२०८३ बैशाख १३

टी-२० विश्वकपको खेल तालिका: समुह सी मा रहेको नेपालका सबै खेल मुम्बईमा हुने

काठमाडौँ ।  आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ ।  आइसीसीले मंगलबार सार्बजनिक गरेको खेल तालिकामा नेपाल समुह सी मा परेको छ । नेपालको समुहमा इङल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् ।

नेपालका विश्वकपका सबै खेल भारतको मुम्बईमा हुने भएका छन् । नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल इटालीविरुद्ध फेब्रुअरी १२ मा खेल्ने तालिका रहेको छ ।  त्यस्तै तेस्रो खेलफेब्रुअरी १५ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने छ भने चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशविरुद्ध खेल्ने छ । 

विश्वकपका समुह :
समूह ए: भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स र नामिबिया । 

समूह बी: श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे र ओमान । 

समूह सी: इङ्गल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, नेपाल र इटाली । 

समूह डी: न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई । 

२०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यो टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरिरहेका छन् । यस विश्वकपमा कुल २० देशले खेल्दैछन् ।

विश्वकपको एकै समुहमा रहेका भारत र पकिस्तानबीचको खेल फेब्रुअरी १५ मा कोलोम्बोमा हुने छ । त्यसै प्रतियोगिताको फाइनल खेल अहमदावाद र कोलोम्बो दुई मध्ये एक स्थानमा हुनेछ । पाकिस्तान फाइनलमा पुगेमा कोलोम्बोमा फाइनल हुने छ भने अन्यथा अहमदावादमा हुने छ । 

Read More

यो सरकार कसैको कृपामा बनेको होइन, परिस्थितिले जन्माएको हो: गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवर्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको बताएका छन् ।

उनले सुशासन प्रवर्धन र निर्वाचनको अभिभारा पूरा गर्ने मुख्य जिम्मेवारीलाई मूलमन्त्र मानेर वर्तमान सरकारले काम गरिरहेको बताए ।

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारले त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफल भएको र अब चुनाव गरेर नेतृत्व हस्तान्तरण गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताए । उनले विभिन्न बहाना बनाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भनेर सार्वजनिक खपतका कुरा गर्नेहरुलाई कामले जवाफ दिने बताए ।

‘विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरु कहीँ कतै सुनिएका छन् । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिइरहेको छ,’– उनले भने ।

राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीका रुपमा औँल्याएको सन्दर्भमा गृहमन्त्री अर्यालले भने, ‘हामीले धेरै परिमाणमा विशेष अपरेसनमार्फत ती हतियार फिर्ता ल्याइसकेका छौँ, ठूलो सङ्ख्यामा कैदी पनि फिर्ता भइसकेका छन् ।’

गृहमन्त्री अर्यालले आफूहरु सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी युवाबाट गत भदौ २३ र २४ गते भएको प्रदर्शनपश्चात् विषम परिस्थितिमा निर्माण भएको सरकारको जिम्मेवारीमा आएको बताए । ‘वर्तमान सरकार कसैको निगाहामा बनेको होइन, हामी कुनै अपेक्षाले आएका होइनौँ र हाम्रो व्यक्तिगत इच्छाले आएका होइनौँ । देशको विशिष्ट अवस्थामा, शून्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौँ,’– उनले भने ।

Read More

डिजिटल हिंसा सहिँदैन: मन्त्री खरेलको घोषणा- सरकार पूर्णतः प्रतिबद्ध छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को शुभारम्भ गर्दै उनले महिला र बालिकाविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । यस वर्षको यो दिवसको विश्वव्यापी नारा सान्दर्भिक रहेको भन्दै उनले डिजिटल दुनियाँ अब दैनिक जीवनभन्दा अलग नरहेको बताए ।

प्रविधिले सिकाइ र कामलाई सहज बनाए पनि धेरै महिला तथा किशोरीका लागि यो क्षेत्र अझै पनि जोखिमपूर्ण र असुरक्षित रहेको औँल्याउँदै मन्त्री खरेलले भने, ‘अनलाइन उत्पीडन, साइबर स्टकिङ, अनुमति बिना तस्बिरको प्रयोग, घृणा फैलाउने अभिव्यक्ति र ट्रोलिङले त्रास र धम्की सिर्जना गर्छ ।’

सञ्चार मन्त्रालयको लक्ष्य पूर्वाधार निर्माण र सेवा विस्तारमा मात्र सीमित नभई प्रत्येक नेपाली नागरिकका लागि सुरक्षित, समावेशी र सशक्तीकरण गर्ने ‘डिजिटल इकोसिस्टम’ निर्माण गर्नु भएको बताउँदैमन्त्री खरेलले भने, ‘हाम्रो आधा जनसङ्ख्या अनलाइनमा सुरक्षित महसुस गर्दैनन्, तब हाम्रो डिजिटल प्रगतिलाई पूर्ण वा निष्पक्ष मान्न सकिँदैन ।’

उनले राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जनचेतना अभिवृद्धिका काम गरिरहेको र हालै राष्ट्रिय एआई सेन्टरको स्थापना हुनुले डिजिटल नेपाल निर्माणप्रतिको सरकारको प्रतिबद्धता प्रतिविम्बित भएको बताए । डिजिटल हिंसाविरुद्धको लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै मन्त्री खरेलले कानुनी र नीतिगत ढाँचालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पीडितलाई न्याय दिलाउन र पीडकलाई जवाफदेही बनाउन साइबर कानुनको समीक्षा गरिने जानकारी दिए ।

साथै, शिक्षा क्षेत्रसँग सहकार्य गर्दै पाठ्यक्रममा डिजिटल साक्षरता समावेश गर्ने, निजी क्षेत्र र नवप्रवर्तनलाई सुरक्षित प्लेटफर्म विकास गर्न प्रोत्साहन गर्ने तथा तीनवटै तहका सरकार, संयुक्त राष्ट्रसङ्घ र नागरिक समाजसँग सहकार्य बढाउने योजना पनि उनले अघि सारे ।

Read More

प्रधानमन्त्री कार्कीबाट अवकाश लिन लागेका मुख्यसचिव अर्यालको बिदाई

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण बुधबारबाट अवकाश लिन लागेका मुख्यसचिव एकनारायण अर्याललाई बिदाई गरेकी छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज एक समारोहबीच प्रधानमन्त्री कार्कीले अर्याललाई बिदा गरेकी हुन् । त्यस क्रममा प्रधानमन्त्री कार्कीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनको आगामी जीवन सुखमयको कामना गरेकी छन् ।

सरकारले नयाँ मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ ।  

Read More

लुम्बिनीमाथि काठमाडौँको २२ रनको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको हो ।

काठमाडौँले दिएको १५८ रनको लक्ष्य पछाएको लुम्बिनीले १९ ओभरमा अलआउट हुदै १३५ रन  बनाएको थियो । लुम्बिनीका लागि शेर मल्लले सर्बाधिक २७ रन बनाए भने दिलिप नाथले २५ र डी आर्ची शर्टले २२ रन बनाएका थिए ।

त्यस्तै काठमाडौँका बलर मिलिन्द कुमार र गेरहार्ड इरासमसले २-२ विकेट लिए भने करण केसी, शाहाब आलम, सन्तोष यादव र राशिद खानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाउदै १५७ रन बनाएको थियो ।

त्यस्तै काठमाडौँका लागि कप्तान करण केसीले ११ बलमा ३४ रन बनाएका थिए । त्यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिंद कुमार र जेरहार्ड इरासमासले १७-१७ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नैब र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए ।

यो जितपछि काठमाडौँको ४ खेलमा २ जित र दुई हारसहित ४ अंक भएको छ भने लुम्बिनीको ३ खेलमा एक जित र दुई हारसहित २ अंक रहेको छ ।

Read More

अमेरिका र रुसी प्रतिनिधिबीच युक्रेन युद्ध बारे आबुधाबीमा छलफल हुने

काठमाडौँ । अमेरिकाले रूस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको एक भागको रूपमा अमेरिकी अधिकारीहरूले अबुधाबीमा रूसी प्रतिनिधिहरूसँग भेट गर्ने जानकारी दिएको छ ।

रूस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति योजना’ सम्बन्धी आइतबार जेनेभामा भएको बैठक पछि अब आबुधाबीमा फेरी छलफल हुने भएको हो ।

जेनेभा बैठकमा अमेरिकी प्रतिनिधिमण्डल, युक्रेन र यसका युरोपेली सहयोगीहरूले भाग लिएका थिए । युक्रेनी र युरोपेली नेताहरूले ट्रम्पको योजना ‘अझ धेरै काम आवश्यक’ भन्दै सो योजनाको घुमाएर आलोचना गरेका छन् ।

युरोपीयन देश र युक्रेनको असन्तुष्टिपछि ट्रम्पले आफ्नी प्रस्ताव अन्तिम नभएको प्रतिक्रिया समेत दिएका थिए । मिडिया रिपोर्टका अनुसार ट्रम्पको योजनामा संशोधन गरिएको बताइएको छ ।

Read More

निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ता (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ८० वटा दल दर्ता भएका छन् ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आज (मंगलबार) साँझसम्म ८० वटा दलले निर्वाचन प्रयोजनका लागि दर्ता गराएको जानकारी दिएका हुन् ।

हाल आयोगमा कूल १ सय ३४ वटा दल दर्ता रहेका छन् । ती मध्ये ८० वटा दल हालसम्म निर्वाचन प्रयोजनका लागि दर्तामा आएका हुन् । आजमात्रै १६ वटा दल दर्ता भएको छ । दल दर्ताका समय मंसिर १० गते (भोलि) सम्म रहेको छ ।

प्रतिनिधिसभा निर्वाचनको मिति आगामी फागुन २१ गतेका लागि तय भएको छ ।

Read More

सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्बभन्दा बढी

काठमाडौँ । कार्तिकसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको छ । 

सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको कार्तिक मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड र बाहृय १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ । गत असार मसान्तको तुलनामा कार्तिक मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । 

यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत हो ।

चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा चार महिनामा एक खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा  कुल सार्बजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत रहेको छ ।

गएको चार महिनामा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब २७ अर्ब ६१ करोड साँवा र बाँकी २३ अर्ब २७ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ । यसकारण उक्त अवधिमा उठाइएको १ खर्ब ३८ अर्ब ७५ करोड रकममा साँवा भुक्तानीमा खर्च भएको १ खर्ब २७ अर्ब ६१ करोड घटाइन्छ । त्यसरी आउने रकममा विदेशी मुद्राको विनिमय दरमा परिवर्तन आउँदा भएको ४४ अर्ब २२ करोड जोड्दा गएको दुई महिनामा ५५ अर्ब ३६ करोड सार्वजनिक ऋण थपिएको छ । 

Read More

कांग्रेसमा तातेको बहस: शाहीको चेतावनी- विशेष महाधिवेशनले पार्टी फुट्छ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले नियमित महाधिवेशनको विकल्प विशेष महाधिवेशन हुन नसक्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनले पार्टीमा विग्रह आउने बताए । उनले सबै जना सहमति, सहकार्य र एकता कायम गरेर नियमित महाधिवेशनको बाटोमा अगाडि बढ्नुपर्ने उनले बताए ।

‘नियमित महाधिवेशनको विकल्प विशेष महाधिवेशन हुन सक्दैन । विशेष महाधिवेशनले पार्टीलाई विग्रहमा पुर्याउँछ । हामी अहिलेको विषम परिस्थितिमा पार्टीभित्र सहमति, सहकार्य, एकता चाहन्छौं । सहमति, सहकार्य र एकता नै पार्टीभित्रको र देशको लोकतन्त्रको आवश्यकता हो,’– उनले भने ।

विशेष महाधिवेशन पार्टीलाई भड्खालोमा हाल्ने एजेण्डा रहेको उनको टिप्पणी छ । उनले कांग्रेस कमजोर भएको खण्डमा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भएको खण्डमा राष्ट्रियता कमजोर हुने बताए । पार्टीलाई बलियो बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर आउन पनि सहमति, सहकार्य र एकता आवश्यक रहेको बताए ।

साथै, उनले जेन–जी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणलाई कांग्रेसमाथि भएको आक्रमणको रुपमा हेरिनुपर्ने बताए । त्यस्ता जघन्य अपराधमा संलग्नहरुलाई सरकारले छानविन गरेर कारबाही गर्नुपर्ने उनले बताए ।

Read More

अध्यक्ष पदको घोषणा गर्दै पोखरेलको दाबी: विद्या भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनेछ

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

उनले भनेका छन्,‘पार्टी पूनर्गठन र रुपान्तरणका लागि देशभरिका साथीहरुले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको हुँ ।’

उनले आफूले पार्टीका नेता तथा कार्यकर्ताहरुको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने पनि अपेक्षा लिएका छन् । उनले ओलीलाई अब अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि अनुरोध गरेका छन् ।

उनले विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने र गरिने बताएका छन् । पार्टीको आसन्न ११औं महाधिवशेनको सन्दर्भमा आज एक विज्ञप्ती जारी गर्दै उनले भण्डारीको पार्टी सदस्यताको विषयमा पनि बोलेका हुन् ।

उनले भनेका छन्–‘चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र उर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुशी र गौरवको विषय हो । पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरुप्रति प्रतिवद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रुपले थप सशक्त, सांगठनिक ढंगले अझ एकतावद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ, उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’

Read More