२०८३ बैशाख १३

इन्जिनियर्स एसोसियसनले ध्वस्त भौतिक संरचनाको निःशुल्क प्रारम्भिक परिक्षण गर्दै

काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसियसनले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका संरचनाको निःशुल्क प्रारम्भिक परिक्षण शुरु गरेको छ । एसोसियसनले विद्यमान जटिल र कठिन परिस्थितिलाई गम्भीरतापूर्वक जिम्मेवारिबोध र आत्मसाथ गर्दै देशैभरि भएका क्षतिको समुचित मूल्याङ्कन तथा आवश्यक पुनर्निर्माण प्रकृयामा निःशुल्क प्राविधिक सहयोग पु-याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसै सन्दर्भमा एसोसियसनले प्रारम्भिक रूपमा स्वतःस्फूर्त क्षतिग्रस्त भौतिक संरचनाहरूको र्यापिड भिजिअल ड्यामेज एसेस्मेन्ट अभियानको आइतबारदेखिनै शुरुवात गर्दै सर्वोच्च अदालत, काठमाडौ जिल्ला अदालत तथा नेपाल बार एशोसिएसनको भवनको प्रारम्भिक निरीक्षण गरी प्रारम्भ गरेको जानकारी गराएको छ । 

एसोसियसनले प्राविधिक परिक्षण पश्चात मात्र संरचना प्रयोग गर्न अनुरोध गर्दै अभियानमा क्षतिग्रस्त भौतिक संरचनाहरूको तत्काल अवलोकन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता जाँच, वैकल्पिक व्यवस्थापन तथा पुनर्निर्माणको संभाव्यता अध्ययन एवं मूल्याङ्कन गरिने बताएको छ । यस प्रकृयामा आवश्यक प्राविधिक जनशक्ति परिचालनका लागि इच्छुक इन्जिनियर, आर्किटेक्ट तथा संरचनात्मक विशेषज्ञ लगायत अन्य सम्बन्धित प्राविधिकहरूलाई स्वयंसेवकको रूपमा सहभागी हुन समेत आग्रह गरिएको छ ।

राष्ट्र निर्माणका लागि पेशागत दायित्वबोध गरी देश भरि गर्न लागिएको यस अभियानलाई संवन्धित निकायको साथ, सहयोग, सहकार्य र समन्वय प्राप्त भएको खण्डमा थप उर्जाका साथ निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन नेपाल इन्जिनियर्स एशोसिएसन तत्पर र प्रतिबद्ध रहेको स्पष्ट गरेको छ । 

एसोसियसनले भनेको छ- 

क्षतिग्रस्त भौतिक संरचनाहरुको निःशुल्क प्रारम्भिक परिक्षणको अपिल !

२०८२ भदौ २३ र २४ गते नेपालमा भएको Gen-Z युवाहरुको आन्दोलनको दौरान मुलुकका विभिन्न शहर तथा स्थानहरुमा रहेको पुरातात्विक महत्व र ऐतिहासिक, सांस्कृतिक, सरकारी भौतिक संरचनाहरू लगायत व्यक्तिगत भवनहरूमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाले सम्पूर्ण इन्जिनियर, आर्किटेक्ट समुदायलाई स्तब्ध बनाएको छ । वि.स. १९९० र २०७२ सालमा गएको भुकम्पबाट क्षतिग्रस्त भएका भौतिक संरचनाहरूलाई नेपाली प्राविधिक जनशक्तिको परिश्रम, मेहनत, विज्ञता र दक्षताबाट पून: निर्माण गर्न ठूलो योगदान रहेको थियो भन्ने विषयमा दुईमत हुन सक्दैन । आज ती संरचनाहरूलाई आन्दोलनको नाममा विध्वंस गराइएको घटनाले सम्पूर्ण नेपाली इन्जिनियर समुदाय अत्यन्त दुःखी र चिन्तित भएको छ । नेपाल इन्जिनियर्स एशोसिएसनले यस प्रकारको अपूरणीय क्षतिलाई गम्भीरतापूर्वक लिएको र ती संरचनाहरू केवल भवन मात्र नभई राष्ट्रको इतिहास, सांस्कृतिक धरोहर, सार्वजनिक सेवा प्रणाली र सामाजिक सम्पत्तिका प्रतिक हुन भन्ने कुरा आम सचेत नेपाली नागरिकले बुझ्नु पर्दछ ।

