२०८३ बैशाख १३

जाँचबुझ आयोगका अध्यक्ष र सदस्यविरूद्ध सर्वोच्चमा रिट पेस

काठमाडौं । सरकारले जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यहरूविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरूद्ध अधिवक्ता विपिन ढकालले रिट पेस गरेका हुन् । आयोगका पदाधिकारीलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट पेस भएको तर दर्ता भने भएको छैन । 

रिट निवेदकलाई सोमबार बोलाइएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । रिटमा आयोगका पदाधिकारी पूर्वाग्रही देखिएको र जाँचबुझको विषयवस्तुबारे तटस्थ नभएकाले समितिमा बस्न नमिल्ने दाबी गरिएको छ । 

जेनजी आन्दोलनपछि गत असोज ५ गते बसेको मन्त्रिपरिषदले आन्दोलनकाक्रममा भएको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनका विज्ञ विश्वेश्वरप्रसाद भण्डारी रहेका छन् । आयोगको कार्य अवधि तीन महिना रहेको छ ।

Read More

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

फिफाको वरियतामा नेपाल ८९औं स्थानमा छ भने भारत ६३औं स्थानमा रहेको छ । नेपालले यसअघि भारतसँग १८ खेल खेलेको छ । जसमा नेपालले २ खेल मात्र जितेको छ भने ५ खेल बराबरी खेलेको छ । त्यस्तै ११ खेल भारतले जितेको छ ।

नेपालले यसअघि खेलेको इरानविरुद्धको मैत्रीपूर्ण खेल ३-० ले हारेको थियो । 

मैत्रीपूर्ण खेलका लागि एन्फाले सावित्रा भण्डारी साम्बाको कप्तानीमा २३ सदस्यीय टिम भारत पुगेको छ ।

नेपाली महिला फुटबल टिम:

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।
डिफेन्डर:  निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर र हिरा कुमारी भुजेल ।
मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र  दीपा शाही ।
फरवार्ड:  रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी ।

Read More

आज छठको मुख्य दिन: सूर्यको आराधना, उपासना र पूजा गरी मनाइँदै

काठमाडौँ । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।

आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको हुन्छ । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ वत्र बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ ।

रानीपोखरीमा उल्लासपूर्वक मनाउने गरिएको यो पर्व भूकम्पयता गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, वाग्मती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाउन थालिएको छ । यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ ।

सूर्य पुराणअनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूया छठ व्रत बस्नुभएको थियो । फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको धार्मिक विश्वास छ । छठमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने चलन छ ।

Read More

एल क्लासिकोमा बर्सिलोनामाथि रियल म्याड्रिडको जित

काठमाडौँ । रियल म्याड्रिडले ला लिगाको एल क्लासिको जितेको छ । रियल म्याड्रिडले आइतबार राति सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र जुड बेलिङघमले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ५२औ मिनेटमा रियल म्याड्रिडले पाएको पेनाल्टी एम्बाप्पेले मिस गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल फेर्मिनो लोपेजले गरेका थिए । 

त्यसैगरी खेलको ९० मिनेटपछिको इन्जुरी समयमा बार्सिलोनाका पेड्रीले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए ।

यो जितपछि ला लिगाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडले आफ्नो अग्रता बढाएको छ । रियल म्याड्रिडको १० खेलमा २७ अंक भएको छ र बार्सिलोनाभन्दा ५ अंकले अगाडी भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोनाको १० खेलमा २२ अंक रहेको छ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ । विभागले हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज देशभर आंशिक बदली रहने छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आज राती बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ भने गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै विभागले कार्तिक ११ गते (मंगलबार)  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।

Read More

२०८२ कार्तिक १० गते सोमबार: आजको राशिफल

आज कार्तिक १० गते सोमबार ई.सं. २०२५ अक्टोबर २७ नेपाल सम्बत ११४६ कछलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष पञ्चमी, चन्द्रमा धनु राशिमा,  मूल नक्षत्र, अतिगण्ड  योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६: ११ बजे र सूर्यास्त साँझ ५ बजेर २६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५४ मिनेट देखि ०८ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आज छठ पर्वको मुख्य दिन रहेको छ ।  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
विपरीत लिङ्गीहरूसँग उठबस हुने वा कुनै विशेष सहयोग पाउन सक्नुहुन्छ, किनमेलका क्षेत्रबाट पनि लाभ हुनेछ, सँगीसाथीले पूणर्रूपेण सहयोग गर्नेछन् । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन । जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठीक हुन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । मन प्रेमिल बन्ने समय हो । नयाँ-नयाँ विषय र काम प्रति जागरुकता बढ्नुका साथै रचनात्मक र सीपमूलक काममा सफलता मिल्नेछ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु-दिदी वा गुरु-गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूणर् काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूणर्ता पाउने समय हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
अभिव्यक्तिगत कलात्मकता एवं आन्तरिक प्रतिभा प्रस्फुटन हुने राम्रो समय छ, वौद्धिक क्षेत्र, प्रकाशन वा एजेन्सीसम्बद्ध काम गर्नेले फाइदा लिने र इज्जत कमाउने दिन हो । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ । बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
कठोर र क्रूर निणर्य लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । गलत क्रियाकलाप वा पूरा हुन नसक्ने महत्त्वाकाङ्क्षी काममा सरिक नहुनु होला । आत्मज्ञान, धैर्यता र संयमता आजका मित्र हुन् भन्ने बुझ्नुपर्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
कुनै प्रस्तावउपर विचार-विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । कामधन्दामा सहजताको अनुभूति हुनेछ, घरपरिवारमा पनि समझदारी रहने छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ । दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नति-प्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश÷परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ ।

Read More