२०८३ बैशाख १३

राष्ट्रपति हुँदा केही थिएन, अब किन अपमान ? किन यस्तो विवादको घेरामा पारियो मलाई: विद्या भण्डारीको प्रश्न (खुला पत्रसहित)

काठमाडौं । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्यादेवी भण्डारीले एमालेको आजबाट सुरु भएको विधान महाधिवेशनलाई लक्षित गरेर प्रतिनिधिहरुलाई पत्र लेखेकी छिन् ।

उनले नेकपा (एमाले) केन्द्रीय कमिटीको यही २०८२ साल श्रावण ५ र ६ गते बसेको बैठकको निर्णयको नाममा नवीकृत भैसकेको आफ्नो सदस्यतामाथि प्रश्न उठाइएकाले यस बारेमा केही कुरा राख्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिहरुलाई पत्र लेखेको स्पष्ट पारेकी छिन् ।

उनले सुरुमै भनेकी छिन्,‘त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारियो ? यो विषय पार्टी र सिङ्गो राष्ट्रकै निम्ति गम्भीर हो ।’

भण्डारीको पत्रको पूर्णपाठ
नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधि कमरेडहरू,
अभिवादन !

नेकपा (एमाले) केन्द्रीय कमिटीको यही २०८२ साल श्रावण ५ र ६ गते बसेको बैठकको निर्णयको नाममा नवीकृत भैसकेको मेरो सदस्यतामाथि प्रश्न उठाइएकाले यस बारेमा केही कुरा राख्ने उद्देश्यले यो पत्र लेखिरहेको छु । त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारियो ? यो विषय पार्टी र सिङ्गो राष्ट्रकै निम्ति गम्भीर हो ।

मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको छु । महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि मैले निरन्तर आवाज उठाउँदै आएको छु । अनेकौँ संघर्ष, कठिनाइ र चुनौतीसँग मैले कहिल्यै हार मानेको छैन । आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ । यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो । त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु ।

स्कुले जीवनदेखि नै अनेकौँ संघर्ष, त्याग र समर्पणको बाटो हिँडेर म यहाँ आइपुगेँ र फेरि पनि बाँकी जीवन पार्टीमै आबद्ध भएर अगाडि बढ्ने अठोट गरेको छु । तर म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ।

पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।
स्मरण रहोस्, जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर २०८२ साल असार १४ गते पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि बनेर मदन भण्डारी फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा मेरो पार्टी सदस्यता नवीकरण भैसकेको र मैले आफू नेकपा (एमाले) परिवारको पुनः सदस्य हुन पाएकोमा गर्व गर्दै बाँकी जीवन पार्टी मार्फत देश र जनताको सेवामा समर्पित गर्ने घोषणा गरेको थिएँ ।

यो विषय मैले उक्त कार्यक्रमको केही दिन पहिले मात्रै पार्टी अध्यक्ष कमरेडसँग मेरो भेट हुँदा मदन जयन्ती समारोहमा पार्टी सदस्यता नवीकरण गरेको कुरा आफूले सार्वजनिक गर्ने र ७५ औँ मदन जयन्तीका अवसरमा वैचारिक र रचनात्मक कार्यक्रम घनिभूत रूपमा सञ्चालन गर्नका लागि एउटा समिति गठन गर्ने विषयमा कुरा भएकै हो । अनि उक्त कार्यक्रममा मैले विधिवत रूपमा आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेकोले त्यस विषयलाई सार्वजनिक गर्दै नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जबजको अजेयता, देशमा सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियालाई तीव्र पार्नुपर्ने सन्दर्भ, पार्टीलाई थप सुदृढ तुल्याउनु पर्ने विषय र हाम्रो पार्टीको सुन्दर भविष्यको बारेमा त्यस कार्यक्रममा सम्बोधन गर्दै स्पष्ट पारेको थिएँ ।

पार्टीको निर्णय अनुसार म मुलुकको राष्ट्रपतिको निर्वाचनमा सरीक भएँ र निर्वाचित भएँ । राष्ट्रपतिमा निर्वाचित भएपछि २०७२ कार्तिक १२ गते प्रेस नोट जारी गर्दै मैले लिइरहेको पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको थिएँ । राष्ट्रपतिको जिम्मेवारीबाट सामान्य नागरिकको रूपमा फर्किएपछि पार्टी नेतृत्वको सल्लाह बमोजिम नै मैले पार्टी सदस्यता नवीकरण गरेको हुँ । तर केही समय यता पार्टीका केही जिम्मेवार कमरेडहरूले अनेकौँ व्यङ्ग्य, घोचपेच र मर्यादा विपरित अभिव्यक्ति दिँदै खासगरी मेरो पार्टी सदस्यता नवीकरण नभएको भनी सार्वजनिक सञ्चार माध्यममा निरन्तर विचार प्रवाह गरिरहेकाले पार्टी परिवारमा अन्यौल र जनतामा भ्रम सिर्जना भएको छ। ती कमरेडहरूको पूर्ववत धारणामा किन परिवर्तन भएको हो, मलाई आश्चर्य लागेको छ ।

