२०८३ बैशाख १३

महामन्त्रीद्वयप्रति डा. प्रकाशशरण महतको आक्रोश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका छन् । डा. महतले पत्रकार सम्मेलन गरेर महामन्त्रीद्वय थापा र शर्माप्रति आक्रोश व्यक्त गरेका हुन् । 

उनले अहिले पार्टीमा सबै जना एक हुनुपर्ने बेलामा घाउ लागेको बेला नुन छर्न खोजिएको आरोप लगाएका थिए । उनले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा नेतृत्व परिवर्तनको बहस गर्न खोज्नु ठीक बेठिक भएको बताए । उनले भने- ‘ अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो। तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ ।’

डा. महतले नयाँ परिस्थितिबारे पार्टीमा अवश्य पनि गम्भीर छलफल गर्ने बताउदै कसरी घटना घट्यो भन्ने बारे मूल्यांकन गर्ने बताए ।

Read More

सेमिनार, भ्रमण र तालिम खर्च पुर्ननिर्माणमा लगाउने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले आफू र आफू मातहतका कार्यालयहरुले गर्ने सेमिनार, भ्रमण र तालिम खर्च पुर्ननिर्माणमा लगाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको बैठकले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिम स्थगित गरेर सो बापतको खर्च पुर्ननिर्माण र मर्मतसम्भारमा लगाउने निर्णय गरेको हो ।  साथै कार्यक्रम गर्नैपर्ने भएमा होटल तथा रिसोर्टमा नभई मन्त्रालयकै हलमा गर्न निर्देशन दिइएको छ ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित अधिकांश मन्त्रालय, गण्डकी प्रदेश सभासहित विभिन्न निर्देशनालय र कार्यालयहरुमा तोडफोड र आगजनी भएको थियो । सो क्रममा प्रदेश सरकार मातहतका करीब ५० वटा चारपाङ्ग्रे गाडी र ११२ वटा भन्दा दुई पाङ्ग्रे गाडी तोडफोड तथा आगजनी भएको थियो ।

प्रदेश सरकार र मातहतका कार्यालयबाट कार्यक्रम, सेमिनार, भ्रमण र तालिम खर्च हुने गरेको छ । जसमा प्रदेश सरकारको करोडौंको रकम खर्च हुने गरेको थियो । सो सबै कार्यक्रम रोकेर सोबाट हुने रकम पुर्ननिर्माण र मर्मत सम्भारमा लगाउने निर्णय भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले जानकारी दिएका छन् ।  

साथै गण्डकी प्रदेश सरकारले प्रदेश सरकार मातहतका पदाधिकारीहरूको बैठक भत्ता पनि रोक्ने निर्णय गरेको छ । बैठकले सरकार मातहतका पदाधिकारीले बैठक भत्ता नलिने निर्णय गरेको हो । यसमा सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, राजनीतिक नियुक्ति पाएका योजना आयोगका उपाध्यक्ष र सदस्यहरु, प्रदेश न्यायाधिवक्ता र कर्मचारीको पनि बैठक भत्ता कटौति गरिएको मन्त्री गुरुङले जानकारी दिएका छन् ।

Read More

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ११ सयले बढेर तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि भदौ ३१ गते पनि यहि मुल्यमा कारोबार भएको थियो । यसअघि शुक्रबार सुन तोलाको २ लाख १६ हजारमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २६२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २५८० मा कारोबार भएको थियो ।

Read More

एसिया कप सुपर फोर: भारत र पाकिस्तानबीच आज भिडन्त

काठमाडौँ । जारी एसिया कपको सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो कहल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ ।

यस अघि समुह चरणको खेलमा भारतीय खेलाडीले हात नमिलाएको विषयका कारण विवाद भएको थियो । सेप्टेम्बर १४ मा पहलगाम आतंकवादी हमलापछि पहिलो पटक दुई टोली आमनेसामने भएका थिए । यो खेल अघि निकै विरोध भएको थियो । 

