढोकाहरू मार्फत कुल ८५ हजार क्युसेक पानी छोडिएको थियो, जसले गर्दा सतलज नदीको किनारमा अवस्थित तल्लो ग्रामीण क्षेत्रहरूमा त्रास सिर्जना भएको थियो ।

भाकरा बाँधबाट छोडिएको ८५ हजार क्युसेक पानीमध्ये ९ हजार नङ्गल बाँधबाट निस्कने नाङ्गल जलविद्युत र आनन्दपुर साहिब जलविद्युत नहरमा जाँदैछ, जबकि ६७ हजार क्युसेक पानी सतलज नदीमा जाँदैछ, जसका कारण हर्ष बेला, पट्टी दुचाली, पट्टी टेक सिंह, सान्सोनवाल, एल्गारा, बेला ध्यानी, बेला ध्यानी तल्लो, बेला राम गढ, शिव सिंह बेला, प्लासी, सिंहपुरा, जोहल, तर्फ मजारी, भालान, कालित्रा, दाडोली तल्लो र डाबखेडामा खतरा बढेको बताइएको छ ।

त्यस्तै लुधियानामा पनि पानीले आफ्नो प्रभाव देखाउन थालेको छ । शनिगाउँ डुबानमा परेपछि अब सतलज नदीको किनारमा रहेको सस्राली कोलोनी क्षेत्रको बाँध कमजोर भएको छ । मुख्यमन्त्री भागवत मानले उद्धार र राहत कार्य युद्धस्तरमा भइरहेको बताएका छन् । 

Read More

नेपालभित्र सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरु क्रमशः बन्द हुँदै

काठमाडौं । नेपालभित्र दर्ता नभएका सामाजिक सञ्जालहरू अब क्रमशः बन्द हुँदैछन्। नेपाल सरकारको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) ले ती सञ्जालहरूलाई अवरुद्ध गर्न तयारी थालेको छ ।

आईएसप्यानले विज्ञप्ति जारी गर्दै उक्त प्रक्रिया सुरु भइसकेको जानकारी दिएको हो। संघका अनुसार यो निर्णय सर्वोच्च अदालतको आदेश, सरकारको मन्त्रिपरिषद् बैठक र सूचना प्रविधि मन्त्रालयको निर्देशिका २०८० लाई आधार मानेर गरिएको हो।

सरकारको तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन पठाइएको छ, जसअनुसार सूचीकृत नभएका सञ्जालहरू क्रमशः बन्द गरिंदैछन्।

आईएसप्यानले यसअघि भदौ १७ गते सरकारलाई औपचारिक पत्र पठाएर आवश्यक तयारीबारे जानकारी गराइसकेको थियो। अब प्राधिकरणसँगको समन्वयमा सञ्जालहरू बिस्तारै निष्क्रिय बनाइनेछ।

Read More

शिक्षा विधेयक बारे राष्ट्रियसभा अध्यक्ष दाहाललाई नेसनल प्याब्सनको ध्यानाकर्षण

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई भेट गरी लिखित धारणा बुझाएका छन्।

उक्त भेटमा नेसनल प्याब्सन पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष तथा कम्पनीमा दर्ता भएर सञ्चालनमा रहेका संस्थागत विद्यालयसम्बन्धी प्रावधान व्यवहारिक नभएको भन्दै पुनर्विचार आवश्यक रहेको बताएका हुन् । पूर्ण छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था लागू भए शुल्क वृद्धि भई श्रमजीवी अभिभावकलाई थप बोझ पर्ने र मध्यम आय भएका परिवारका बालबालिकाले विद्यालय छोड्नुपर्ने अवस्था सिर्जना हुने तर्कसहित उक्त प्रावधान पुनः परिमार्जन गर्नुपर्ने धारणा नेसनल प्याब्सनले प्रस्तुत गरेको छ। त्यस्तै पूर्व–प्राथमिक तहलाई दुई वर्षमा सीमित गर्ने व्यवस्था अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको भन्दै यसलाई तीन वर्ष कायम गर्नुपर्नेमा जोड दिइएको थियो ।

सामाजिक सुरक्षा कोषमा सबै विद्यालयलाई अनिवार्य सहभागी गराउने प्रावधान व्यवहारिक नभएकाले यसलाई ऐच्छिक बनाउनुपर्ने सुझाव समेत पेस गरिएको थियो। साथै कम्पनीमा दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई निरन्तरता दिनुपर्ने, तहगत अनुमति दिने व्यवस्था मिलाउनुपर्ने, शिक्षक तलब–भत्तामा विद्यमान ६०÷४० को प्रणाली निरन्तरता दिनुपर्ने तथा छात्रवृत्ति वितरण गर्दा शुल्कमा प्रत्यक्ष असर नपर्ने व्यवस्था गर्नुपर्ने माग पनि राखिएको थियो।

