दिपक पौडेल
काठमाडौँ । यदी कुनै मतदाताले सबै उम्मेदवारलाई अस्वीकार गर्न चाहन्छन् भने अहिलेको प्रणालीमा त्यसको कुनै विकल्प नै छैन । त्यसैले अबको उपाय हुन सक्छ ‘NOTA’, अर्थात जनताको मौन असन्तुष्टिलाई मतपत्रमा बदल्ने लोकतान्त्रिक अस्त्र ।
भोट हाल्न जाँदा मन नलाग्ने अनुहार मात्र देखिए भने के गर्ने ? लोकतन्त्रमा जनताको असन्तुष्टि पनि दर्ज हुने अधिकार हुनुपर्छ । र त्यही अधिकारको नाम हो NOTA , जसले जनताको मौन चिच्याइलाई कानुनी आवाज दिने सम्भावना बोकेको हुन्छ ।
तपाई एउटा सचेत मतदाता हो । मानौँ कि तपाईको निर्वाचन क्षेत्रबाट दुईजना उम्मेदवार चुनावमा उठे तर तपाईको नजरमा ती दुवै जना खराब व्यक्ति हुन् भने तपाई के गर्नुहुन्छ ? मतदानको दिन घरै बस्नुहुन्छ, भोट हाल्नै जानुहुन्न ? कि, मन नलागी नलागी भोट हाल्न जानु हुन्छ र दुई मध्येको एउटा खराब लाई छान्नुहुन्छ ? कि, भोट हाल्न त जानुहुन्छ तर छाप नलगाई वा केरमेट गरेर मतपत्र खसाल्नुहुन्छ ? तपाई के गर्नुहुन्छ ??
तपाईलाई दुवैजना उम्मेदवार मन परेको छैन तर तपाईले मत मार्फत यो कुरा अभिव्यक्त गर्न पाईरहनु भएको छैन । यो भनेको संविधानले दिएको अमूल्य अधिकारको उपयोग तपाईले स्वतन्त्र रूपमा गर्न नपाएकै हो । खाए खा नखाए घिच भन्ने नेपाली उखान चरितार्थ भएकै हो । त्यो आक्रोश मनमा दवाएर राखिएकै हो । र यहि आक्रोशको ज्वाला भर्खरै मात्र विस्फोट भएको जगजाहेरै छ । यस्तो आक्रोशलाई भौतिक आक्रमणको स्वरुपमा होईन कि लोकान्त्रिक पद्धतिबाट मतपत्र मार्फत व्यक्त गर्ने र खराब नेतृत्वलाई तह लगाउने उपयुक्त माध्यम हो No Vote वा ‘NOTA’
‘NOTA’ के हो ?
यो ‘None Of The Above’ को सर्टकट रूप हो । यसलाई विभिन्न देशमा विभिन्न नामले चिनिन्छ । कुनै देशमा यसलाई No Vote भनिन्छ, कतै White Vote भनिन्छ, कतै Blank Vote भनिन्छ कतै Against All भनिन्छ भने भारतमा यसलाई None Of The Above (NOTA) भनिन्छ । नेपालमा पनि बेला बेला यसको चर्चा चल्दा ‘NOTA’ भनेरै बुझ्ने भएकोले ‘नोटा’ शब्द प्रयोग गरिएको छ । नाम जे भएपनि यसको मर्म भनेको चुनावमा जति जना उम्मेदवार भए पनि मतपत्रको अन्तिमम कोठामा ‘NOTA’ (चिन्ह वा अक्षरमा) उल्लेख भएको हुनुपर्छ । माथि भएका चुनाव चिन्ह मध्ये मलाई कुनै पनि उम्मेदवार मन परेन भने मतपत्रमा रहेका सबै चिन्हलाई छोडेर ‘NOTA’ मा छाप लगाएर भोट खसाल्न पाउनुपर्छ भन्ने नै हो । यसरी ‘NOTA’ मा खसेको भोटको संख्याले निर्वाचनमा उठेका ती सबै उम्मेदवारहरु प्रति जनता कति रुष्ठ छन् भन्ने छर्लङ्गै हुन्छ, कसैले भाषण गरेर स्पष्टिकरण दिईराख्नु पर्दैन ।
