२०८३ बैशाख १३

आज विश्व ध्यान दिवस मनाइदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैछ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।

विश्व ध्यान दिवस २०२५ को लागि, ‘एकमा परिवर्तन भनेको लाखौंमा परिवर्तन हो’ भन्ने नारा तय गरिएको छ ।  व्यक्तिगत रूपान्तरणको लहर प्रभावलाई प्राथमिकता दिदै संयुक्त राष्ट्र संघको ‘भित्रबाट संसारलाई निको पार्ने’ आह्वानलाई स्थिरता दिदै यस बर्षको विश्व ध्यान दिवसको नारा तय गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ । प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जलीलगायतले शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यानको अभ्यास गराउँदै आएका छन् । 

विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्देश्य राख्दछ । यो दिन विशेषगरी तनाव व्यवस्थापन, आत्मचिन्तन, र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान कार्यक्रम, सेमिनार, र कार्यशालाहरू आयोजना गरिन्छ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल देशको पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही तराई भू-भागमा हुस्सु लागेको जानकारी दिएको छ ।

विभागले देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिएको जनाएको छ ।

त्यस्तो आज दिउँसो र राति देशभर आंशिक बदली रहने जनाएको छ ।

Read More

२०८२ पुष ६ गते आइतबार: आजको राशिफल

आज २०८२ पुष ६ गते आइतबार ईसं २०२५ डिसेम्वार २१ नेपाल सम्बत ११४६ पोहेलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण द्वितीया, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, वृद्धि योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५० मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज विश्व ध्यान दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । बढुवा हुने वा थप जिम्मेवारी प्राप्त हुने राम्रो दिन छ, आज आफन्त वा नातागोताको काममा समेत सघाउनुपर्ने परिस्थिति बन्नसक्छ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मौखिक अभिव्यक्तिका माध्यमबाट नयाँ अवसर मिल्नसक्छ, हातमा अचानक नसोचेको धन प्राप्ति हुनेछ । त्यस्तै कारोबार विस्तारका लागि धनलगानी गर्ने परिस्थिति देखिन्छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पर्द्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । वैराग्य र निराशाका भाव मँडारिन सक्छन्, तर आज कुनै फाइदा हुने क्षेत्रमा आकर्षण छ वा स्थान परिवर्तन गर्ने मुडमा हुनुहुन्छ भने काम थाल्नुहोस्, लाभ हुनेछ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कामधन्दामा सहजताको अनुभूति हुनेछ, घरपरिवारमा पनि समझदारी रहने छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके÷ताकेका काम पूरा गर्न सजिलो हुनेछ । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूर्ण काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्न एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिलाउनु ठीक हुन्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउनसक्छ, अवगाल र अपजस पाउने दिन भएकाले हरेक काममा सिनियरको मद्दत लिएको जाती हुन्छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । प्रेमसम्बन्ध र दाम्पत्य सुखका लागि महत्त्वपूर्ण दिन छ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ । घुमघाम र मस्तीमा खर्च बढ्नेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । झैझगडा वा विवादबाट टाढा बसेको जाति हुन्छ, अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । छोराछोरीको क्रियाकलाप र उन्नति÷प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । मिहिनेत गर्दा लक्ष्यको नजिकै पुग्न सकिने छ, तर मनमा छटपटी र कौतूहलता व्याप्त हुनेछ ।

Read More