२०८३ बैशाख १३

निर्दोष युवाको सहादत र सम्पत्ति विनाश दुवैको गम्भीर छानबिन जरुरी छ: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब रुपान्तरणको यात्रामार्फत तिनको सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन् ।

रामेछापमा पत्रकार अन्तरक्रिया गर्दै उनले तर आन्दोलनका क्रममा गैरजेनजीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेको बताए । ‘जेनजी आन्दोलन विषयविहीन थिएन । समाजमा जकडिएर बसेका दलहरुले सुधार गर्न नचाहेको तथा नसकेका विषयहरु थिए।’ उनले भने,‘नीतिगत प्रावधानभित्र भएका विषयले हुर्काएका कुरा आन्दोलनले उठाएको छ ।’

उनले ती विषय महत्वपूर्ण, गम्भीर र संवेदनशील भए पनि त्यसको नाममा स्वार्थको रोटी सेक्ने काम भएको बताए । ‘नेपालमा अहिलेसम्मकै ठूलो क्षति भएको छ,’ उनले भने,‘आन्दोलनभित्र छिरेर गैरजेनजीले उत्पात मच्चाउने र स्वार्थको रोटी सेक्ने काम गरे । राष्ट्रिय अन्तर्राष्ट्रिय स्वार्थहरु त्यसभित्र घुसेर परिस्थिती यस्तो भयो ।’

आन्दोलनका क्रममा पहिलो दिनमै त्यति धेरै युवाले सहादत प्राप्त गरेको विषय समेत गम्भीर भएकाले छानविन हुनुपर्ने उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पौडेलले यस क्रममा भएको क्षतिले राज्यले आफ्नो सम्पत्ति र नागरिकको सम्पत्ति रक्षा गर्न सक्ने विषय प्रश्नका रुपमा खडा भएको भन्दै यसको छानबिन आवश्यक रहेको बताए । ‘युवाहरुको सहादत र व्यक्ति तथा राज्यको सम्पत्ति दुवैको असुरक्षा र विनाशलाई गम्भीर रुपमा हेरिनुपर्छ । यसलाई सामान्य रुपमा लिन सकिन्न यो सरकारले छानविन गर्नुपर्छ ।’

अब देश स्थिरतातर्फ जानुपर्ने र देशलाई सहि मार्गमा लैजानका लागि निष्पक्ष र शान्तिपूर्ण ढंगबाट निर्वाचत हुनुपर्ने भन्दै उनले भने,‘राज्यका संयन्त्रमा उठेका प्रश्नहरु उत्तरित हुनुपर्छ । यसो भए मात्र समस्या हल हुन सक्छ ।’ सरकारको क्याबिनेटमा अन्तिम समयसम्म पनि जेनजीको विषय र सामाजिक सञ्जालको विषय उठाउने आफू पहिलो व्यक्ति भएको भन्दै पूर्व मन्त्री पौडेलले आफूले क्याबिनेटमा सामाजिक सञ्जालको हकमा बन्द गर्नु हुँदैन भनेको स्मरण गरे ।

आफू यस्तो परिस्थितीमा पदमा बस्नु उचित हुँदैन भनेर २३ गते नै राजीनामा दिने मनस्थिीतिमा भए पनि पार्टीसँग छलफल आवश्यक भएकाले भोलिपल्ट राजीनामा दिएको बताए । ‘प्रधानमन्त्रीलाई राजीनामा बुझाउन र उहाँलाई समेत यो अवस्थामा पदमा बसिरहन हुन्न भनेर म बालुवाटार जाँदै थिएँ, उनले भने । त्यसबीचमा परिस्थिती बदलिएकाले सामाजिक सञ्जालबाट राजीनामा दिएका ेभन्दै उनले आफ्नै व्यवस्थापनमा सुरक्षित बसेको बताए ।

Read More

एनआरएनए चीनबाट उपत्यका प्रहरी परिसर काठमाडौंलाई १० लाख बराबरको सहयोग

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले नेपाल प्रहरीको उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरका विभिन्न सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको छ ।

जेनजी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माणको लागि  सो सहयोग गरिएको हो । उपत्यका प्रहरी परिसर शुक्रबार एक कार्यक्रमको आयोजना गरि गरिएको सहयोगअन्तर्गत १० वटा सोफा सेट, ४० वटा अफिस कार्य टेबल, ४० वटा भिजिटर कुर्सी, २० वटा चिया टेबल तथा १५ वटा स्टील दराज (क्याबिनेट) उपलब्ध गराइएको हो ।

