२०८३ बैशाख १३

वर्षा रोकिएपनि विपद्‌पछिको जोखिम कायमै, यात्रा गर्न हतार नगरौ: मौसमविद मानन्धर

काठमाडौँ । न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको छ। वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएसँगै मनसुन कमजोर भई देशभरको मौसममा क्रमिक सुधार आइरहेको छ ।

वरिष्ठ मौसमविद प्रतिभा मानन्धरले देशमा मनसुनी वायूको प्रभाव तथा पूर्वी भू-भागमा बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव घट्दै गएको बताएकी छन् ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै आज उनले देशभरको मौसममा क्रमिक सुधार आइरहेकाले भारी वर्षाको सम्भावना टरेको बताईन् ।

उनले भनिन् ‘हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी र मधेश प्रदेशका थोरै स्थानरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । सोमबार देखि भारी वर्षाको सम्भावना नरहेकाले थप विपद्को समस्या टरेको देखिन्छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उनको भनाई छ ।

शुक्रबारदेखि परेको वर्षा रोकिएपनि कतिपय ठाउँमा पहिरो जानेक्रम जारी रहेकाले बाटो र मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रामा निस्कन उनले आग्रह गरिन् । वर्षा रोकिएपनि विपद्‌पछिको जोखिम कायमै रहेको उनको भनाई छ ।

Read More

भारतको कटकमा दुई समुदायबीच तनाव: इन्टरनेट बन्द, ३६ घण्टाका लागि कर्फ्यु

काठमाडौँ । भारतको ओडिशास्थित कटकमा  दुई समुदायबीच तनाव र हिंसात्मक घटनाहरू पछि इन्टरनेट र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको छ । तनाव बढेपछि शहरका अधिकांश भागहरूमा ३६ घण्टाको कर्फ्यू लगाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

विश्व हिन्दू परिषद्ले सोमबार कटकमा १२ घण्टाको बन्दको आह्वान समेत गरेको छ। दुई दिनअघि दुर्गा पूजा विसर्जनको क्रममा भएको झडपपछि शहरमा तनाव कायमै रहेको छ।

आइतबार अनुमति नदिए पनि, विश्व हिन्दु महासंघका कार्यकर्ताहरूले बाइक र्‍याली आयोजना गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले उनीहरूलाई रोकेको र विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि ढुङ्गा प्रहार गरियो, जसमा आठ प्रहरी घाइते भएको बताइएको छ । 

ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले बदमाशहरूमाथि कडा निगरानी गरिरहेको छ र कानून अनुसार उनीहरू विरुद्ध कडा कारबाही गरिने बताएका छन् । विपक्षी बिजु जनता दलका नेता नवीन पटनायकले कटकको अवस्थालाई लिएर सरकारको आलोचना गरेका छन् ।

Read More

हमासले गाजामाथिको नियन्त्रण त्याग्न अस्वीकार गरेमा पूर्ण रूपमा ध्वस्त हुन्छ: ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले गाजामाथिको शक्ति र नियन्त्रण त्याग्न अस्वीकार गरेमा पूर्ण रूपमा ध्वस्त हुने चेतावनी दिएका छन् ।

अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हमास सहमतिमा नआएमा पूर्ण रूपमा ध्वस्त हुने चेतावनी दिएका हुन् ।

उनले हमास साँच्चै शान्ति चाहन्छ या चाहदैन भन्ने चाँडै स्पष्ट हुने समेत बताए । ट्रम्पले आफुले युद्धविराम प्रस्ताव वास्तविकतामा परिणत हुनेमा आशावादी रहेको समेत बताएका छन् ।

यसअघि शनिबार, राष्ट्रपति ट्रम्पले इजरायलले उनको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएका थिए भने अब उनी हमासको सहमतिको पर्खाइमा रहेको बताएका थिए ।

ट्रम्पको २० बुँदे शान्ति प्रस्तावमा हमासले बन्धक रिहा गर्न ससर्त मन्जुर गरेपनि अन्य प्रस्तावमा अमेरिकासँग वार्ता गर्न चाहेको जवाफ दिएको बताइएको छ । तर यस विषयमा थप कसरी अगाडी बढ्ने भन्ने स्पष्ट भएको छैन ।

Read More

बिटक्वाइनको मुल्य अहिलेसम्मको उच्च

काठमाडौँ । क्रिप्टोकरेन्सी बिटक्वाइनको मुल्य कीर्तिमानी रुपमा बढेको छ ।

आइतबार अमेरिकी बजार मूल्यको हिसाबले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मुल्य कीर्तिमानी उच्चतम बिन्दुमा पुगेको हो । आइतबार लगभग २.७ प्रतिशतले बढेर १ लाख २५ हजार २४५.५७ डलरमा पुगेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको मैत्रीपूर्ण नियमन र संस्थागत लगानीकर्ताहरूको बलियो मागले गर्दा अगस्टको मध्यमा बिटक्वाइनको मुल्य एक लाख २४ हजार ४८० सम्म पुगेको थियो ।