मेरो विचारमा जबजले हामीलाई सिकाएको लोकतान्त्रिक संस्कार र संस्कृतिसँग यो मेल खाँदैन । एउटा वैधानिक लोकतान्त्रिक दलले संस्थागत गरिसकेको मेरो नवीकृत सदस्यता स्वीकार गर्नु पार्टीको विधिभित्रै पर्दछ । पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हो । अझसम्म पनि हाम्रा अभिभारा र लक्ष्य हासिल भइसकेका छैनन् । त्यसको प्राप्तिका लागि हामी सबैको एकता, समझदारी र सक्रियताको आवश्यकता पर्दछ । तसर्थ, यो आग्रहप्रति सबै सदस्यहरू गम्भीर बन्दै मेरो सदस्यता कायम गर्ने बारेमा सकारात्मक धारणा र निर्णयको अपेक्षा गर्दछु । साथै, पार्टीले आफ्नो निर्णय सच्याउँदै पार्टीमा देश र जनताको हितका खातिर एकजुट भएर अगाडि बढ्ने वातावरण बनाउन आग्रह गर्दछु।

मेरो सदस्यताको सवाल कसैलाई निजीजस्तो लागे पनि पार्टीका सम्पूर्ण सदस्यहरूको आस्था, विश्वास र अधिकारसँग समेत जोडिएको विषय हो । मैले हाम्रा कतिपय कमरेडहरूबाट निकट विगतमा पार्टीमा लोकतान्त्रीकरणका लागि गर्नुभएको कठोर संघर्ष, सुस्पष्ट लिखित अवधारणा र त्यसो गरिरहँदा पार्टीभित्रै व्यहोर्नुपरेको अपमान र पीडालाई नजिकबाट देखेको र बुझेको छु। त्यसबखत म र अरू कमरेडहरूप्रति अनेकौँ टिकाटिप्पणी हुँदा समेत जायज आवाजका लागि साथसाथ हामी लडेकै हौं ।

ती अभियानहरू जो सफलताका लागि निर्णायक समेत बनेका थिए, ती सबै यति चाँडै विस्मृतिमा हराइसके ? वास्तवमा त्यसबेलाको मेरो त्यस्तो साथ पनि पार्टी हितका निम्ति नै थियो । त्यसैले, मेरो सदस्यताको विषयमा झिकिएको विवाद केवल व्यक्तिगत होइन, बरु यो हाम्रो पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्याससँग गाँसिएको छ । मेरो नवीकृत सदस्यतालाई निष्क्रिय बनाउने विषय हाम्रो पार्टीले अङ्गीकार गरेको पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्तको समेत प्रतिकूल छ ।

मेरो राजनीतिक जीवन प्रारम्भदेखि नेकपा (माले) हुँदै नेकपा (एमाले)सँग जोडिएको छ । कलिलै उमेरदेखि म लोकतन्त्र, न्याय र समानताका लागि भएका आन्दोलन, संघर्ष र अभियानमा पार्टीको साथमा रहेको छु । पार्टीका नीतिगत निर्णय कार्यान्वयनमा होस् वा राष्ट्र र जनताका पक्षमा गरिएका संघर्षका कठिन क्षणमा मैले सधैँ पार्टीलाई उच्च प्राथमिकता दिएको छु । यही समर्पणकै कारण त्यसबेला पार्टी अध्यक्ष केपी शर्मा ओली हुँदा नै विशेष निर्णय गरेर मलाई राष्ट्रपतिको उम्मेद्वार बनाइयो र मैले नेपालको राष्ट्रपति बन्ने अवसर प्राप्त गरेँ । त्यो पदमा रहेर मैले संविधानको मर्म र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर आफ्नो दायित्व पूरा गरेको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

दुर्भाग्यवश, आज पार्टी नेतृत्वका केही व्यक्तिमा मेरो सदस्यता र भूमिकालाई अस्वीकार गर्ने, निष्क्रिय बनाउने वा बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । हाम्रो पार्टीको विधानले कहिँ कतैबाट पनि म पार्टीको सदस्य हुनबाट रोक्नुपर्ने अवस्था देखिँदैन । हाम्रो देश र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मान्दा पनि मेरो सदस्यता नवीकरणको सवालमा प्रश्न उठाउनुपर्ने होइन ।