अब प्रश्न उठ्छ चुनावमा उठेका सबै उम्मेदवारको चुनाव चिन्हमा भन्दा ‘NOTA’ मा धेरै मत खस्यो भने के गर्ने ? विभिन्न देशमा विभिन्न तरिकाले यसलाई प्रयोग गरेको पाईन्छ ।
भारतमा नोटाले असन्तुष्टि व्यक्त गर्न पाउने जनताको हक संरक्षण त गरेको छ तर यसले निर्वाचन परिणामलाई भने फरक पार्दैन । यसलाई असन्तुष्टिको स्तर मापन गर्ने टुल्सको रूपमा मात्र प्रयोग गरिएको छ । यदी मतगणना गर्दा नोटामा धेरै भोट आयो भने पनि नोटा पछि दोस्रो धेरै मत पाउने उम्मेदवार नै निर्वाचित हुन्छ । तर पनि मतपरिणामले उम्मेदवारी छनोटमा गल्ति भयो भन्ने सन्देश चांही दिन्छ । यसले दल/उम्मेदवारलाई नैतिक दवाव पर्छ । हामी कसैलाई पनि जनताले चाहेका रहेनछन भनेर सचेत गराउँछ । उम्मेदवार/दलहरुलाई सच्चिन प्रेरित गर्छ ।
तर विगतमा रसिया (तत्कालिन USSR), पोल्याण्ड जस्ता देशमा अलि कडा तरिकाले नोटालाई अवलम्वन गरेको गरेको पाईन्छ, त्यहाँ नोटाले धेरै मत पाएको ठाउँमा पुन: निर्वाचन गराईएको थियो । अहिले नेपाल सरकारले निर्वाचन आयोगसंग No Vote वा ‘NOTA’ का विषयमा छलफल गरेको सुन्दा खुशी लाग्यो ।तर नोटाको प्रयोग भारतमा जस्तो गर्ने कि विगतमा रसियामा भएको जस्तो गर्ने खुला छलफल हुनुपर्छ ।
यदी पुन: निर्वाचनमा विधिमा गईयो भने यसरी कार्यान्वयन गर्नुपर्छ होला ?? … सबै उम्मेदवारले भन्दा ‘NOTA’ ले धेरै मत ल्याएको अवस्थामा ‘NOTA’ संग हारेका कुनै पनि उम्मेदवारले उम्मेदवारी दिन नपाउने गरी तत्काल पुन: निर्वाचन घोषणा गर्ने । लोकतान्त्रिक व्यवस्थामा कसैलाई पनि निर्वाचनमा निषेध गर्न नहुने तथ्यलाई आत्मसाथ गर्दै यसरी गरिने पुन: निर्वाचन छुट्टै निर्वाचन नभएर अघिल्लो निर्वाचनकै पुरक निर्वाचन वा निर्वाचनको अर्को राउण्ड हो, पहिलो राउण्डमा सबै उम्मेदवार अयोग्य भएको कारणले दोस्रो राउण्डमा नयाँ उम्मेदवारहरुको प्रतिस्पर्धा गराउनु परेको हो भन्ने बुझाईमा सबै सहमत भई कानुन संशोधन गर्नु पर्दछ । किनकि लोकतान्त्रिक व्यवस्थामा कुनै पनि दल वा उम्मेदवारलाई अग्रिम रूपमा निषेध गरेर, अवरोध गरेर निर्वाचन हुन सक्दैन । त्यसकारण कुनै एक निर्वाचनमा नोटासंग हारेका उम्मेदवारहरु सोही निर्वाचनको दोस्रो राउण्डको लागि मात्र अयोग्य भएका हुन् तर भविष्यमा हुने कुनै पनि निर्वाचनमा उनीहरुले पुन: प्रतिस्पर्धा गर्न पाउने लोकतान्त्रिक हकको संरक्षण हुनेछ भन्ने ग्यारेन्टि हुनुपर्छ ।
