२०८३ बैशाख १३

राष्ट्र संकटमा छ, देश जोगाउने हो भने अब वामपन्थीहरू मिल्नैपर्छ: प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन बृहत् वामपन्थी एकता आवश्यक रहेको बताएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्र र यसमार्फत जनताका मुद्दा सफल पार्न बृहत् वामपन्थी एकताको आवश्यकता रहेको उनले बताए।

उनले समाजवादी मोर्चामा आबद्धहरू छिट्टै एकता घोषणाको तयारीमा रहेको पनि जानकारी दिए। देशको रक्षाको निम्ति, राष्ट्रिय स्वाधीनता रक्षा र सुदृढीकरणको निम्ति देशभित्रका सबै वामपन्थीहरू मिल्नुको विकल्प नभएको उनको भनाइ छ।

उनले देश ठूलो संकटमा परेकाले राष्ट्रिय संकट, राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति राष्ट्रिय एकता अनिवार्य रहेको उल्लेख गरे। उनले यति ठूलो संकट यसअघि कहिल्यै नदेखिएको पनि बताए।

प्रचण्डले भने, ‘जनताका मुद्दा सफल पार्न बृहत् वामपन्थी एकता आवश्यक महसुस गरेका छौँ। हामी समाजवादी मोर्चामा आबद्धहरू छिट्टै एकता घोषणाको तयारीमा छौँ। राष्ट्र यति वेला ठूलो संकटमा छ। राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति राष्ट्रिय एकता अनिवार्य छ।’

वामपन्थी शक्तिसँगै देशभक्त लोकतान्त्रिक शक्तिहरूसँग पनि मोर्चाबन्दी गर्ने बताए।

Read More

बंगलादेशको वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात

काठमाडौँ । बंगलादेशले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७४ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको २०८ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ३९ ओभरमा अल आउट हुदै १३३ रन मात्र बनाएको थियो । वेस्ट इन्डिजका लागि ब्राण्डन किंगले सर्बाधिक ४४ रन बनाए भने एलिक अथानाजले २७ र कप्तान शाइ होपले १५ रन बनाएका थिए ।

त्यसैगरी बंगलादेशका बलर रिशाद होसैनले सर्बाधिक ६ विकेट लिएका थिए । उनले ९ ओभरमा ३५ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै मुस्ताफिजुर रहमानले २ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको बंगलादेशले ४९.४ ओभरमा अल आउट हुदै २०७ रन बनाएको थियो । बंगलादेशका लागि टोवहिड हृदोयले सर्बाधिक ५१ रन बनाएका थिए भने   महिदुल इस्लाम एनकोनले ४६ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिजका बलर जयदेन सील्सले ३ तथा रोस्टन चेज र जस्टिन ग्रीभ्सले २-२ विकेट लिएका थिए ।

यो जितपछि बंगलादेशले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २१ मा हुने छ ।

Read More

काँग्रेसको केन्द्रीय समितिको बैठक कार्तिक १३ गतेसम्मका लागि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कार्तिक १३ गतेसम्म स्थगित भएको छ ।

शनिबार बसेको बैठक नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्व सभापति ८४ वर्षीय ऋषिकेश गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरी सकिएको थियो ।

अब अर्को बैठक कार्तिक १३ गते दिउसो १ बजे बस्ने गरि स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

असोज २८ गतेदेखि शुरु भएको बैठकमा मङ्सिर भित्र नियमित महाधिवेशन गर्ने विषयमा छलफल भइरहेका बेला लामो समयका लागि बैठक स्थगित भएपछि मङ्सिर भित्र महाधिवेशन गर्ने निर्णय हुने सम्भावना कम देखिएको छ ।

Read More

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो ।

बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । 

काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो ।

विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रुपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजा आराधना हुने गर्छ ।

आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा वि सं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रुपमा जडिबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

Read More

आज काग तिहार मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको चाड यमपञ्चक सुरु भएको छ । 

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज आइतबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चक अन्तर्गत काग तिहार परेको छ । समितिले यमदीपदान पनि आजै शुरु हुने जानकारी दिएको छ ।

कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।  यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू भएको छ  । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । 

कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२:५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

त्यस्तै औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४: २९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ । शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइने समितिले जनाएको छ ।

Read More

आज देशभर सफा आकाशको संकेत, पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशभर मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

साथै आज सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

कात्तिकमा ब्याजदर घटाउँदै बैंकहरू, कुन बैंकको कति ?

काठमाडौँ । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार, असोज महिनाको तुलनामा कात्तिकमा बैंकहरूको अधिकतम औसत ब्याजदर घटेको देखिएको छ।

भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ५.४६ प्रतिशतविन्दु रहेकोमा, कात्तिकमा यो घटेर ५.२० प्रतिशतविन्दुमा पुगेको छ। यसरी व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर ०.२६ प्रतिशतविन्दुले घटेको हो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १४ बैंकहरूले ब्याजदर घटाएका छन् भने बाँकी ६ बैंकहरूले असोज महिनाकै दरलाई निरन्तरता दिएका छन्। यस कारण औसत ब्याजदरमा समग्र रूपमा गिरावट आएको हो।

त्यस्तै, बैंकहरूले संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.२२ प्रतिशतविन्दुले घटाएका छन्।

कात्तिक महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक रहेका छन्। यी दुई बैंकले व्यक्तिगत तथा संस्थागत दुबै मुद्दति निक्षेपमा ब्याजदर १ प्रतिशतविन्दुले घटाएका हुन्। नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

Read More

चीनको कम्पनीलाई ५० रुपैयाँका ४२ करोड थान नयाँ नोट छाप्न जिम्मा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त कम्पनीलाई छपाइको जिम्मा दिएको हो।

राष्ट्र बैंकका अनुसार, ५० रुपैयाँका कुल ४२ करोड थान नयाँ नोट छाप्नका लागि उक्त कम्पनीलाई एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइनेछ। नयाँ नोट छपाइका लागि सहभागी कम्पनीहरूमध्ये सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनीलाई जिम्मा दिने निर्णय बैंकले गरेको हो।

यसअघि पनि नेपाल राष्ट्र बैंकले विभिन्न मूल्यका नोट छपाइका लागि विदेशी कम्पनीहरूसँग सम्झौता गर्दै आएको छ। यो सम्झौता अन्तर्गत नयाँ नोट उच्च सुरक्षात्मक गुणस्तरका साथ छापिने र क्रमशः बजारमा ल्याइने बताइएको छ।

Read More

Nepal Rastra Bank

जेनजी आन्दोलनका घाइतेको उपचार खर्च बैंकहरूले सीएसआरबाट बेहोर्ने

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेको उपचार खर्च बैंकहरूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) रकमबाट बेहोर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंकहरुको CSR सम्बन्धी मार्गदर्शन, २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो।

संशोधित मार्गदर्शन अनुसार, जेनजी आन्दोलनमा घाइते भएका गरिब तथा विपन्न नागरिकलाई सरकारी अस्पतालमा उपचार गर्दा आवश्यक औषधि र सेवामा दोहोरो भार नपरोस् भन्ने उद्देश्यले बैंकहरूले सीएसआर कोष प्रयोग गर्न सक्ने भएका छन्।

त्यसैगरी, जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिहरूको परिवारमा प्रत्यक्ष रोजगारी नभएका सदस्यहरूको आय आर्जन क्षमता अभिवृद्धि गर्न बैंकहरूले सीपमूलक तालिममा खर्च गर्न पाउने व्यवस्था गरिएको छ। यसका लागि नेपाल सरकार वा सरकारबाट स्वीकृत तालिम संस्थामा प्रशिक्षणको खर्च बैंकहरूले CSR अन्तर्गत गणना गर्न सक्नेछन्।

Read More

आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । शनिबार क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपालले अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग त्रिकोणात्मक सिरिज खेल्दैछ । एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने यस लिगमा नेपाल हाल १६ खेल खेल्दै १२ अंकसहित सातौं स्थानमा रहेको छ । त्यस्तै युएई १६ खेलमा ६ अंकसहित पुछारमा छ भने अमेरिका २० खेलमा २८ अंक सहित दोस्रो स्थानमा रहेको छ । यस सिरिजको पहिलो खेलमा नेपालले अक्टोबर २६ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

Read More