कार्यक्रममा एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकाल, निवर्तमान अध्यक्ष तथा हाल आईसीसी सदस्य  निर्मल शर्मा चौलागाई, उपाध्यक्ष प्रदीप नेपाल, सुरज व्याञ्जू, महासचिव सुरज न्यौपाने, सचिव कमल सापकोटा, सदस्य रोजेन माकजु, पञ्जीकृत सदस्य प्रियस खरेल र अंकित खतिवडा लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी, आईसीसी तथा सचिवालय तर्फबाट अध्यक्ष डा. बद्री केसी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा सहायक निर्देशक रबिना महर्जन सहभागी भएका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै एनसीसी चीनका पदाधिकारीहरुले नेपाल प्रहरीलाई आवश्यक सामग्री सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सकेसम्म योगदान गर्दै जाने प्रतिबद्धता जनाए ।

एनआरएनए अध्यक्ष डा. बद्री केसीले विश्वभर रहेका गैरआवासीय नेपालीले मातृभूमिको विपद् र संकटका घडीमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै,  जेनजी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माण र अन्य आपतकालीन अवस्थामा एनआरएनए सधैं तयार साथै नेपाल सरकारका पुनर्निर्माणका पहलमा निरन्तर सहकार्य गर्ने बताए ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी जनताको शान्ति–सुरक्षामा अहोरात्र खटिरहने हुँदा यस विषम परिस्थितिमा एनआरएनए, विशेषगरी एनसीसी चीनबाट प्राप्त सहयोगप्रति हार्दिक धन्यवाद प्रकट गरेका थिए ।

Read More

उर्जामन्त्रि घिसिङको निर्देशन कार्यान्वयनमा, डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उद्योगी व्यसायीहरुबाट डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेको छ ।

आज बसेको सञ्चालक समितिको बैठकले बक्यौता उठाउने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले यसअघि नै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरिसकेका थिए ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङको पहिला निर्णय नै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने रहेको थियो । विभिन्न उद्योगी व्यवसायीसँग प्राधिकरणले २२ अर्ब बक्यौता उठाउन बाँकी रहेको छ । प्राधिकरण सञ्चालक समितिमा ऊर्जा मन्त्री अध्यक्ष रहने व्यवस्था रहेको छ ।

Read More

भारतीय वायुसेनाबाट रुसी निर्मित मिग-२१ लडाकु विमानको अन्तिम बिदाई

काठमाडौँ । भारतले रूसबाट खरिद गरिएका र दशकौंसम्म वायुसेनाको अग्रपंक्ति रक्षाको रूपमा सेवा गरिरहेका मिग-२१ लडाकु विमानलाई आज निष्क्रिय पारिएका छन् ।

विदाई समारोह चण्डीगढमा आयोजना भइरहेको छ, जहाँ वायुसेनाका पाइलटहरूले अन्तिम पटक यी विमानहरू उडाइरहेका छन् ।

समारोहमा उपस्थित रक्षामन्त्री राजनाथ सिंहले मिग-२१ केवल एउटा विमान मात्र नभएर तर भारत-रूस सम्बन्धको प्रमाण भएको बताएका छन् । राजनाथ सिंहले भने- ‘आज, जब हामी मिग-२१ लाई यसको सञ्चालन यात्राबाट विदाई गर्छौं, मलाई विश्वास छ कि हामी एउटा अध्याय बन्द गर्दैछौं जुन भारतीय वायुसेनाको इतिहासमा मात्र होइन तर हाम्रो सम्पूर्ण सैन्य उड्डयनको इतिहासमा सुनौलो अक्षरमा लेखिनेछ ।’

मिग-२१ लाई १९६३ मा भारतीय वायुसेनामा समावेश गरिएको थियो र ६३ वर्षको सेवा पछि आज निष्क्रिय पारिएको छ ।