हो दल र नेताहरूको पुरातनवादी शैलीबाट जनता आजित भएरै अहिलेको यो अवस्था आएको हो । भर्खरै भएको जनविद्रोहले त्यो सन्देश दिईसक्यो । जनताहरु अहिले पनि क्रोधित छन् । फलानो दललाई फलानो नेतालाई चुनावमा उठ्न दिन हुन्न भन्ने आक्रोश छ । तर आवेगमा आएर लोकतन्त्रका आधारभुत पक्षलाई नजरअन्दाज गरेर अगाडि बढियो भने अर्को विद्रोहको बिजारोपण हुन्छ । लोकतन्त्र मजबुत भएमा मात्र दिगो शान्ति हुन्छ । दिगो शान्ति विना विकास संभव हुँदैन । सँधै विद्रोह मात्र भईराख्ने हो भने देशको अर्थतन्त्र थला पर्छ, देशले धान्न सक्दैन । त्यसकारण भावना बगेर र आवेगमा आएर होईन कि विवेक पुर्याएर लोकतान्त्रिक विधि र पद्धतिलाई अवलम्वन गरेरै राजनीतिको फोहोरलाई मिल्काउनु पर्छ । यसको लागि नोटा उत्तम विकल्प हो । यो लोकतान्त्रिक विधि पनि हो । लोकतान्त्रिक बाटोबाट जनताले आफ्नो आवाज उठाउन पाउने प्रणाली हो नोटा । यदी देशमा नोटाको व्यवस्था पहिले नै हुन्थ्यो भने भर्खरै घटेको यो कहालि लाग्दो र विभत्स घटना घट्ने थिएन, खर्बौँको सम्पत्ति खरानी हुने थिएन । जनताले मतकै माध्यमबाट विद्रोह गर्न पाउँथे सरकारलाई आफ्नो आवाज सुनाउन रणभूमिमा उत्रिनु पर्दैन थियो ।
नोटाका सकारात्मक पक्षका बारेमा चर्चा गर्दै गर्दा, यसलाई अपनाउँदा भविष्यमा आईपर्ने जटिलतालाई पनि नजरअन्दाज गर्न मिल्दैन । कतिपय देशले विगतमा नोटा प्रयोग गरेर पछि छोडेको पनि पाईन्छ । कानूनी, प्रकृयागत, प्रशासनिक र प्रविधिक जटिलता त दृढ ईच्छा शक्ति भए समाधान भई हाल्छ । तर पुन:निर्वाचन गर्नुपर्दा कति पटक गर्ने ? यसको लागि लाग्ने समय, थप आर्थिक बोझ र राजनीतिक अस्थिरता लाई कसरी व्यवस्थापन गर्ने त्यो पनि सोच्नु पर्ने हुन्छ । नोटाको व्यवस्था हुनै पर्छ, तर यसलाई कसरी अवलम्वन गर्ने ? भारतको जस्तो गर्ने कि, पुनः निर्वाचन पद्धति मै जाने वा अन्य कुनै मध्यमार्गि विकल्प अपनाउने भन्ने विषयमा सबै पक्षको बृहत छलफल र सल्लाह सुझाव पश्चात मात्र निर्णय लिनु उपयुक्त हुन्छ ।
समग्रमा भन्नुपर्दा ‘NOTA’ ले …
- भविष्यमा हिंसात्मक विद्रोह हुने संभावनालाई न्यून गर्छ,
- दल/उम्मेदवारलाई सच्चिन नैतिक दवाव पर्छ,
- कुनै पनि दलले खराब चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाउँदैनन,
- दलहरुलाई पारदर्शि हुन प्रेरित गर्छ,
- राजनीतिको आवरणमा हुने अपराधलाई घटाउँछ,
- जनतामा लोकतन्त्र प्रतिको विश्वास बढ्छ,
- जनतालाई वास्तविक लोतन्त्रको अनुभूति गराउँदछ,
- देशले सक्षम नेतृत्व प्राप्त गर्छ,
- निर्वाचनमा मतदाताको सहभागिता बढ्छ,
- मतको ताकत महसुस गराउँछ, मतको महत्व बढाउँछ,
- मत खेर जाँदैन, बदर मतको अनुपात न्यून हुन्छ
Read More