२०८३ बैशाख १३

संस्कृति स्पोर्ट्स सम्मानद्वारा गुलशन झा सम्मानित

काठमाडौँ । संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी गुलशन झा सम्मानित भएका छन् ।

खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप झालाई नगद १ लाख १ हजार रुपैँया नगदसहित सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता ले सम्मानपत्र र नगद रकम हस्तान्तरण गर्दै गुलशन झाले खेलकुद क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे । उनले युवा पुस्तालाई खेलकुदमार्फत अनुशासित, सक्षम र आत्मनिर्भर बनाउन यस्तो सम्मानले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशेष अतिथि खेलकुद पत्रकार मञ्चका प्रमुख उपाध्यक्ष प्रज्जवल वली को पनि उपस्थिति रहेको थियो । वलीले खेलकुद प्रतिभालाई प्रोत्साहन गर्ने संस्कृतिको निरन्तरता प्रशंसनीय रहेको बताउँदै संस्कृति स्कुलको भूमिकाको खुलेर प्रशंसा गरे ।

हरेक वर्ष खेलकुद पत्रकार मञ्च र संस्कृति स्कुलले संयुक्त छनौट गर्दै सहकार्य गरेको आयोजकले जनाएको छ ।

संस्कृति स्कुलले यसअघि पनि विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यसअघि पहिलो संस्करणमा धाविका सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा क्रिकेट खेलाडी कुशल मल्ल र तेस्रो संस्करणमा पलेशा गोवर्धन लाई संस्कृति स्पोर्ट्स सम्मान प्रदान गरिसकेको छ ।

साथै उक्त अवशरमा संस्कृति स्कुल का अध्यक्ष रन्जीत आचार्यले खेलकुद क्षेत्रमार्फत राष्ट्रको पहिचानलाई विश्वस्तरमा चिनाउने प्रतिभाहरूलाई निरन्तर हौसला प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

रास्वपा र विवेकशील साझाबीच आज एकता हुदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता हुदैछ ।

रास्वपा र विवेकशील साझाबीच आज दिउसो २ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा एकताको घोषणा हुने कार्यक्रम रहेको छ ।

शुक्रबार राती बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव स्वीकृत गरेको थियो भने विवेकशील साझाले गत बुधबारको केन्द्रीय समिति बैठकले रास्वपासँग एकता गर्ने निर्णय गरेको थियो ।

Read More

एनपीएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदैछ । आज कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच दिउसो ३: ३० बजेदेखि खेल हुदैछ ।

जारी एनपीएलमा कर्णाली याक्सले ४ खेलमा केवल एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ५ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ ।

सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल,  मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् ।

त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।

Read More

देउवालाई महेश आचार्यको खुला पत्र: “गलत उत्तराधिकारी रणनीतिले कांग्रेस डुब्छ”

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले शेरबहादुर देउवालाई पत्र लेखेर पार्टीभित्रको समस्याबारे सोधेका छन् ।

उनले पार्टीभित्र यो प्रत्युपादक अलमल किन भनेर पनि सोधेका छन् । उनले देउवासँग अब पार्टी राजनीतिमा कुनै निजी स्वार्थ बाँकी नभएको र केवल देशको प्रगति र एकताको चाहना अनि पार्टीको गौरवशाली इतिहास र लाखौं कांग्रेसजनको संघर्ष र समर्पणको किर्तिको रक्षा गर्नुनै संघर्षपुर्ण जीवनको ध्येय बन्न पुगेको विश्लेषण गरेका छन् । कांग्रेसलाई अहिलेको विषम परिस्थितिबाट मुक्त गर्न देउवाले सत्ता राजनीतिबाट तत्काल विश्राम लिएर चुनाव अघिनै महाधिवेशन गराउने स्पष्ट अभिभावकीय मार्ग निर्देशन गर्न जरुरी रहेको पनि उनले औंल्याएका छन् ।

यस्तो छ आचार्यले देउवालाई सम्बोधन गरेर लेखेको पत्र :
आदरणीय सभापतिजी,नेपाली कांग्रेस, सादर जयनेपाल ! तपाईमाथी भएको सांघातिक आक्रमणको केहि समय पछि भानुभाईलाई तपाईंको स्वास्थ्य स्थिति र भेटने संभावनाबारे सोधेको थिए।परिस्थितिबस भेट हुन सकेन।राष्ट्रिय राजनीतिको गंभीर संकटको बेला पार्टीको वर्तमान अवस्था र निर्णयहिनताले क्षुब्ध बनाएकाले आज यो सार्वजनिक अनुरोध गर्दैछु।झण्डै पाँच दशक देखिको तपाईंसंगको मित्रवत् सम्बन्ध संझिएर यो अनुरोध गर्दैछु।चिन्ताग्रस्त मेरो मनमा बारम्बार यो प्रश्न उठिराखेको छ सभापतिजी – पार्टीभित्र आखिर यो प्रत्युत्पादक अलमल किन ?