तसर्थ विद्यमानको यो जटिल र कठिन परिस्थितिलाई गम्भीरतापूर्वक जिम्मेवारिबोध र आत्मसाथ गर्दै नेपाल इन्जिनियर्स एशोसिएसन (NEA ) ले देशैभरि भएका क्षतिको समुचित मूल्याङ्कन तथा आवश्यक पुनर्निर्माण प्रकृयामा निःशुल्क प्राविधिक सहयोग पु-याउने प्रतिबद्धता व्यक्त गर्दछ ।

यसै सन्दर्भमा एसोसियसनले प्रारम्भिक रूपमा स्वतःस्फूर्त क्षतिग्रस्त भौतिक संरचनाहरूको  अभियानको कार्य आज मिति २०८२ भदौ २९ गते सर्वोच्च अदालत, काठमाडौ जिल्ला अदालत तथा नेपाल बार एशोसिएसनको भवनको प्रारम्भिक निरीक्षण गरी प्रारम्भ गरेको व्यहोरा संबन्धित सबैमा जानकारी गराउन चाहन्छौं । साथै प्राविधिक परिक्षण पश्चात मात्र संरचना प्रयोग गर्न अनुरोध गर्दै अभियानमा क्षतिग्रस्त भौतिक संरचनाहरूको तत्काल अवलोकन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता जाँच, वैकल्पिक व्यवस्थापन तथा पुनर्निर्माणको संभाव्यता अध्ययन एवं मूल्याङ्कन गरिनेछ । यस प्रकृयामा आवश्यक प्राविधिक जनशक्ति परिचालनका लागि इच्छुक इन्जिनियर, आर्किटेक्ट तथा संरचनात्मक विशेषज्ञ लगायत अन्य सम्बन्धित प्राविधिकहरूलाई स्वयंसेवकको रूपमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं । संवेदनशील समयको माग अनुसार राष्ट्रिय हित, सम्पदा र संरचनाको संरक्षणका लागि प्राविधिक विशेषज्ञता मार्फत यस्ता संकटको सामना गर्ने क्षमता २०७२ सालको भुकम्पका बखत एशोसिएसनले खेलेको भूमिका र अनुभव हामीसँग ताजै छ, तसर्थ राष्ट्र निर्माणका लागि पेशागत दायित्वबोध गरी देश भरि गर्न लागिएको हाम्रो यस अभियानलाई संवन्धित निकायको साथ, सहयोग, सहकार्य र समन्वय प्राप्त भएको खण्डमा थप उर्जाका साथ निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन नेपाल इन्जिनियर्स एशोसिएसन तत्पर र प्रतिबद्ध रहेको व्यहोरा यसै विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं । 

Read More

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूह, प्रम निवास अगाडि नाराबाजी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।

मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको सार्वजनिक भएको छ । सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरेको भन्दै असन्तुष्ट जनाएका हुन् । गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन् । ‘यो ओमप्रकाशले आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् ।

युवाहरु नाराबाजीमा उत्रिएपछि प्रधानमन्त्री निवास अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।

Read More

कतार आक्रमणपछि ब्याकफुटमा नेतान्याहू

काठमाडौँ । इजरायलले कतारमा हवाई आक्रमण गरेर विश्वलाई चकित पारेको छ । कतारमा हमास नेताहरूको हत्या गर्ने आदेश दिनुको पछाडि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ठूलो रणनीति थियो । उनले कतारमा आक्रमण गरेर हमास समूहलाई कुचल्ने आफ्नो अभियानमा सफलताको लागि ठूलो जुवा खेले । यद्यपि, यो असफल भयो र हमास नेताहरू आक्रमणबाट बचे । इजरायलको अभियान असफल भएको कारण नेतान्याहूको यो कदमले अहिले उनैलाई ब्याकफायर भएको छ ।