मिग-२१ को विशेषता भनेको ९० डिग्रीमा सीधा चढ्ने क्षमता हो । यो संसारको उत्कृष्ट लडाकु विमानहरू मध्ये एक हो । यसको कुनै तुलना नभएको र यसको उमेरका कारण यसलाई अन्तिम बिदाई गरिएको बताइएको छ । तर यसको शून्यता कसैले पनि पूरा गर्न नसक्ने र तेजस विमानले प्रतिस्थापन गर्ने छ ।

Read More

प्रचण्डको अन्तर्राष्ट्रिय लोकप्रियता छ, उहाँजत्तिको गतिशील नेतृत्व नआएसम्म उहाँको सर्वोच्चता कायमै रहन्छ: राजन दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले आफूहरु अहिले सरकार फेरबदलको खेलमा नरहेको बताएका छन् ।

उनले आफूहरु सरकार फेरबदलको प्रक्रियामा नरहे पनि कांग्रेस–एमालेसहितको गठबन्धन आफ्नै कारणले भत्किने बताए । त्यो अवस्थामा माओवादीले कांग्रेसलाई साथ दिने पनि उनले बताए । संविधानको रक्षा र संविधानको सफल कार्यान्वयनको प्रक्रियामा तुलनात्मक हिसाबले एमालेभन्दा कांग्रेस इमादार देखिएको उनको बुझाइ छ ।

प्रस्तुत छ पार्टीभित्रको अन्तरसंघर्ष, सरकार र संसद्को विषयमा रिपोर्टर्स नेपालले गरेको संवादको सम्पादित अंशः

पार्टीभित्रको अन्तरसंघर्षलाई कसरी हेर्नुभएको छ ?
-हाम्रो पार्टीभित्र पछिल्लो समय कुनै अन्तरसंघर्ष छैन । अन्तरसंघर्ष विधि, विचार र नेतृत्वसँग हुनुपर्छ । त्यो अधिवेशन, महाधिवेशन, भेला, प्रशिक्षणमा अभिव्यक्त हुने गर्छन् । पछिल्लो समय हाम्रो आठौं महाधिवेशन, पूर्ण केन्द्रीय समितिले लिएको पार्टीको नीति, कार्यक्रमप्रति हाम्रो पूर्ण सहमत छ । कसैको भिन्न मत पनि छैन । विभिन्न समयमा केन्द्रीय समिति, स्थायी समिति, पदाधिकारी बैठकहरुमा लिएका निर्णय प्रक्रियाहरु सर्वसम्मत हुने गरेका छन् । वैचारिक, राजनीतिक हिसाबले हेर्दा, विचार, विधि र नेतृत्वको हिसाबले कुनै अन्तर्य बैठकमा अभिव्यक्त भएका छैनन् ।

माओवादी विभाजनको प्रसंग चलिरहेको छ । उपमहासचिव जनार्दन शर्माले यसको नेतृत्व गरेको भन्ने चर्चा छ नि ?
-उपमहासचिव जनार्दन शर्माका केही पार्टी नेतृत्वप्रति, गुनासा, अपेक्षा, असन्तुष्टिहरु बाहिर व्यक्त भएका छन् । तर, त्यो आफैंमा कमिटीमा आएर व्यक्त हुनुपर्छ । सम्बन्धित कमिटीमा छलफलको विषय बन्नुपर्छ र कमिटीबाटै हल हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । असन्तुष्टि, अपेक्षा र गुनासोलाई चाहिँ विभाजनसँग हेर्ने कुरा राम्रो हुँदैन । अनुशासन, स्वतन्त्रता भनेको अराजकता होइन । अनुशासनकै जगमा बसेर विधिसम्मत् मर्यादा ख्याल गरेर आफ्नो कुरा राख्ने सम्बन्धित व्यक्तिको दायित्वभित्रै पर्छ ।

