२०८३ बैशाख १३

असोज १८ पछिको बाढी पहिरोको क्षतिको ३ अर्ब २६ करोडको बीमा दाबि

काठमाडौँ । असोज १८ गतेदेखि परेको अविरल बर्षापछिको बाढी पहिरोले भएको क्षतिपछि ३ अर्ब २६ करोडको बीमा दाबिको निवेदन परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज ३० गतेसम्म बाढी पहिरोले पारेको नोक्सानीको ३ अर्ब २६ करोड ७६ लाख बराबरको बीमा दाबिको निवेदन परेको हो । जसमा सबैभन्दा बढी शिखर इन्सुरेन्समा ६० करोड ९४ लाखको बीमा दाबि परेको छ भने स्टार माइक्रो इन्सुरेन्समा सबैभन्दा कम ८ लाखको बीमा दाबि परेको छ ।

त्यसैगरी सम्पत्ति बीमामा २ अर्ब ७० करोड ६९ लाख बराबरको ३६४ बीमा दाबि छ भने इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ४८ करोड ४ लाख बराबरको ८७ बीमा दाबिको निवेदन परेको छ  । त्यस्तै  कृषि तथा बालि बीमामा ४ करोड ३२ लाख बराबरको २०९, मोटर बीमा निजी तर्फको २ करोड ५२ लाख बराबरको ३३, मोटर बीमा सार्बजनिकको एक करोड ५ लाख बराबरको ९ बीमा दाबि तथा अन्य बीमा १२ लाख ६० हजार बराबरको २ बीमा दाबिको निवेदन परेको छ ।

Read More

ट्रम्प र पुटिनबीच दुई घण्टा टेलिफोन कुराकानी, बुडापेस्टमा भेट्ने सहमति

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनमा लामो कुराकानी भएको छ ।

अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेट्नुअघि ट्रम्पले पुटिनसँग करिब दुई घण्टा कुराकानी भएको ट्रम्पले जानकारी दिएका छन् ।

ट्रम्पले पुटिनसँगको कुराकानी अद्भुत रहेको र मध्य पूर्वमा शान्ति ल्याउनेमा आफूसहित अमेरिकालाई बधाई दिएको बताएका छन् । साथै ट्रम्पले मध्य पूर्वमा पाएको सफलताले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न चलिरहेको वार्तामा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

ट्रम्प र पुटिनले अर्को हप्ता आफ्ना शीर्ष अधिकारीहरूको बैठकको तालिका बनाएका छन् । जसमा विदेशमन्त्री मार्को रुबियो र धेरै अन्य अमेरिकी पक्षबाट उपस्थित हुनेछन् । बैठकको स्थान अझै तय भएको छैन ।

त्यस्तै ट्रम्प र पुटिनले रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयास गर्न हंगेरीको बुडापेस्टमा केहि साता पछि नै भेट गर्न सहमति जनाएका छन् । ट्रम्प र पुटिनको अन्तिम भेट अगस्ट १५ मा अलास्कामा भएको थियो। सुरुमा, यो बैठक हंगेरीको राजधानी बुडापेस्टमा हुने तय गरिएको थियो, तर अन्तिम समयमा स्थान परिवर्तन गरिएको थियो । अब, दोस्रो ट्रम्प-पुटिन बैठकको लागि बुडापेस्ट छनोट गरिएको छ।

यसैबीच अमेरिका पुगेका जेलेन्स्कीले ट्रम्पबाट उन्नत हतियारहरूको विषयमा छलफल गर्ने तयारी गरेका छन् । जसमा लामो दूरीको टोमाहक मिसाइलहरू समावेश छन् । यी मिसाइलहरूले मस्को र अन्य प्रमुख रूसी शहरहरूलाई युक्रेनी आक्रमणको दायरामा राख्नेछन् । ट्रम्पले यदि पुटिन वार्ताको टेबलमा आएनन् भने उनले यी हतियारहरूको डेलिभरीलाई अनुमति दिन सक्ने यस अघि नै चेतावनी दिएका छन् ।

Read More

फिल्म ‘वरिष्ठ बलराम’ मा कोट लगाउँदा चाहिँ कठिन भयो- दयाहाङ राई

काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयास गरेको बताएका छन् । अधिकांश चरित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’मा शहरिया धनी क्यारेक्टरमा देखिने भएका छन् ।

