२०८३ बैशाख १३

एमालेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम शुरु, आज के के भयो ?

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक भोलि बिहान ८ बजे बस्ने गरि स्थगित भएको छ । ललितपुरको रामबाघ महलमा आजदेखि शुरु भएको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम शरू भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

आजको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्नो धारण राखेको बताउदै गौतमले धारणा राख्नेक्रम भोली पनि जारी रहने बताएका छन् । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि तीन मिनेटको समय दिइएको र त्यो भन्दा बढी कुरा राख्नुपर्ने भएमा लिखित रुपमा बुझाउन सकिने व्यवस्था गरिएको उनले बताए ।

एमालेका केन्द्रीय सदस्यहरुले अन्तरिम सरकारको गठन, जेनजीको प्रदर्शन र उनीहरुले उठाएका मागहरुको विषय, भदौ २४ गतेको विधम्सको छानबिन गर्नुपर्ने, छानबिन आयोगको अध्यक्षले दिएका अभिव्यक्तिको विषयमा लगायत केहिले पुर्वराष्ट्रपतिको सदस्यताको विषयमा पनि कुरा राखेको गौतमले जानकारी दिएका छन् ।    

आजको बैठकको शुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै देशमा प्रतिक्रान्ति शुरु भएको भन्दै यसको सबैभन्दा ठुलो निशाना एमालेलाई बनाइएको बताएका थिए । अध्यक्ष ओलीले एमालेले लिएका नीति राम्रो भएर बढी आक्रमण भएको दाबि गर्दै एमाले कम्युनिष्ट आन्दोलनको अनवरत शक्ति रहेको धारणा राखेका थिए । साथै ओलीले एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरि प्रस्ताव गरिएको छ । 

आजदेखि शुरु भएको एमालेको बैठक असोज ३१ गतेसम्म चल्ने छ ।

Read More

नेपाल र ओमान टी-२० विश्वकपमा छनौट

काठमाडौँ । नेपाल र ओमान आइसीसी टी-२० विश्वकप २०२६ को लागि छनोट भएका छन् ।

सुपर सिक्स अन्तर्गत आज सम्पन्न खेलमा युएईले सामाओलाई पराजित गरेसँगै नेपाल र ओमान विश्वकपमा छनौट भएका हुन् ।

अब नेपाल र ओमान भारत र श्रीलंकामा आगामी माघ २४ देखि फागुन २४ सम्म आयोजना हुने विश्वकपमा सहभागी हुने छन् । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनौट हुने तेस्रो देशको टुंगो भोली हुने युएई र जापानबीचको खेलबाट लाग्ने छ । त्यस्तै कतार र सामाओ भने विश्वकपको छनौट दौडबाट बाहिरिएका छन् ।

आज केहीबेरपछि सुपर सिक्सको खेल अन्तर्गत नेपाल र ओमान भिड्दैछन् ।   

Read More

मधेसको मुख्यमन्त्री नियुक्तिमा विवाद, प्रदेश प्रमुखको सुरक्षा गर्न सेना परिचालन

जनकपुर । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिमा विवाद बढेको छ ।

मुख्यमन्त्रीमा दाबि गरेका दुवै समुहले आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दबाब दिन शुरु गरेपछि प्रदेश प्रमुखको कार्यालयको सुरक्षा गर्न सेना परिचालन गरिएको हो ।  मधेस प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले सुरक्षा चुनौती बढेपछि सुरक्षाका लागि सेनालाई आग्रह गरिएको जानकारी दिएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि आव्हान गरेको समय भित्र लोसपा नेपालका नेता जितेन्द्र सोनल र कांग्रेस नेता कृष्ण यादवले मुख्यमन्त्रीमा दाबि पेश गरेका थिए । सोनलले पाँच दलको समर्थनमा दाबी पेस गरेका थिए भने कांग्रेस–एमालेसहित जनमतको नाम राख्दै कृष्ण यादवले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

यसैबीच दुवै पक्षले आफ्नो पार्टीको नाम समावेश गरेपछि जनमत पार्टीले  मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र प्रसाद सोनार (सोनल) लाई समर्थन रहेको आधिकारीक पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