जनार्दन शर्माले त मनमोहनपछिका सबै कम्युनिष्ट प्रधानमन्त्री असुली धन्दामा लागेको भनेर प्रचण्डलाई समेत मुछ्नुभयो नि ?
-मलाई तपाईँले जसरी प्रश्न गर्नुभयो, त्यसैगरी उहाँ (जनार्दन) लाई मैले पनि सोधेको थिएँ । उहाँले मलाई औपचारिक जवाफ चाहिँ मनमोहनपछिका प्रधानमन्त्रीहरु असुली धन्दामा लागे भनेको चाहिँ के हो भने मनमोहन एमाले भएको नाताले गर्दा मनमोहनपछि एमालेका प्रधानमन्त्री जति भए, त्यति असुली धन्दामा लागे, राष्ट्र र जनताप्रति उत्तरदायी भएनन् भनेर एमालेप्रतिको अभिव्यक्तिलाई किन प्रचण्डसँग ल्याएर जोड्नुहुन्छ ? फेरि रेकर्ड सुन्नुस् भनेर मलाई जवाफ दिनुभयो । मनमोहन कुन पार्टीका हुन् ? मनमोहन त एमालेका हुन् । मनमोहनपछिका प्रधानमन्त्री भनेको एमालेभित्रका प्रधानमन्त्री भनेर मैले चर्चा गरेको हो । यो माओवादीसँग ल्याएर जोड्ने, प्रचण्डसँग ल्याएर जोड्ने कुरा चाहिँ तपाईँहरु आफैंले ब्याख्या गरेर हुँदैन भनेर उहाँले भन्नुभयो ।

तपाईँको पार्टी अध्यक्ष प्रचण्डले ३५ वर्ष पार्टीको नेतृत्व गरिसक्नुभयो । यथास्थितिलाई स्वीकारेर रूपान्तरण कसरी सम्भव छ ?
-हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको जुन गतिशीलता छ, जीवन्तता छ । अन्तर्राष्ट्रिय व्यक्तित्व, अन्तर्राष्ट्रिय लोकप्रियता छ । उहाँ जति योग्य, इमादार र गतिशील नेतृत्व अर्को नहुन्जेल अध्यक्ष प्रचण्डको नेतृत्वको स्वीकार्यता र सर्वोच्चता कायमै रहन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति १० वर्षे जनयुद्धको नेतृत्व गरेको सर्वोच्च कमाण्डर, संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणेयता, उहाँको जुन इमादारिता, योग्यता र गतिशीलता छ, प्रतिस्पर्धा गर्न लायकको नेतृत्व विकास नहुनु हाम्रो कमजोरी हो । यसको अर्थ प्रचण्डको कारणले हाम्रो नेतृत्व क्षमता विकास भएन भन्ने कुरा सत्य होइन ।

पार्टी अध्यक्ष प्रचण्डका सकारात्मक पक्ष र नकारात्मक पक्षहरुलाई तपाईँ कसरी सम्झिनुहुन्छ ?
-सामन्तवादको अवशेष राजसंस्थाको अन्त्यको निम्ति, मधेशी, महिला, जनजाति, उपेक्षित, उत्पीडित, मुश्लिम र गरिबका छोराछोरीहरुलाई सत्तामा पहुँच स्थापित गर्ने प्रक्रियाको उल्लेखनीय भूमिका निर्वाह गरेकै कारणले गर्दा प्रचण्डको उचाई प्राप्त गर्न अवको पुस्तालाई गाह्रो छ । प्रचण्ड भनेको विचार, अभियान र आन्दोलन हो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, सामाजिक न्यायसहितका मुद्दा स्थापित गर्ने र संविधानमा संस्थागत गरेर जनताले उपभोग गर्ने स्तरसम्म ल्याउने पात्र भएको नेताले गर्दा उहाँको सवल पक्षले नै सानातिना दुर्वल पक्षलाई छोप्छ । मेरोतर्फबाट हेर्दाखेरी उहाँको दुर्वल पक्ष हुन्थ्यो भने त यो आन्दोलन नै सफल हुँदैन थियो । जनता अधिकार सम्पन्न नै हुँदैन थिए । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा नै आउँदैन थियो । उहाँको सवल नेतृत्वको भएकै कारणले यो समाज रुपान्तरण हुन सक्यो ।

