२०८३ बैशाख १४

नबिल बैंकले हात पार्यो भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन महत्वपूर्ण विधा

काठमाडौँ । नबिल बैंक भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन महत्वपूर्ण विधामा अवार्ड प्राप्त गर्न सफल भएको छ।

यस वर्ष बैंकले एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड्स बिजनेस, एक्सिलेन्स इन कन्ट्याक्टलेस-इस्युइङ र एक्सिलेन्स इन ई-कमर्स एक्वायरिङ बिजनेस शीर्षकका अवार्ड हात पारेको हो ।

काठमाडौँको मेरियट होटलमा आयोजित विशेष कार्यक्रममा भिसा इन्टरनेशनलले उत्कृष्ट कार्ड सेवा, प्रविधि-आधारित कारोबार प्रवर्द्धन र डिजिटल भुक्तानी विस्तारमा गरेको योगदानका आधारमा नबिल बैंकलाई सम्मान प्रदान गरेको हो। यी विधाहरूमा नबिल बैंकको वर्चस्व विगतदेखि नै कायम रहँदै आएको छ।

अवार्ड ग्रहण गर्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईले प्राप्त सम्मानले संस्थालाई अझ नवीन सेवा विस्तार, ग्राहक–अनुकूल प्रविधि विकास र डिजिटल भुक्तानी प्रणालीलाई सुदृढ बनाउन प्रेरित गरेको बताए। उनले अवार्डको श्रेय बैंकका कार्डधारी ग्राहक, कारोबार गर्ने व्यापारी तथा समर्पित कर्मचारीहरूलाई जाने उल्लेख गरे।

भिसा इन्टरनेशनल विश्वकै अग्रणी कार्ड सेवा प्रदायकमध्ये एक हो। नेपालमा यसले प्रत्येक वर्ष आयोजना गर्ने भिसा लिडरसिप कन्क्लेभमार्फत डिजिटल भुक्तानीका नवीनतम प्रवृत्ति, सेवा विस्तारका सम्भावना र वित्तीय नवप्रवर्तनका विषयमा बैंक तथा वित्तीय संस्थासँग संवाद गर्दै आएको छ। भिसा कार्डको प्रयोग हाल बैंकिङ, फिनटेक, इ–कमर्स तथा खुद्रा कारोबारलगायत विविध क्षेत्रमा तीव्र गतिमा बढिरहेको छ।

नबिल बैंक देशभर २६८ शाखा, ३२१ एटिएम तथा २५ लाखभन्दा बढी ग्राहकसहित नेपालको अग्रणी वाणिज्य बैंक मानिन्छ। चार दशकयता बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्दै आएको नबिलले आधुनिक वित्तीय प्रणाली विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

Read More

विवेकशील साझा पार्टीसँग एकता गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  विवेकशील साझा पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।

गएराती बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने सर्वसम्मत प्रस्तावको रास्वपा केन्द्रीय समितिले सहर्ष स्वागत गर्दै आगामी मङ्सिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग मुद्दागत र सांगठनिक सहकार्यका पृथक विधिहरु अवलम्बन गर्दै संवाद प्रकृयालाई घनिभूत बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको ‘उच्च संवाद समिति’ लाई केन्द्रीय समितिले दिएको निर्देशन अनुरुप पार्टी सचिवालयले गठन गरेको संयन्त्र- सङ्घीय नेतृत्व मञ्च अनुमोदित गरेको झाले जानकारी दिए ।

Read More

एसीसी यू–१९ प्रिमियर कप: नेपालले सेमिफाइनलमा आज मलेसियाको सामना गर्दै

काठमाडौँ । एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले मलेसियाको सामना गर्दैछ ।

एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगिता अन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान १०: १५ बजेदेखि शुरु हुने छ । 

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हासिल गर्दै नेपालले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो। नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई ११९ रनको फराकिलो अन्तरले हराएको थियो ।

त्यस्तै आजै अर्को सेमिफाइनलमा युएई र ओमान खेल्दैछन् । 

१४ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष तीन देश एसीसी पुरुष यू-१९ एशिया कपमा छनौट हुने छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १४ सदस्यीय टिम यो प्रतियोगिता खेल्न युएई पठाएको छ । नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका छन् ।

Read More

देउखुरीमा आज नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा हुदै

बुटवल । नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनीको देउखुरीमा एकता सन्देश सभा गर्न लागेको छ  ।

नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय गरे बमोजिम आज दाङको देउखुरीमा सभा गर्ने भएको हो । 

नेपाली कम्युनिष्ट पार्टीले यसअघि  शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रसहित विभिन्न १२ भन्दा बढी घटक मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै संगठानिक गतिविधि शुरु गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीले गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते, कोशी प्रदेशको विराटनगरमा मंसिर १५ गते, उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौँमा मंसिर १७ गते, कर्णाली प्रदेशको सुर्खेत मंसिर १८ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते,  प्रवास प्रदेशहरुको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते, संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौँमा मंसिर २२ गते र बाग्मती प्रदेशको हेटौडामा मंसिर २३ गते एकता सन्देश सभा गर्ने जानकारी दिएको छ ।

Read More

एनपीएलमा आज पनि दुई खेल हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुदैछन् ।

आज पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । जारी एनपीएलमा पोखरा एभेन्जर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको  लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यसैगरी आज दोस्रो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल दिउसो साढे ३ बजेदेखि शुरु हुदैछ । जारी एनपीएलमा सुदूरपश्चिम रोयल्स अपराजित रहदै लगातार चार खेल जितेर शिर्ष स्थानमा रहेको छ भने डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार तीन खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ ।

दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

त्यसैगरी अनिल शाहको कप्तानीमा रहेको जनकपुरमा आसिफ सेख, ललित राजबंशी जस्ता राष्ट्रिय टिमका खेलाडी छन् भने इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् ।    

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल गण्डकी र कर्णाली प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

२०८२ मंसिर १३ गते शनिबार: आजको राशिफल

आज मंसिर १३ गते शनिबार ईसं २०२५, नोभेम्बर २९ नेपाल सम्बत ११४६ कछलागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर शुक्ल नवमी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्रपदा नक्षत्र, हर्शण योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परीक्षा वा प्रतिस्र्पद्धामा सफल भइने छ, तर आज आवेग, रिस र घमण्डमाथि नियन्त्रण गर्नुपर्छ । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । व्यक्तित्व निर्माणको समय हो, प्रतिस्र्पद्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । व्यवसाय वा नोकरीको सन्दर्भमा कतै भ्रमणको कार्यक्रम बन्नसक्छ । घरमा सम्पर्क राखी चलिरहेको परिस्थितिका बारेमा अपडेट हुनुपर्छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुने राम्रो समय छ, आज थप आयस्रोत कसरी बढ्छ भनी चिन्तन गर्ने समय हो । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्र्पद्धामा सफल भइने छ । भाइबहिनी वा छोराछोरीका लागि व्ययभार बढ्ने दिन हो । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने दिन हो । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ ।

Read More