Read More

सडक डिभिजन लहानका तत्कालिन प्रमुखसहित चार जना र निर्माण कम्पनिविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससमेत ४ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरको छ ।

अख्तियारले प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान कार्य योजनामा गुणस्तरहीन सामाग्री प्रयोग गरी मनोमानी ढंगले कार्य संचालन गरी अनियमितता तथा हिनामिना गरेको प्रमाणित भएको भन्दै कार्यालय प्रमुख दाससमेत ४ जना र निर्माण कम्पनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले चारै जनालाई जनही २ करोड ३४ लाख ९९ हजार ९४५ बराबरको बिगो माग गरेको छ ।

मुद्धा दायर हुनेमा सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दास, तत्कालीन इन्जिनियर शैलेन्द्र कुमार चौधरी र सव-इन्जिनियर चन्द्रकान्त चौधरी, जय धनन्जय/रब्बानी जेभी तथा उक्त जेभीको तर्फबाट अधिकार प्राप्त रब्बानी कन्सट्रक्सनका प्रोपराइटर जफिर कवारी रहेको अख्तियारले जानकारी दिएको छ । 

Read More

काठमाडौँको शंखरापुरबाट भरूवा बन्दुकसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका-१ बोजिनीबाट भरूवा बन्दुक १ थानसहित ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २६ वर्षीय रबिन लामा, २२ वर्षीय सुमन तामाङ, २४ वर्षीय सोनाम लामा र २४ वर्षीय संजय लामा रहेका छन् । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंको इजलासले सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको भने दुवैको मिलेमतोमा इ–सिगरेटमार्फत सुनको तस्करी गरिएको आरोप लगाइएको छ । महराविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम मुद्धा दायर भएको थियो ।

महरालाई पुर्पक्षको आदेशपछि सुन्धारा कारागारमा पठाइएको छ ।   

Read More

यस्ता छन् राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले गरेका १३ निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठकले विभिन्न १३ निर्णय गरेको छ । आजको बैठकमा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित उनी पक्षधर तथा महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती शाहीसहित उनीहरु पक्षका बैठकमा सहभागी भएका छैनन् ।

राप्रपाले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई एकबर्षसम्म निलम्बन गरेको छ । बैठकले अनुशासन समितिको सिफारिसमा निलम्बनको निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । अध्यक्ष शाहीसहित जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई एक वर्षका लागि निलम्बन गरिएको छ ।

राप्रपाले पार्टीका स्थानीय तह, प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशन मङ्सिर मसान्तसम्म गर्ने गरि म्याद थप गरेको छ भने केन्द्रीय समितिको बैठक कार्तिक २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ ।

बैठकले गरेका विभिन्न १३ निर्णयहरु: 
१- देश गम्भीर ढङ्गबाट भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको, अनिर्णयको बन्दी बन्दै गएको, नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट गुम्दै गएको वर्तमान सन्दर्भमा राजनीतिक र व्यक्तिगत आग्रह पूर्वाग्रह भन्दा देशलाई केन्द्रमा राखेर सबै राजनीतिक शक्तिहरूका बीचमा वृहद राष्ट्रिय सहमति आजको आवश्यकता हो । अहिलेको आन्दोलनको मुख्य पक्ष जेन्जी समूह,विभिन्न राजनीतिक दलहरू र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा नविन समझदारी गरेर कसैले नहार्ने सबैले जित्ने, देशले जित्ने राष्ट्रिय सहमति गरेर जानु आजको राष्ट्रिय आवश्यकता हो भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर रहेको छ । तत्काल सार्थक पहल र संवादका लागि सबै शक्तिलाई राप्रपा हार्दिक आहवान गर्दछ । 

२- राप्रपाले परिवर्तित सन्दर्भमा पार्टीको मुद्दाहरु र राजनीतिक विकल्पहरुमा राजनीतिक दलहरु र विभिन्न पक्षसंग औपचारिक सम्वाद गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिइएको छ ।