कार चढेर ५/७ जना क्यारेक्टर अगाडि-पछाडि लगाएर रवाफ देखाउने क्यारेक्टरमा ‘वरिष्ठ बलराम’मा दयाहाङ देखिनेछन् । त्यही भएर उनले आवरणमा पनि केही फरकपन देखिने उनले बताएका हुन् । यो आवरण ट्रेलरमा पनि देखिएको छ । उनका यसअघिका सिनेमाको आवरणका तुलनामा यसमा निकै भिन्न देखिएको छ ।

कोट, पाइन्ट र टाईमा ठाँटिएर हिँड्ने कमै क्यारेक्टर मात्रै उनले गरेका छन् । ‘खासमा क्यारेक्टरको आवरण भन्दा पनि त्यसको भित्री पक्ष के हो त्यसमा पसेर काम गर्न मलाई मजा लाग्छ, मैले गर्ने पनि त्यही हो,’ दयाहाङ भन्छन्, ‘पहिलोपटक यो चलचित्रको स्क्रिप्ट पढ्दा पनि मलाई अहिले मेरो क्यारेक्टरले लगाए जस्तो गेटअप सोचेको थिइनँ ।’

‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलले दयाहाङलाई सुट र टाइमा ठाँटिएर हिँड्ने क्यारेक्टर हो मैले सोचेको भने । भित्री पक्ष अर्कै भए पनि बाहिर अर्कै अथवा म वरिष्ठ हुँ भन्ने देखाउने क्यारेक्टर भएकाले दयाहाङलाई यो आवरण पनि हुन्छ भन्ने लाग्यो ।

त्यसपछि दयाहाङले लगाए चितवनको प्रचण्ड गर्मीमा टाई, सुट र कोट, जुन उनका लागि सिनेमामा केही नौलो त देखियो नै । झलक्क हेर्दा विल्कुल नौलो हो कि भन्ने पनि देखियो ।

‘आवरणमा केही फरक थियो, तर असजिलो थिएन । अभिनय हो, जस्तो पर्यो त्यही गर्ने हो,’ दयाहाङ भन्छन्, ‘बरु कोट लगाउँदा चाहिँ साँच्चै कठिन भएको थियो । चितवनको गर्मीमा कोट लगाउँदा कम्ता होइन गर्मी । कोट चाहिँ मेरा लागि चुनौती जस्तै बनेको थियो ।’

वरिष्ठ देखाउन चाहिरहने र त्यसमा अरूले दख्खल दिन खोज्दा त्यसको प्रतिकार गर्दै खोलामा रहेको आफ्नो हैकम कायम राख्ने चरित्रमा ‘वरिष्ठ बलराम’मा दयाहाङ छन् ।

दयाहाङको एकाधिकार खोसेर त्यसको लाभ आफू पनि उठाउने दाउमा रहेका विजय बरालसँको टकराब नै ‘वरिष्ठ बलराम’को कथा हो । यी दुई कलाकार ‘वरिष्ठ बलराम’का मुख्य पात्र हुन् ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीको दिन रिलिज हुनेछ ।

‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ ।

चलचित्रको बाल कलाकारमा सुजेन थापा र साइसा गौचन रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

Read More

एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी रहेको छ । 

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ललितपुरमा जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव र आफ्नो धारणा राख्नेक्रम जारी रहेको छ । 

आजको बैठकमा सदस्यहरुले राखेपछि पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ जना नेताहरु रहेका छन् । 

बैठकको अन्त्यमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुबाट आएका धारणाको जवाफ दिएर बैठक समापन हुने गौतमले बताए ।  बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गर्दैछ ।

Read More

सुन एकैदिन तोलामा ७ हजार १ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ७ हजार एक सयले बढेर तोलाको २ लाख ५८ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार सुन तोलाको २ लाख ५० हजार ९०० मा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले बढेर ३३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३२७५ मा कारोबार भएको थियो ।

Read More

भ्रष्टाचारको मुद्धा दायरपछि मधेशका सांसद सिंह निलम्बित

काठमाडौँ । मधेश प्रदेश सभाका सांसद सरोज कुमार सिंह निलम्बन भएका छन् ।

मधेश प्रदेश सभा सचिवालयले सिंहलाई भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हुनाले उनी निलम्बनमा परेका हुन् ।

प्रदेश सभा सचिवालयले सिंहलाई प्रतिवादी कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको, निज सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक भएकोले निजको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्वन हुने व्यवस्था अनुसार उनी निलम्बनमा रहेको जानकारी दिएको छ । जसपा नेपालका सांसद रहेका सिंहलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।