माओवादी घटकहरुको एकताको कुरा पनि चलिरहेको छ । त्यो प्रक्रिया चाहिँ अहिले कहाँ पुग्यो ?
-माओवादी घटकहरुको एकताको बारेमा मुख्यतः हाम्रो पार्टीले लिएको आठौं महाधिवेशनको दस्तावेजले वैधानिक तरिकाबाटै समाजवादी क्रान्तिसम्म जाने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने, संविधानमा उल्लेख भएका ३१ वटा मौलिक हकहरुको व्यवहारिक कार्यान्वयन गर्ने प्रक्रियामा जो प्रतिवद्ध छ, उहाँहरुसँग हाम्रो एकता हुन्छ, सहकार्य हुन्छ । समाजवादी क्रान्तिको आधार तयार गर्ने भनेको अहिलेको संविधानको जगमा टेकेर हो । यो संविधानलाई स्वीकार गर्ने, संविधानको रक्षा र सफल कार्यान्वयनमा जो प्रतिवद्ध हुन्छ, ती पार्टी र पात्रसँग हाम्रो एकता हुन्छ । समाजवादसम्म जाने जसले प्रतिवद्धता गरेका छन् उहाँहरुसँग मोर्चा हुन्छ । माओवादी घटकमात्र मिलेर पनि अहिले जनताको अपेक्षा, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सकिँदैन । अहिलेको जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कुरामा र संविधानको रक्षा र सफल कार्यान्वयनको प्रक्रियामा बृहत्तर ध्रुबीकरण आवश्यक छ । पूर्व माओवादी पनि एक ठाउँमा आउन आवश्यक छ । तर, संकीर्णता र अराजकता बोकेर, फुटपरस्त मानसिकता बोकेर, हिजो १२ टुक्रामा विभाजन भएका माओवादीहरुले आफ्नो औचित्य पनि पुष्टि गर्न सक्नुभएन । जनतासँग जोडिन सक्नुभएन । गम्भीर आत्मसमीक्षासहित आउँदा त्यसले उत्साह पैदा गर्छ, ऊर्जा पैदा गर्छ । तर, जस्तो छ त्यस्तै अर्अरिएको, कक्रिएको र जड चेतवना बोकेर हुने एकता त एकताभन्दा पनि त्यहाँ अन्तरविरोध हुन्छ । एकता प्रक्रियामा हामीले हतारो गर्दैनौं ।

तपाईँहरुको अहिले संसद्मा भूमिका किन कमजोर देखियो ? भिजिट भिसा प्रकरणमा त सौदाबाजी गर्नुभयो भन्ने आरोप छ नि ?
-भिजिट भिसा प्रकरणमा हामीले कुनै सौदाबाजी गरेका छैनौं । त्यो गलत कुरा हो । दुई बुँदे सहमतिमा प्रष्ट लेखिएको छ कि भिजिट भिसाको आवरणमा अध्यागमनबाट भएको मानव तस्करी प्रकरण छ, यसका छानविन प्रक्रियामा अख्तियारले भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने र सीआईबीले संगठित अपराध र मानव तस्करीसम्बन्धी मुद्दा हेर्ने कुरा लिखित पत्र सीआईबीलाई पठाइसकेपछि दुई बुँदे सहमति गरेको हो । जहाँसम्म गृहमन्त्रीको राजीनामा माग नैतिक विषय थियो । उहाँले नैतिक विषय ठान्नुभएन । अनैतिक भएको नाताले गर्दा उहाँले राजीनामा दिनुभएन । गृह प्रशासनको प्रत्यक्ष संलग्नताको आशंका गर्दागर्दै पनि दवाब र प्रभावबाट मुक्त हुन हामीले माग त गर्यौं । हामीले संसद् अवरोध पनि गर्यौं । संसद् अवरोध गर्दैनथियौं भने यो राष्ट्रिय विषय बन्दैन थियो । जनताले थाहा पाउँदैन थिए । संसद्भित्रको बेथिति, अराजकता, अनियमितता, बजेटभित्रको विभेदीकरण, बजेटलाई गरिएको दुरुपयोग, विचौलियावाला बजेट, पहुँचवाला मन्त्री र सांसद केन्द्रीत बजेटमा गरिएको अपराधलाई पनि बाहिर जनताले थाहा पाउन भनेर हामीले ठीक समयमा संसद् अवरोध गर्यौं । ठीक समयमा संसद् खोल्यौं । यो विषयमा हामी प्रष्ट छौं । माओवादी पार्टी जिम्मेवार पार्टी हो । संसद्को प्रमुख प्रतिपक्ष भएको नाताले संसद् त प्रतिपक्षको हुन्छ । नियमित संसद् अवरोध गरेरमात्र संसदीय भूमिका पूरा हुँदैन । सरकार गैरजिम्मेवार भएपछि हामी जिम्मेवार बनेका हौं । हामी अपरिपक्व र कमजोर भूमिकामा छैनौं ।

