काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३० रन बनाएको हो ।
जनकपुरका लागि आसिफ शेखले सर्बाधिक ५४ रन बनाए भने मयन यादवले अविजित ३४ रन बनाएका छन् । त्यस्तै काठमाडौँ गोर्खाजका बलर मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादवले एक विकेट लिएका थिए ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देशैभर गर्ने एकता सन्देश सभाको तालिका सार्बजनिक गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्वपदाधिकारीको बैठकले प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको थियो ।
जस अनुसार नेपाली कम्युनिष्ट पार्टीले मङ्सिर १२ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा मङ्सिर १३ गते लुम्बिनी प्रदेशको दाङ देउखुरी, मङ्सिर १४ गते गण्डकी प्रदेशको पोखरा, मङ्सिर १५ गते कोशी प्रदेशको विराटनगर, मङ्सिर १८ गते उपत्यका बिशेष प्रदेशको काठमाडौं (हलमा), मङ्सिर १८ गते नै कर्णाली प्रदेशको सुर्खेतमा मङ्सिर १९ गते संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौं (हलमा ), मङ्सिर २० गते मधेश प्रदेशको जनकपुरमा मङ्सिर २१ गते प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम (नेपाली समय अनुसार बेलुकी ६ बजे), मङ्सिर २३ गते बागमती प्रदेशको हेटौंडामा एकता सन्देश सभा गर्ने भएको छ ।
त्यस्तै मंसिर २६ गतेसम्म प्रदेश कार्यालयहरुको निर्णयअनुसार सबै जिल्लाहरुमा एकता सन्देश सभाहरुको आयोजना गर्ने भएको छ भने मङ्सिर २९ गते देशभरका सम्पूर्ण स्थानीय पालिकाहरुमा एकता सन्देश सभाको आयोजना गर्ने भएको छ ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवाप्रतिनिधिहरूसँग अन्तर्क्रिया गरेकी छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन नागरिक समाजका अगुवाहरुलाई आग्रह गरिन् ।
‘फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा होइन। यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो। केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध गर्दछु,’– उनले भनिन् ।
साथै, उनले निर्वाचनको विश्वसनीयताका लागि प्रमुख दलहरूलाई मंसिर १० गतेभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउन आग्रह गरिने । यो समयसीमा निर्वाचन सुनिश्चितताको प्रमुख सूचक रहेको उनको भनाइ छ । सरकारले ट्र्याक–टु संवादमार्फत विभिन्न दलहरुसँग विश्वासको वातावरण बनाउने काम गरिरहेको पनि उनले बताईन् । नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा फर्काउन सहयोग गर्नेमा उनले अपेक्षा रहेको बताईन् ।
प्रधानमन्त्री कार्कीले सरकार राजनीतिक जोखिम व्यवस्थापनसँगै प्रशासनिक तयारीमा पनि दृढ रहेको बताईन् । उनले निर्वाचन आयोगको कार्यक्षमता बढाउन आयोगको नेतृत्वसँग निरन्तर संवादमा रहेको, आफूहरुको प्राथमिकता सुरक्षा र सुशासन रहेको र निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन, विगतको भद्दा र अनावश्यक कर्मचारी भर्नासम्बन्धी बदनामी रोक्न कडाइका साथ निगरानी गरिने पनि बताईन् ।
त्यस्तै, सरकारले जेन–जी आन्दोलनलाई केवल कानून व्यवस्थाको विषयमात्र नमानेको उनले बताईन् । उनले यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति रहेको बताईन् । कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको र उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि सरकारले निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चालिरहेको उनले बताईन् ।
त्यस्तै, निर्वाचनका दौरानमा द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो–कोहीलाई पनि सम्बन्धित निकायहरुले तत्काल र सार्वजनिक कारबाही उनले बताईन् । शान्तिपूर्ण मतदान सुनिश्चित गर्न ‘हट–स्पट’ नक्साङ्कन र गुप्तचर परिचालन बढाइएको भन्दै उनले नागरिक खबरदारी झनै आवश्यक रहेको स्मरण गराईन् ।
काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको निर्णयको कडा निन्दा गरेकी छिन् । उनले अदालतको निर्णयलाई ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ भनेकी छिन् ।
अदालतको निर्णयपछि शेख हसिनाले पाँच पृष्ठको विज्ञप्ति जारी गरेकी छिन् । त्यसमा भनिएको छ- ‘मृत्युदण्ड भनेको राजनीतिक शक्तिको रूपमा अवामी लिगलाई अवैध बनाउने अन्तरिम सरकारको तरिका हो ।’
अवामी लिग शेख हसिनाको पार्टी हो । यसअघि, शेख हसिनाले मुद्दालाई ‘प्रहसन’ भनेर वर्णन गरेकी थिइन् र आफूमाथि लगाइएका सबै आरोपहरूलाई अस्वीकार गरेकी थिइन् । उनले भनिन्- ‘मलाई उचित न्यायाधिकरणमा मेरा अभियुक्तहरूको सामना गर्ने कुनै डर छैन, जहाँ प्रमाणहरूको वस्तुनिष्ठ रूपमा मूल्याङ्कन र जाँच गर्न सकिन्छ ।’
उनले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा यी आरोपहरू ल्याउन चुनौती दिइन् । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा शेख हसिनामाथि मानवता विरुद्धको अपराधको आरोप लगाइएको थियो । भारतमा निर्वासनमा बस्दै आएकी शेख हसिना विरुद्धको मुद्दा उनको अनुपस्थितिमा चलाइएको थियो ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरूद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।
राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दा परेको हो ।
अधिवक्ता प्रेम सिलवालले दायर गरेको मुद्दामा प्रधानमन्त्री कार्कीले अदालतको आदेश कार्यान्वयन नगरेकाले कारबाही गर्न माग गरिएको छ ।
