२०८३ बैशाख १३

लिभरपुलमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई २-१ गोपल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रायन एम्बेउमो र ह्यारी माग्युरेले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि कोडी गाक्पोले एक गोल गरेका थिए ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा म्यानचेस्टर युनाइटेडले २०१६ पछि पहिलो पटक यो जित हासिल गरेको छ ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ८ खेलमा १३ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको भने ८ खेलमा १५ अंक रहेको छ र हाल लिगमा तेस्रो स्थानमा छ ।

Read More

अध्ययन भन्छ- बालबालिकाको जिज्ञासालाई नियन्त्रण होइन, केवल निर्देशन चाहिन्छ

काठमाडौँ । आमाबाबु र शिक्षकहरू प्रायः बच्चाहरूले के सिक्ने भनेर निर्णय गर्न व्यस्त हुन्छन् । तर अब विज्ञानले बालबालिकाको जिज्ञासालाई नियन्त्रण होइन, मार्गदर्शन चाहिन्छ भनेर खुलासा गरिरहेको छ । साइकोलोजी टुडेमा प्रकाशित टोरन्टोको रोटम्यान रिसर्च इन्स्टिच्युटको एक अध्ययन अनुसार, जब बच्चाहरू रुचिपूर्वक कुनै कुरामा संलग्न हुन्छन्, चाहे त्यो चराहरू र तिनीहरूको आवाज पहिचान गर्ने होस्, डायनासोरको नाम कण्ठ गर्ने होस्, वा संगीतमय नोटहरू सिक्ने होस्, तिनीहरूको दिमागले नयाँ जानकारी छिटो अवशोषित गर्ने मात्र होइन तर लामो समयसम्म पनि राख्छ ।

विज्ञहरू बच्चाहरूलाई सिकाउनु भन्दा पत्ता लगाउन दिनु महत्त्वपूर्ण हुने बताउछन्, किनभने जिज्ञासाबाट जन्मेको सिकाइ सबैभन्दा गहिरो र सबैभन्दा स्थायी हुन्छ । अनुसन्धानकर्ता एरिक विङ र उनको टोलीले आफैंले चीजहरू पत्ता लगाउने बच्चाहरूले आत्म-उत्पन्न प्रतिक्रिया उत्पन्न गर्ने मस्तिष्क विकास गर्छन्, जसको अर्थ तिनीहरूले आफैंलाई सिकाउने क्षमता विकास गर्ने बताएको छ । विङ बताउँछन्, जब बच्चाहरूले आफैंले जानकारी सङ्कलन गर्छन्, केवल सम्झने मात्र होइन, चराको फोटो खिचेर, यसको आवाज रेकर्ड गरेर, वा यसको तस्वीर कोरेर, तिनीहरूको दिमाग सक्रिय रूपमा सोच्दछ ।

अनुसन्धानकर्ताहरूले यस विषयको अध्ययन गर्न दुई समूह बनाएका थिए । एउटा, चरा पहिचान, संगीत, वा चित्रकला जस्ता विशेष क्षेत्रमा पहिले नै रुचि भएका बालबालिकाहरू र अर्को, त्यो विषयसँग कुनै सम्बन्ध नभएका बालबालिकाहरू । दुवैलाई नयाँ जानकारी प्रस्तुत गरिएको थियो, जस्तै नयाँ चरा प्रजाति वा अपरिचित आवाजहरू, र तिनीहरूलाई पहिचान गर्न भनियो । नतिजाहरूले इच्छुक बच्चाहरूले नयाँ जानकारी छिटो बुझे र लामो समयसम्म राखे । अर्को समूहले या त यसलाई बिल्कुलै बुझ्न असफल भयो, वा जसले यसलाई बुझ्यो उनीहरूले धेरै समय लिए । यसको निष्कर्ष जब बच्चा भावनात्मक रूपमा कुनै विषयसँग जोडिन्छ, उनीहरूको मस्तिष्क बढी सक्रिय हुन्छ, त्यस दिशामा सिक्ने क्षमता बढ्छ भन्ने थियो ।

जब बच्चाले बारम्बार कुनै विषयमा छलफल गर्छ, तिनीहरूलाई अवरोध नगर्नुहोस्, यसले उनीहरूको आत्मविश्वास र विषयसँगको सम्बन्ध बढाउँछ भन्ने यस अध्ययनको मूल सन्देश खासगरी मातापितालाई रहेको छ । यदि बच्चालाई चराहरूमा रुचि छ भने, तिनीहरूलाई रूखहरू, गुँडहरू, कीराहरू र मौसमको बारेमा जान्न दिनुहोस् । एउटा विषयले स्वाभाविक रूपमा अर्कोतिर लैजान्छ । चीलको तस्वीर कोर्नु, यसको उडान रेकर्ड गर्नु वा पियानोमा यसको आवाज बजाउनु सबैले दिमागमा जानकारीलाई ठोस बनाउन मद्दत गर्दछ । जब बच्चाले चरालाई गलत पहिचान गर्छ, तिनीहरूलाई सच्याउनु अघि तिनीहरूलाई आफैं विश्लेषण गर्ने मौका दिनुहोस् ।

Read More

एम्बाप्पेको गोलमा रियल म्याड्रिडको महत्वपूर्ण जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत गेटाफेलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।  रियल म्याड्रिडको जितमा खेलको ८०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

यस खेलमा एलान नियोम र एलेक्सिस सानक्रिसले रातो कार्ड खाएपछि गेटाफे ९ खेलाडीमा सिमित भएको थियो । 

यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।  रियल म्याड्रिडको ९ खेलमा २४ अंक भएको छ ।  त्यस्तै बार्सिलोना ९ खेलमा २२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।  त्यसैगरी गेटाफेको भने ९ खेलमा ११ अंक रहेको छ र हाल १२औ स्थानमा छ ।

Read More

किन र कसरी खेलिन्छ तिहारमा देउसी-भैलो ?

काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ ।

तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व हो । यसमा काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा र अर्चना गरिन्छ । औशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजा गरिसकेपछी किशोरीहरुले भैलो खेल्ने गर्छ्न् । भोलीपल्ट गोरु-गोवर्धन पूजा गरेपछि देउसी खेल्ने देउसीहरु देउसी गीत गाएर रमाइलो गर्छन । बुढाँपाकाहरु पुरानो भाकाले देउसी भट्याउछ्न् भने युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरि आ-आफ्नै भाकाले देउसी खेल्छ्न् ।

भैलो
समुहमा मिलेर केटीहरूले गाउने गीत भैलो हो जुन तिहारको औशीको दिन लक्ष्मिको पूजा गरिसकेपछी घर घर गएर गाइन्छ । हिमाल, पहाड र तराई भएको देश नेपालको यो एउटा पुरानो संस्कृति पनि हो जसमा किशोर किशोरीहरु जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर  भैलो गीत गाउँछन । यो गीत गाउँदा साधारणत: एक जना मुख्य भैलेनी हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको भैलेनी भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन् । भैलो खेलेको घरवाट दान, सिधा र दक्षिणा दिन्छ्न् । त्यसपछि मुख्य ब्यक्तिले भैलो गीतको अन्तमा घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू भैलो भन्दै गर्छन ।

भैलो गीतको एउटा नमूना यस्तो छ:

भैली गीत
भैलिनी आईन आगन,बढारी कुडारी राखन
हे ! औसी को बारो,गाई तिहारो भैलो
हरियो गोबरले  लिपेको,लक्ष्मी पूजा  गरेको
हे ! औंसीको  बारो,गाई  तिहारो  भैलो
भैलिनी आईन आगन, गुनिया चोलो माँगन
हे ! औसीको बारो, गाई तिहारो भैलो
हामी त्यसै  आएनौँ, बलि राजाले पठाको
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
अरुदिन आउने जोगिनी, आज आउने भैलेनी
हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औंसीको  बारो, गाई तिहारो भैलो
भैलिनी आईन आगन, गुनिया चोलो मागन
हे ! औसीको बारो, गाई तिहारो भैलो
घरबेटी आमा बोल्दै छिन्, सूनको दैलो खोल्दै छिन्
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
छाना माथि घिरैला, के – के दिन्छिन हेरौँला
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
लक्ष्मी पूजाको राती भैलीका मुखमा सन्तोषी
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
यो घरकी आमा कस्ति छिन्, लक्ष्मी माता जस्ती छिन् ।
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
कति दिऊ के दिऊ भन्दैछिन, रुपैया पैसा गन्दै छिन
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
धमीराको ताती, हामीलाई भो राती
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
घोडा बान्ने तवेला, हामीलाई भयो अबेला
हे ! औंसीको बारो, गाई तिहारो भैलो।
दिने भए सिधा देउ, नदिने भए बिदा देउ
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
जसले दिन्छ मानो, उसको सूनको छानो
जसले दिन्छ पाथी, उसको सुनको छात्ती
जसले दिन्छ मूरी, उसको सूनको धुरी ।