नेपालको संविधानले समेत प्रत्येक नागरिकलाई मौलिक हकको रूपमा सहभागिता, समानता र स्वतन्त्रताको अधिकार दिएको छ र राजनीतिमा क्रियाशील हुन रोकेको छैन । त्यसैले, मेरो बारेमा पार्टीले गरेको भनिएको निर्णय र केही व्यक्तिको साँघुरो चिन्तन र नकारात्मक प्रवृत्तिले पार्टीलाई मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक संस्कृतिलाई कमजोर पार्दछ भन्ने मेरो ठम्याई हो। पार्टी संगठनभित्र विधि, पद्धति, विधान र लोकतान्त्रिक अभ्यास कमजोर बन्यो भने त्यसको मार केवल व्यक्तिलाई होइन, सम्पूर्ण पार्टीलाई नै पर्दछ ।

यस्तो परिपाटीलाई समयमै सच्याउँन सकेनौं भने हाम्रो पार्टीको प्रतिष्ठा, शक्ति तथा नेता–कार्यकर्ता बीचको एकता र जनताको हामीप्रति रहेको आस्था र विश्वास नै धर्मराउन सक्छ । मेरो यो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन हो र मेरा यी प्रयासहरूलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना गर्ने प्रयास नगरियोस् । यस्तो प्रयासलाई पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताले असफल पार्नु पर्दछ ।

मेरो यो आग्रह कुनै व्यक्तिगत आकांक्षाको लागि होइन, बरु पार्टीभित्रको विधि, संस्कार र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि हो । म विश्वास गर्छु कि, विधान महाधिवेशनका प्रतिनिधिहरूले मेरो यो आग्रहलाई गम्भीरतापूर्वक लिनुहुनेछ र पार्टीलाई अझ सबल बनाउन मद्दत पुरÞ्याउनु हुनेछ । हाम्रो पार्टी बलियो भयो भने मात्र हाम्रो देश बलियो हुन्छ । हामीले जुन पार्टी निर्माण गरेका छौँ, त्यो केवल सांगठानिक संरचना मात्र होइन, बरु त्यो हाम्रो समर्पण, आकाङ्क्षा, विश्वास र लोकतन्त्रको प्रतीक हो । हाम्रो जीवन छोटो छ, जति नै भनेपनि हाम्रो क्षमता सीमित नै छ, सामूहिकता मूल कुरा हो, त्यसैले सत्य र न्यायको आवाजलाई जीवन्त बनाइराख्नु पर्दछ ।

प्रिय कमरेडहरू,
मुलुकको सामाजिक–आर्थिक रूपान्तरणसहितको क्रान्तिको विषय अहम् महत्वको छ । पार्टीको स्थापना र विकास लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रियताको प्रवद्र्धन र जनताको हितका लागि भएको हो । यो निरन्तर अगाडि पर्ने विषय हो । यो सवाल मैले विभिन्न सन्दर्भमा बढाइरहनु उठाउँदै आएको छु र फेरि पनि उठाउने नै छु । त्यसैले, आज म राष्ट्रका जल्दाबल्दा समस्या र तिनको समाधानका विषयमा यहाँ चर्चा गर्न चाहन्न । पछि कुनै सन्दर्भमा यसका बारेमा थप छलफल र अन्तरक्रिया गर्दै धारणाहरू बताउने छु ।

अन्तमा, पुनः एकपटक मेरो सरोकारका माथि उल्लेखित विषयवस्तुहरूप्रति कमरेडहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हाम्रो पार्टीलाई वैचारिक रूपले निख्खर र सांगठानिक ढङ्गले सुदृढ बनाएर वर्तमानका चुनौतीहरू सामना गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दछु । पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अगाडि बढ्न सक्दा भविष्यमा हुने सम्पूर्ण जननिर्वाचित निकायहरूमा बहुमतसहितको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न सकिन्छ । अहिले हामी समाजवादको आधार निर्माण गर्ने चरणमा भएकाले जबजले अँगालेका सामाजिक–आर्थिक नीतिको कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अग्रसर हुनु पर्दछ । यसो गर्न सक्दा नै समुन्नत नेपाल बनाउने साझा लक्ष्य हासिल गर्न सकिन्छ । यस विषयमा तपाइँहरू गम्भीर बन्नुहोस् भन्ने आग्रह गर्दछु ।
धन्यवाद ।
२०८२ भाद्र १९ गते ।
विद्यादेवी भण्डारी

Read More

विद्या भण्डारी एमाले फोड्ने हैसियतमै छैनन्, ओलीलाई चुनौती दिन सक्ने कोही छैन: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विभाजन नगर्ने स्पष्ट पारेका छन् ।