सरकारको काम कारबाहीलाई कसरी हेर्नुभएको छ ? यो सरकार कति सफल, कति असफल ?
-यो सरकार जनताको सरकार थिएन । यो विचौलियाको दवाब र प्रभावमा बनेको सरकार थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको संयोग हो । बेचन झाको गिरफ्तारीपछि बनेको सरकार हो । त्यसकारण विचौलियाको दवाब र प्रभावमा बनेको सरकार वर्ष दिनभरी नै, चाहे त्यो ६ वटा अध्यादेशमार्फत ३२ वटा कानून संशोधन गर्दा होस् । पछिल्लो समय भूमि ऐनसम्म आउँदा चाहिँ सरकार विचौलिया, भ्रष्ट, गठ र माफियाप्रति उत्तरदायी छ । राष्ट्र र जनताप्रति उत्तरदायी छैन । सरकारले जे गर्यो एक वर्षभित्र, सिंगो मन्त्रिपरिषद् भ्रष्टाचारमा चुर्लुम्म छ । पतञ्जलीको केस चार महिनामा अनुसन्धान गरेर माधव नेपाललाई मुद्दा दर्ता गर्ने अनि चार वर्ष अगाडि अनुसन्धान सकिएको गिरीबन्धु टी स्टेट, केपी ओलीजी र माधव नेपालजीले गरेको एउटै गैरकानूनी काम, भूमि ऐन २०२१ को उल्लङ्घन हो । एउटालाई काखा, अर्कोलाई पाखा भनेपछि यो एक वर्षमा राष्ट्रिय संरचनाको चरम दलीयकरण र दुरुपयोग, अराजकता, अनियमितता, कुशासन र कुकर्मबाहेक सरकारले अरु केही गरेन । यो एक वर्षमा ४ खर्ब ५५ अर्ब ३९ करोड सार्वजनिक ऋण बढाएर तलबभत्ता, सेवा सुविधा र कमिसनमा खर्च गरेको छ । नेपाली जनतालाई ऋणको भार बोकाइदियो । सरकार विचौलियामार्फत अर्बौं कमिशन, संस्थागत ढङ्गले कमिशन उठाउन लागेको छ । काम होइन, कमिशनमा केन्द्रीत, नेपाललाई अन्तर्राष्ट्रिय रुपमा बदनाम गराउने बोझिलो सरकार र वर्षको रुपमा हामी चित्रण गर्न सक्छौं ।

यो बोझिलो सरकारलाई प्रमुख प्रतिपक्षले कति दिन हेरेर बस्ने त ?
-हामीले अम जनतामार्फत खबरदारी गरेका छौं । सरकारका सबै कुकर्महरु बाहिर ल्याएकै छौं । यो बोझिलो सरकार अंक गणितको हिसाबले कांग्रेस र एमाले मिलेर बनेको हिसाबले गर्दाखेरी संख्यात्मक हिसाबले सरकार छ । व्यहारिक ढंगले हेर्दा सरकार छैन । सरकार कहीँ पनि छैन । जनताको नजरमा सरकार छैन । कानुनी हिसाबले सरकार छ । नेपाली कांग्रेस र एमाले दुवैको स्वार्थ मिलेको हुनाले यो सरकार टिकेको छ । दुईटै जेल जानुपर्ने परिस्थितिबाट बच्न यो सरकार टिकेको छ । त्यसकारणले गर्दा आम जनतामार्फत नै खबरदारी गर्ने, दवाब सिर्जना गर्ने हो । २०८४ सम्म हाम्रो भूमिका प्रतिपक्ष नै हुन्छ । संख्यात्मक रुपमा थोरै छौं । सरकारले गरेका सबै कुकर्महरु जनतासम्म पुर्याउने, सरकारले गरेका फोहोरहरु जनतालाई देखाउने हाम्रो भूमिका हो । सरकार आफ्नै कारणले ढल्न त ढल्छ । एक वर्षसम्म सरकार टिक्यो, तर बिकेको छैन । सरकार ढलिसकेपछि सरकारविहीनताको अवस्था हुन नदिनमात्रै हाम्रो भूमिका हुन्छ ।