३- वर्तमान राजनीतिक अन्यौलको सन्दर्भमा विध्यमान संविधान र निर्वाचन प्रणालीबाट हुने निर्वाचन समस्याको दीर्घकालीन समाधान होइन भन्ने राप्रपाको ठहर छ । यद्यपि प्रजातान्त्रिक प्रक्रियाबाट राप्रपा अलग नरहने निर्णय गर्दछ ।

४- परिवर्तित सन्दर्भमा राप्रपाको विचार नीति, आसन्न निर्वाचन लगायतका विषयमा आम जनतासंग प्रत्यक्ष साक्षात्कार गर्न छठ पर्व पछि देशभर जनसम्वाद कार्यक्रम सन्चालन गर्ने निर्णय गरिएको छ ।

५- केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २७ र २८ गते काठमाडौंमा गर्ने तथा केन्द्रीय कार्यसमितिको बैठकले आगामी केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ ।

६- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र चाडवाडका कारण प्रभावित बन्न पुगेको राप्रपाको स्थानीय तह, प्रदेश र जिल्ला कार्य समितिको अधिवेशन २०८२ मंसिर मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय गरिएको छ ।

७- जेनजी आन्दोलन पश्चात् जेनजीका नामबाट भैरहेको जवर्जस्ती चन्दा असुली, भोटेकोशी जलविद्युत आयोजना लगायतका जलविद्युत आयोजनामा निःशुल्क शेयर माग, सार्वजनिक पदाधिकारीहरुलाई दिएको अनावश्यक दवाव जस्ता कार्यले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको खस्किएको मनोवललाई अझै त्रसित बनाउने देखिन्छ । जेनजी पुस्ताले यस्तो क्रियाकलाप गर्दैन भन्ने राप्रपाको विश्वास छ । तसर्थ, यस्ता गैरकानुनी क्रियाकलापमा नलाग्न सम्पूर्ण जेनजीहरुलाई आव्हान गर्ने र यस्ता कार्यको नियन्त्रण गरी सुरक्षित लगानीको वातावरण कायम गर्न र सार्वजनिक सेवालाई चुस्त, पारदर्शी र भरोसायोग्य बनाउन सरकारको ध्यानाकर्षण गराईएको छ ।

८- देशले लामो समयदेखि शिथिल अर्थतन्त्रको सामना गरिरहेको बेला हालैको आन्दोलनमा समेत खबौँको क्षति हुन पुगेको छ । कैयन् भौतिक संरचनाहरु नष्ट हुन पुगेका छन् भने कैयनले रोजगारी गुमाएका छन् । शिथिल अर्थतन्त्र उकास्ने कार्ययोजना ल्याउन, सुरक्षित लगानीको वातावरण बनाउन एवं व्यवसायी र व्यवसायिक प्रतिष्ठानलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै ‘सुरक्षा थ्रेट’ को त्रासदीबाट मुक्त गर्न राप्रपा सरकारसँग माग गर्दछ ।

९- राप्रपाको केन्द्रीय अनुशासन समितिको सिफारिश बमोजिम राप्रपा जिल्ला कार्य समिति जुम्लाका अध्यक्ष वेद बहादुर शाही, उपाध्यक्षद्वय बिमल शाही, काली बहादुर महत र कर्णाली प्रदेश सदस्य मनसुर सुनारलाई पार्टीको विधान बमोजिम एक वर्षको लागि निलम्बन गर्ने निर्णय गरिएको छ ।

१०- हालैको बाढी पहिरोबाट इलाम लगायत देशका विभिन्न क्षेत्रमा भएको मानवीय र भौतिक क्षति प्रति राप्रपा दुःख व्यक्त गर्दछ। बाढी पहिरोबाट ज्यान गुमाउन पुगेका परिवारलाई उचित राहत एवं सहज जीवनयापनको प्रबन्ध गर्न, घाइते र घाइतेको परिवारलाई प्रभावकारी उपचार एवं रोजगारीको व्यवस्था गर्न, घरबारबिहीन भएकालाई आवास लगायतको वैकल्पिक व्यवस्था गर्न राप्रपा सरकारसंग माग गर्दछ ।