एपीको रिपोर्ट अनुसार, नेतान्याहूले आशा गरेका थिए, वरिष्ठ हमास नेताहरूलाई मारेर उनी यस समूह विरुद्ध ‘पूर्ण विजय’ को आफ्नो लक्ष्यको नजिक पुग्नेछन् । यसपछि, उनी गाजामा हमासलाई आत्मसमर्पण गर्न दबाब दिन सक्षम हुनेछन् । साथै, उनी गाजाबाट आफ्ना बन्धकहरूलाई बाहिर निकाल्न सक्षम हुनेछन् । यसले विश्वव्यापी स्तरमा साथै उनको घरेलु राजनीतिमा उनको छवि सुधार गर्नेछ ।

इजरायली आक्रमणबाट हमास नेताहरू बाँचे र नेतान्याहूको विश्वव्यापी प्रतिष्ठामा थप धक्का लागेको छ । मंगलबारको हवाई आक्रमणले कतार रिसाएको छ । कतार एक प्रभावशाली अमेरिकी सहयोगी हो र गाजा युद्धमा एक प्रमुख मध्यस्थकर्ता पनि हो । इजरायली आक्रमणको कतारमा मात्र नभई सम्पूर्ण अरब जगतमा कडा आलोचना गरिएको छ ।

कतारमाथिको आक्रमणले ह्वाइट हाउसको अरब र इजरायलसँगको सम्बन्धमा तनाव उत्पन्न गरेको बताइएको छ । यसले गाजा युद्धविरामको आशालाई धक्का दिएको छ । साथै, गाजामा जीवित रहेको मानिने २० बन्धकहरूलाई पनि खतरा पुर्याएको छ । यो आक्रमण असफल भए पनि, नेतान्याहूले पछि हट्ने वा युद्ध रोक्ने संकेत भने दिएका छैनन् ।

तेल अभिभ विश्वविद्यालयका अरब मामिलाका विज्ञ हरेल चोरेभले आक्रमणमा शीर्ष नेतृत्व मारिएको भए, नेतान्याहूले हमासको विनाशको घोषणा गर्ने अवसर पाउने अवस्था बन्थ्यो भन्ने टिप्पणी गरेका छन् । चोरेभले इजरायलले युद्धको सुरुवातदेखि नै दोहामा हमास नेताहरूलाई लक्षित गर्न सक्थ्यो तर वार्ताको क्रममा कतारसँग सम्बन्ध नबिगार्न त्यसो गरेन । अब यो घटनाले सबै रणनीति असफल भएको बताए ।

कतारले पछिल्ला दुई युद्धविराम सम्झौताहरूमा मद्दत गरेको छ । यस अन्तर्गत हजारौं प्यालेस्टिनी कैदीहरू र १४८ इजरायली बन्धकहरूलाई रिहा गरिएको थियो । यस आक्रमणसँगै इजरायलले सम्पूर्ण विश्वलाई वार्ताबाट हार मानेको बताएको छ । आक्रमणसँगै नेतान्याहूले कतारसँगको आफ्नो च्यानल जलाएका छन् । अब उनले हमाससँगको वार्तामा पनि कठिनाइहरूको सामना गर्नुपर्ने विश्लेषण समेत गरिएको छ ।