अहिलेको सरकार ढल्यो भने तपाईँहरुको समर्थन एमालेलाई रहन्छ कि कांग्रेसलाई ?
-पछिल्लो समयमा एमालेमा स्वेच्छाचारी र अलोकतान्त्रिक चरित्र देखिएको छ ओलीजीमा । ओलीजीले एमालेलाई अपहरण गर्नुभएको छ । गैरकम्युनिष्ट चरित्र, गैरलोकतान्त्रिक चरित्रबाट एमाले चलेको छ । त्यसकारणले गर्दा संविधानको रक्षा र संविधानको सफल कार्यान्वयनको प्रक्रियामा तुलनात्मक हिसाबले एमालेभन्दा कांग्रेस इमादार देखिएको कारणले गर्दा हाम्रो सहकार्य कांग्रेससँग हुने सम्भावना प्रबल छ ।

Read More

प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रीय कमिटी भङ्ग, मंसिरमा विशेष महाधिवेशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी भङ्ग गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा केन्द्रीय कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशनमा जाने निर्णय भएको हो ।

आज समापन भएको बैठकले केन्द्रीय कमिटी भंग गरेर प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन भएको छ । बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन सफतापूर्वक सम्पन्न गराउनका लागि सरकारलाई सहयोग गर्ने पनि निर्णय पनि गरेको छ ।

प्रचण्डले केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भएको र आफू अब अध्यक्ष नरहेर संयोजकको भूमिकामा रहेको पनि बताए । ‘ केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भयो । म अब अध्यक्ष छैन, संयोजक भएँ,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

Read More

घटनापूर्व संभावित कारणहरुको आँकलन गर्न नसक्नु सरकारको कमजोरी: राष्ट्रिय मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाका एजेण्डाहरुसहित गत भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा भएको जनधनको क्षति र घटनापश्चात्को मानव अधिकारको अवस्थाको बारेमा देशभर निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

आयोगकाअनुसार प्रदर्शनको पहिलो दिनको पूर्वान्हमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्यान्हपश्चात् आगजनीका घटना र प्रदर्शनकारीमाथि गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको छ । पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएका कारण दोस्रो दिन अन्धाधुन्ध आगजानी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको आयोगको ठहर छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ती जारी गर्दै यस्तो धारणा बाहिर ल्याएका हुन् । आयोगले आगजनीबाट महत्वपूर्ण सरकारी भवन, पार्टी कार्यालय, निजी घर, व्यवसायिक भवन, शैक्षिक संस्था, सञ्चारगृह र प्रहरी कार्यालयहरुमा अत्याधिक क्षति पुगेको भनेको छ । विज्ञप्तीमा भनिएको छ,‘आगलागी र तोडफोडका क्रममा केही व्यक्तिहरुको जलेर समेत मृत्यु भएको, सरकारी अभिलेख जलेको, भौतिक सम्पत्तिमा क्षति पुगेको, सुरक्षाकर्मीका हातहतियारहरु लुटिएको र कतिपय सामानहरु चोरी र लुटपाट गरिएको समेत पाइएको छ । शैक्षिक संस्थाहरुमा क्षति पुग्दा बालबालिकाको पठनपाठनमा बाधा उत्पन्न हुनुका साथै बालमनोविज्ञानमा समेत असर परेको छ ।’

घटना हुुनुपूर्व घटना हुनसक्ने संभावित कारणहरुको आँकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी देखिएको आयोगको दाबी छ । सो घटनापश्चात् सुरक्षाकर्मीको मनोबल कमजोर हुन जाँदा शान्ति सुरक्षामा थप चुनौती सिर्जना हुनसक्ने अवस्था सिर्जना भएको उसको भनाई छ । विज्ञप्तीमा थप भनिएको छ,‘सुरक्षाकर्मीका भवनहरु जलेर नष्ट भएको, प्रहरीका कतिपय भवन मर्मत÷निर्माण गर्न समुदायले सहयोग गरेको भए पनि सबै कार्यालय पुनर्निर्माण हुन नसक्दा सुरक्षालगायत प्रहरीबाट प्रदान गरिने सेवाप्रवाहमा बाधा उत्पन्न हुन पुगको छ । कारागार तथा बालसुधारगृहबाट बाहिर निस्केका बन्दीहरुको फिर्ती तथा कारागार व्यवस्थापनमा समेत गम्भीर समस्या देखिएको छ ।’