समुह चरणको खेलमा भारतले पाकिस्तानी खेलाडीहरूलाई कुनै ध्यान दिएन । पहिलो टसको समयमा, भारतीय कप्तान सूर्यकुमार यादवले यो परम्परा तोड्दै पाकिस्तानी कप्तानसँग हात मिलाएका थिएनन् । खेल समाप्त भएपछि पनि, भारतीय खेलाडीहरू सिधै ड्रेसिङ रुममा फर्किए । सूर्यकुमार र मुख्य प्रशिक्षक गौतम गम्भीरको यो कार्यलाई पहलगाम आतंकवादी हमलामा मारिएका २६ जनाको परिवारलाई समर्थन गर्ने प्रदर्शनको रूपमा हेरिएको थियो । विवाद यतिसम्म बढ्यो कि पाकिस्तानका कप्तान सलमान आगाले खेलपछिको पुरस्कार समारोहमा भाग लिएनन् । त्यसपछि पाकिस्तानले यसमा म्याच रेफ्रीको दोष भन्दै उनलाई हटाउन माग गरेपनि आइसीसीले पाकिस्तानको मागलाई खारेज गरिदियो । त्यसपछि पाकिस्तानले युएईविरुद्धको खेल बहिष्कार गर्ने बताए पनि पछि आइसीसीले सो खेल बहिष्कार गरेमा १६ मिलियन डलर जरीवाना गर्ने चेतावनी दिएपछि पाकिस्तान ढिलो गरि सो खेल खेल्न तयार भएको थियो ।

यस खेल अघि एक दिन अगाडी हुने प्रेस कन्फेरेन्सलाई बहिष्कार गरेर पाकिस्तानले आफ्नो असन्तुष्टि कायमै राखेको छ । र आजको खेल खेल्ने नखेल्ने वा पाकिस्तानको व्यबहारप्रति सबैको नजर रहने छ । समुह चरणमा भारत अपराजित हुदै सुपर फोरमा खेल्दै छ भने पाकिस्तानले एक भारतविरुद्धको खेलमा हार बेहोरेर समुहमा दोस्रो हुदै सुपर फोर खेल्दै छ ।

यस खेलका लागि दुबै टोलीको सम्भावित प्लेइङ ११: 
भारत: शुभमन गिल, अभिषेक शर्मा, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), सञ्जु सैमसन (विकेटकिपर), हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वरुण चक्रवर्ती, कुलदीप यादव र जसप्रित बुमराह।

पाकिस्तानः सैम अयुब, साहिबजादा फरहान, मोहम्मद हरिस (विकेटकीपर), फखर जमान, सलमान आगा (कप्तान), हसन नवाज, मोहम्मद नवाज, फहीम अशरफ, शाहीन अफ्रिदी, सुफियान मुकीम र अबरार अहमद ।

Read More

ओली र लेखकलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै शान्ति समाजले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे चिन्ता व्यक्त गर्दै  भदौ २३-२४ को प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्कालिन प्रधानमन्त्री ओली, तत्कालिन गृहमन्त्री लेखक लगायतलाई कानुनी कारबाही थाल्नुपर्ने बताएको हो । 

विज्ञप्तिमा प्रहरी तथा प्रशासनलाई राजनीतिक छायाबाट मुक्त गरी स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै शान्ति समाजले संवैधानिक तथा न्यायिक निकायमा दलगत भागबन्डाका आधारमा नियुक्ति पाएका व्यक्तिहरूले मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ ।

शान्ति समाजको विज्ञप्ति: 
शान्तिका लागि सुशासनलाई केन्द्रमा राख्न आग्रह 
सन् १९८१ मा महासभा सुरु भएको दिन पारेर संयुक्त राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरि शान्ति दिवस मनाउने निर्णय भए अनुरुप सन् १९८२ को सेप्टेम्वरमा पहिलो शान्ति दिवस मनाइएको थियो भने सन् २००२ मा महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो । शान्ति दिवसले समस्त मानवतालाई सबै मतभेद भन्दा माथि उठेर शान्तिका लागि प्रतिवद्ध हुन र शान्ति संस्कृतिको निर्माणमा योगदान गर्नका लागि विश्वव्यापी रुपमा साझा मिति प्रदान गर्दछ । ४४ औ अन्तर्राष्ट्रिय शान्ति दिवस (असोज ५)का अवसरमा मानव अधिकार तथा शान्ति समाज सबै मतभेद भन्दा माथि उठेर शान्ति, सुशासन र अहिंसाका पक्षमा योगदान गर्न आह्वानसहित नेपाल सन्दर्भमा निम्न सुझावहरु कार्यान्वयन गर्न आग्रह गर्दछ ।

