२०८३ बैशाख १३

प्रधानमन्त्री कार्कीको काँग्रेस महामन्त्रीद्वय थापा र शर्मासँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरुसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै सन्दर्भमा शनिबार प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन् ।

शनिबार दिउँसो ४ देखि ५ बजेको बीचमा करिब एक घण्टा चलेको छलफलका क्रममा आगामी निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बताए ।

प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन् । त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भए तापनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ । अब चाँडै निर्णय पनि गर्छौँ । नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ । एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ ।’

उनीहरुले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरुसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताए । जेनजीलगायत सबै राजनीतिक दलहरुसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी छन् । आज पार्टीको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको छ।

प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरुसँग छलफल गरेकी थिइन् । 

प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको छ।

Read More

जनार्दनको शैली कसैलाई मनपरेको छैन- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माको शैली कसैलाई मननपरेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रको सचिवालयको बैठकपछि प्रतिक्रिया दिदै प्रचण्डले बैठक राम्रोसँग चलिरहेको बेला आफ्ना धारणा राखेर बाहिरिएको बताउदै उनको शैली कसैलाई मननपरेको बताएका हुन् ।

उनले केन्द्रीय कमिटीको बैठकसम्म जनार्दन पनि सहमतिमा आउने दाबि गर्दै उनको आरोप अराजक भएको बताएका छन् ।

पेरिसडाँडामा भएको सचिवालय बैठकमा जनार्दन शर्माले आफ्नो धारणा राख्दै एकीकृत समाजवादीसँगको एकताले पार्टीलाई असर गर्ने बताएका थिए । बैठकबाट बाहिरिदै उनले आन्तरिक एकता बलियो नबनाएर अन्य दलसँगको एकता गर्न नहुने पक्षमा आफु रहेको बताएका थिए ।

Read More

एकीकृत समाजवादीसँगको एकताको विपक्षमा उभिए जनार्दन शर्मा

काठमाडौं । चुनाव अघि पार्टी एकताको अभियानमा रहेका कम्युनिष्ट पार्टीहरुमा बबण्डर मच्चिएको छ । माओवादी केन्द्रसँगको एकताको निर्णय गरेको एक्रिकृत समाजवादी फुटने निश्चित भएको छ भने अब माओवादी केन्द्रमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने अवाज उठेको छ ।

शनिबारको माओवादीको सचिवालय बैठकमा जनार्दन शर्माले एकीकृत समाजवादीसँग गर्न लागिएको एकताप्रति आपत्ति जनाएका छन् । पेरिसडाँडामा बसेको सचिवालय बैठकमा शर्माले माओवादी आन्दोलनको पहिचान मेट्नेगरी एकता गर्न नहुने भन्दै एकता प्रक्रिया तत्काल रोक्नुपर्ने धारणा राखेका हुन् ।

बैठकबाट बाहिरिँदै शर्माले आफुले केन्द्रीय कमिटीको बैठकमा कस्तो प्रस्ताव आउछ भन्ने आफुले हेर्ने बताउदै पार्टीमा आन्तरिक एकतालाई सुदृढ नगरी अन्य दलसँग एकता गर्न नहुने आफुले धारणा राखेको बताएका छन् ।

Read More

युनेस्कोद्वारा ललितपुर महानगरलाई ‘संगीतको रचनात्मक शहर’ घोषणा

काठमाडौँ । ललितपुर महानगरपालिकालाई युनेस्को संगीतको रचनात्मक शहरको रूपमा घोषणा गरेको छ ।

विश्व शहर दिवस २०२५ को अवसरमा ललितपुर महानगरलाई ‘संगीतको रचनात्मक शहर’ घोषणा गरेको युनेस्कोको काठमाडौँस्थित कार्यालयले जानकारी दिएको छ । 

युनेस्कोले घोषण गर्दै भनेको छ- ‘यो प्रतिष्ठित सम्मानले हाम्रो शहरको जीवन्त सांगीतिक सम्पदा र दिगो सहरी विकासको आधारको रूपमा सृजनशीलतालाई अगाडि बढाउने अटूट प्रतिबद्धतालाई मान्यता दिएको छ । यो ललितपुरका प्रत्येक बासिन्दा र संगीतकारका लागि एक ऐतिहासिक उपलब्धि हो र सम्पूर्ण नेपालका लागि ठूलो गर्वको क्षण हो !’