अतः सुरक्षाकर्मीको मनोबल उच्च बनाउँदै शान्तिसुरक्षाको अवस्थालाई मजबुत बनाउन, आगजनी र तोडफोड भएका सरकारी संरचनाहरुको पुनर्निर्माणमा विशेष ध्यान दिन, व्यक्तिका क्षति भएका निजी सम्पत्तिहरुको आँकलन गर्न र यस प्रकारका हिंसात्मक घटना हुनाका कारणहरुको पहिचान गर्दै भविष्यमा यस प्रकारका हिंसात्मक घटना पुनः दोहोरिन नदिने वातावरण बनाउन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ । साथै, विकसित परिस्थितिमा सरकारले चाल्ने सुधारका कदमहरुमा सहयोग पु¥याउन पनि आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

Read More

काठमाडौँको गोकर्णेश्वरबाट रिभल्वरसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँ बस्ती बस्ने काभ्रे बनेपा घर भएका २१ वर्षीय बिजय तामाङलाई रिभल्वर १ थान र बिनेट १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रिभल्वर फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औल्याउदै भने- ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ ।’

संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो। बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव  पठाउन निर्देशन समेत दिएका छन् ।

 बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने छ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।

Read More

चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न सशस्त्र महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन दिएका छन् । नेपालीहरुको महान चाड बडादशैँ, शुभदिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा प्रधान कार्यालयबाट मातहत सवै इकाईलाई उनले सो निर्देशन दिएका हुन् ।

उनले सशस्त्र प्रहरी बल, नेपालको गौरवमय परम्परालाई जीवन्त राख्दै, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, तराईको उष्णतादेखि हिमालको कठोर चिसोसम्म र अन्तर्राष्ट्रिय शान्ति मिसनहरूमा अहोरात्र देश र जनताको शान्ति, सुरक्षा र उद्धारमा समर्पित सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सुख, शान्ति, समृद्धि, र सु–स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै यी महान चाडहरूले आपसी सद्भाव र भाईचाराको विकासमा योगदान गर्ने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले हालैको जेन–जी आन्दोनलमा ज्यान गुमाउने सम्पूर्णमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् र घाईते बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी फाल्गुन २१ गते तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक पूर्व तयारी सुरु गर्न मातहत इकाईहरुलाई समेत निर्देशन दिए ।

उनले नजिकिंदै गरेका चाडपर्वहरुमा जनताहरुले निर्धक्कसाथ मनाउनका लागि सुरक्षा व्यवस्थाको सुनिश्चित गर्न चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन तथा सीमा नाकाहरुबाट चाडपर्व मनाउन स्वदेश फर्किने नागरिकको सम्मानजनक तथा सुरक्षित आवागमनको लागि आवश्यक स्थानहरुमा सहायता–डेस्कहरुको स्थापना गरी समकक्षी सुरक्षा निकाय तथा सरोकारवालाहरुसंगको समन्वयमा प्रभावकारी परिचालन र नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा सडक दुर्घटना, बाढी, पहिरो, आगलागीजस्ता विपद्हरूको जोखिमलाई ध्यानमा राखी उद्धार टोलीलाई पूर्ण तयारी हालतमा राख्न निर्देशन दिदै विपद् व्यवस्थापनमा प्रभावकारिता बढाउन प्रारम्भिक चेतावनी प्रणालीको विकास र उपयोग, स्थानीय प्रशासन र समकक्षी निकायहरूसँग समन्वय गरी विपद् प्रतिकार्य योजना अद्यावधिक गर्न समेत निर्देशन दिए ।

भन्सार नाकाहरूबाट हुन सक्ने राजस्व चुहावट नियन्त्रण गर्न सके राष्ट्रिय अर्थतन्त्रमा थप योगदान गर्न सकिने भएकोले चाडपर्वको मौका छोपेर सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने हुनाले राजश्व चुहावट नियन्त्रणको लागि थप सक्रियता बढाउन समेत उनले निर्देशन दिए ।

अप्ठ्यारो परिस्थितिमा उत्कृष्ट कार्य गर्न जरुरी रहेको स्मरण गर्दै उनले उच्च मनोबल र कार्यकुशलताकासाथ कार्यक्षेत्रमा आउन सक्ने चुनौतीको सामना गर्न एकजुट भई योजना बनाउन समेत मातहत कमाण्डरहरुलाई निर्देशन दिए । 

Read More