तपाईंको कार्यकाल अब केहि सातामै सकिदैछ, विधानले फेरी सभापति बन्न दिदैन।के तपाईं पुनः प्रधानमन्त्री बन्न चाहनु हुन्छ ? कस्को सहयोगमा ? -ओलीजीको जो आफनै पार्टी भित्र विवादको भुँवरीमा र राज्यका निकायबाट अनुसन्धानको घेरामा हुनुहुन्छ वा प्रचण्डजीको विश्वासमा जो गठबन्धन फेर्ने कलाबाजीमा अद्वितीय हुनुहुन्छ।यदि यी चाहना छैनन भने आफ्नो उत्तराधिकारी स्थापित गर्ने गलत रणनीतिको चक्रव्यूहमा भने कृपया नफस्नुहोस, यस्तो सोचलाइ देशले, समयले र कांग्रेस राजनीतिले स्वीकार्दैन।उदार चित्तले सोच्दा पार्टी राजनीतिमा अब तपाईंका कुनै निजी स्वार्थ बाँकी छैनन् केवल देशको प्रगति र एकताको चाहना अनि पार्टीको गौरवशाली इतिहास र लाखौं कांग्रेसजनको संघर्ष र समर्पणको किर्तिको रक्षा गर्नुनै तपाईंको संघर्षपुर्ण जीवनको ध्येय बन्न पुगेकोछ भन्ने मलाई लाग्छ।कांग्रेसलाई अहिलेको विषम परिस्थितिबाट मुक्त गर्न तपाईंले सत्ता राजनीतिबाट तत्काल विश्राम लिएर चुनाव अघिनै महाधिवेशन गराउने स्पष्ट अभिभावकीय मार्ग निर्देशन गर्न जरुरी देख्दछु।यो सत्य हो कांग्रेसभित्र तपाईंको जत्रो अग्लो कद अहिले अरु कसैको छैन।

आदरणीय सभापतिजी, सुबर्ण शमशेरजीको सभापतित्वको कार्यकाल असाधारण थियो।समाजवादलाई पार्टीको आर्थिक कार्यक्रम स्वीकार गर्ने देखि विशेष अधिवेशनको माध्यमबाट राष्ट्रिय राजनीतिको गतिरोध चिर्ने सम्मका घटनामा वहाँको सुझबुझ असाधारण थियो। त्यसबेला २००७ सालको शाही घोषणाले वाचा गरेको विधान परिषदको चुनाव अनिश्चित पारिएको थियो, क्रान्तिका वास्तविक नायक बीपीलाई सत्ताबाट लगातार बाहिर राख्ने षडयन्त्र थियो, कहिले राजाको प्रत्यक्ष शासन कहिले प्रधानमन्त्री फेरिरहने प्रयोगबाट चुनाव ७ बर्षसम्म रोकिएको थियो। देशको यो अन्योल चिर्न तत्काल चुनावको घोषणा र चुनाव गराउन सक्ने कांग्रेस नेतृत्वको सरकार राष्ट्रकै एजेण्डा बनेका थिए। राष्ट्रका यीनै मुद्दालाई पार्टीको एजेण्डा बनाएर कांग्रेसले २०१४ सालमा पार्टीको विशेष अधिवेशन द्वारा घोषणा गरेको देशब्यापी सत्याग्रहको बलमा २०१५ सालको आम निर्वाचन संभव गराएको थियो।यो ऐतिहासिक जिम्मेवारी पुरा गर्न श्रध्देय सुवर्णशमशेरले सभापति पदबाट राजीनामा गरी बीपीलाई विशेष अधिवेशनबाट सभापति निर्वाचित गर्ने ढोका खोलिदिनु भएको थियो। आज फेरी राष्ट्रमा नयाँ पुस्ताको आन्दोलन पछि उठेका मुद्दालाई समेत सम्बोधन गर्न अनिवार्य देखिएको छ ।

सादर जय नेपाल सहित,
महेश आचार्य, वानेश्वर – ३१

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।

साथै आज दिउँसो र राती देशभर आंशिक बदली रहने विभागले जनाएको छ ।

Read More

२०८२ मंसिर १४ गते आइतवार: आजको राशिफल

आज मंसिर १४ गते आइतवार ईसं २०२५ नोभेम्बर ३० नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर शुक्ल दशमी, चन्द्रमा मीन राशिमा,  उत्ररभाद्र नक्षत्र, वज्र योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । आजको दिन मानसिक तनाव र चिन्ता बढ्ने समय हो । शत्रु र प्रतिस्पर्द्धीको गतिविधिप्रति ध्यानकेन्द्रित हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । कामधन्दामा सहजताको अनुभूति हुनेछ, घरपरिवारमा पनि समझदारी रहने छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरिआएको कामधन्दा र पेसामा उन्नति हुने र सम्मान पाउने समय हो । ज्ञान र सीप बढाउने मनसाय बन्नसक्छ, त्यस्तै ठूलाबडा र विद्वान्हरूका साथमा घुलमिल हुने अवसर मिल्नेछ । हाँकेरताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्न एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिलाउनु ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउनसक्छ, अवगाल र अपजस पाउने दिन भएकाले हरेक काममा सिनियरको मद्दत लिएको जाती हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ । झैझगडा वा विवादबाट टाढा बसेको जाति हुन्छ, अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ । विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ, तर कल्पना र भावनामा मन रुमल्लिन सक्छ । सचेतताका साथमा काममा लागी पर्नु ठीक हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । थोरैमात्र प्रयास गर्दा प्रशस्त लाभ उठाउन सकिने राम्रो समय छ, कुनै भौतिक उपकरण वा विलासिताको चिजबीज खरिद गर्न सक्नुहुन्छ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथरसहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत छ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वान्हरू सम्पर्कमा रहनेछन् । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीका लागि राम्रो दिन छ, नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो ।

Read More