नेतान्याहूलाई अमेरिकाबाट निरन्तर समर्थन मिलिरहेको छ । इजरायलले कतारमा हालै गरेको आक्रमणपछि ट्रम्पले हवाई आक्रमणबाट आफू दुखी भएको बताए । उनले कतारलाई यस्तो आक्रमण फेरि नहुने आश्वासन दिए । ट्रम्पले इजरायलविरुद्ध दण्डात्मक कारबाही गर्ने बताएका छैनन् तर उनले असन्तुष्टि व्यक्त गरेका छन् । अमेरिकाको असन्तुष्टि इजरायलको लागि महँगो साबित हुन सक्छ । यो धेरै हदसम्म स्पष्ट छ, इजरायलले अमेरिकालाई रिसाएर आफ्नो आक्रमण जारी राख्न सक्ने छैन । 

Read More

आज तीन मन्त्रीको शपथ: घिसिङ उर्जा, खनाल अर्थ र अर्यालले गृह सम्हाल्दै

काठमाडौँ । अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूको आज शपथ हुँदैछ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हिजो आईतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री कार्कीले घिसिङलाई अन्य महत्वपूर्ण मन्त्रालय समेत दिने बताइएको छ ।

त्यसैगरी पूर्वअर्थ सचिवसमेत रहेका अर्थविद रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यता अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । जेनजी समूहबाट राष्ट्रपति र नेपाली सेनासँग वार्तामा समेत सहभागी भएका अर्याल यसअघि काठमाडौँ महानगरका कानुनी सल्लहकारको भूमिकामा थिए । बालेन शाह निकट रहेका अर्यालले यसअघि रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनमा समेत उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।

Read More

भलेन्सियाविरुद्ध बार्सिलोनाको आधा दर्जन गोल

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत भलेन्सियामाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ६-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेर्मिन लोपेज, राफिन्हा र रोबेर्ट लेवानडोस्कीले २-२ गोल गरेका थिए ।

यस सिजनमा बार्सिलोनाको यो ४ खेलमा तेस्रो जित हो । यो जितपछि बार्सिलोनाको ४ खेलमा १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी भलेन्सियाको भने यस सिजनमा यो दोस्रो हार हो । यो हारपछि भलेन्सियाको ४ खेलमा ४ अंक रहेको छ र १५औं स्थानमा छ ।

Read More

अल नासरको साउदी प्रो लिगमा लगातार दोस्रो जित

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल खोलूडलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा साडियो माने र इनिगो मेटिनेजले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल खोलूडको भने यो लगातार दोस्रो हार हो ।

Read More

साफ यू-१७ च्याम्पियनसिपमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौँ । साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत आज नेपालले आयोजक श्रीलंकाको सामना गर्दैछ । कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ बजेदेखि शुरु हुने छ । 

सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।

त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा श्रीलंकासँग र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।

Read More

लिभरपुलको अपराजित यात्रा कायमै

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । आइतबार राति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा खेलको ९० मिनेट पछिको इन्जुरी समयमा मोहमद सलाहले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो लिभरपुलको लगातार चौथो जित हो । लिभरपुलको ४ खेलमा १२ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी बर्नलीको ४ खेलमा ३ अंक रहेको छ र ३ अंकसहित १७औ स्थानमा रहेको छ ।     

Read More

जितिया पर्व मनाइदै

काठमाडौं । आज जितिया पर्व मनाइदै छ । विशेष गरी थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो । थारु समुदायले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै र गाउँदै जितिया मनाउने परम्परा छ । वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायमा पनि जितिया पर्वलाई अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ ।

व्रतालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै व्रतालुहरू जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहीआएको छ ।

को हुन जिमूतवाहन ?
भविष्यपुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्र जिमूतवाहनमाथि महादेवको असिम कृपा थियो । महादेवले नै जिर्मूतवाहनलाई बरदान दिएकाले सन्तानको अकाल मृत्युबाट बचाउनका लागि जितिया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ । हिन्दूधर्ममा विभिन्न जनाबर र चराको विशेष महत्व दिएर पूजापाठ गर्ने परम्परा छ । गाई, परेवा, काग, कुकुर, हाँस, बाघ र मुसो लगायतको पूजा गरिन्छ भने यस पर्वमा स्यालनी र चिलको पूजा गर्ने गरिएको हो ।

