२०८३ बैशाख १३

आज बसेको कांग्रेसकाे पदाधिकारी बैठक निष्कर्ष विहीन

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिकाकाे बारेमा छलफल गर्न बसेको पदाधिकारी बैठक निष्कर्ष विहीन भएको छ।

पार्टीको महाधिवेशन आगामी निर्वाचन अघि कि पछि गर्ने भन्ने विवाद चर्किएपछि थप छलफलका लागि शनिबार पदाधिकारी बैठक बसेको हाे। तर शनिबारको बैठकमा कुनै निष्कर्षमा नपुगेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले छलफल सकारात्मक भएको तर अहिलेसम्म कुनै निष्कर्षमा भने नपुगेकाे जानकारी दिए । केन्द्रीय समिति बैठकबाट साझा धारणा बनाएर जानुपर्छ भन्नेमा जोड एकमत रहेकाे उनको भनाइ छ।

प्रवक्ता महतले आइतबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक निरन्तर बस्ने पनि जानकारी दिए । शुक्रबार महामन्त्री गगन थापाले आगामी पुस १६ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेश गर्ने अडान लिएका थिए ।

तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नदिएपछि हिजो बैठक बस्ने नबसी स्थगित गरिएको थियो।

Read More

दलको इच्छाले मात्र राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व हुँदैन: आयुक्त भण्डारी

काठमाडौं । सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य रिक्त पदको निर्वाचन गर्ने निर्णय गरेकाे छ।

अगामी फागुन २० गते रिक्त हुने एक तिहाइ सदस्यको निर्वाचन गर्न निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेको हो । गत २३ र २४ भदौमा भएको जेनजी विद्रोहपछि राज्यका रहेक संरचनामा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवा पुस्ता) को सहभागिता बढाउनुपर्ने माग उठेको छ ।

जेनजी आन्दोलनका अगुवा तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले समेत राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व गराउने सम्बन्धमा चासो राख्दै आएकीछिन् ।

नयाँ पुस्ताको आवाज र दृष्टिकोण निर्णायक तहमा पुग्नुपर्छ भन्ने विषय पेचिलो हुँदै गइरहेको छ। तर राष्ट्रिय सभाको आवधिक निर्वाचनमार्फत जेनजीको प्रतिनिधित्व कसैको चाहानाले मात्र सम्भव हुने अवस्था छैन । राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व गर्न राजनीतिक दल र सरकारको इच्छाले मात्र नभई वर्तमान संविधान संशोधन गरेर मात्र सम्भव देखिन्छ।

यस्तो छ राष्ट्रिय सभासम्बन्धी संवैधानिक व्यवस्था र सीमा
नेपालको संविधान २०७२ को धारा ८६ मा संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभासम्बन्धी व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना प्रदेश सभाबाट निर्वाचित र ३ जना राष्ट्रपतिद्वारा मनोनित हुने प्रावधान छ । संविधानले युवापुस्ता वा कुनै आन्दोलनका प्रतिनिधिलाई छुट्टै कोटामा समावेश गर्ने व्यवस्था गरेको छैन । त्यसैगरी संविधानको धारा ८७ (१)मा राष्ट्रिय सभा सदस्य हुनका लागि कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनुपर्दछ । यहि संवैधानिक सीमाका कारण अहिले जेनजी उमेर समूहका युवाहरु राष्ट्रिय सभाको उम्मेदवार बन्न अयोग्य ठहरिन्छन् ।

राष्ट्रिय सभाको संरचना र उमेर सीमा संविधानमै स्पष्ट भएको कारण पनि राष्ट्रिय सभामा अहिल्यै जेन–जी पुस्ताको प्रतिनिधित्व असम्भव देखिन्छ । राजनीतिक दल र सरकारले उपल्लो सदनमा युवा सहभागिता चाहेपनि कानूनी रूपमा त्यसको कार्यान्वयन हुन सक्दैन । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख एवं प्रदेश सभा सदस्यहरु मतदाता रहने व्यवस्था छ । संविधान संशोधन गरेर क्लस्टरअनुसार दलले जेन–जीलाई उम्मेदवार बनाउन सक्छन् । तर प्रतिनिधि सभा नै विघटन भएको अवस्थामा कुनैपनि अवस्थामा संविधान संशोधन सम्भव छैन ।

यस्तो छ राष्ट्रिय सभाको निर्वाचन प्रणाली
राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ । अगामी माघ ११ गते सरकारले एक तिहाई अर्थात १८ सदस्यको पदपूर्तिको लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदानका लागि सात वटै प्रदेशमा रहेका स्थानीय तहका प्रमुख-उपप्रमुख एवं प्रदेश सभा सदसयहरु मात्र सहभागी हुन पाउने संवैधानिक प्रावधान छ । निर्वाचनका लागि प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह सदस्यको मतभार १९ हुन्छ । निर्वाचन आयोगका अनुसार प्रदेश सभा सदस्य ५ सय ४९ जना र स्थानीय तहका प्रमुख-उपप्रमुख १ हजार ५ सय ९५ गरी कुल १ हजार ९ सय चार जना मतदाता सहभागी हुनेछन् ।

निर्वाचन आयोगका कार्यवाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न क्लस्टरको आधारमा सात प्रदेशबाट १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने बताए । उनले थप एक जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित हुने बताए ।

उनले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि सातवटै प्रदेशका राजधानीमा मतदान केन्द्र तोकिने पनि बताए । राष्ट्रिय सभामा जेनजी प्रतिनिधित्वकाे बारे प्रमुख निर्वाचन आयुक्त भण्डारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले राष्ट्रिय सभाको आवधिक निर्वाचनमा जेनजी पुस्ताको सहभागिता असम्भव रहेको बताए । संवैधान–जी पुस्तालाई राष्ट्रिय सभामा सहभागी गराउन नसकिने उनको भनाइ छ ।

आयुक्त भण्डारीले राष्ट्रिय सभाको निर्वाचण प्रणाली नै परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै उनले यहि अवस्थामा राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व गर्न नसकिने बताए । यद्यपि सरकारले संविधानको अधिनमा रहेर गरेको प्रस्तावलाई पूर्णतः कार्यान्वयन गर्न आयोग तयार रहेको उनको भनाइ छ।

राजनीतिक दलका नेताहरुले निर्वाचनबाट जेनजीको प्रतिनिधित्व सम्भव नरहेको उनले बताए । संविधानको ३५ वर्ष पूरा भएको व्यवस्था संशोधन गर्नसके मात्र राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व हुनसक्ने आयुक्त भण्डारीको भनाइ छ ।

Read More

भारतको आन्ध्र प्रदेशस्थित मन्दिरमा भागदौड, सात जनाको मृत्यु

काठमाडौँ । भारतको आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको काशीबुग्गामा रहेको वेंकटेश्वर स्वामी मन्दिरमा शनिबार भएको भागदौडमा सात भक्तजनको मृत्यु भएको छ ।

भागदौडमा कैयौं घाइते भएका छन् । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको पिटीआईले उल्लेख गरेको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । एकादशीको अवसरमा भेला भएको ठूलो भीडका कारण भागदौड भएको अनुमान गरिएको छ।

रिपोर्टका अनुसार, शनिबार एकादशीको लागि वेंकटेश्वर स्वामी मन्दिरमा ठूलो भीड जम्मा भएको थियो । मन्दिर परिसरको प्रवेशद्वार नजिकै अचानक भीडको चाप बढेको र त्रास र भागदौड मच्चिएको बताइएको  छ। घटना लगत्तै स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा पुगेर राहत तथा उद्धार कार्य सुरु गरेका थिए ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

Read More

हालको अवस्था साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण हो- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताएका छन् ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै, उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए ।

समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको बताउँदै उनले नेपालको वर्तमान परिस्थितिलाई ‘समाजवादी क्रान्तिको प्रारम्भिक संकेत’ का रूपमा व्याख्या गर्दै भने- ‘२३ र २४ का घटनाक्रमले देखाएको छ—क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ । जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ ।’

उनले आफूले प्रधानमन्त्री हुँदा वा विपक्षमा हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न निरन्तर प्रयास गरिएको उल्लेख गरे । उनले भन- ‘हाम्रो निरन्तरको प्रयासमा शहीद घोषणा, विधेयक निर्माण र आयोग गठन भएका छन्। तर ती आयोगहरूले अपेक्षित परिणाम दिन सकेका छैनन् ।’

प्रचण्डले जनयुद्ध र जनआन्दोलनको क्रममा माओवादीले राखेका विचार र सन्दर्भ स्मरण गर्दै भने- ‘हामीले त्यतिबेलै भनेका थियौं—नेपाल गणतन्त्रमा जानेछ, तर त्यो जनताको गणतन्त्र हुनेछ वा प्रतिक्रियावादीहरूको भन्ने निर्णय पछि हुने टक्करबाट मात्र हुनेछ ।’

प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीको रूपमा चित्रण गरे । उनले भने- ‘हामी अहिले साम्राज्यवादसँग सीधै आमनेसामने छौं। अब प्रश्न छ—समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो ।’

उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी सबै शक्तिलाई राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको रक्षाका लागि एउटै मोर्चामा उभिन आह्वान समेत गर्नुभयो।गणतन्त्र ल्याउने शक्तिहरू क्रान्तिकारी मात्रै नभएर पुजीवादी शक्तिहरुको समेत साथ र सहयोगबाट सम्भव भएको बताए ।  तर, उनले जोड दिए—त्यही सम्झौताबाट आएका गणतन्त्रपछिका नेतृत्वहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनआक्रोश बढेको बताए । प्रचण्डले हालका आन्दोलनहरूमा सहभागी युवा पुस्ताको प्रशंसा गरे  र भने- ‘भ्रष्टाचारविरुद्ध सडकमा निस्केका युवाहरूले राजनीतिबाट टाढा भनिएका पुस्तालाई पुनः राजनीतिक रूपमा सचेत बनाएका छन्। उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारविरोधी अभियान र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा उठाएका छन्। यी युवाहरू नै क्रान्तिकारीका उत्तराधिकारी हुन् ।’

एकता र समाजवादी क्रान्तिको तयारीकै माध्यमबाट संकट पार गर्न सकिने उनको भनाई थियो । प्रचण्डले सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच वृहद् एकताको आवश्यकता औंल्याउँदै भने- ‘अब प्रतिक्रान्तिको भयानक खतरा देखिँदै छ। त्यसलाई परास्त गर्न जनताको तागत र एकता अपरिहार्य छ। क्रान्ति कहिल्यै सहज हुँदैन—प्रतिक्रान्तिको सामना गर्दै अघि बढ्नु नै यसको नियम हो ।’

उनले शहीद प्रतिष्ठान नेपाल लाई शहीद, बेपत्ता र घाइते योद्धाहरूका परिवारहरूलाई अझ व्यापक रूपमा संगठित गर्न र शान्ति प्रक्रियाका बाँकी कामहरूको खोजीमा सक्रिय हुन निर्देशन समेत दिए ।

Read More

यस्तो छ फाइनलमा पुगेका भारत र दक्षिण अफ्रीकाको महिला विश्वकपको यात्रा

काठमाडौँ । आइसीसी महिला एकदिवसीय क्रिकेट विश्वकप अब अन्तिम चरणमा पुगेको छ र उपाधिका लागि भिड्ने दुई टोलीको टुंगो लागेको छ । प्रतियोगिताको अन्तिम खेल आइतबार भारतको नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा भारत र दक्षिण अफ्रिकाबीच खेलिनेछ । दुवै टोलीले अहिलेसम्म विश्वकपको उपाधि जितेका छैनन्, त्यसैले यस पटक महिला क्रिकेटले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ ।

भारत र दक्षिण अफ्रिकाका लागि फाइनलमा पुग्नु सजिलो थिएन, किनकि दुवै टोलीले सेमिफाइनलमा कठिन चुनौतीको सामना गर्नुपरेको थियो । सेमिफाइनलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डसँग सामना गर्यो भने भारतले सात पटकको च्याम्पियन अस्ट्रेलियासँग सामना गर्यो । रोचक कुरा के छ भने, समूह चरणमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गरेझैं अस्ट्रेलियाले पनि समूह चरणमा भारतलाई हराएको थियो । यसका बाबजुद पनि, भारत र दक्षिण अफ्रिकाले सेमिफाइनलको बाधा पार गर्दै सफलतापूर्वक फाइनलमा पुगेका छन् । अब, दुवै टोली अब आफ्नो पहिलो विश्वकप उपाधिबाट एक कदम टाढा छन् ।

२०२५ महिला विश्वकपमा भारत र दक्षिण अफ्रिकाको यात्रालाई हेर्दा, दुवैले समूह चरणमा राम्रो प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिका सात खेलबाट १० अंकसहित तेस्रो स्थानमा रह्यो, जसमा पाँच जित र दुई हार थिए । आयोजक भारत सात खेलबाट सात अंकसहित चौथो स्थानमा रह्यो, जसमा तीन जित, तीन हार र एक बराबरी थियो र सेमिफाइनलमा पुग्यो ।

भारतले महिला विश्वकपमा आफ्नो अभियानको सुरुवात वर्षाले प्रभावित खेलमा सह-आयोजक श्रीलंकालाई ५९ रनले पराजित गरेर गरेको थियो । त्यसपछि अर्को खेलमा उनीहरूले कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई ८८ रनले पराजित गरेका थिए । लगातार दुई जितपछि, भारतको अभियानलाई धक्का लाग्यो जब उनीहरूले हारको ह्याट्रिक सामना गरे, जसले गर्दा समूह चरणमा उनीहरूको अभियान समाप्त हुन सक्ने अवस्थामा पुगेको थियो । भारत पहिलो पटक दक्षिण अफ्रिकाको त्यही टोलीसँग तीन विकेटले हारेको थियो जसको विरुद्धमा उनीहरूले आइतबार फाइनल खेल्नेछन् । त्यसपछि उनीहरू अष्ट्रेलियासँग तीन विकेटले र इङ्ग्ल्याण्डसँग चार रनले पराजित भएको थियो । भारतको लागि न्युजिल्याण्ड विरुद्धको खेल जित्नु महत्त्वपूर्ण थियो । खेल दुवै टोलीका लागि भर्चुअल नकआउट थियो, तर स्मृति मन्धाना र प्रतिका रावलको उत्कृष्ट इनिङ्सको साथ भारतीय टोलीले न्युजिल्याण्डको लागि विशाल लक्ष्य राख्यो र वर्षाले प्रभावित खेलमा डिएलएस मार्फत ५३ रनले जित हासिल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । भारतको अर्को समूह चरणको खेल बंगलादेशविरुद्ध थियो, तर त्यो खेल वर्षाका कारण रद्द भयो ।

त्यस्तै दक्षिण अफ्रिकाको विश्वकप अभियान निराशाजनक सुरुवात भयो । उनीहरूले इङ्ग्ल्याण्ड विरुद्ध १० विकेटको लज्जास्पद हार बेहोरे । यद्यपि, टोलीले त्यसपछि लगातार पाँच खेल जित्दै बलियो पुनरागमन गर्यो । दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई छ विकेटले, भारतलाई तीन विकेटले, बंगलादेशलाई तीन विकेटले, श्रीलंकालाई डिएलएस मार्फत १० विकेटले र पाकिस्तानलाई १५० रनले पराजित गर्यो । यद्यपि, उनीहरूले आफ्नो अन्तिम समूह चरणको खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया विरुद्ध सात विकेटको हार बेहोरे । टोलीको मनोबल अटल रह्यो र सेमिफाइनलमा इङ्गल्याण्डलाई हराउँदै उनीहरूले बलियो पुनरागमन गरे ।

भारत र दक्षिण अफ्रिका महिला विश्वकप फाइनलमा कहिल्यै एकअर्कासँग भिडेका छैनन् । यद्यपि, उनीहरूले महिला विश्वकपमा छ पटक एकअर्कासँग खेलेका छन् । यस प्रतियोगितामा भारत र दक्षिण अफ्रिका बराबरीमा छन्, तीन-तीन पटक जितेका छन् । दुई टोली पहिलो पटक १९९७ मा एकअर्कासँग भिडेका थिए, जहाँ भारतले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गरेको थियो। त्यसपछि, २००० मा, भारतले आठ विकेटले खेल जितेर विजय हासिल गर्यो । भारतले २००५ मा पनि दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गरेको थियो ।

१९९७ देखि २००५ सम्म महिला एकदिवसीय विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई तीन पटक पराजित गरेको थियो भने २०१७ देखि २०२५ सम्म यो टोली विरुद्ध तीन पटक हार बेहोरेको छ । दक्षिण अफ्रिकाले २०१७ मा भारतलाई ११५ रनले र २०२२ मा तीन विकेटले पराजित गरेको थियो। यस पटक पनि दक्षिण अफ्रिकाले समूह चरणमा भारत विरुद्ध जित हासिल गरेको थियो ।

Read More

पाकिस्तान-अफगानिस्तानबीचको तोरखम सीमा नाका पुनः खुल्यो

काठमाडौँ । अफगानिस्तानसँगको द्वन्द्वपछि पाकिस्तानले लगभग २० दिन बन्द गरेपछि तोरखम सीमा नाका पुनः खोलेको छ । पाकिस्तानमा अलपत्र परेका अफगानी शरणार्थीहरूका लागि यो खोलिएको छ । अधिकारीहरूका अनुसार, द्वन्द्वमा फसेकाहरूलाई मात्र सीमा पार गर्न अनुमति दिइनेछ ।

यी शरणार्थीहरू जमरुर र अजखेल क्षेत्रमा थिए । स्थानीय बासिन्दा र सामाजिक कार्यकर्ताहरूले उनीहरूलाई चिकित्सा हेरचाह र खाना प्रदान गरिरहेका थिए ।

केही दिन अघि, पाकिस्तानका लागि अफगानिस्तानका राजदूत सरदार अहमद शकिबले एक भिडियो जारी गर्दै सीमा बन्दले व्यापार, यातायात र दुई देशहरू बीचको मानिसहरूको आवागमन पूर्ण रूपमा रोकिएको बताएका थिए । यसले फसेका अफगानी शरणार्थीहरूको अवस्था झनै खराब बनाएको छ ।

उनका अनुसार, अफगानीहरूले आफ्ना सामानहरू प्याक गर्दै आफ्ना सवारी साधनहरूमा बसिरहेका छन्, क्रसिङ पोइन्ट बन्द भएका कारण अगाडि बढ्न सकेका छैनन् ।

पाकिस्तानका विभिन्न भागहरू, विशेष गरी पञ्जाब प्रान्तका शरणार्थीहरूको काफिला, जसमा बालबालिका, महिला, वृद्धवृद्धा र बिरामीहरूसहित लगभग ४०० जना छन् भने  जमरुदबाट तोरखम जाने बाटोमा ठूला ट्रकहरूमा अलपत्र परेका छन् ।

Read More

एमालेको सचिवालय बैठक शुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । भक्तपुरस्थित अध्यक्ष केपी शर्माको निवास गुण्डुमा केहीबेर अघि बैठक शुरु भएको हो ।

बैठकमा पार्टीको ११ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ। महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे छलफल गर्ने एजेण्डा रहेका छन् ।

Read More

अविरल वर्षाको असर: सुर्खेतसहित ३ विमानस्थलमा उडान स्थगित

काठमाडौं । प्रतिकूल मौसमको कारण ३ वटा विमानस्थलमा उडान अवरुद्ध भएको छ।

बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको हो । पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार पनि देशको विभिन्न स्थानमा वर्षा जारी रहेकाे छ।

आइतबारदेखि देशका अधिकांश भू-भागमा मौसम खुल्दै जाने मौसमविद्हरूले बताएका छन्।

Read More

जोमसोम–कागबेनी सडक एकतर्फी खुल्यो

मुस्ताङ । जोमसोम-कागबेनी सडकखण्डमा पिच रोड भासिएर पूर्ण रूपमा अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ ।

शुक्रबार अविरल वर्षाका कारण जोमसोमदेखि कागबेनी जाने सडकखण्डको पिच रोड भासिएर भत्किएर अवरुद्ध भएको सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

कागबेनी जाने सडकमा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको थियो । 

Read More

भारतीय क्रिकेटर अय्यर अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । खेलका क्रममा घाइते भएर अस्ट्रेलियामा उपचारत रहेका भारतीय क्रिकेटर श्रेयस अय्यरको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्डले अय्यरको चोटमा सुधार भएको जानकारी दिदै अस्पतालबाट डिस्चार्ज गरिएको बताएको छ ।

बोर्डका सचिव देवजित सैकियाले अय्यरको स्वास्थ्य स्थिर र राम्रोसँग निको भइरहेको बताएका छन् । उनले भनेका छन्- ‘सिड्नी र भारतका विशेषज्ञहरू सहित बोर्डका मेडिकल टोली अय्यरको स्वास्थ्यलाभबाट सन्तुष्ट छन् । उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको छ ।’

अय्यर अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्दा घाइते भएका थिए र अस्पताल भर्ना भएका थिए । श्रेयसको पेटको तल्लो भागमा चोट लागेको थियो ।रे।

अय्यर थप स्वास्थ्य परिक्षण र परामर्शको लागि केही समय सिड्नीमै रहने र उडानको लागि फिट भएपछि भारत फर्कने बोर्डले जानकारी दिएको छ ।

Read More