२०८३ बैशाख १३

पेट्रोलको मुल्य बढ्यो, डिजलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ भने डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ ।

निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ  ।

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १६३ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १४२ भएको निगमले जनाएको छ ।

Read More

सरकारको चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा

काठमाडौं । सरकारको चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को चार महिनाको देशको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको पहिलो चार महिनामा चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ४७ करोड रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ५ अर्ब ७६ करोड

रहेको थियो ।

त्यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति ३१८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।

Read More

हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ- सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिएका छन् । डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यलयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले हुलाकलाई व्यवसायिक कार्ययोजनाकासाथ अगाडि बढाइनुपर्नेमा जोड दिए ।

सञ्चारमन्त्री खरेलले भने- ‘हामीले हुलाकलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन थाल्नुपर्छ, अबको दिनमा राम्रो कार्ययोजना बनाइयो भने पाँच वर्षभित्रमा हुलाकले राज्य र जनतालाई योगदान गर्ने बनाउन सकिन्छ ।’  उनले स्मार्ट हुलाकको कामलाई तीब्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिए ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारको पहल भएको उल्लेख गरिन् । उनले भनिन्- स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ । यो वर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट पनि विनियोजन भइसकेको छ ।’

सचिव अर्यालले हुलाक सेवालाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिदै विस २०१९ को हुलाक ऐनलाई समयसापेक्ष बनाइनुपर्नेमा जोड दिएकी थिइन् ।

हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले नेपालमा स्मार्ट हुलाकको अवधारणा प्रस्तुत गर्दै हुलाक प्रणालीलाई रुपान्तरण गर्न र राजश्व वृद्धि गर्ने उद्देश्यसहित स्मार्ट हुलाकको अवधारण अगाडि ल्याइएको बताइन् । उनले न्यूनतम स्रोत साधनकाबीच निरन्तर सेवा सुधार र सेवाग्राहीमैत्री सेवालाई प्रभावकारी बनाइएको विश्वास व्यक्त गरेकी छन् ।

गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत ढाल बहादुर जि.सी. ले गोश्वारा हुलाक कार्यालयको प्रस्तुतीकरण गर्दै हुलाकको सेवा विस्तार विश्वव्यापबी बनाउने, नीतिगत सुधार र इकमर्शमा गएर हुलाकको योगदान बढाउनेगरी कार्ययोजनासहित अगाडि बढेको जानकारी दिए । सो अवसरमा सञ्चारमन्त्री खरेलले गोश्वारा हुलाक कार्यालयको अवलोकन गर्नुका साथै सेवाग्राहीको समस्या र प्रतिकृया लिएका थिए ।

Read More

चार महिनामा व्यापार घाटा १२ प्रतिशतले बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को चार महिनामा कुल निर्यात ७७.५ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको चार महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२-८३ को चार महिनामा कुल वस्तु निर्यात ७७.५ प्रतिशतले वृद्धि भई ९३ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११३.९ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५६.२ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै आर्थिक वर्ष २०८२-८३ कोचार महिनामा कुल वस्तु आयात १८.७ प्रतिशतले वृद्धि भई ६ खर्ब ९ अर्ब ४५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०.२ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २८.५ प्रतिशत र ४८.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, सुन, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ ।

त्यस्तै आर्थिक वर्ष २०८२-८३ को चार महिनामा कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले वृद्धि भई ५ खर्ब १५ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५४ अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५७ अर्ब २४ करोड बराबरको भएको थियो ।

Read More

प्रदीप ज्ञवालीको अडान, उपाध्यक्ष छोडेर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय सकिएको छ । आयोगले साढे ३ बजेसम्म तोकेको समय सकिएको हो । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय सकिएको जानकारी दिदै कार्यालयको ढोका समेत बन्द गरेको छ ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् । प्यानलमा नपरेका केहि नेताहरुले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् ।  जसमा रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने आनन्दराम पोखरेलले उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।  त्यस्तै लालबाबु पण्डितले सचिवमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै ओली पक्षबाट उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् । ज्ञवाली महासचिवका आकांक्षी रहेका थिए । उनले अन्तिम समयसम्म पनि आफ्नो अडान नछोडदै उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् । ओली पक्षबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ उम्मेदवार बनेका छन् ।  

Read More

चार महिनामा विप्रेषण आप्रवाहमा ३१.४ प्रतिशतले वृद्धि

काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको चार महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि प्रतिवेदनमा आर्थिक वर्ष २०८२- ८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । २०८२ कात्तिक महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १४ अर्ब ३१ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । त्यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो । 

त्यसैगरी समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ४७ हजार ४७८ र ९४ हजार १०५ रहेको थियो । 

Read More

शाओमी नेपालको सेवा विस्तार: हेटौँडा, दमौली र बिर्तामोडमा खुले आधिकारिक सर्भिस सेन्टर

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा गरी तीन नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

मंसिर २६, २७ र २९ गते क्रमशः सञ्चालनमा आएका यी सर्भिस सेन्टरहरू शाओमी प्रयोगकर्तालाई छिटो, भरपर्दो र विश्वासनीय सेवाको पहुँच अझ सुदृढ बनाउने लक्ष्यसहित शुरु गरिएको कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच, फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन÷हेडफोन) लगायतका उपकरणहरूको मर्मत, तथा प्राविधिक सहयोग प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ । सबै केन्द्रमा शाओमीका जेनुइन स्पेयर पाट्र्स र आधिकारिक मर्मत प्रक्रियाहरू अपनाइने भएकाले ग्राहकले गुणस्तरीय, भरपर्दो र दीर्घकालीन सुरक्षित सेवा प्राप्त गर्नेछन् ।

