२०८३ बैशाख १३

आयो रोबोटको समय

काठमाडौँ । विगत धेरै वर्षदेखि रोबोटहरू बजारमा आइरहेका छन् । तर अहिलेसम्म तिनीहरू मानिससँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

चीन र अमेरिकाका ठूला रोबोट कम्पनीहरूले भविष्यमा मानिससँग प्रतिष्पर्धा गर्ने रोबोट बनाउन जुटेका छन् । ह्युमनोइड रोबोट बनाउने कम्पनीहरूले अब आफ्ना उत्पादनहरू धेरैजसो क्षेत्रमा प्रयोग गर्न सकिने गरी डिजाइन गरेका छन् । केही विज्ञहरू विश्वास गर्छन् कि यी रोबोटहरूको विशेष क्षण आएको छ, जसरी च्याटजीपीटीको समय आएको थियो । यसको श्रेय एआईलाई दिइँदैछ, यो प्रविधिले ह्युमनोइड रोबोटहरूलाई यति बुद्धिमान बनाएको छ कि अब यी रोबोटहरू मानिस जस्तै देखिन्छन् र हिँड्छन् र काम गर्न सक्छन ।

प्राविधिक रूपमा यस वर्ष ह्युमनोइड रोबोटहरूले धेरै प्रगति गरेका छन् । यी रोबोटहरू मानिस जस्तै देखिन र हिँड्न थालेका छन्, साथै कारखाना र अन्य क्षेत्रमा पनि काम गर्न थालेका छन् । बेइजिङस्थित ह्युमनोइड रोबोटिक्स इनोभेसन सेन्टरका महाप्रबन्धक सियोङ युजुनले च्याटजीपीटी जस्ता ह्युमनोइड रोबोटहरूको समय आएको विश्वास गरिएको बताएका छन् । यस वर्ष, ह्युमनोइड रोबोटहरूको शरीर र एआईद्वारा सञ्चालित दिमागमा द्रुत सुधार भएको छ ।

च्याटजिपिटीको विशेष क्षण २०२२ को अन्त्यमा आयो, जब ओपनएआईले यसलाई सुरु गर्यो । यसपछि, ठूला भाषा मोडेलहरूको प्रसिद्धि बढ्यो र यसलाई ठूलो मात्रामा प्रयोग गर्न थालियो । ह्युमनोइड रोबोटहरूसँग पनि यस्तै केही हुनेवाला छ । अमेरिकामा टेस्लाको अप्टिमस रोबोट र चीनमा युनिटरी, ग्यालबोट र युबीटेक जस्ता कम्पनीहरूले आफ्नो रोबोटहरू ठूलो मात्रामा विकास गरेका छन् र बजारमा ल्याइरहेका छन् । यी कम्पनीहरूले उनीहरूको प्रविधि अब संसारमा प्रभुत्व जमाउन तयार रहेको बताइएको छ ।

चीनमा ग्यालबोटका प्रमुख रणनीति अधिकारी झाओ युलीले उनको कम्पनीले विभिन्न ठाउँमा काम गर्न लगभग १,००० रोबोटहरू तैनाथ गरेको बताएकी छन् । यी रोबोटहरू कारखाना र अन्य व्यावसायिक क्षेत्रमा काम गरिरहेका छन् । युबीटेक र ग्यालबोटले आफ्ना स्थानीय कारखानाहरूमा रोबोटहरूलाई रोजगारी दिएका छन् । यसबाहेक, यी रोबोटहरू म्याराथन र बक्सिङ जस्ता खेलहरू खेलिरहेको पनि देखिएको छ ।

मानवजस्तै रोबोटको प्रयोग अझै पनि केही हदसम्म खतरनाक मानिन्छ । युबीटेकका सियोङ रोबोटको कानून र नियमनसँग सम्बन्धित समस्याहरू समाधान गर्न अझै आवश्यक रहेको विश्वास गर्छन् । उनले २०६० सम्ममा विश्वमा रोबोटको संख्या ३ अर्ब पुग्न सक्ने ठूलो दाबी गरेका छन् । यसको अर्थ भविष्यमा रोबोटको क्रेज पनि एआई जस्तै हुन सक्ने बताइएको छ ।