नेपालमा अब दुई युनेस्को रचनात्मक शहरहरु भएका छन्: फिल्मको लागि काठमाडौं महानगरपालिका र अब, संगीतको लागि ललितपुर महानगरपालिका ।

सन् २००४ मा सुरु भएको युसीसीएनले दिगो सहरी विकास (आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षहरूमा) को लागि सृजनशीलतालाई मुख्य रणनीतिको रूपमा प्रयोग गर्ने शहरहरूलाई जोड्ने काम गरिरहेको छ । यस सञ्जालमा रहेका शहरहरू उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न, सांस्कृतिक उद्योगहरूलाई प्रवर्द्धन गर्न र संयुक्त राष्ट्र संघको २०३० एजेन्डा फर सस्टेनेबल डेभलपमेन्ट लाई समर्थन गर्न प्रतिबद्ध छन् । यस सञ्जालले संगीतसहित आठ रचनात्मक क्षेत्रहरूलाई समेटेको युनेस्कोले जनाएको छ ।

Read More

एमालेको महाधिवेशन स्थल परिवर्तन, काठमाडौँमै गर्ने सचिवालयको निर्णय

काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनको स्थान परिवर्तन गर्दै काठमाडौँमै गर्ने निर्णय गरेको छ ।

यसअघि पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले अब काठमाडौंमा महाधिवेशन गर्नेगरी निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । ज्ञवालीले महाधिवेशन भने पूर्वनिर्धारित मिति मङ्सिर २७ देखि २९ सम्म हुने बताए ।

त्यस्तै बैठकले महाधिवेशनका लागि चुनिने प्रतिनिधिका बारेमा एमालेका ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट एकै दिन देशभर मङ्सिर १३ गते शनिबार गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि चयनका लागि संघीय निर्वाचन क्षेत्रलाई आधार मान्दै एक निर्वाचन क्षेत्रमा १२ सय सदस्य बराबर २ जना खुला, एक जना महिला र एक जना ४० बर्ष मुनिका युवा गरि ४ जना प्रतिनिधि निर्वाचित हुने र त्यसपछि थपिने ८०० सदस्यमा एक प्रतिनिधि चयन गर्ने ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा कम्तिमा एक तिहाई महिला प्रतिनिधि सुनिस्चित गर्ने बताएका छन् ।

ज्ञवालीले महाधिवेशनका लागि करिब २१ सय प्रतिनिधि चयन गरिने जानकारी दिएका छन् ।

Read More

एकीकृत समाजवादी फुट्ने निश्चित, खनाल र भुसाल पक्ष छलफलमा जुट्यो

काठमाडौँ । नेकपा एकीकृत समाजवादी फुट्ने निश्चित भएको छ । सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षले शनिबार सुकेधारामा भेला गरेर नयाँ दल गठनको प्रक्रियामा जाने शुरुवात गरेसँगै एकीकृत समाजवादी फुट्ने निश्चित भएको हो ।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने प्रस्ताव पारित गरेपछि असन्तुष्ट रहेका नेता खनाल र भुसालसहितका नेताहरु अलग बाटोमा जाने तयारी गरेका हुन् । 

भेलामा सम्मानित नेता खनालसहित वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायतका नेताहरु सहभागी भएका छन् ।

यस समुहले छिट्टै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने र नयाँ दल गठनको प्रक्रिया शुरु गर्ने तयारी गरेको छ ।

यसैबीच यो समुह नेकपा एमालेमा फर्किन सक्ने समेत अड्कलबाजी भएका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्किन आव्हान गरेको प्रति नेता खनालले सकारात्मक प्रतिक्रिया दिएका छन् । आजको भेलामा जाने क्रममा प्रतिक्रिया दिदै घर फर्किने वातावरण बनाएमा जान कुनै समस्या नरहेको बताएका छन् । उनले घरमा बस्ने ठाउ बनाउनु पर्यो भन्ने सन्देश एमालेलाई दिएका छन् ।

Read More

तान्जानियाली राष्ट्रपति हसन फेरि निर्वाचित भएको घोषणा

काठमाडौँ । तान्जानियाली राष्ट्रपति सामिया सुलुहु हसनले फेरि एक पटक राष्ट्रपति चुनाव जितेकी छिन् । तान्जानियामा केही दिनदेखि चलिरहेको अशान्तिको बीचमा यो नतिजा आएको हो ।