२००९ मा सातोशी नाकामोतोले बिटक्वाइनलाई सिर्जना गर्दा यसको मूल्य शून्यको नजिक थियो ।  बिटक्वाइनको पहिलो ठूलो मूल्य वृद्धि अक्टोबर २०१० मा भएको थियो । लामो समयसम्म लगभग ०.१० डलरमा स्थिर रहेपछि, बिटक्वाइनको मूल्य बढ्न थाल्यो । वर्षको अन्त्यसम्ममा, यो ०.३० डलर पुग्यो । २०१३ सम्ममा, यसको मूल्य १००० डलर नाघेको थियो । 

पछिल्लो समय राष्ट्रपति ट्रम्पले क्रिप्टो-मैत्री नीतिहरू लागू गरेका छन्, जस्तै क्रिप्टो कम्पनीहरूसँग काम गर्ने बैंकहरूमा प्रतिबन्ध हटाउने निर्णय गरेका कारण क्रिप्टो करेन्सीमा सकारात्मक असर परेको बताइएको छ । 

त्यस्तै ठूला संस्थागत लगानीकर्ताहरूले बिटक्वाइन इटीएफमा अर्बौं डलर लगानी गरेका छन्, जसले गर्दा माग बढेको छ । त्यस्तै लन्डन र थाइल्याण्ड जस्ता बजारहरूमा क्रिप्टो इटीएफको स्वीकृतिले पनि तिनीहरूको स्वीकृति बढाएको छ ।

Read More

हालाण्डको गोलमा म्यानचेस्टर सिटी विजयी

काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा खेलको नवौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जित पछि म्यानचेस्टर सिटीको ७ खेलमा १३ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै ब्रेन्टफोर्डको भने ७ खेलमा ७ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।     

Read More

नारायणगढ-मुग्लिन सडक बिहान ६ बजेदेखि नै सुचारु

चितवन । नारायणगढ–मुग्लिन सडक आज बिहान ६ बजेबाट यातायात सेवा सञ्चालनमा आएको छ ।

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती  सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति  ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।  

जिल्ला प्रहरी कार्यालय चितवनले यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।

चितवन प्रहरीले चितवन हुदै विभिन्न जिल्लामा जाने सवारी साधनलाई राति ९ बजेसम्म चितवन कटिसक्न आग्रह गरेको छ । ९ बजेपछि आउने सवारी साधनलाई रोकेर राखिएको थियो ।

Read More

वर्षाले रोकिएका आन्तरिक हवाई उडान आजदेखि पुनः सञ्चालनमा, यात्रुहरूलाई राहत

काठमाडौँ । अविरल वर्षाका कारण हिजो रोकिएका आन्तरिक हवाई उडान आज बिहानैदेखि पुनः सञ्चालनमा आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका मार्गमा उडान सुरु भएको जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालनमा रहेका थिए। शनिबार आन्तरिक उडान ठप्प हुँदा दशैंपछिको यात्राका लागि टिकट लिएका सयौं यात्रु विमानस्थलमै अलपत्र परेका थिए। यसले यात्रुहरूलाई ठूलो असुविधा पुर्‍याएको थियो।

मौसम सुधारसँगै आन्तरिक उडान पुनः सुरु भएपछि यात्रुहरूले सहजता महसुस गर्न थालेका छन्। विमानस्थलले पनि थप उडानहरू नियमित सञ्चालनमा राख्न तयारी गरिरहेको जनाएको छ।

Read More

सिन्धुलीबाट मृगौला रोगीलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो

सिन्धुली । नेपाली सेनाले सिन्धुलीबाट एक विरामी पुरुषलाई हेलिकप्टरमा काठमाडौँ लगेको छ ।

अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लागेको हो ।

बर्षापछि सडक भत्किदा अहिले जिल्लाको सम्पर्क विच्छेद भएको छ ।

Read More

काठमाडौँ र ललितपुरका सरकारी कार्यालय आज खुल्ने

काठमाडौँ । आज काठमाडौँ र ललितपुरका सरकारी कार्यालय खुल्ने भएका छन् ।

सरकारले आइतबार र सोमबार सार्बजनिक बिदा दिएको भएपनि सोमबार मौसममा उल्लेख्य सुधार भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरले सोमबार जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, संस्थान र स्थानीय सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

यसअघि आइतबार गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो ।

मन्त्रालयले विपद् जोखिम प्रतिकार्यमा संलग्न नभएका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न अनुरोध गरिएको थियो । असोज १७ गतेदेखि भइरहेको वर्षाका कारण करिब तीन दर्जन जिल्ला प्रभावित भएका छन् । ती जिल्लामा विपद् जोखिम तथा प्रतिकार्यका काम भइरहेका छन्।

यसअघि सरकारले विपद्को जोखिमलाई मध्यनजगर गर्दै आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

Read More

नेपालको विपत्तिमा भारतको प्रतिबद्धता: मित्र राष्ट्रको हैसियतले पूर्ण सहयोग गर्न प्रतिबद्ध छौ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारी वर्षाको कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत मोदीले नेपालमा भएको भारी वर्षाको कारण भएको जनधनको क्षति पीडादायी रहेको उल्लेख गरेका छन् ।

उनले यस कठिन समयमा भारत सरकार र भारतीय जनता नेपाली जनता र नेपाल सरकारको साथमा रहेको पनि बताएका छन् । मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रुपमा भारत आवश्यक पर्ने कुनैपनि खाले सहयोग गर्न प्रतिबद्ध रहेको समेत मोदीले विश्वास दिलाएका छन् ।

Read More