आशिष् यसरी पनि दिन्छ्न्:
आहै, भन मेरा संगी हो- भैलेनी, आहै भट्याउनेको- भैलेनी आहै, सोरैमा ढाकी- भैलेनी, आहै रामरी भन्- भैलेनी, आहै, आशिष दिनु- भैलेनी, आहै, यसैमा घरको -भैलेनी, आहै, भडारमा- भैलेनी, आहै लक्ष्मीले – भैलेनी, आहै, बासै गरून्- भैलिनी, आहै ढुङ्गामा छुदा- भैलेनी, आहै, द्रव्य होस- भैलेनी, आहै,  माटोमा छुदा – भैलेनी, आहै अन्न बनोस- भैलेनी, आहै, पानीमा छुदा भैलेनी, आहै तेलमा बनोस – भैलेनी, आहै, यसैमा घरका – भैलेनी, आहै घरबेटी बाबा – भैलेनी, घरबेटी आमा – भैलेनी, लाला र बाला – भैलेनी,  केटा र केटी – भैलेनी, आहै, बरपिपल जस्तै- भैलेनी,आहै,  तपि रहुन – भैलेनी, आहै,  दुवोमा जस्तो – भैलेनी, आहै, मौलाइ रहुन्- भैलेनी, आहै, नाम र किर्ति – भैलेनी, आहै, फैलिमा रहोस- भैलेनी, आहै, यसै घरमा-भैलेनि, आहै, सुख र शान्ति-भैलेनी, आहै, सधैमा रहोस्- भैलेनी……………आहै, लेकको काने- भैलेनी, आहै औलाको माने- भैलेनी, आहै, आशिष दिन- भैलेनी, आहै, यतिकै जाने- भैलेनी ।

यति भनिसकेपछि भैलेनीहरु हाँसी मजाक गर्दै रमाइलो गर्दै फेरि अर्को घरमा भैलो खेल्न जान्छ्न् ।
तिहार नेपालीहरुको एउटा पुरानो साँस्कृतिक पर्व हो । तिहारको हलि तिहार र भाइ तिहारको दिन पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर देउसी गीत गाउँछन र देउसी खेल्छ्न्। रमाइलो गर्छ्न् । खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रङ्श भएर आएको हो भन्ने परम्परागत मान्यता रहेको छ ।

देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले भट्याउनेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, देउसे भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, भनिन्छ। त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

यो गीत गाउँदा साधारणत: एक जना मुख्य:- भट्याउने हुन्छन् र मण्डली समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसिरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन ।

देउसी गीत
देउसी टोलीको मुख्यले भन्छ – “आहै झिलिमिली झिलिमीली”
मण्डली समूह: देउसिरे !
भट्याउने: “आहै के को झिलिमीली”
मण्डली समूह – देउसिरे!
भट्याउने”आहै फूलको झिलिमिली”
समूह – देउसिरे!
भट्याउने:”आहै बत्तीको झिलिमिली”
समूह – देउसिरे!
भट्याउने:”आहै, भन मेरा भाइ हो”
समूह – देउसिरे!
भट्याउने ” हे राम्ररी भन”
समूह – देउसिरे!
भट्याउने – “आहै,स्वर मिलाई भन”
समूह – देउसिरे!
भट्याउने “आहै, भन न भन”
समूह – देउसिरे!
भट्याउने “आहै देउसीरे खेल्न”
समूह: देउसिरे!
भट्याउने”आहै आएका हामी”
समूह: देउसिरे!
भट्याउने:”आहै,बर्षमा दिनको”
समूह – देउसिरे!
भट्याउने:आहै,चाड र वाड”
समूह – देउसिरे!
भट्याउने:”आहै,मनाउन भनी”
समूह – देउसिरे!
भट्याउने:आहै आएका हामी”
समूह – देउसिरे!
भट्याउने:”आहै रातो माटो”
समूह – देउसिरे!
भट्याउने:”आहै, चिप्लो बाटो “
समूह – देउसिरे!
भट्याउने:”आहै, लड्दैमा पढ्दै “
समूह – देउसिरे!
भट्याउने:”आहै, आएका हामी”
समूह – देउसिरे!
भट्याउने:”आहै, भनभन भाइ हो”
समूह – देउसिरे!
भट्याउने:”आहै, राम्ररी भन “
समूह – देउसिरे!
भट्याउने:आहै, तीन दिन तिहार”
समूह – देउसिरे!
भट्याउने:”ए, पाँच दिन पन्चक”
समूह – देउसिरे!
भट्याउने:”मनाउनैं पर्छ”
समूह – देउसिरे!
भट्याउने:आहै, हामी त्यसै”
समूह – देउसिरे!
भट्याउने: “आहै,आएका हैनौ”
समूह – देउसिरे!
भट्याउने:बलिराजाले पठाएको”
समूह – देउसिरे!
भट्याउने:”आहै, भन मेरा भाइ हो”
समूह – देउसिरे!
भट्याउने: ” हे राम्ररी भन”
समूह – देउसिरे!
भट्याउने:”आहै,आखाम बाखम”
समूह – देउसिरे!
भट्याउने:”सेलरोटि चाखम”
समूह – देउसिरे!
भट्याउने:आहै, भन मेरा भाइ हो”
समूह – देउसिरे!

यस्तै प्रक्रिया चल्दै गएपछि देउसी खेल्न गएको घरबाट नाङ्लोमा दियो, कलस, फूल, अगरबत्ती, चामल, रुपैया पैसा, सेलरोटी, फलफूल आदि विभिन्न प्रकारका चीजहरु ल्याएर आँगन वा कौसीमा राखि दिन्छन् ।

मुख्य ब्यक्ति लगाएत देउसे त्यसैको वरिपरि घुम्दै देउसी खेल्दै नाँच्छन्। देउसिको मुख्य ब्यक्ति भट्याउनेले गएको घरका सबै जनालाई देउसी गीतबाटै शुभकामना र आशिस दिन्छ र समुहका अरु मान्छेहरू देउसुरे देउसुरे भन्दै गर्छ्न् । र दक्षिणा फलफूल सेलरोटी आदि लिएर देउसे अर्को घरतिर लाग्छ ।

तिहार सांगीतिक तथा झिलीमिलीको पर्व पनि हो । यतिबेला नाचगान गर्ने परम्परा छ । रमाइलो त के भने तिहारको आफ्नो विशिष्ट देउसी -भैलो गीत छ । त्यसलाई पेश गर्ने कौसल पनि आफ्नै किसिमको छ । आफ्नै भाका र लय छ । तिहारको अझ भनौ गाईतिहारको दिन लक्ष्मी पूजीसकेपछी महिलाहरु घर-घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्दै भैली खेल्छ्न् ।

तिहारको गोरु तिहार र भाइटीका का दिन खासगरी पुरुषहरूले देउसी खेलेर खुव रमाइलो गर्छ्न्। भाइटिकाको दिन दिदिबहिनीले दाजुभाइलाई निधारमा सप्तरङी टीका र फूलको माला लगाउँदै आशीर्वाद दिन्छ्न् । यसरी तिहारले प्रकृति पूजा, प्राणीहरुको पूजा गरि एक आपसी मेलमिलाप, सद्भाव, माया, प्रेम, स्नेहको पर्वको रुपमा भब्य रुपले मनाइन्छ ।

Read More

विपिन जोशीको शव आज दिउसो नेपाल आइपुग्ने

काठमाडौँ । विपिन जोशीको शव आज दिउसो नेपाल आइपुग्ने भएको छ । इजरायलले आइतबार औपचारिक रुपमा बिदाइ गर्दै विपिनको शव नेपाल पठाएको हो ।  

परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव आज दिउँसो साढे दुई बजे  काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अपर्णको कार्यक्रम राखिएको छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने बताइएको छ ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमति अनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि इजरायली सेनाले आज नेपाल फर्काउने तयारी गरेको हो । इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको बताएको छ ।

Read More

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइदै

काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११७ औं जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाईंदै छ । आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै हरेक वर्षको नेपालसँगै भारतका विभिन्न भुभाग र नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।

विसं १९६६ साल कात्तिकको औंशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए । तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डका समेत एक प्रमुख सदस्य हुन् ।

देवकोटाका चर्चित कृतिहरुमा ‘भिखारी’ कविता संग्रह, ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्यलगायतका छन् । ‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य पनि चर्चित कृतिका रुपमा रहेको छ । 

विज्ञान विषयमा प्रमाणपत्र अध्ययन पूरा गरेपछि मानविकी सङ्कायमा सरेर अंग्रेजीमा स्नातकोत्तर अध्ययन गरेका उनीलाई चर्चित भने नेपाली साहित्यले गरायो । नेपाली साहित्यमा नयाँ प्रयोगसँगै एक मूर्धन्य साहित्यकारको छवि बनाएका हुन् । काठमाडौंमा त्यतिबेला मध्यम परिवारमा जन्मिएका लक्ष्मीप्रसाद देवकोटा लक्ष्मी पूजाको दिन नै जन्मिएकोले उनलाई लक्ष्मीको प्रसादको रुपमा मानेर नाम नै लक्ष्मी प्रसाद राखिएको हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राणा शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेल समेत परेका थिए । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री पनि बनेका थिए । अहिले उनी जन्मिएको घरलाई सरकारले संग्रहालयको रुपमा विकास गरेको छ ।

Read More

एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध

काठमाडौं । एस्टन भिल्लाले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा मोर्गन रोजर्स र एमी बुएनडियाले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि एक गोल रोड्रीगो बेनटानकरले गरेका थिए ।

यो जितपछि एस्टन भिल्लाको ८ खेलमा १२ अंक भएको छ र ११औं स्थानमा उक्लिएको छ । त्यस्तै टोटनह्यामको भने ८ खेलमा १४ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ ।

Read More

आज तिहारको कुकुरतिहार र लक्ष्मीपूजा मनाइदै

काठमाडौँ । आज तिहार पर्व अन्तर्गत ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मीपूजा दीपमालिका परेको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । 

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । 

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् बताउछन् ।

मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित कुकुरमा समर्पित आजको दिन अर्थात् कुकुरलाई पुजिने दिन हो । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्त्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ । आज कुकुरलाई माला लगाएर उसलाई मनपर्ने खान खुवाएर पुजा गरिन्छ । 

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।   लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको छ ।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

Read More

भारतलाई हराउदै इङल्याण्ड महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा

काठमाडौं । इङल्याण्ड जारी महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

आइतबार राति सम्पन्न खेलमा इङल्याण्डले भारतलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

इङल्याण्डले दिएको २८९ रनको लक्ष्य पछाएको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनाएको थियो । यसअघि इङल्याण्डले पहिला ब्याटिंग गरेर ५० ओभरमा ८ विकेट गुमाउदै २८८ रन बनाएको थियो ।

योसँगै इङल्याण्डको ५ खेलमा ९ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । इङल्याण्ड अस्टेलिया र दक्षिण अफ्रीकासँगै सेमिफाइनलमा पुगेको छ ।  त्यति भारतको भने ५ खेलमा ४ अंक रहेको छ र चौथो स्थानमा रहेको छ । 

अब विश्वकप अन्तर्गत आज श्रीलंका र बंगलादेशबीच हुदैछ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही, बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More