तान्जानियाली निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत ल्याएर विजयी भएको घोषणा गरेकी हुन् । निर्वाचन आयुक्तले चुनावमा देशका ३७.६ मिलियन दर्ता मतदातामध्ये ८७ प्रतिशत अर्थात् ३ करोड २० लाखले मतदान गरेको बताएका छन् । यीमध्ये सामियाले ९७.६६ प्रतिशत अर्थात् लगभग ३ करोड १९ लाख मत प्राप्त गरेकी छिन् । 

चुनावको नतिजा पछि, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनावको पारदर्शिता र देशभर फैलिएको हिंसाको बारेमा चिन्ता व्यक्त गरेका छन् । हालै, चुनावको पारदर्शितालाई लिएर देशका धेरै भागहरूमा हिंसा भड्किएको छ । सयौं मानिसहरू मारिएको र सयौं घाइते भएको बताइएको छ ।

राष्ट्रव्यापी इन्टरनेट बन्दका कारण हताहतको वास्तविक संख्या पुष्टि गर्न पनि गाह्रो छ । सरकारका विपक्षीहरूले सरकार हिंसाको मात्रा कम गर्न खोजिरहेको बताएका छन् । विपक्षी नेताहरुले प्रदर्शनमा भएको सरकारी दमनमा पाँच सय भन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । स्थिति नियन्त्रण गर्न प्रशासनले कर्फ्यू लगाएको छ।

Read More

सरकार स्टन्टको नाटकमा व्यस्त, मन्त्रीहरू गिरोह मार्फत धम्की दिदैछन: एमाले नेता आचार्य

काठमाडौं । नेकपा (एमाले) का नेता नीरज आचार्यले सरकारमा बसेका मन्त्रीहरुले स्टन्ट गरेको र गिरोह सञ्चालन गरेर दलहरुलाई धम्की दिएको भन्दै आलोचना गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता आचार्यले सरकार निर्वाचनको वातावरण बनाउनतर्फ उद्धत नभएको आरोप लगाए ।

उनले भने,‘यो चुनाव चुनाव भनेर ज्ञानेन्द्र शाहले २०६२ सालको माघमा गराईएको मोडलको चुनावको सपना नदेखियोस । त्यो कोशिस नगरियोस । चुनाव लोकतन्त्रलाई ट्रयाकमा ल्याउनको लागि सबै दलहरुलाई सहज ढंगले, शान्तिपूर्ण ढंगले भाग लिने विधि अपनाईयोस । सबै जनताले भयरहित तरिकाले निर्वाचनमा भाग लिने परिपाटी निर्माण गरियोस । शान्ति, सु–व्यवस्था र सुरक्षा कायम गरियोस । निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण सरकारले बनाओस । सरकारमा बसेर स्टन्ट गरेर, सरकारमा बसेर सरकारका जिम्मेवार मन्त्रीहरुले गिरोह सञ्चालन गरेर गिरोहरुमार्फत दलहरुलाई धम्की दिएर शान्तिपूर्ण निर्वाचन सम्पन्न हुन सक्दैन ।’

उनले निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण बनाए दलहरु निर्वाचनमा भाग लिन तयार रहेको बताए । तर, सरकार त्यस दिशामा नभई गिरोह सञ्चालन गरेर दलहरुलाई धम्की दिन उद्धत रहेको भन्दै यसरी शान्तिपूर्ण निर्वाचन सम्पन्न नहुने उनको चेतावनी छ ।

उनले अहिले मुलुक अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताए । उनले भने,‘हामी आज अत्यन्तै अप्ठ्यारो परिस्थितमिा छौं । देश चौतर्फी संकटको भूमरीमा छ । कसरी निकास दिने भन्ने सन्दर्भमा छलफल केन्द्रित गरेका छौं ।’ भदौ २३ र भदौ २४ गते जेनजी पुस्ताले सुरु गरेको आन्दोलनको उठान र बैठानमा ठूलो उतारचढाव देखिएको पनि आचार्यले स्मरण गराए । उनले भने,‘भदौ २३ गतेको जेन–जीको आन्दोलनमा विहान ११ बजेसम्म शान्तिपूर्ण प्रदर्शन थियो । भ्रष्टाचारको अन्त्य, सुशासन कायम गर्ने, र बन्द गरिएका सामाजिक सञ्जाल खोल भनिएको थियो । तर, आन्दोलन हाईज्याक गरियो ।’