उनले भने,‘उहाँले पार्टी विभाजन गर्ने कुनै सम्भावना छैन । उहाँबाट त्यो खालको काम हुँदा हुँदैन । उहाँले अन्तिममा पार्टी निर्णयलाई स्विकार गर्नुहुन्छ । र, राष्ट्रको साझा अभिभावकको भूमिकामा फर्कनुहुन्छ ।’ उनले विद्या भण्डारीले राजनीतिक रुपमा सचेत व्यक्तिको रुपमा खेल्ने भूमिकालाई आफूहरुले अप्ठ्यारो विषय नमानेको जिकिर गरे ।

उनले विचारको सवालमा भण्डारीले गर्नसक्ने योगदानको विषयलाई नकारात्मक रुपमा नठानेको पनि स्पष्ट पारे । सामाजिक सेवाको माध्यमबाट जननेता मदन भण्डारीलाई स्थापित गर्नसक्ने कुरामा विद्या भण्डारीको योगदान हुनसक्ने कुरालाई आफूहरुले सकारात्मक रुपमा लिएको पनि पोखरेलको भनाई छ ।

उनले विद्या भण्डारीले एमालेको अध्यक्षमा आकांक्षा राख्दैमा अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएको भनेर बुझ्न नहुने बताए । उनले भने,‘यतिवेला केपी शर्मा ओली एमालेको लागि स्विकार्य नेतामात्रै होईन, सिंगो राष्ट्रको लागि स्विकार्य नेताको रुपमा उहाँको व्यक्तित्वको विकास भैसकेको छ। त्यसअर्थमा राष्ट्रले समेत टक्कर दिन नपर्ने नेतालाई पार्टीभित्र कसैले टक्कर दिन्छ भन्ने त मलाई लाग्दैन । किनकी आज केपी शर्मा ओलीको जुन प्रकारको व्यक्तित्व बनेको छ, राष्ट्रलाई गौरव बनाउने सामथ्र्य बनाउनुभएको छ।’

Read More

एमालेको दोस्रो विधान महाधिवेशन सुरु (फोटो फिचर)

ललितपुर । नेकपा एमाले को दोस्रो विधान महाधिवेशन  ललितपुरको सनराइज सभा हलमा आजबाट सुरु भएको  छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ । विधान महाधिवेशनको उद्घाटनपछि अध्यक्ष ओलीले सम्बोधन गर्दै देशको वर्तमान अवस्था, पार्टीको रणनीति बारे विस्तृत रुपमा आफ्नो कुरा राखेका छन् ।

यस विधान महाधिवेशनमा ७ वटा दस्तावेज प्रस्तुत हुने एमाले सचिवालय बैठकले निर्णय गरेको छ । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्दैछन् । त्यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै कर्ण बहादुर थापाले केन्द्रीय कार्यालयमा दर्ता गरेको असहमतिको दस्तावेज पनि विधान महाधिवेशनमा छलफलका लागि पेश हुने भएको छ ।

विधान महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन समारोहपछि  सबै दस्तावेज प्रस्तुत हुने, शनिबार १० समुहमा दस्तावेजहरुमाथि छलफल हुने र अन्तिम दिन आइतबार दस्ताबेज पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गरेर समसामयिक प्रस्तावहरुसहित महाधिवेशन सकिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् । 

Read More

कर्ण थापाको फरक मत: पार्टी गैरसरकारी संस्थाको ढाँचाबाट चल्यो, वैचारिक बहसको वातावारण छैन

काठमाडौँ । नेकपा एमालेका स्थायी कमीटी सदस्य कर्ण बहादुर थापाले आजदेखि शुरु हुने दोस्रो विधान महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने भएका छन् ।

थापाले प्रस्तुत गर्ने फरक मतलाई विहिबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो । उनले आफ्नो फरक मतमा पार्टीमा विधमान प्रमुख समस्याको बारेमा विस्तृत रुपमा आफ्नो धारणा राखेका छन् । उनले पार्टीमा  गुटको आबरणमा वाञ्छित, अवाञ्छित, बैध, अबैध क्रियाकलाप खुलेआम हुनथालेको उल्लेख गर्दै सीमित नेताहरु बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यास पार्टीमा हावी भएको आरोप लगाएका छन् ।

उनले पार्टीमा छलफल, बहस, आलोचना, आत्मालोचनाको अभ्यासले प्राथकिमता पाउन छोडेको आरोप लगाउदै पार्टीका कमिटीहरुमा राजनीतिक, वैचारिक बहसको बाताबरण नभएको र सिंगो पार्टी राजनीतिक, वैचारिक रुपमा होइन, प्राविधिक रुपमा गैरसरकारी संस्थाको ढाँचाबाट चलिरहेको बताएका छन् ।  