१- शान्तिका लागि सुशासन अनिवार्य आवश्यकता हो । सर्वत्र व्याप्त भ्रष्टाचार र कुशासनकै कारण देशले हालै जनधनको ठुलो क्षति व्यहोर्नु परेको छ । त्यस्तो अवस्था दोहोरिन नदिन कुशासन र भ्रष्टाचारमा जिम्मेवारहरुलाई विशेषतः विभिन्न दलका शिर्ष नेताहरुलाई कानुन सम्मत कारबाही सुनिश्चित गर्नुपर्छ । 

२- जस्तोसुकै अवस्थामा पनि नागरिकको जिउ धनको सुरक्षा सदैव पहिलो प्राथमिकता हुनुपर्छ । सार्वजनिक तथा नागरिकको सम्पत्तिको रक्षा गर्नु राज्यको परम दायित्व हो । राज्यका पुर्जा पुर्जामा प्राण भर्न र शुद्धिकरण गर्न सबैले नया सिराबाट योगदान गर्नुपर्छ । 

३- मुलत भ्रष्टाचारको विरोधमा जेन जीद्वारा आह्वान गरिएको भदौ २३-२४ को प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक लगायतलाई कानुनी कारबाही थाल्नुपर्छ । यसैगरी जनधनको अपार क्षति सम्बन्धमा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्नुपर्छ । साथै जेन जीको आह्वानमा भएको उक्त आन्दोलनको सफलता पश्चात तत्कालिन सरकारले आत्म समर्पण गरिसकेको अवस्थामा भदौ २४ गते भएको राज्यका विभिन्न धरोहरसहित सार्वजनिक सम्पत्ति, प्रेस तथा नागरिकका निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नहरुको पहिचान गरि दण्डित गर्नुपर्दछ । स्मरणीय छ, आन्दोलनरत पक्ष स्वयंले घुसपैठका कारण त्यस्ता घटना घटेको बताइसकेको सन्दर्भमा त्यस्ता आपराधिक कृत्यमा संलग्नहरुको पहिचान र कारबाही हुन सकेन भने भविष्यमा सो प्रवृत्ति संस्थागत भएर जाने र बारम्बार राष्ट्र र समाजलाई पिरोल्ने खतरा रहेको छ । 

४- राज्यको ढुकुटी दोहन गर्दै पुर्व विशिष्टहरुलाई उपलब्ध गराउँदै आएको सेवा र सुविधा तत्काल कटौती गर्नुपर्छ । 

५- ध्वस्त भएका संरचनाहरुको पुर्ननिर्माणका लागि सबै क्षेत्रबाट योगदान गर्नुपर्छ । यसका लागि पुर्ननिर्माण मन्त्रालय बनाई आगामी दशकलाई पुर्ननिर्माण दशक घोषणा गर्नुपर्छ ।

६- प्रहरी लगायत नागरिक प्रशासन तत्काल सुचारु गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुपर्छ । प्रहरी/प्रशासनलाई दलियकरण/राजनीतिकरणको छाँयाबाट मुक्त गरी स्वायत्त बनाउनुपर्छ । नागरिकलाई सताउने खालका झण्झटिला प्रावधानहरु हटाउनुपर्छ । 

७- विगतमा संवैधानिक/न्यायिक निकायमा राजनीतिक/दलिय भागबण्डाका आधारमा भएका नियुक्ति कुशासनका लागि जिम्मेवार छन् । त्यसरी भागवण्डामा नियुक्ति पाएकाहरुले यात मार्ग प्रशस्त गर्नुपर्छ, यात पदमुक्त गर्नुपर्छ । 