यी तीनै सर्भिस सेन्टरहरू रमेश कर्पअन्तर्गत टेलिडाइरेक्ट प्रा. लि. द्वारा सञ्चालन गरिनेछन् । टेलिडाइरेक्ट नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक बितरक तथा सर्भिस, ग्राहक सहयोग र भरपर्दो सेवा प्रदान गर्दै आएको अनुभवी सेवा प्रदायक कम्पनी पनि हो । सर्भिस सेन्टर उद्घाटनको अवसरमा हेटौँडा, दमौली र बिर्तामोडका ग्राहकहरुलाई उद्घाटन भएको मितिदेखि एक महिनासम्म विशेष सुविधा उपलब्ध गराउने घोषणा गरेको हो ।

साथै उक्त स्थानका ग्राहकहरुले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड तथा वारिन्टीबाहिरका स्पेयर पाट्र्स र मर्मत सेवामा २५% सम्म छुट र वारिन्टीबाहिरका स्पेयर पाट्र्समा सर्भिस शुल्क नलाग्ने सुविधा पनि प्राप्त गर्ने छन् ।

यस अवशरमा शाओमी नेपालका प्रतिनिधिले भने, “हेटौँडा, दमौली र बिर्तामोडमा एकैसाथ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । हामीले लोकप्रिय उपकरणहरूको आधिकारिक र भरपर्दो सेवा उपलब्ध गराउँदा नेपाली उपभोक्ताहरुलाई झनै सहज र विश्वासयोग्य हुनेछ । टेलिडाइरेक्टसँगको सहकार्यले सेवाको गुणस्तर र पहुँच दुवै थप मजबुत हुँदै जानेछ भन्ने विश्वास हामीले लिएका छौँ ।”

यी तीनै सर्भिस सेन्टरहरूमा दक्ष प्राविधिकहरू नियुक्त गरिएको शाओमी नेपालले जनाएको छ । दक्ष प्राविधिकहरूले साधारण समस्या समाधानदेखि जटिल प्राविधिक मर्मसम्मका सेवाहरू कम्पनीका आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । ग्राहकहरूले तत्काल सल्लाह, मर्मत तथा सेवा सुविधाका लागि नजिकैको सर्भिस सेन्टरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

Read More

विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले बढ्यो

काठमाडौं । विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को चार महिनाको देशको आर्थिक तथा वित्तीय प्रतिवेदनमा विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भएर ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको हो ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तमा ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ । त्यस्तै अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई २७ अर्ब २४ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५.८ प्रतिशतले वद्धि भई ३ खर्ब ३० अर्ब ८५ करोड कायम भएको छ ।

२०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

Read More

महाधिवेशनको माहोलले उत्साह जागेको छ, फरक मत व्यक्त हुदैछ- सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेको महासचिवमा उम्मेदवारी दिएपछि सुरेन्द्र पाण्डेले चुनावले माहोल नै परिवर्तन गरिदिएको बताउदै खुला छलफल र फरक मत आत्मविश्वासका साथ व्यक्त भइरहेको टिप्पणी गरेका छन् ।

पाण्डेले महाधिवेशन स्थलको माहोल हेर्दा साँच्चै गर्व लागेको बताउदै उत्साहले एमाले जीवित छ र जागेको देखिएको बताएका छन् । उनले डर होइन विवेकले बोलिरहेको र दबाब होइन विश्वासले निर्णय लिन लागेको बताउदै यो कुनै एक व्यक्तिको पक्ष वा विपक्षको क्षण नभएर पार्टीको सामूहिक भविष्यप्रतिको जिम्मेवारीको क्षण भएको बताएका छन् । 

पाण्डेले हजारौं कार्यकर्ताको स्वविवेकबाट बनेको यही वातावरण नै एमालेको वास्तविक शक्ति भएको र यही लोकतान्त्रिक मूल्य जोगाउनुपर्ने बताएका छन् ।

एमालेको महाधिवेशनमा ईश्वर पोखरेल पक्षबाट महासचिवको उम्मेदवार बनेका पाण्डेको प्रतिष्पर्धा ओली पक्षका वर्तमान महासचिव शंकर पोखरेलसँग हुने भएको छ ।

Read More

माधव नेपालविरुद्धको मुद्दामा विशेष अदालतबाट साक्षी झिकाउन आदेश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी झिकाउन आदेश गरेको छ । 

सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकारी वकिल कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट र प्रतिवादीका साक्षीहरू प्रतिवादीमार्फत नै झिकाइ भौतिक उपस्थिति वा भिडियो कन्फ्रेन्समार्फत बकपत्र गराउन आदेश जारी गरेको छ ।

त्यस्तै इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ मंसिर २५ मा गरेको गरेको निर्णय झिकाउन पनि आदेश गरेको छ । 

२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो । त्यसलगत्तै पतञ्जलीले बनेपा नगरपालिकाअन्तर्गत पर्ने साविकको साँगा,नासिकास्थान र महेन्द्र ज्योति गाविस (चलाल गणेशस्थान) मा ५ सय ९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेकामा पछि मन्त्रिपरिषदबाटै निर्णय गराएर भूमिसम्बन्धी कानुनविपरीत हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरेको थियो । भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिले ठहर गरेको थियो । 

अख्तियारले यस प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।  नेपाल गत असारमा विशेष अदालतले तोकेको ३५ लाख धरौटी रकम तिरेर रिहा भएका थिए ।

Read More