वर्त बसेको दिनमा वर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पन गर्छन् । त्यसपछि, घर पुगेर डाली (टोकरी) भर्ने नियम रहेको छ । सो डालीमा फलपूmल, मिठाइ र नरिवल राखेर नयाँ बस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ । पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट कपडा हटाएर प्रसादको रुपमा ग्रहण गरिन्छ ।

उपवासको दिन वर्तालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्य रुपमा श्रवण गर्ने गरिन्छ । कथा श्रवण गरेर घर फर्केपछि आगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जिर्मूतवाहनको पूजा गर्छन् ।

जितिया पर्वको कथा
भविष्यपुराणमा वर्णन गरिएअनुसार, कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा एक पाकरीको रुख थियो । सो रुखको फेदमा स्यालनी र हाँगामा चिल बस्थे । दुइटैकोबीच घनिष्ट मित्रता थियो । एक दिन जितिया पर्व मनाउने वर्तालु नर्मदा नदीमा स्नान गरी सोही रुखमुनि बसेर जितिया पर्वको कथावाचन गरेका थिए ।

पर्वको महत्वको सम्बन्धमा सुनेर स्यालनी र चीलले जितिया पर्व मनाउनका लागि उपवासमा बस्ने निर्णय गरे । सोही रात नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकको आफन्त शवको अधिकांश भाग जलेपछि, घर फर्के । स्यालनीलाई मृतकको मासु खाने इच्छा भयो । चीललाई थाहै नदिइ स्यालनीले मासु खाए र केही लुकाएर पनि राखे । यी घटना चीलले हेरिरहेको थियो । स्यालनी र चीलको मृत्यु भएपछि दुबैको भाष्कर नामक ब्राह्मणको घरमा कन्याको रुपमा जन्म भयो । चिलको शीलावती र स्यालनीको कर्पुरावतीको रुपमा जन्मभयो ।

जेठी शीलावतीको धनवानको घरमा र कर्पुरावतीको राजपरिवारमा विवाह भयो । जेठी शीलावतीलाई सात छोरा भयो तर, कान्छी कर्पुरावतीलाई छोरा भए पनि क्रमिक रुपमा मृत्युवरण गर्दै गयो ।

सोही कारणले कर्पुरावतीको जेठी शीलावतीसँग सम्बन्ध चिसिँदै गयो । केही समयपछि, जेठी शीलावतीले पूर्वजन्मको घटना कर्पुरावतीलाई सुनाउँदै वर्त भङ्ग गरेको कारणले छोरा जीवित नरहेको जानकारी गराइन् । सोही कारणले यो पर्व मनाउने बाचुञ्जेलसम्म पर्व खण्डित नहुने गरी नियमनिष्ठाका साथ मनाउने गर्छन् ।

Read More

पाकिस्तानमाथि भारतको ७ विकेटको सहज जित

काठमाडौँ । भारतले पाकिस्तानमाथि सहज जित हासिल गरेको छ । जारी एशिया कप अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए भने तिलक बर्मा र अभिषेक शर्माले ३१-३१ रन बनाएका थिए ।  त्यसैगरी शुभमन गिल र शिवम दुवेले १०-१० रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर सैयब आयुबले ३ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

पाकिस्तानका लागि शाहीबजादा हारिसले सर्बाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदीले अविजित ३३ रन बनाएका थिए । त्यस्तै फखर जमानले १७ र फहीम अशरफले ११ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर कुलदीप यादवले सर्बाधिक ३ विकेट लिए भने जसप्रित बुमराह र अक्सर पटेलले २-२ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक एक विकेट लिएका थिए ।

यो प्रतियोगितामा भारतको लगातार दोस्रो जित हो । त्यस्तै पाकिस्तानले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

एशिया कप अन्तर्गत अर्को खेल आज युएई र ओमानबीच हुदै छ ।

Read More