२०८३ बैशाख १३

आज विश्व स्ट्रोक दिवस मनाइदै

काठमाडौँ । आज विश्व स्ट्रोक दिवस । मानिसलाई मस्तिष्कघात (स्ट्रोक) बारे सचेत गराउने र रोकथामका उपायबारे ध्यानाकर्षण गराउने उदेश्यले हरेक वर्ष अक्टोबर २९ तारिखका दिन जनचेतनामुलक कार्यक्रम गरेर मनाइन्छ ।

यस वर्षको विश्व स्ट्रोक दिवसको नारा ‘एभ्री मिनेट काउन्ट’ अर्थात ‘हरेक मिनेट महत्वपूर्ण छ’ भन्ने रहेको छ ।

अहिले नेपाल लगायत विश्वमा नै मस्तिष्कघातको समस्या बढ्दो गतिमा छ । व्यक्तिको आयु लम्बिरहेको वर्तमान अवस्थामा मस्तिष्कघातको समस्या पनि त्यही गतिमा बढिरहेको छ । खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण यो समस्या युवा उमेरका व्यक्तिहरुमा पनि देखिएको छ । केही बच्चाहरुलाई वंशाणुगत कारण मस्तिष्कघात हुने गर्छ । जन्मजात मस्तिष्कको नशा सुन्निएको वा राम्रोसँग नशाको विकास नभएका बच्चाहरुलाई मस्तिष्कघात हुने सम्भावना रहन्छ ।

पक्षघात हुने कारण थुप्रै हुन्छन । उच्च रक्तचाप बढ्नाले मस्तिष्कमा आघात पुग्छ, जसले गर्दा मस्तिष्कघात हुने सम्भावना रहन्छ । मुटु रोगी, मधुमेही, धुम्रपान, मोटोपना, अस्वस्थ्यकर खानपान र जीवनशैली आदि कारणले मस्तिष्कघात हुने सम्भावना रहन्छ ।

यसका प्रमुख लक्षणमा रिंगटा लाग्ने, मुख बाङ्गिने, हातखुट्टा नचल्ने, एक्कासी एउटा हात लुलो हुने, बोली लरबराउने वा स्वरै गुम्ने, दृष्टिमा अचानक समस्या उब्जिने र कुरा बुझ्न अप्ठयारो हुने जस्ता रहेका छन् ।

विश्वमा हरेक बर्ष एक करोड २० लाख मानिसलाई मस्तिष्कघात हुने गर्दछ । विश्वभरको आँकडालाई हेर्दा करिब ४ मध्ये एक जनाले २५ बर्षको उमेरपछि जीवनमा एक पटक मस्तिष्कघातबाट प्रभावित हुने गर्दछन । मस्तिष्कघातबाट हरेक बर्ष विश्वभर करिब ७० लाख मानिसको मृत्यु हुने गर्दछ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान, तिन प्रदेशमा चक्रवात ‘मोन्था’ को प्रभाव

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली, बागमती र कोशी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भई रहेको छ ।

विभागले  आज बिहानसम्म गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै विभागले कार्तिक १३ गते बिहीबार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानरूमा मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको जनाएको छ । त्यस्तै मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तिन प्रदेशमा  चक्रवात ‘मोन्था’ को प्रभाव

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालका कोशी, मधेश र बागमती प्रदेशमा असर देखिने बताएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको विभागले जानकारी दिएको छ ।  उक्त प्रणालीको प्रभावबाट मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रभावित हुनेमा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला रहेका छन् भने मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी जिल्ला रहेका छन् । त्यस्तै बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्ला रहेको विभागले जानकारी दिएको छ ।

Read More

२०८२ कार्तिक १२ गते बुधबार: आजको राशिफल

आज कार्तिक १२ गते बुधबार ई.सं. २०२५ अक्टोबर २९ नेपाल सम्बत ११४६ कछलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष सप्तमी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, धृति योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६: १२ बजे र सूर्यास्त साँझ ५ बजेर २४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ५४ मिनेट देखि ०८ बजेर ३२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आज आज विश्व स्ट्रोक दिवस रहेको छ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । आफ्ना उद्देश्य परिपूर्तिका लागि धनखर्च गर्न मन हौसिने दिन हो । मनपर्ने वस्त्रालंकार, उपकरण र सांसारिक सुखसुविधाको सौख जाग्नेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । लो ब्लडप्रेसरको समस्या छ भने स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ, त्यस्तै कुनै शङ्काले पिरोलेको छ भने विश्वस्त व्यक्तिसामु आफ्ना कुरा राख्नु ठीक हुनेछ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूणर् गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ, मिहिनेतको परिणाम पनि राम्रै रहनेछ, बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्नसक्छ । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
भोगविलासका सरसामाग्रीको जोहो गर्ने इच्छा जाग्नेछ, त्यस्तै आज मनोरञ्जनात्मक र उच्छृङ्खल क्रियाकलापमा नजानिंदो आकर्षण बढ्ने दिन हो । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ÷लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । बोलीमा सामर्थ्य भएको दिन हो । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ । आँखाको सङ्केत र हाउभाउद्वारा पनि व्यवहार गर्ने परिस्थिति बन्नसक्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । साथीभाइ, संघसङ्गठन, राजनैतिक क्षेत्र वा प्रशासनिक कामकाजमा झुकाव बढ्ने वा सहभागी बन्नुपर्ने समय हो । बाहिर अलमलिनाले कार्यक्षेत्रमा असर पर्नसक्छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखापर्नसक्छ । प्राविधिक विषयवस्तु र आधुनिकतम ज्ञानका क्षेत्रमा सक्रियता जनाउने समय छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ ।

Read More