Read More

ट्रम्पको हमासलाई नयाँ चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी संगठन हमासलाई नयाँ चेतावनी दिएका छन् । ट्रम्पले हमासले गाजामा मानिस मार्ने काम जारी राखेमा उनीहरुलाई समाप्त गर्ने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्- ‘यदि हमासले सम्झौताको अवज्ञा गर्दै गाजामा मानिसहरूलाई मार्ने काम जारी राख्यो भने, हामीसँग उनीहरूलाई समाप्त गर्नु बाहेक अरू कुनै विकल्प हुनेछैन ।’

यसअघि, ट्रम्पले गाजामा अमेरिकी सेना तैनाथ गर्ने कुरालाई अस्वीकार गरेका थिए । ट्रम्पको पछिल्लो बयानलाई गाजामा भएको हिंसासँग जोडिएको छ । हमासले आफ्ना विरोधीहरूलाई लक्षित गर्दै हिंसालाई बढावा दिइरहेको छ । 

हमास र इजरायल बीचको युद्धविराम पछि, गाजामा मानिसहरू आफ्नो घर फर्किरहेका छन् र आवश्यक सामानहरू जम्मा गर्न हतारिरहेका छन् । सहायता सामग्री बोकेका ट्रकहरू गाजामा आइपुगेका छन्, र सहायता एजेन्सीहरूले आफ्नो संख्या बढाउन अनुरोध गरेका छन्।

Read More

राष्ट्रियसभाका अध्यक्ष दाहाल स्वीजरल्याण्ड प्रस्थान

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल स्वीजरल्याण्ड भ्रमणमा गएका छन् । अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन दाहाल आज जेनेभातर्फ प्रस्थान गरेका हुन् ।

टोलीमा राष्ट्रियसभाका  सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी हुछन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सङ्घीय संसद सचिवालयले जानकारी दिएको छ । 

अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

Read More

बंगलादेशमा हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

काठमाडौँ । बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ । गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनलाई दबाएको आरोपमा उनीमाथि मानवताविरुद्धको अपराधको आरोप लगाइएको छ ।

अदालतमा अभियोजन पक्षले हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने- ‘हसिनाले १४०० मृत्युदण्ड पाउनुपर्छ । मानवीय रूपमा सम्भव नभएकोले, हामी कम्तिमा एक मृत्युदण्डको माग गर्छौं ।’

हाल भारतमा शरणमा रहेकी हसिनाविरुद्ध चलिरहेको मुद्दाको क्रममा एउटा लीक भएको अडियो क्लिप बाहिर आएको छ, जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरूविरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ । यद्यपि, हसिनाले यी आरोपहरूलाई अस्वीकार गरेकी छिन् । गत वर्षको हिंसामा लगभग १४ सयजना मारिएका थिए । यसलाई १९७१ को स्वतन्त्रता युद्ध पछि बंगलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ ।

Read More

सामाओविरुद्ध जितेमा हरेक खेलाडीले १९ लाख ५० हजार नगद पुरस्कार पाउने

काठमाडौं । आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले सुपर सिक्सको अन्तिम खेल आज सामाओविरुद्ध खेल्दैछ ।

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र सामाओबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरु हुदैछ । सुपर सिक्स्का दुई खेल अघि नै विश्वकपमा छनोट भएको नेपालले आजको खेल जितेमा पहिलो पटक आइसिसीको प्रतियोगिताको उपाधि जित्नेछ ।

अहिले नेपाल ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा रहेको छ । नेपाल प्रतियोगितामा पराजित रहेको छ । त्यस्तै सामाओले भने सुपरसिक्समा खेलेका तिनै खेलमा हार बेहोरेको छ । 

यो उपाधि जितेमा सरकारी पुरस्कार ऐनको विधान अनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाउनेछन् । राष्ट्रिय खेलाडी विकास नियमावली २०७९ अनुसार महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजनबाट विश्वकपमा छनौट भएमा हरेक खेलाडीलाई १९ लाख ५० हजार नगद पुरस्कार दिने व्यवस्था गरिएको छ । त्यस्तै प्रशिक्षकलाई ६ लाख २५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो वा चिकित्सकलाई ३ लाख २५ हजार र खेल संघलाई ६ लाख ५० हजार पुरस्कार दिने व्यवस्था गरिएको छ ।

Read More