८- अन्तरिम सरकारको भुमिका समस्त नागरिकहरुका लागि अभिभावकको रुपमा हुनुपर्छ । यसैगरी कुशासनमा लिप्त केही नेताहरु जस्का कारणले देशमा जनधनको यत्रो क्षती भई असमान्य स्थिति उत्पन्न भयो, जस्का कारणले नागरिक आक्रोश चुलियो, तिनैको राजनीतिक वर्चस्व कायम रहने हो भने अर्को अनर्थको संभावना र हाल प्राप्त उपलब्धिहरु समेत गुम्न सक्ने खतरा मध्यनजर गर्दै फोहोर बढार्ने कार्य आफैभित्र सुनिश्चित गरि संविधान र प्राप्त उपलब्धिहरु जोगाउनेतर्फ सबै राजनीतिक दलले योगदान गर्नुपर्छ । 

९- अहिंसात्मक जीवनधाराको सुनिश्चितताले मात्र शान्ति संस्कृतिको निर्माण हुने हुँदा अहिंसा, शान्ति, सद्भाव, समुदायमाझ सुमधुर सम्बन्ध कायम गर्न सबैले योगदान गर्नु पर्दछ । 

१०- स्वतन्त्र, निष्पक्ष एवं भयरहित तवरमा निर्वाचन सम्पन्न गरी अन्तरिम सरकारले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्दछ । वर्तमान संक्रमणकाल सकेसम्म छोटो हुनुपर्दछ ।

Read More

ट्रम्पको शुल्क आतंक: एच-१ बी भिसामा बढाए ५० गुणा बढी शुल्क

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले अब एच १ बी भिसाको लागि वार्षिकएक लाख डलर आवेदन शुल्क लिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धि आदेशमा हस्ताक्षर गरेका छन् । अब नयाँ शुल्क सेप्टेम्बर २१ देखि लागु हुने छ ।

हाल एच १ बी भिसाको लागत औसतमा ५७०० डलर रहेको थियो । यो तीन वर्षको लागि मान्य थियो र अर्को तीन वर्षको लागि नवीकरण गर्न सकिन्छ । अब, अमेरिकामा एच १बी भिसाको लागत छ वर्षमा ६ लाख डलर हुनेछ, जुन लागत अहिलेको भन्दा ५० गुणा भन्दा बढीले बढ्ने भएको छ ।

अमेरिकाले लटरी मार्फत वार्षिक ८५ हजार एच १ बी भिसा जारी गर्दछ, जुन प्रायः प्राविधिक कामहरूको लागि प्रयोग गरिन्छ । यसमा भारतीयहरू सबैभन्दा बढी ७२ प्रतिशत हुने गर्दछन् । ट्रम्पले भारतीयहरुलाई नै लक्षित गरेर यो शुल्क बढाएको विश्लेषण गरिएको छ । बढेको भिसा शुल्कले ३ लाख भन्दा बढी भारतीयहरूलाई प्रत्यक्ष असर गर्ने बताइएको छ । भारत बाहेक चीनका १२ प्रतिशत हरेक बर्ष एच १बी भिसामा अमेरिका जाने गर्दछन् ।

एच १ बी भिसामा परिवर्तनहरूको अतिरिक्त, ट्रम्पले तीन नयाँ प्रकारका भिसा कार्डहरू पनि सुरु गरेका छन् । ‘ट्रम्प गोल्ड कार्ड’, ‘ट्रम्प प्लेटिनम कार्ड’ र ‘कर्पोरेट गोल्ड कार्ड’ जस्ता सुविधाहरू पनि सुरु गरिएको छ । ट्रम्प गोल्ड कार्डले व्यक्तिहरूलाई संयुक्त राज्य अमेरिकामा असीमित बसोबास प्रदान गर्नेछ । यसको शुल्क करिब ५ मिलियन रहेको छ । 