सर्वोच्च अदालतले गत कात्तिक १६ गते ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर सरकारले ती राजदूतलाई परराष्ट्र मन्त्रालयमै हाजिर हुन कात्तिक १७ गते निर्देशन दिएको थियो । त्यसपछि राजदूतहरू फिर्ता भएर केहीले राजीनामा दिएका छन् भने केही परराष्ट्र मन्त्रालयमै हाजिर गरिरहेका छन् ।
प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको निवेदनको सुनुवाइका लागि मंसिर ७ गतेको पेशी तोकिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुको विश्वमैत्री आधारभूत विद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध मुद्धा दायर गरेको छ ।
कपिलवस्तु नगरपालिका- ८ मा अवस्थित विद्यालयको छात्रवृति शिर्षकको रकम, दिवा खाजाको रकम, पाठ्यपुस्तक शिर्षकको रकम र सामाजिक सुरक्षा वापतको रकम गरि कुल ४ लाख ४३ हजार ४३० हिनामाना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको अख्तियारले जानकारी दिएको छ ।
अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध सोहि रकम बराबरको बिगो कायम गरि कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।
काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । सोमबार नेप्से ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३५ कम्पनिका ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार ३५८ मा कारोबार भएको थियो । आज निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज बन्दीपुर केवलकारको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी, बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयर ९.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा साहास उर्जाको १८ करोड कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १६ करोड ५९ लाख बराबर कारोबार भएको छ ।
काठमाडौँ । अग्नि फाउण्डेशनले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई महिन्द्रा एसयूभी४००का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ । यो फाउण्डेशन अग्नि समुहको गैरनाफामूलक संस्था हो ।
बुढानीलकण्ठमा आयोजित विशेष समारोहमा फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले अग्नि समूहको यात्रा केवल व्यापारिक विस्तार नभई समुदायसँगको सहयात्रा भएको बताइन्। “३५ वर्षमा हामीले सफलता कमाएका छौँ, तर त्यो सफलताको सार समुदायसँग हातेमालो गरेर अघि बढ्नुमा छ,” उनले भनिन्, “KIOCH जस्तो संस्थालाई सहयोग गर्नु हाम्रो लागि गर्व हो-किनकि त्यहाँ उपचार मात्र होइन, आशा बाँडिन्छ, भविष्य निर्माण हुन्छ।”
उक्त सहयोगले हजारौँ बालबालिकाको स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव पार्ने विश्वास KIOCH का अध्यक्ष प्रा. डा. भगवान कोइरालाले व्यक्त गरे। उनका अनुसार विद्यालय स्वास्थ्य कार्यक्रमदेखि लिएर जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरणसम्म-यी इलेक्ट्रिक एसयूभीहरूले सेवा वितरणलाई छिटो, सहज र पहुँचयोग्य बनाउने छन्। “यो सहयोग कुनै साधारण सहयोग होइन, समुदायसम्म उपचार पुर्याउने हाम्रो क्षमतामा थपिएको नयाँ पंख हो,” उनले प्रशंसा गर्दै भने।
अग्नि ग्रुपको ‘Rising Together’ दर्शनले व्यवसायिक प्रगति र सामुदायिक विकासलाई एउटै दिशामा अघि बढाउने लक्ष्य बोकेको छ। वातावरणमैत्री यी इलेक्ट्रिक एसयूभीहरूले KIOCH का स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई अझ गतिशील बनाउने अपेक्षा गरिएको छ।
अग्नि फाउण्डेशन यसअघि पनि स्वास्थ्य, शिक्षा, खेलकुद र विपद् व्यवस्थापनमा निरन्तर सक्रिय रहँदै आएको छ। त्रिवि शिक्षण अस्पतालको NICU तथा PICU को मर्मत-सम्भार, स्तरोन्नति तथा अभिभावकका लागि ‘अग्नि विङ’ नामक आधुनिक प्रतीक्षालय निर्माणसमेत फाउण्डेशनका उल्लेखनीय काम हुन्।
यता KIOCH को लक्ष्य स्पष्ट छ-देशभरका १८ वर्षसम्मका बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको, किफायती र समग्र स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने। विशेषतः आर्थिक रूपमा कमजोर र जोखिममा रहेका बालबालिकालाई समान पहुँच दिलाउन संस्था निरन्तर क्रियाशील छ।
काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।
वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८२ साल कार्तिक ३० गते आफ्नो ८८ औं वर्ष पुरा गरी ८९ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गरेका थिए ।
नेपालभर २३१ शाखा, २३७ एटिएम साथै ६१ वटा एक्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिंङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।
करिव १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत् बैंकिंङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
उक्त वार्षिकोत्सव कार्यक्रममा २५ बर्ष अटुट सेवा गर्ने ३ जना, २० बर्ष सेवा गर्ने ५३ जना कर्मचारीहरुलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । तेसैगरि सुरक्षास्थितीको प्रतिकुल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गौरादह शाखा र नयाँ वानेश्वर शाखाका सुरक्षकहरुलाई पुरस्कृत गरिएको थियो ।
उक्त कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गगत रुपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो ।