२०८३ बैशाख १३

लिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौं । म्यानचेस्टर सिटी विजयी लयमा फर्किएको छ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि ३-० को शानदार जित हासिल गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, निको गोन्जालेज र जेरेमी डोकुले एक एक गोल गरेका थिए ।

यो जितपछि महत्वपूर्ण तीन अंक हासिल गर्दै म्यानचेस्टर सिटी ११ खेलमा २२ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै लिभरपुल भने ११ खेलमा १८ अंकसहित आठौ स्थानमा झरेको छ । प्रिमियर लिगमा आर्सनल ११ खेलमा २६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

Read More

निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेद्वार सुनिश्चित् गर्न प्रधानमन्त्रीसमक्ष माग

काठमाडौँ । पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ। रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो।

संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात् गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने टोलीको माग छ। प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा डा. पाण्डेले भनिन्,‘कानुनमा बाध्यकारी व्यवस्था नभएकाले दलहरुले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलालाई टिकट नै दिँदैनन्। यही कारण संसदमा महिला प्रतिनिधित्व सन्तोषजनक हुन सकेको छैन। अब ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था हुनुपर्छ। त्यसभित्र दलित, जनजाति र अन्य अल्पसंख्यक समुदायको पनि प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ।’

प्रतिनिधिमण्डलमा उषाकिरण तिम्सेना, सम्झना पौडेल, प्रतीक्षा चापागाईँलगायतको पनि सहभागिता थियो। प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने वचन दिईन् । उनले निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राखिन् । खर्चिलो निर्वाचनका कारण पनि भ्रष्टाचार र चुनावी बेथिति बढेको उनको भनाइ थियो।

Read More

बार्सिलोना विजयी हुदा रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा अन्तगतको खेलमा विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने लामिन यमलले एक गोल गरेका थिए । त्यस्तै सेल्टा भिगोका लागि सर्जियो कारेइरा र बोर्जा इगलेसियासले एक एक गोल गरेका थिए ।

यस खेलमा फ्रान्की डी जोंगले ९० मिनेटपछिको इन्जुरी समयमा दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएका थिए ।

त्यस्तै स्पेनिस लिगमा गएराती नै भएको खेलमा रियल म्याड्रिड भने रायो भल्लेकानोसँग गोल रहित बराबरीमा रोकिएको छ ।

बार्सिलोनाको यो जितपछि १२ खेलमा २८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै रियल म्याड्रिडको भने १२ खेलमा ३१ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।

Read More

भुसाल समुहले पनि छोड्यो एकीकृत समाजवादी, आयोगमा नयाँ दल दर्ता

काठमाडौं । घनश्याम भुसाल समुहले पनि नेकपा एकीकृत समाजवादी छोडेको छ । एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने बताउदै आएको भुसाल समुहले नयाँ नाम र चुनाव चिह्नसहित आइतबार निर्वाचन आयोग पुगेको छ ।

नेकपा (एकीकृत समाजवादी) का तत्कालीन महासचिव घनश्याम भुसाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको हो ।

एकीकृत समाजवादीका नेता डा. विजयकुमार पौडेलसहितको टोलीले आइतबार आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको हो । भुसाल समुहले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र) प्रस्ताव गरेको छ भने चुनाव चिह्न सूर्यमुखी फूल प्रस्ताव गरिएको छ । नयाँ दलमा राजकुकमार कक्षपती संयोजक रहेको २६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

स्रोतका अनुसार एकीकृत समाजवादी कायम राख्न भविष्यमा कानुनी बाधा आएमा ‘ब्याकअप’ का रुपमा नयाँ दल दर्ता गरेको बताइएको छ । नेकपा एकीकृत समाजवादीका बहुमत सदस्य १० बाम घटकसहित नेपाली कम्युनिष्ट पार्टी बनेकाले भुसाल समुहलाई आयोगले सो दलको मान्यता नदिएमा दलविहीनको अवस्थामा नरहन उनीहरुले नयाँ दल दर्ता गरेको बुझिएको छ ।

Read More

युवा संघको चेतावनी: सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामा ल्याएरै छाड्छौ

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नेताहरुले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरुसँग सहकार्य नगर्ने चेतावनी समेत दिएका छन् ।

राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिवेला युवा संघले धेरै एजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरु बनाइरहेको सुनाए ।

अध्यक्ष थेवेले पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू पनि सँगै लिएर अगाडि बढ्ने पनि बताए । उनले देश जलाउनेहरूलाई आफुहरु नसमेट्ने पनि बताए ।

‘युवा संघसँग धेरै एजेन्डाहरु छन् । तर देशको वर्तमान परिस्थितिलाई समीक्षा गरेर नयाँ ढंगले अगाडि बढ्दैछौं । पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू लिएर अगाडि बढिरहेका छौं । एमालेले देश बचाउनेको रक्षा गरेर हिडेको छ र देश बचाउनेको नेतृत्व गरेको छ । देश जलाउनेहरूलाई हामी समेट्नेवाला छैनौँ । देश बचाउने सम्पूर्ण जेन्जीहरूलाई समेटेर अभियान लिएर अगाडि बढेका छौँ,’ उनले भने ।

उनले ४६ साल पछिको राजनीतिक परिवर्तनपछि महत्त्वपूर्ण जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले ०४६ सालपछिको सम्पत्ति छानबिन गर्न एमाले सधैँ तयार रहेको बताए । अध्यक्ष थेबेले देश साँच्चै बनाउने हो भने ०४६ पछिको सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे ।

उनले भ्रष्टचार विरुद्धको नारा सबैभन्दा पहिला एमालेले उठाएको भन्दै जेनजीको माग पनि आफुहरुबाटै उठ्न सुरु गरेको दावी गरे । उनले लुसिफर दलालहरूले देश खरानी बनाउने प्रयत्न गरेको बताए । भदौ २४ गते देश बचेको भएपनि त्यसपछि पनि आन्दोलन लम्बाएर देश जलाउने प्रयत्न भएको बताए ।

त्यस्तै नेकपा एमालेका केद्रीय सदस्य राजिव पहारीले एमालेले संसद पुनःस्थापनाको निम्ति आन्दोलनलाई अगाडि बढाउने जन दबाब सिर्जना गर्ने बताए ।
‘अहिले नेकपा एमालेले संसदको पुनःस्थापनाको निम्ति आन्दोलनलाई र जनदबाबलाई अगाडि बढाउने र पार्टीलाई पुनः व्यवस्थित गर्नको निम्ति महाधिवेशनलाई अगाडि लैजाने सोचमा छ । योजनामा छ । त्यही ढंगबाट अगाडि बढेका छौँ,’ उनले भने ।

त्यस्तै राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले बालेन शाह र सुदन गुरुङ्गले नै सिंहदरबारदेखि नेपालको सार्वजनिक सम्पत्ति जलाएर नाश गरेको आरोप लगाए ।
बालेन र सुदनलाई वर्तमान सरकारले कारवाही नगरेतापनि भोलिको दिनमा आउने दलीय सरकारले नछाड्ने चेतावनी दिए ।

‘हामीले खुल्लम खुल्ला भनिरहेका छौँ–बालेन, सुदनहरूले नै सिंहदरबार, संसद भवन राष्ट्रपति कार्यालय जलाएका हुन् । यिनीहरूलाई आज सरकारले त कारबाही गर्दैन् । तर भोलिको दिनमा दलीय सरकारले कारवाही गर्छ नै । यदी चुनाव भयो भने दलै आउने हो । त्यसबेला उनीहरु कहीं भाग्न सक्दैनन् ।’उनले यतिबेला बालेन र सुदन खुल्ला रुपमा हिँडेपनि भोलिका दिनमा कानूनी कठघरामा उभ्याएरै चेतावनी दिए ।

Read More

आज विश्वभर शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै

काठमाडौँ । हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ । आज विश्वभर शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ ।