थापाले आफ्नो फरक मतमा राखेका वर्तमान पार्टी जीवनका प्रमुख समस्या: 
हामीले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा विकास गर्ने क्रममा निश्चित मान्यताहरुलाई स्थापित गरेका थियौं । पार्टी सञ्चालनको विधि, कमिटी प्रणाली र सञ्चालनको विधि र प्रकृया तथा आफ्नै मौलिक ढाँचा र नेतृत्व निर्माणको लोकतान्त्रिक विधिलाई विधानद्वारा निर्देशित हुने व्यवस्था गर्यौं । आठौँ राष्ट्रिय महाधिवेशनमा बहुपदीय प्रणालीलाई अभ्यासमा ल्यायौं । पदाधिकारीको परिभाषित जिम्मेवारी विधानमै तोकियो । सबै तहका पदाधिकारी र सदस्यहरु प्रत्यक्ष निर्वाचित हुने प्रणालीलाई पार्टी जीवनमा लागु गर्यौं । स्वतन्त्र र गोप्य मतदानका माध्यमबाट महाधिवेशन वा अधिवेशनका प्रतिनिधिले नै आफ्नो नेता छान्ने प्रणाली लागु गर्यौं । 

नेताले नेता चुन्ने विगतको प्रणालीलाई छोडेर कार्यकर्ताले नै नेता चुन्ने लोकतान्त्रिक अभ्यासलाई स्थापित गर्यौं । प्रमुख नेता वा नेताहरुको समुहले नेता बनाउन खोजेर पनि नेता बन्न नसक्ने र प्रमुख नेता वा नेताहरुको समुहले नचाहदा पनि नेता चुनिन सक्ने अभ्यासलाई पार्टीको जीवनमा व्यवहारमा लागु गर्यौं । टिके प्रथालाई संपूर्ण रुपमा पूर्णविराम लगाउने काम भयो । पार्टी विधानमै पार्टी सदस्यलाई सार्वभौम बनाउने व्यवस्था गरियो । पार्टी सदस्यले आफ्नो मतको विवेकसम्मत प्रयोग गरेको देखियो । 

समुह–समुह बनाएर खुल्ला प्रतिस्पर्धा हुदापनि समुहको प्रमुख नेता एक समुहको निर्वाचित हुदा अर्का समुहको पदाधिकारी र सदस्य निर्वाचित भएका थुपै्र परिणाम देखिए । देशभरीका अनेकांै कमिटीका अधिवेशन र जनबर्गिय संगठनका अनेकौ कमिटीमा लोकतान्त्रिक विधिबाटै आ–आफ्नो कमिटीका नेता निर्वाचित गर्ने अभ्यासलाई जिवन्त बनाउने काम भयो । 

यस अभ्यासले नेता र कार्यकर्ताको बीचमा जीवन्त सम्बन्ध हुने र पार्टीभित्र सकारात्मक रक्त सञ्चार गराउने काम भयो । पार्टी र जनबर्गिय संगठनका सबै कमिटीमा व्यापक छलफल र बहसबाट निर्णयमा पुग्ने लोकतान्त्रिक अभ्यास पनि भयो । पार्टीमा नेतृत्व विकासको सहज प्रणाली स्थापित गर्न एउटै कार्यकारी पदमा दुई अवधि भन्दा बढि नरहने र ७० वर्ष उमेर हद कायम गरेर जीवन्त पार्टी निर्माण गर्न लोकतान्त्रिक मान्यतालाई स्वीकार गरियो र नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा उक्त प्रावधान राखियो । पार्टीका सदस्यहरु नेताहरुको वरिपरि घुमिरहने समस्याबाट एक स्तरको मुक्ति भएको थियो । 

पार्टी नेता बन्न चाहने व्यक्तिहरु पार्टीका कार्यकर्ता र जनतासँगको घनिष्ठ सम्बन्धमा रहनु पर्ने आम परिस्थिति निर्माण भयो । पार्टीको नवौं महाधिवेशनसम्म आई पुग्दा हाम्रो आन्दोलनको इतिहासमा कहिल्यै पनि अभ्यास नगरिएको औपचारिक मतपत्रमै समुह खडा गरी निर्वाचित हुने अभ्यास पनि भयो । नेतृत्व निर्माणका सम्बन्धमा खुला प्रतिस्पर्धाको अभ्यास त नमुना ढंगले भयो तर यस बीचमा शिरदेखि तिरसम्मै गुटगत गतिविधि तीब्र भए । गुटको आबरणमा वाञ्छित, अवाञ्छित, बैध, अबैध क्रियाकलाप खुलेआम हुनथाले । प्रतिस्पर्धा स्वस्थ होइन, अस्वस्थ हुन थाले । पार्टी सदस्य बनाउन अरुले शुल्क तिरि दिने गलत अभ्यासको शुरुआत पनि यसै अवधिमा भयो । कुनै कुनै गुटमा सक्रिय नहुने सक्षम र असल कार्यकर्ताहरु माथि अन्याय हुने स्थिति भोग्नु पर्यो । यस अवधिमा विकास भएका नकारात्मक क्रियाकलाप