रिपोर्टहरू अनुसार, ट्रम्पले गरेका यी परिवर्तनहरूले विदेशी नागरिकहरूमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छन्। अब, कम्पनीहरूले उत्कृष्ट सीप भएका कर्मचारीहरूलाई मात्र भर्ना गर्न सक्नेछन् । एच १ बी भिसा गैर-आप्रवासी भिसा हो । यी भिसाहरू लटरी मार्फत प्रदान गरिन्छ किनभने धेरै मानिसहरूले प्रत्येक वर्ष यसको लागि आवेदन दिन्छन् । यो भिसा आइटी, वास्तुकला र स्वास्थ्य सेवा जस्ता पेशाहरूमा विशेष प्राविधिक सीप भएका व्यक्तिहरूलाई जारी गरिन्छ । अमेरिकी सरकारले प्रत्येक वर्ष ८५ हजार एच १ बी भिसा जारी गर्दछ, जुन प्रायः प्राविधिक कामहरूको लागि प्रयोग गरिन्छ । यस वर्षको लागि आवेदनहरू पहिले नै पूरा भइसकेका छन् ।

तथ्याङ्क अनुसार, यस वर्ष अमेजनले मात्र १० हजारभन्दा बढी भिसा प्राप्त गरेको छ, जबकि माइक्रोसफ्ट र मेटा जस्ता कम्पनीहरूले ५ हजारभन्दा बढी भिसा स्वीकृत गरेको छ । धेरै अमेरिकी प्राविधिक कामदारहरू कम्पनीहरूले तलब घटाउन एच १ बी भिसा प्रयोग गर्ने गरेको आरोप लगाउदै आएका छन् ।

यो निर्णय पछि, माइक्रोसफ्ट, जेपी मोर्गन, र अमेजन जस्ता कम्पनीहरूले एच १ बी भिसा धारकहरूलाई अमेरिकामा नै रहन सल्लाह दिएका छन् । रोयटर्सका अनुसार, विदेशमा बस्ने कर्मचारीहरूलाई शनिबार राति अघि फर्कन सल्लाह दिइएको छ ।

Read More

कांग्रेसले आगजनी भएको केन्द्रीय कार्यालय आज सरसफाई गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले जेनजी आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालय आज क्षतिको विवरण सार्वजनिक गर्दै सरसफाई गर्ने बताएको छ ।

कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभागले सिंगो राष्ट्र शोकमा डुवेको अवस्थामा पार्टी कार्यकर्ताको पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउन भनेर शनिबारसम्म जस्ताको तस्तै राख्ने र आइतबार सरसफाई गर्ने जानकारी दिएको छ ।

साथै विभागले दिनको १ बजेदेखि सरसफाई गर्ने र सामुहिक सरसफाई कार्यमा सहभागी हुन पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरु, कार्यालयका कर्मचारी साथीहरु एवं नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण आमावुवा, दाजुभाई तथा दिदीवहिनीहरुलाई सरसफाइका लागि आवश्यक गर्ने सामग्रीहरु (झाडु, कुचो, खालीबोरा, फोहो उठाउने, वाल्टी, मास्क, पञ्जा) सहित उपस्थित हुन आग्रह गरेको छ ।

Read More

विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस आज मनाइँदै

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । 

यस वर्षको विश्व शान्ति दिवसको नारा ‘हाम्रा अपराधहरू क्षमा गर्नुहोस्: हामीलाई तपाईंको शान्ति दिनुहोस्’ रहेको छ । शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।

Read More

रोनाल्डो र फेलिक्सको २-२ गोलमा अल नासर विजयी

काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले २-२ गोल गरेका थिए भने एक गोल किंग्सले कोम्यानले गरेका थिए । त्यस्तै मामाडाउ सियाल्लाले एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको ३ खेलमा ९ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल रियादको यस सिजनमा यो दोस्रो हार हो ।

Read More

एशिया कप सुपर फोर: श्रीलंकामाथि बंगलादेश ४ विकेटले विजयी

काठमाडौँ । बंगलादेशले जारी एशिया कपको सुपर फोरमा श्रीलंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बंगलादेशको जितमा सैफ हसनले सर्बाधिक ६१ रन बनाए भने टोवहिड हृदोयले ५८ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउदै १६८ रन बनाएको थियो । श्रीलंकाका लागि दासुन शानकाले ६४ रन बनाए भने कुसल मेन्डिसले ३४ रन बनाएका थिए ।

यो जितपछि बंगलादेशले सुपर फोरमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र फाइनलको सम्भावनालाई बलियो बनाएको छ । सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदैछ ।

Read More