सन् २००१ मा युनेस्कोको आह्वानमा विश्वभर यो दिवस मनाउन शुरु गरिएको हो । समाजमा विज्ञानको महत्वपूर्ण भूमिका र वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरी विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्व र प्रासंगिकतालाई कसरी प्रभाव पार्दछ भनि बुझ्नको लागि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको पाइन्छ ।

समाजको सकारात्मक परिवर्तन अर्थात् विकास आममानिसको चाहना हो । यही आवश्यकतलाई परिपूर्ति गर्न दिगो शान्ति र विकासको माध्यमद्वारा वातावरणीय संरक्षण गर्दै नवीनतम् विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा २१ औं शताब्दीको विश्व अघि बढिरहेको छ ।

यही मानवीय र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्न यो दिवसले महत्वपूर्ण टेवा पुर्‍याउँछ । त्यसबाहेक, देशहरू बीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बढवा गर्नु, समाजको लाभको लागि विज्ञान उपयोगमा राष्ट्रिय र अन्र्तराष्ट्रीय प्रतिवद्धताको नविकरण गर्नु, विज्ञानले सामना गरेको चुनौतीहरूमा ध्यान आकर्षित गर्नुको साथसाथै वैज्ञानिक प्रयासको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्यहरू हुन् ।

विज्ञानकै माध्यमद्वारा वर्तमान समाजलाई सु–सूचित गराउँदै प्रविधिमूलक शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्र समृद्धि हासिल गर्नु गराउनु यस दिवसको प्रतिकात्मक सन्देश रहेको छ । पछिल्लो समयमा वैज्ञानिक प्रगतिलाई उचित तरिकाले उपयोग गर्न नसकेकै कारणले विश्वमा कतिपय मुलुकमा राजनीतिक भविष्य अन्यौलमा परेको छ । मुलुकको ध्रुवीकरण र विज्ञानको गलत प्रयोगले मानव अधिकारको हनन् र आतंकवादको श्रृंखला समेत बढेको छ । 

Read More

आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

त्यस्तै आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ भने कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ । त्यस्तै आज राती देशभर मौसम मूख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

२०८२ कार्तिक २४ गते सोमबार: आजको राशिफल

आज कार्तिक २४ गते सोमबार ई.सं. २०२५ नोभेम्बर १० नेपाल सम्बत ११४६ कछलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, मङ्सिर शुक्ल पक्ष षष्ठी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, साघ्य योग, गर करण ।

आज नेपालमा सुर्योदय बिहान ६: २१ बजे र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज शान्ति र विकासको लागि विश्व विज्ञान दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूणर् कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुने समय हो, तर कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्छ, सचेत हुनुपर्छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध÷सम्पर्क गर्ने दिन हो । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । निणर्य क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । मनमा ठाउँ परिवर्तन गर्ने वा कार्यक्षेत्र बदल्ने सोच सलबलाउने दिन हो । त्यस्तो आकाङ्क्षा भएमा प्रयास गर्नोस् सफलता हात पर्नसक्छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
आफ्ना भित्री कमजोरीलाई खोजीखोजी पन्छाउने दिन हो । रहस्यात्मकतातर्फ रुचि जागृत हुनसक्छ तर गोपनीय विषयवस्तु वा मानसिक उल्झनले तनाव बढ्ने दिन हो । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक÷सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ, मिहिनेतको परिणाम पनि राम्रै रहनेछ, बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्नसक्छ । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन, घरपरिवारको खुसीका लागि बित्दो काम भए पनि समय निकाल्नु बुद्धिमानी हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो हुन्छ, नत्र कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति छ । प्रतिस्पद्र्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । कार्यक्षेत्रमा सन्तोषजनक परिस्थिति नै देखिन्छ, तर घरपरिवारमा कुनै स्वास्थ्यगत समस्या देखा पर्नसक्छ, सम्पर्क राखी खैखबर बटुल्नु ठीक हुन्छ ।

Read More