यस अवसरमा नेसनल प्याब्सनले कृत्रिम बुद्धिमत्ता जस्ता विषयलाई विद्यालय तहमै समावेश गरी नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्नुपर्ने दृष्टिकोण पनि अध्यक्ष दाहाल समक्ष प्रस्तुत गरेको थियो।

यसअघि, शिक्षा विधेयकका जटिल प्रावधान र सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा नेसनल प्याब्सन पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेल,सम्बन्धित मन्त्रीहरू रघुजी पन्त र शरदसिंह भण्डारीलाई समेत भेटी लिखित सुझाव बुझाएका थिए। राष्ट्रपति पौडेल र मन्त्रीहरूले आफ्नो तर्फबाट सकारात्मक प्रतिबद्धता व्यक्त गरेको कुरा पनि अध्यक्ष दाहाललाई जानकारी गराइएको थियो।

नेसनल प्याब्सनले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा मान्यता दिनुपर्ने, आफूहरू विद्यालय बन्द–हड्तालको पक्षमा नरहेको र लामो समयपछि आउन लागेको विद्यालय शिक्षा ऐन विद्यार्थी, अभिभावक, लगानीकर्ता तथा समग्र शिक्षा क्षेत्रकै लागि ऐतिहासिक कोसेढुङ्गा सावित होस् भन्ने अपेक्षा पनि व्यक्त गरेको छ।

उक्त भेटमा नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणा, पूर्व अध्यक्ष ऋतुराज सापकोटा, वरिष्ठ उपाध्यक्षहरू सुर्यबहादुर अधिकारी र सुबोधकुमार डांगी, उपाध्यक्ष कुमारबहादुर भट्टराई र महासचिव प्रतापबहादुर थापा उपस्थित थिए।

Read More

झापा इनर्जीको आईपीओ आजबाट निष्कासन, सर्वसाधारणले भर्न सक्ने

काठमाडौँ । झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले रु. १०० अंकित दरमा ४ लाख ७३ हजार ३३६ कित्ता सेयर जारी गरेको हो, जसको कुल मूल्य रु। ४ करोड ७३ लाख ३३ हजार बराबर हुन्छ।

यस आईपीओ अन्तर्गत २८ हजार ५१४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयहरू वा मेरो सेयरमार्फत भर्न सकिनेछ। कम्पनीले यो आईपीओ छिटोमा भदौ २४ गतेसम्म र ढिलोमा असोज ३ गतेसम्म खुला रहने जनाएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले झापा इनर्जीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। यस आईपीओको विक्रि प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।

यसअघि, कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरिसकेको छ, जसको बाँडफाँड सम्पन्न भइसकेको छ। झापा इनर्जीले गत असार ३१ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको थियो।

Read More

एभरेष्ट बैंकको लाभांश घोषणा, कति दिदैछ नगद र बोनस ?

काठमाडौँ । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस शेयर दिने भएको हो ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

Read More

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले अब स्वास्थ्य उपचारमा थप सुविधा पाउने भएका छन्। धनगढी, कैलालीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलसँग बैंकले विशेष सम्झौता गरेपछि ग्राहक महानुभावहरूले उपचार गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन्।

सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा डिजिटल भुक्तानी गर्दा छुटको लाभ लिन सक्नेछन्। यस अन्तर्गत बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न स्वास्थ्य सेवामा छुट सुविधा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

ग्राहकले General Bed-Hospital Admit, Cabin-Hospital Admit, ICU Bed, Ventilator, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Operation, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, T.M.T., Endoscopy र Medicine जस्ता सेवा लिँदा छुट प्राप्त गर्नेछन्।

एनआईसी एशिया बैंकले स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउनुका साथै यस किसिमको सहकार्यले मुलुकमा डिजिटल भुक्तानी सेवाको विस्तार र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ। बैंकले यस्ता पहलमार्फत आफ्ना ग्राहकलाई सुविधा दिनुका साथै स्वास्थ्य क्षेत्रलाई समेत प्रविधिमैत्री र सहज बनाउन योगदान पुग्ने जनाएको छ।

Read More

अमेरिकी डलरको मूल्य बढ्दा, अरु मुद्राको मूल्य कति ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ ।

Read More