र प्रवृत्तिलाई हटाएर स्वस्थ बहस र प्रतिस्पर्धाको असल अभ्यासलाई पार्टी जीवनको अभिन्न अंग बनाउनु पर्नेमा नवौं महाधिवेशन पछि जबजले निर्देशित गरेका असल अभ्यासहरु पनि समाप्त भएर गए । छलफल, बहस, आलोचना, आत्मालोचनाको अभ्यासले प्राथकिमता पाउन छोड्यो । भिन्न मत सके प्रकट हुन नदिने, भईहाले भने असहिष्णुताको व्यवहार गर्नेमात्रै होइन, कतिपय अबस्थामा प्रतिशोध साँध्नेसम्मका व्यवहार पार्टी जीवनमा देखिए । 

सीमित नेताहरु बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखियो । केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटव्यूरोका बैठकहरु समयमा नबोलाउने, बैठक भएपनि प्रयाप्त छलफल नहुने, हरेक निर्णय सचिवालयबाट गर्ने र तुरुन्तै कार्यान्वयन गरी हाल्ने, विषयको सान्दर्भिकता सकिसके पछि केन्द्रीय कमिटीबाट अनुमोदन गराउनाले दुई महाधिवेशनको बीचको सर्वाेच्च कार्यकारी केन्द्रीय कमिटी सचिवालयका निर्णयमा ल्याप्चे लगाउने कमिटीको रुपमा भूमिकाविहीन अबस्थामा पुर्याइएको छ ।

भयरहित राजनीतिक बातावरणमा आफुलाई लागेका कुरा प्रष्टसँग राख्ने अबस्था छैन । दब्बु मानसिकतामा रहेका कार्यकर्ता र नेताहरु संगठित रहेका कमिटीहरु औपचारिकतामा सीमित रहेको अबस्था छ । कमिटीहरुमा राजनीतिक, वैचारिक बहसको बाताबरण छैन । सिंगो पार्टी राजनीतिक, वैचारिक रुपमा होइन, प्राविधिक रुपमा गैरसरकारी संस्थाको ढाँचाबाट चलिरहेको स्थिति छ । जबजले स्थापित गरेका मान्यताहरु हात्तिको देखाउने दाँतमात्रैमा सीमित गरिएको छ । यस स्थितिबाट पार्टीलाई मुक्त गर्न हामीले जबजको मूल सिद्धान्त र त्यसले विकास गरेका मूल्य र मान्यतालाई दह्रो गरी आत्मसात गर्नु पर्दछ ।

Read More

एक्सले औपचारिक रुपमा सञ्चार मन्त्रालयसँग सोध्यो दर्ता प्रक्रिया

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्स नेपालमा बन्द भएपछि सरकारको सम्पर्कमा आएको छ । 

एक्सको सिंगापुरस्थित कार्यालयले सञ्चार मन्त्रालयमा इमेल मार्फत सम्पर्क गर्दै दर्ता प्रक्रिया बारे सोधेको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिएका छन् ।  मन्त्रालयले दर्ता प्रक्रियाबारे जानकारी पठाएको र आवश्यक कागजपत्र प्राप्त भए लगत्तै सूचीकरण गर्ने ठाकुरले बताए ।

यसअघि विहिबार फेसबुकको मूल कम्पनि मेटाको सिंगापुरस्थित कार्यालयले मन्त्रालयमा अनौपचारिक रुपमा सम्पर्क गरेर दर्ता प्रक्रिया बारे सोधेको थियो । तर मेटाले अहिलेसम्म दर्ता गर्ने बारे औपचारिक रुपमा भने प्रक्रिया अगाडी बढाएको छैन ।

सरकारले दर्ता प्रक्रियामा नआएका फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिङ्क्डइन, स्यानपच्याट, रेड्डीट, डिस्कर्ड, पिनट्रेस्ट, सिग्नल, थ्रेड, वीच्याट, कोरा, टम्बलर, क्लबह्वाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई निष्क्रिय बनाउन निर्देशन दिएसँगै हाल नेपालमा यी सामाजिक सञ्जाल निष्क्रिय रहेका छन् ।

यद्यपी यस सूचीमा रहेको हाम्रो पात्रोले दर्ताका लागि विहिबार नै प्रक्रिया शुरु गरेकोले आइतबारसम्म निर्णय गरेर हाम्रो पात्रलाई सूचीकरण गर्ने प्रवक्ता ठाकुरले जानकारी दिएका छन् ।

Read More

सरकारको निर्देशनले संसद समेत अध्यारोमा: लाईभ ठप्प हुने खतरा, वैकल्पिक उपाय खोज्दै सभामुख

काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै संसद्को प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिम) समेत रोकिने भएको छ ।

यही विषयमा सभामुख देवराज घिमिरेले संसद्का लाइभ र रेकर्डेड भिडियो सुरक्षित राख्नेबारे गम्भीर चासो राखेका छन्। सभामुखको सचिवालयका अनुसार उनले संसद् सचिवालयलाई वैकल्पिक माध्यम खोज्न निर्देशन दिइसकेका छन्।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, “लाइभ प्रसारण र सूचना प्रवाह नरोकिने गरी वैकल्पिक उपायको तयारी गर्न निर्देशन दिइएको छ।”

संघीय संसद्को दुवै सदन-प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक नियमित रूपमा युट्युब लगायतका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण हुँदै आएको छ। सांसदहरूको अभिव्यक्ति, बहस र कार्यवाही पनि भिडियोका रूपमा युट्युबमा सुरक्षित राखिँदै आएको छ।

तर सरकारले बिहीबारबाट नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि संसद्को सूचना सार्वजनिक गर्ने मुख्य माध्यम नै बन्द हुने अवस्थामा पुगेको हो।

प्रतिनिधिसभाको आगामी बैठक २५ भदौमा र राष्ट्रिय सभाको बैठक २३ भदौमा बस्दैछ। त्यसअघि नै वैकल्पिक डिजिटल उपाय तयार गर्नुपर्ने दवाव संसद् सचिवालयमा देखिएको छ ।

Read More

शिखर धवनसँग ईडीको सातघण्टा भन्दा लामो बयान

काठमाडौँ । भारतीय पूर्व क्रिकेटर शिखर धवनसँग प्रवर्तन निर्देशनालय (ईडी) ले सात घण्टा भन्दा बढी समय बयान लिएको छ ।

धवनसँग बिहीबार दिल्लीमा ईडी कार्यालयले कथित अवैध बेटिंग एपसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा बयान लिएको मिडिया रिपोर्टमा उल्लेख छ । धवन सात घण्टाभन्दा बढी समयपछि ईडी कार्यालयबाट निस्केका थिए । यो मुद्दा अनलाइन प्लेटफर्मसँग सम्बन्धित रहेको बताइएको छ ।

ईडीका अधिकारीहरूले धावनको सम्भावित प्रचारात्मक वा साझेदारी सम्बन्धहरूको अनुसन्धान सुरु गरिरहेका छन् र यसैक्रममा धवनसँग बयान लिएको बताइएको छ । धवन इडी कार्यालयमा हाजिर भएर अनुसन्धानकर्ताहरूसँग आफ्नो बयान रेकर्ड गरेका छन् ।

३९ वर्षीय पूर्व भारतीय क्रिकेटरको नाम केही विज्ञापनहरू मार्फत अनलाइन बेटिंग एपसँग जोडिएको पाइएको छ । अहिले इडीले धवनले यो बेटिंग एपको प्रचारमा आफ्नो छवि प्रयोग गरेको र बदलामा कुनै भुक्तानी लिएका छन् की छैनन् भन्ने अनुसन्धान गरिरहेको बताइएको छ । यस अघि पुर्व क्रिकेटर सुरेश रैनालाई पनि सोधपुछ गरिएको थियो । 

Read More

रास्वपाले भन्यो: सामाजिक सञ्जाल बन्द हुदा जनताको हकमाथि प्रत्यक्ष प्रहार भयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्‍याएको बताएको छ ।

रास्वपाकी केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार–अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान–प्रदानको प्रमुख माध्यम बनेको उल्लेख गरेर एकैपटक बन्द गर्ने निर्णय जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार भएको बताएकी छन् ।

रास्वपाले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको मेरुदण्ड भएको भन्दै यसलाई नियन्त्रण गर्ने, बन्द गर्ने वा संकुचित गर्ने गरी नेपाल सरकारले लिएको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।  

रास्वपाको विज्ञप्ति
नेपाल सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्‍याएको छ। सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार–अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान–प्रदानको प्रमुख माध्यम बनेको छ । यसलाई एकैपटक बन्द गर्ने निर्णय जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार हो ।

अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको मेरुदण्ड हो । यसलाई नियन्त्रण गर्ने, बन्द गर्ने वा संकुचित गर्ने गरी नेपाल सरकारले लिएको निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग गम्भीर आपत्ति प्रकट गर्दछ । नेपालको संविधानको धारा १७ ले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई र धारा १९ ले सूचना तथा सञ्चारको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । संविधाले नागरिकलाई दिएको संवैधानिक अधिकार खोस्ने सरकारको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा प्रतिवाद गर्दछ ।

सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीत कदम हो । लोकतन्त्रमा समस्या समाधान गर्ने बाटो नियमन, पारदर्शिता र कानुनी प्रक्रिया हो; सम्पूर्ण सञ्चार माध्यम नै बन्द गर्नु होइन ।

यस सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारसँग निम्न माग गर्दछः

१. सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस् ।

२. दुरुपयोग रोक्नका लागि नीति–आधारित, प्राविधिक र कानुनी उपायहरू अवलम्बन गरियोस् ।

३. भविष्यमा नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम नदोहोरिने स्पष्ट प्रतिबद्धता जनाइयोस् ।

राष्ट्रिय स्वतन्त्र पार्टी नागरिक अधिकार, डिजिटल स्वतन्त्रता र जिम्मेवार सञ्चार प्रयोगको पक्षमा सदैव दृढतापूर्वक उभिएको छ । नागरिक अधिकार कुण्ठित गर्ने गरी नेपाल सरकारले गर्ने यस्ता प्रयासप्रति हाम्रो कडा प्रतिवाद रहनेछ भन्ने यसै विज्ञप्तिमार्फत् स्पष्ट गर्दछौँ ।

Read More

महालक्ष्मी बैंकको फेस्टिव अफर: क्रेडिट कार्डमार्फत टुर प्याकेज खरिद गर्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गर्दै आफ्नो क्रेडिट कार्डमार्फत टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने नयाँ योजना सुरु गरेको छ। ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको बैंकले चाडपर्वका अवसरमा विदेश भ्रमण गर्ने बढ्दो प्रवृत्तिलाई मध्यनजर गर्दै यो सुविधा ल्याएको हो।

यसका लागि बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीसँग व्यवसायिक सहकार्यसम्बन्धी सम्झौता गरिसकेको छ। प्रारम्भिक चरणमा, गुरु ट्राभल्स प्रा.लि., दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाडौंमार्फत बैंकका क्रेडिट कार्डवाहकहरूले टुर प्याकेज खरिद गर्न सक्नेछन्।

ग्राहकले महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गरेका प्याकेजको मूल्य बराबरको रकम भुक्तानी ६ देखि १२ महिनासम्मको लचिलो अवधिमा मासिक किस्ताबन्दीमा गर्न सक्नेछन्। बैंकले प्रस्तुत बिलको आधारमा सो कारोबारलाई सहज रूपमा किस्ताबन्दीमा रुपान्तरण गरिदिनेछ। यसरी मासिक किस्तामा रुपान्तरण गर्दा कुनै पनि प्रोसेसिङ शुल्क नलिने व्यवस्था गरिएको छ।

बैंकले यो योजनाबाट ग्राहकलाई सजिलो किस्ताबन्दी सुविधासहित विदेश भ्रमणलाई थप सहज र आकर्षक बनाउने अपेक्षा गरेको छ। साथै, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र चाडपर्वलाई थप उत्साहमय बनाउन यो योजना प्रभावकारी हुने विश्वास बैंकले व्यक्त गरेको छ।

Read More

फिल्म रिमै रिलिज, शो नपाएको भन्दै चिठ्ठीको प्रदर्शन स्थगित

काठमाडौँ । आजदेखि नयाँ फिल्म रिमै रिलिज भएको छ ।

त्यस्तै आजदेखि अर्को फिल्म चिट्ठी पनि रिलिज हुने भनिए पनि अन्तिम समयमा उचित शो नपाएको भन्दै चिठ्ठीको रिलिज स्थगित गरिएको छ । तर, देशभरका हलले उचित शो नदिएको भन्दै बिहीबार साँझ फिल्मका निर्माताले रिलिज स्थगित गरेका छन् । चिठ्ठीका निर्माता कमला जोशीले कतिपय हालले शो नै नदिएको र कतिले अफटाइमका शो दिएको आरोप लगाउदै फिल्मको रिलिज स्थगित गरेको जानकारी दिएकी हुन् ।

त्यसैगरी आजदेखि रिलिज भएको रिमै मा भने दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ । कबड्डीबाट चर्चित बनेको यो जोडी फेरी एक पटक एकसाथ आएको छ । यसका अलावा फिल्ममा अर्पण थापा, गौमाया गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले मगर, वीरमाया गुरुङ लगायतको पनि महत्वपूर्ण भूमिका रहेको छ । 

खिल बहादुर गुरुङको निर्देशन तथा उपेन्द्र सुब्बाको लेखन रहेको रिमैमा वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् । 

यस फिल्मले बलिउडको बागी- ४ र हलिउडको द कन्जुरिङ : लास्ट राइट्स जस्ता ठूला फिल्मसँग प्रतिष्पर्धा गर्नुपर्ने देखिएको छ ।

Read More