उनले अहिले जेन–जीको टाउकोमा स्वार्थ समूहले आ–आफ्ना मागहरु जेनजीको माग भन्दै उनीहरुको टाउकोमा थोपर्ने काम गरेकोमा आलोचना गरे । उनले भने,‘जेन–जी पुस्ताको टाउकोमा अहिले जे जे माग चाहिएकोहरुले जेनजीको माग भनेर झोस्ने काम गरियो । शान्तिपूर्ण प्रदर्शन हाईज्याक गरेर संसद् भवनमा हमला गर्ने र गोली काण्ड मच्चाउने, हत्याकाण्ड मच्चाउने परिस्थिति भयो, त्यो अत्यन्तै खेदजनक छ । आन्दोलन हाईज्याक भयो भनेर आन्दोलनमा आएकाहरुलाई घर फर्कनको लागि आह्वान गरेका थिए । म तिनीहरुलाई धन्यवाद भन्न चाहन्छु ।’

आफ्नो पुस्तापनि संघर्षबाट आएको स्मरण गराउँदै आचार्यले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको लागि ठूलो योगदान गरेको सुनाए । उनले भने,‘हामी पनि संघर्ष गरेर आएका व्यक्ति हौं । गणतन्त्रको स्थापना गर्न र राजतन्त्रको अन्त्य गर्न लडाईं लडेर आएको हो । हाम्रो पुस्ता पनि किशोर अवस्था आन्दोलनमा बिताएको पुस्ता हो । हाम्रो पनि जेनजी पुस्ताप्रति लगाव छ । संविधानलाई घाईते बनाउनेदेखि, संसद् विघटन गर्नसम्मलाई जेनजी आन्दोलनको माग भनियो । अहिले त नेता फेर भनियो । यो त जेनजीको माग थिएन ।’

सो क्रममा उनले हिजोमात्रै प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँग गरेको अन्तरक्रियाको क्रममा कांग्रेस, एमाले र माओवादीको नेतृत्वलाई विश्राम लिन दिएको सुझावको सन्दर्भमा पनि आलोचना गरे । उनले भने,‘हिजो प्रधानमन्त्रीले सम्पादकहरुसँगको सम्वादमा देउवा, ओली र प्रचण्डको मुख हेर्न चाहँदिनँ भन्नुभयो भन्ने कुरा आयो, यो अभिव्यक्ति खेदजनक छ । उहाँको जिम्मेवारी त्यो हाईन ।’

उनले वर्तमान सरकारसँग फागुन २१ गते चुनाव सम्पन्न गर्ने, भदौ २३ र २४ गतेको घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक छानबिन गर्ने र शान्ति सुव्यवस्था कायम गर्ने मुख्य म्याण्डेट रहेको सुनाए । उनले भने,‘सरकारको काम स्टन्ट गर्ने होईन । दलहरुतिर औंला तेर्साईएको छ । दलहरुलाई उपेक्षा गरेर वा नियन्त्रण गरेर, उनीहरुको भूमिकालाई समाप्त गरेर निर्दलीय चुनाव गराउने खोजेको हो ? नेताहरुलाई स्थानहद गरेर, पासपोर्ट रोक्का गरेर चुनाव हुन्छ ? सरकारका मन्त्रीहरुले स्टन्ट गरेर चुनाव सम्भव छ त ?’

उनले चुनावको वातावरण बनाउने काम सरकारको भएको भन्दै वातावरण बनाए दलहरुले चुनावमा भाग लिने स्पष्ट पारे । उनले भने,‘चुनावमा जान हामीलाई कुनै अप्ठ्यारो छैन । तर, शान्तिपूर्ण तवरले यो सरकारले चुनाव गराउन सक्छ त ? अहिले सरकार त्यो वातावरण बनाउन तयार छैन । आन्दोलनमा लुटिएका हतियार अहिलेपनि फिर्ता भएका छैनन् । हजारौं थान गोलीहरु फिर्ता ल्याउन सकिएको छैन । कैदीबन्दीहरु फरार छन् । प्रहरीको मनोबल कमजोर छ ।’

सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिन गर्न एमाले तयार रहेको पनि आचार्यको भनाई छ । २०४६ साल यता, वा ६३ यता जहिलेदेखि गरेपनि सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानविन गर्न एमाले तयार रहेको उनको भनाई छ ।

उनले दलमा नेतृत्व पुस्तान्तरण हुनुपर्ने कुराको स्वागत गरे । उनले भने,‘दलमा याँ कार्यक्रम, विचार र दृष्टिकोण आउनुपर्छ । दलहरुले नयाँ पुस्तालाई प्रवेशको बाटो बनाउनुपर्छ । पूरानालाई बहिर्गमनको एक्जिट प्वोईन्ट बनाउनुपर्छ । हामीले त यसबारेमा नीति र विधान महाधिवशेनमा पर्याप्त छलफल गरेका छौं । नेतृत्व मूलतः पहलकदमी र प्रतिष्पर्धाबाट निर्माण हुने कुरा हो । कृपा र आर्शिवादले बन्ने होईन । सुशीला कार्कीहरुले चाहेजस्तो मुखै हेर्न नचाहँदैमा कुनै दलको नेतृत्व परिवर्तन हुँदैन । नेतृत्व निर्माण र बहिर्गमनको दुवै प्रणाली छ । पार्टी जीवनलाई लोकतान्त्रिककरण गर्दै आएका छौं । सबभन्दा पहिले मंसिरमा हामी नै महाधिवेशन गर्दैछौं ।’

Read More

नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

काठमाडौँ । नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग-२ को सिरिज अन्तर्गतको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ४९.५ ओभरमा अलआउट हुदै २७१ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाए भने कारण केसीले ४९ रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाएका थिए ।

त्यसैगरी अमेरिकाका बलर हरमीत सिंहले ३, सौरभ नेत्राभल्कर र नोसथस केन्जिगेले २-२ विकेट लिएका थिए । त्यस्तै जसदीप सिंह र सुभम रन्जानेले एक एक विकेट लिएका थिए ।

Read More

काठमाडौंको शहरीकरणको ५० वर्षे गुरुयोजना बमोजिम योजना अगाडि बढ्छन्- कुलमान घिसिङ

काठमाडौं । सरकारले काठमाडौंको उपत्यकाको शहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ । वागमती सफाइ महाअभियानको ६५० औं हप्ता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाका शहरीकरको गुरुयोजना तयार गरी सोही बमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताए ।

मन्त्री घिसिङले भने-  ‘अहिले हामीसँग छोटो समय छ तर काठमाडौं उपत्यकामा आगामी ५० वर्षमा बढ्ने जनसङ्ख्याको प्रक्षेपण गरी सुन्दर बनाउन दीर्घकालीन गुरुयोजना बनाएर सोही बमोजिम शहरलाई सुन्दर बनाउन ढल, विद्युत, खानीपानी, सडक, फोहोर व्यवस्थापन, ढल प्रशोधन केन्द्र स्थापनालगायतका योजना एकीकृत रुपमा बनाएर सोही बमोजिम काम अगाडि बढाउन लागेका छौं । नदी सफा नभएसम्म शहरी सौन्दर्य कायम हुन सक्दैन, यसका लागि ठूलो लगानी आवश्यक छ, त्यसैले नदी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थायी सरकार मिलेर संयुक्त रुपमा नदी सफाइ व्यवस्थापनको काम गर्न जरुरी छ ।’

उपत्यकाका नदीनाला सफा भएर नुहाउन सक्ने अवस्था नबनेसम्म शहर सफा हुन नसक्ने उल्लेख गर्दै उनले नदीलाई सफ राख्न जनस्तरबाट सञ्चालन गरिएको महाअभियानलाई धन्यवाद दिए ।

बागमतीमा जम्मा भएको फोहोर निकाल्ने मात्र नभई मानिसको मन सफा गर्ने उद्देश्यका महाअभियान सञ्चालन गरिएको उल्लेख गर्दे प्रमुख अभियन्ता पूर्वमुख्य सचिव लिलामणि पौड्यालले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई शहरीकरणका अन्य काममाभन्दा योजनावद्ध रुपमा ढल निर्माण र प्रशोधनमा केन्द्रीत गराउन सुझाव दिए ।

समितिले सन् २०२५—४५ कार्ययोजना तयार गरेको छ । कार्ययोजनामा जलस्रोत संरक्षण र सम्वर्धन गरी नदीहरुमा पानीको मात्र बढाउने, जैविक विविधता संरक्षण गर्ने,दिगो शहरी विकास गर्ने, पानीको गुणस्तर र मात्रामा सुधार गर्ने,नदीको बहाव क्षेत्र र सार्वजनिक जग्गाको संरक्षण गर्नेलगायतका उद्देश्य राखिएका छन् । कार्ययोजना कार्यान्वयन गर्न करिब २ खर्ब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Read More