Read More

रियल म्याड्रिडको च्याम्पियन्स लिगमा विजयी शुरुवात

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले फ्रेन्च क्लब मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले दुवै गोल पेनाल्टी मार्फत गरेका थिए । रियल म्याड्रिडले १-० ले पछि परेको अवस्थामा खेलमा कमब्याक गरेर जित हासिल गरेको थियो । त्यस्तै मार्सेलीका लागि एक गोल टिमोथी वीहले गरेका थिए ।

यस खेलमा खेलको ७२औं मिनेटमा डानी कारभाजलले रातो कार्ड पाउदा रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।

Read More

विकास गरें सहर बनाएँ, भ्रष्ट भईन, अन्ततः आफ्नै घर जल्यो- म त आफ्नै सहरको अपराधी भएछु: डोरमणि

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा आगजनी भएपछि मार्मिक तर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले हेटौँडाको विकासमा गरेको आजीवन योगदानलाई नै आफ्नो सबैभन्दा ठुलो ‘गल्ती’ भएको टिप्पणी गरेका छन् ।

पौडेलले आफूले जीवनका ५४ वर्ष हेटौँडाको समृद्धि र प्रदेशको विकासमा लगाएको भए पनि त्यसकै कारण आज घर खरानी भएको व्यथा पोखेका छन् । उनले घरअगाडिको सानो विद्यालयलाई १२ कक्षासम्म विस्तार गर्नु, पञ्चायती निरङ्कुशताविरुद्ध लड्नु, मेयरका रूपमा शून्य अवस्थाबाट हेटौँडालाई देश–विदेशमा चिनाउनु, खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ्यमा सुधार गर्नुजस्ता कार्यलाई नै ‘गल्ती’ भएको बताए ।

मुख्यमन्त्रीको हैसियतमा प्रदेशको राजधानी हेटौँडा कायम गर्नु, बन्द भएका परियोजनामा पुनर्जीवन दिनु, ५० शय्याको अस्पताललाई ५०० शय्याको शिक्षण अस्पताल बनाउने अभियान सुरु गर्नु, कृषि सुपर मार्केट, दूध प्रशोधन कारखाना र विश्वविद्यालयको जग हाल्नु पनि उनले आफ्ना गल्तीहरूको सूचीमा राखे ।

‘म हेरी रहेँ, मेरो घर जली रह्यो… हेर्दा हेर्दै खरानी भयो,’ उनले लेखेका छन्, ‘नगरपालिकालाई अर्बौँको जग्गा दिलाएँ, खुम्चिएको हेटौँडालाई बृहत्तर हेटौँडा बनाएँ, गल्ती माथि गल्ती गरेछु।’

आफ्नो जीवनभर कसैको एक रुपैयाँ नखाएको र भ्रष्टाचार नगरेको प्रमाणित गर्न चुनौती दिँदै पौडेलले त्यसो भए आत्मदाह गर्न तयार रहेको पनि घोषणा गरेका छन् । उनले गरेको योगदान खरानी भएको पीडा व्यक्त गर्दै अझै थुप्रै ‘गल्तीहरू’ लेख्न बाँकी रहेको उल्लेख गरेका छन् ।

Read More

बुटवल पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल । बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

यस सडक खण्ड अन्तगत सिद्वबाबा क्षेत्रमा ढुङ्गा खसेर अवरुद्ध भएको छ भने सोहि सडकखण्डको हिउँदे खोला नजिकै पनि सडक अवरुद्ध भएको छ । हिउँदे खोला नजिकै लेदो र बालुवासहितको पहिरो आएपछि सडक अवरुद्ध भएको छ । 

प्रहरीले हाल सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

Read More

सचिवहरुको बैठक: २० प्रतिशत कर्मचारी कटौती, भत्ता नलिनेदेखि सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने निर्णय

काठमाडौँ । नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशतले कटौती गर्ने तयारी गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवहरुको बैठकले २० प्रतिशतले कर्मचारी कटौतीको सिफारिस मन्त्रिपरिषदमा गर्ने निर्णय गरेको हो ।

साथै बैठकले सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने, सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन सम्बन्धित कार्यालयले गर्ने सबै कार्यक्रम सरकारी भवन तथा हलमा आयोजना गर्ने, सिंहदरबार प्रवेशका लागि मन्त्रालय तथा निकायले जारी गरेका अनावश्यक प्रवेश पास खारेज गर्ने, आन्दोलनका क्रममा ध्वस्त भई नयाँ खरिद गर्नुपर्ने फर्निचर लगायतका सामानको खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेको छ। 

बैठकका निर्णयहरूः
१- फागुन २१ गते प्रतिनिधि सभाको चुनाव तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा आम निर्वाचन गराउने कार्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता ।

२- शिक्षा, खानेपानी, स्वास्थ्य उपचार, सार्वजनिक यातायात, खा‌द्यान्न तथा औषधी आपूर्ति, टेलिफोन, विद्युत, न्याय सम्पादन लगायतका अत्यावश्यक सेवाहरू अवरूद्ध हुन नदिन सम्बद्ध निकायहरूले तत्काल आवश्यक प्रबन्ध मिलाउने ।

३- सरकारी कार्यालयहरूले परिस्थिति अनुसार अस्थायी कार्यालय स्थापना गर्ने, अन्य सरकारी कार्यालयमा स्थानान्तरण गर्ने वा भाडामा घर लिई आफ्ना नियमित कार्य प्रारम्भ गर्ने।

४- आन्दोलनका क्रममा आगजनी र तोडफोडवाट क्षति हुन पुगेका भौतिक संरचना, यन्त्र उपकरण, सवारी साधन, फर्निचर, सूचना प्रणाली लगायतको वास्तविक क्षति तथा नोक्सानीको यथार्थ विवरण सम्बन्धित मन्त्रालय/निकायले तयार गर्ने।

५- क्षतिलाई सम्बोधन गर्नका लागि गर्नुपर्ने कार्यहरूको विस्तृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय/निकायले तत्काल कार्य प्रारम्भ गर्ने ।

६- क्षतिग्रस्त संरचनाको पोस्ट डिजास्टर एसेसमेन्ट (पिडिए) को कार्य राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा अघि बढाउने ।

७- क्षतिग्रस्त संरचनाको पुनःर्निर्माण, मर्मत संभार तथा मालसामान खरिद कार्यलाइ विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान वमोजिम तत्काल अगाडि बढाउने। विद्यमान खरिद ऐन तथा नियमावलीले छिटो र सरल विधिवाट खरिद गर्न अप्ठ्यारो पर्ने देखिएमा ऐन नियमावलीको संशोधनको प्रकृया प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय/ सार्वजनिक खरिद अनुगमन कार्यालयले तत्काल अगाडि बढाउने ।

८- सिंहदरबार परिसरमा भएको आगजनी र तोडफोडको क्रममा आगोले जलेर पूर्ण रूपमा क्षति भई प्रयोगमा आउन नसक्ने प्रकृतिका सवारी साधन र जलेर वा तोडफोडवाट ध्वस्त हुन पुगेका विभिन्न यन्त्र, उपकरण तथा फर्निचरलाई तत्कालका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरको पछाडिको भागमा थुपार्ने र त्यहाँबाटै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीले तोकेको प्रकृयाबमोजिम तत्काल लिलामी/ नष्ट गर्ने प्रकृया अघि बढाउने। ध्वस्त भएका सवारी साधन, उपकरण र फर्निचरलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले सिंहदरवार परिसरबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वर लैजाने व्यवस्था मिलाउने ।

९- हालको विषम परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने। नेपाल सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने। कार्यालयले गर्ने राष्ट्रिय स्तरका सबै गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रिया जस्ता कार्यक्रमहरू सरकारी भवन तथा हलमा आयोजना गर्ने गराउने। प्रदेश तथा स्थानीय तहको हकमा समेत सोही अनुसार गर्न गराउन अनुरोध गर्ने।

१०- चालु आर्थिक वर्षमा ससाना रकम विनियोजन भएका आयोजनाहरू (टुक्रे आयोजनाहरु) को हकमा दायित्व सिर्जना भइनसकेका त्यस्ता आयोजनाहरू सबै मन्त्रालय तथा निकायहरूले कार्यान्वयन नगर्ने। त्यस्ता आयोजनाहरूमा विनियोजित रकम क्षतिग्रस्त संरचनाको पुनर्निर्माण/ मर्मत सम्भार तथा यन्त्र उपकरण खरिदका लागि रकमान्तर/ स्रोतान्तर गर्ने ।

११- आन्दोलनका क्रममा ध्वस्त भई नयाँ खरिद गर्नुपर्ने फर्निचर लगायतका सामानहरूको खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिई खरिद गर्ने ।

१२- सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रकृया या चुस्त, मितव्ययी र प्रभावकारी वनाउन वाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिकाहरू तत्काल खारेजी वा संशोधनको प्रकृया अगाडि बढाउने ।

१३- नागरिकहरूलाई प्रत्यक्ष सेवा प्रवाह गर्नुपर्ने कार्यालयमा कर्मचारी दरबन्दी रिक्त रहेको भए सम्बन्धित कार्यालयको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल पदपूर्ति गर्ने ।

१४- चाडपर्वहरू नजिकिँदै गएको सन्दर्भमा जनतालाई आवश्यक पर्ने खा‌द्यान्न लगायतका सामग्रीको सहज आपूर्ति, कालोवजारी नियन्त्रण, बजार अनुगमन जस्ता कार्य उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयले गर्ने गराउने। साथै चाडपर्व लक्षित आवागमन सहज बनाउन सार्वजनिक यातायात व्यवस्थापनको कार्य भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले मिलाउने।

१५- नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवायल, कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशत कटौती गरी संशोधित दरबन्दी संरचना स्वीकृतिका लागि २०८२ आसोज २० गतेभित्र नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्ने।

१६- अनावश्यक देखिएका सरकारी संरचना/निकाय खारेज गर्ने, गाभ्ने तथा हस्तान्तरण गर्ने प्रकृया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिवले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी तत्काल अगाडि बढाउने।

१७- विभिन्न मन्त्रालय निकाय तथा सुरक्षा निकायको नियमित कार्यलाई सुचारू गरी सेवा प्रवाहमा सहजता ल्याउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिवको संयोजकत्वमा शहरी विकास सचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव र राजस्व सचिव रहेको कार्यदल गठन गर्ने। उक्त कार्यदलले सवारी साधनहरूको व्यवस्थापन गर्ने गराउने।

१८- सिंहदरबारमा रहेका मन्त्रालय तथा निकायहरूले अनावश्यक रूपमा यस अघि जारी गरेका प्रवेश पासहरू खारेज गर्ने। अत्यावश्यक अवस्थामा नयाँ प्रवेश पास जारी गर्न सकिने।

१९- कार्यालयमा आगजनी भई कतिपय कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन फाराम नष्ट भएको पाइएकोले निजामती सेवा ऐन र नियमावलीमा भएको प्रावधान बमोजिम पुनः कार्यसम्पादन मूल्यांकन फाराम भर्ने र मूल्यांकन गर्ने सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक प्रकृया अगाडि बढाउने। संकलित सम्पत्ति विवरण समेत जलेको अवस्थामा त्यस्तो विवरण संकलन गर्ने निकायले पुनः सम्पत्ति विवरण भरी पेश गर्न सम्बन्धित व्यक्ति/ पदाधिकारीहरूलाई जानकारी गराउने ।

२०- असहज परिस्थितिमा पनि विचलित नभै सेवा प्रवाहमा अहोरात्र खट्ने राष्ट्रसेवकहरूलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी रूपले छिटो छरितो सेवा प्रवाह गरी सरकारप्रति  नागरिकको विश्वास अभिवृद्धि गर्न उच्च मनोबलका साथ कार्य गर्ने।

२१- प्रदर्शनका क्रममा विभिन्न सरकारी निकाय, संस्थान र निजी घर तथा व्यावसायिक प्रतिष्ठानबाट चोरिएका/ लुटिएका सामानहरू सम्बन्धित निकाय वा नजिकको प्रहरी चौकीमा फिर्ता बुझाउन सार्वजनिक आह्वान गर्ने ।

Read More

मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । गएराती तुईन खोला नजिकै पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको हो ।

सडक डिभिजन भरतपुरले अत्यावश्यक सवारीसाधनहरूको लागि एकतर्फी संचालनमा ल्याईएको भएपनि पहिरो झर्ने क्रम नरोकिएपछि सुरक्षाको दृष्टिकोणले सवारीसाधनहरूलाई रातिको समयमा सवारीसाधन नचलाउने निर्देशन गरिएको बताएको छ । 

डिभिजनबाट तैनाथ अवस्थामा रहेको २ वटा यान्त्रिक उपकरण प्रयोग गरि आज बिहानैदेखि  पहिरो पन्छाउने कार्य भैरहेको छ । हिजो रातिदेखि सडकमा रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।