११- इजरायल प्यालेस्टाइन युद्धका क्रममा दुइ वर्षदेखि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको हत्या भएको घटनाप्रति राप्रपा गहिरो दुःख व्यक्त गर्दछ। दिवंगत जोशीप्रति श्रद्धान्जली एवं परिवारमा समवेदना प्रकट गर्दछौं।

१२- जेनजी आन्दोलनका क्रममा पार्टीका नेता तथा कार्यकर्ताप्रति भएको दुर्व्यवहार र सम्पत्तिको क्षतिप्रति राप्रपा दुःख व्यक्त गर्दछ। साथै सम्पत्ति क्षति भएका पार्टीका नेता कार्यकर्तालाई आवश्यक सहयोग पुर्याउन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरिएको छ ।

१३- केन्द्रीय कार्य सम्पादन समितिको रिक्त रहेका सदस्यहरुमा पदपूर्ति गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

Read More

जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं: मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन् ।

आयोगको गत आर्थिक वर्ष २०८१-८२को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नु पर्ने आवश्यकता औंल्याए । आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेश गरेका थिए ।

आयोगका पदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले भने, ‘सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ जसले पिपिएलाई प्रतिस्पर्धी र पारदर्शी बनाएको छ, त्यसैगरी जलविद्युत आयोजनाको पिपिएको वास्तविक मूल्य तय गर्न, प्रक्रियालाई स्तरीय बनाएर पिपिए प्रतिस्पर्धाबाट गर्न आधार दर तय गर्ने र बोलपत्र सम्बन्धी कागजात तयार गर्नुहोस् ।’

नेपाल विद्युत प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दै आएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रति युनिट ५.९४ (पाँच रुपैयाँ चौरानब्बे पैसा) रहेको छ । जलविद्युत आयोजनाको पिपिए दर वर्षा र हिउँदयामका लागि प्रतियुनिट दर क्रमशः ४. ८० र ८.४० रुपैयाँ रहेको छ ।

नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले निजी क्षेत्रलाई प्रवर्धन एवम् प्रोत्साहन र प्राधिकरणलाई दीगो बनाउने गरी आफ्ना क्रियाकलापमा केन्द्रित हुन आग्रह गरे ।

Read More

भारत विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो अर्थतन्त्र

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालू आर्थिक वर्षको लागि भारतको वृद्धि प्रक्षेपण ०.२ प्रतिशतले बढाएको छ । यससँगै, भारत विश्वको सबैभन्दा छिटो बढ्दो अर्थतन्त्र बनेको छ ।

आईएमएफको विश्व आर्थिक दृष्टिकोण वृद्धि प्रक्षेपण प्रतिवेदन अनुसार, उच्च अमेरिकी भन्सार दरहरूको बावजुद, आर्थिक वर्ष २०२५-२६ मा भारतको वृद्धि दर ६.६ प्रतिशत हुने अनुमान गरिएको छ ।

अमेरिकाले भारतमा ५० प्रतिशत भन्सार शुल्क लगाएको छ, जुन ब्राजिल बाहेक विश्वमा सबैभन्दा उच्च हो । यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतको वृद्धि दर ७.८ प्रतिशत थियो ।

प्रतिवेदनले विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूको पनि उल्लेख गरेको छ । अनुमान अनुसार, यस आर्थिक वर्षमा चीनको वृद्धि दर ०.२ प्रतिशतले घटेर ४.८ प्रतिशत हुन सक्छ । अमेरिकी वृद्धि दर गत वर्षको तुलनामा ०.८ प्रतिशतले घट्ने र २.० प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ ।

Read More

काँग्रेसमा विशेष महाधिवेशनको माग, कार्यवाहक सभापतिलाई बुझाइयो हस्ताक्षर

काठमाडौँ । काँग्रेसमा विशेष महाधिवेशनको माग राख्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाइएको छ ।

कांग्रेस नेता गुरु घिमिरेले विशेष अधिवेशनको माग गर्दै ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी दिएका छन् । 

सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशन गर्ने बताए पनि उनी पक्षका नेताहरु मंसिर भित्र महाधिवेशन गर्न तयार नभएपछि आज विसहेश महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइएको छ ।

काँग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ ।

Read More