Read More

अफगानिस्तानमाथि बंगलादेशको ८ रनको जित

काठमाडौँ । बंगलादेशले जारी एशिया कपमा अफगानिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछाएको अफगानिस्तानले २० ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रह्मनुल्लाह गुर्बाजले सर्बाधिक ३५ रन बनाए भने अज्मतुल्लाह ओमरजाईले ३० रन बनाएका थए ।

त्यसैगरि बंगलादेशका बलर मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने नासुम अहमद, तास्किन अहमद र रिशाद होसैनले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो । बंगलादेशका लागि तानजिद हसनले सर्बाधिक ५२ रन बनाए भने सैफ हसनले ३० र टोवविड हृदोयले २६ रन बनाएका थिए ।

यो बंगलादेशको तेस्रो खेलमा दोस्रो जित हो । ३ खेलमा ४ अंक रहेको बंगलादेश समुह बी मा दोस्रो स्थानमा छ । त्यस्तै अफगानिस्तानको २ खेलमा २ अंक रहेको छ । अब अफगानिस्तानलाई सुपर फोरमा पुग्न अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्नै पर्ने अवस्था बनेको छ ।

एशिया कप अन्तर्गत आज पाकिस्तान र युएईबीच खेल हुने तालिका रहेको छ ।

Read More

आज विश्व विरामी सुरक्षा दिवस मनाइदै

काठमाडौँ । आज विश्व विरामी सुरक्षा दिवस मनाइदै छ । 

प्रत्येक वर्ष सेप्टेम्बर १७ मा मनाइने विश्व विरामी सुरक्षा दिवस, बिरामी सुरक्षाको बारेमा विश्वव्यापी चेतना जगाउने र बिरामीको हानि कम गर्न सबै देशहरू र अन्तर्राष्ट्रिय साझेदारहरूद्वारा ऐक्यबद्धता र एकताबद्ध कार्यको लागि आह्वान गर्ने उद्देश्य मनाइने गरिएको छ । विश्व बिरामी सुरक्षा दिवस स्वास्थ्य सेवा प्रणालीका सबै सरोकारवालाहरूका लागि सँगै काम गर्न र बिरामी सुरक्षा सुधार गर्न संलग्नता साझेदारी गर्ने अभियान पनि हो ।

विश्व बिरामी सुरक्षा दिवस २०२५ को नारा ‘हरेक नवजात शिशु र प्रत्येक बच्चाको लागि सुरक्षित हेरचाह’ यस अभियानको उद्देश्य असुरक्षित हेरचाहबाट हुने हानिको जोखिमको बारेमा विश्वव्यापी जागरूकता जगाउनु, बलियो क्लिनिकल सुरक्षा मापदण्डहरू, राम्रो स्वास्थ्यकर्मी तालिम, बढ्दो पारिवारिक संलग्नता, र बालबालिकालाई रोक्न सकिने हानिबाट जोगाउन बलियो सिकाइ प्रणालीलाई प्रवर्द्धन गर्नु हो ।

Read More

आज राष्ट्रिय विज्ञान दिवस मनाइदै

काठमाडौँ । आज राष्ट्रिय विज्ञान दिवस मनाइदैछ । यस बर्षको राष्ट्रिय विज्ञान दिवसको नारा ‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ भन्ने रहेको छ ।

विस २०७० असोज १ देखि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउन थालेको हो । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो । यसका केही उद्देश्य निर्दिष्ट छन् । जस्तै, देशका सबै वर्ग, समुदाय तथा पेशागत क्षेत्रका व्यक्ति तथा संस्थालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने ।

यस्तै नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्ने र यसका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने लगायत रहेको छ ।

Read More

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइदै

काठमाडौँ । आज जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा राष्ट्रिय शोक मनाइदैछ ।

सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो । मृतक सबैलाई सरकारले शहिद घोषणा गरिसकेको छ । यस आन्दोलनका क्रममा आन्दोलनकारी ५९ जना, कैदीबन्दी १० जना र प्रहरी ३ जनाको मृत्यु भएको सरकारी आँकडा रहेको छ ।

आज सरकारले देशभर सार्बजनिक बिदा दिएको छ भने देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ । 

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारलाई यस अघि १० लाख दिने निर्णय गरिएकोमा त्यसमा थप ५ लाख गरि १५ लाख दिने निर्णय गरिएको छ । त्यसैगरी आन्दोलनमा शाहदत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जगारण स्मारक पार्क निर्माण गर्ने घोषणा गरेको छ ।

Read More