२०८३ बैशाख १३

जाँचबुझ आयोगमा बयान दिन जान्छु- रमेश लेखक

काठमाडौँ । पुर्व गृहमन्त्री रमेश लेखकले आफु भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

विहिबार काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रतिक्रिया दिदै आफु सोमबार बयान दिन जाने बताएका हुन् । लेखकले आयोगले आफुलाई शुक्रबारका लागि बोलाएको तर आफुले सोमबार आउने जानकारी गराएको बताएका छन्  ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गत मंगलबार पत्र लेख्दै बयानका बोलाएको थियो ।  

Read More

बंगलादेश प्रिमियर लिगको संकट, प्रतियोगिताको एकदिन अघि फ्रेन्चाइजी पछि हट्यो

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बीपीएल) शुरु हुनु अगाडी विवादमा फसेको छ । प्रतियोगिताको १२औं संस्करण सुरु हुनुभन्दा एक दिन अगाडि, फ्रेन्चाइज मालिकले फिर्ता लिने निर्णय गरेपछि बोर्डले नयाँ फ्रेन्चाइजी टोली चट्टोग्राम रोयल्सलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

ट्राइंगल सर्भिसेज लिमिटेडले बीसीबीबाट फ्रान्चाइज किनेको थियो र गत महिना लिलामीमा पनि भाग लिएको थियो । यद्यपि, उनीहरूले बुधबार बोर्डलाई आफुहरु पछि हट्ने जानकारी गराएको पत्र लेखेका थिए, जुन प्रायोजकको टोलीमा चासोको कमीको कारणले भएको बताइएको छ ।

बोर्डका अध्यक्ष इफ्तेखार रहमानले फ्रेन्चाइजीलाई नियन्त्रणमा लिएको स्वीकार गरेका छन् । क्रिकइन्फोसँग कुरा गर्दै उनले यो एक अप्रत्याशित अवस्था भएको फ्रान्चाइजले पत्रमा प्रायोजकहरू फेला पार्न नसकेकोले फिर्ता भएको जानकारी दिएका छन् ।

२०१२ मा प्रतियोगिता सुरु भएपछिका सुरुवाती संस्करणहरूमा बंगलादेश प्रिमियर लिगमा खेलाडीलाई भुक्तानीका धेरै समस्याहरू आएका थिए । २०१६ देखि २०१९ सम्मको अवधिमा अवस्था राम्रो भएको बताइएको थियो । गत सिजनमा यो मुद्दाले फेरि उठेको थियो । सबैभन्दा खराब तब भयो जब दरबार राजशाहीका खेलाडीहरूले दैनिक भत्ता र होटल बिलहरू सहित विभिन्न श्रेणीका भुक्तानीहरूमा ढिलाइको विरोध गर्दै प्रशिक्षण सत्र र खेल बहिष्कार गरेका थिए । रोयल्स बीपीएलमा चार नयाँ फ्रान्चाइजीहरू मध्ये एक हो ।

बंगलादेश प्रिमियर लिग भोली देखि शुरु हुदैछ । यस सिजनमा नेपालका सन्दीप लामिछाने पनि राजशाही वारियर्सबाट खेलिरहेका छन् ।

Read More

भारत र अमेरिकाबीच व्यापार सम्झौताको वार्ता जारी

काठमाडौँ । भारत र अमेरिकाबीचको व्यापार सम्झौता अझै निष्कर्षमा पुग्न सकेको छैन । भारतले व्यापार वार्तामा अमेरिकालाई आफ्नो अन्तिम प्रस्ताव प्रस्तुत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतले लगाइएको समग्र ५० प्रतिशत कर १५ प्रतिशतमा घटाइन र रूसी कच्चा तेल खरिदमा लगाइएको थप २५ प्रतिशत जरिवाना पूर्ण रूपमा हटाउन प्रस्ताव गरेको छ । दुई देशबीच जारी यी वार्ताहरूले नयाँ वर्षमा ठोस निर्णय लिने अपेक्षा गरिएको छ । दुई देशबीच व्यापक द्विपक्षीय व्यापार सम्झौतामा वार्ता भइरहेको जारी रहेको छ र चाँडै नै सम्झौता हुन सक्ने बताइएको छ ।

यस हप्ता, भारत र अमेरिकाका व्यापार टोलीहरू दिल्लीमा वार्ता गरेका थिए । अहिलेको वार्ता दुई मुद्दाहरूमा केन्द्रित छन्, जसमा पहिलो व्यापक र स्थायी व्यापार सम्झौता र अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत कर हटाउन वा घटाउनको लागि एक रूपरेखा सम्झौता ।

अमेरिकाले भारतमाथि कुल ५० प्रतिशत कर लगाएको छ, जसमध्ये २५ प्रतिशतलाई ‘पारस्परिक कर’ भनिएको छ भने २५ प्रतिशत रूसी तेल खरिद गरे बापत लगाइएको छ । अमेरिकाले यसले रूसलाई युक्रेन युद्ध जारी राख्न मद्दत गरिरहेको बताएको छ । भारतले यो जरिवाना अनुचित भएको र तुरुन्तै हटाउनुपर्ने बताएको छ ।

व्यापार सम्झौतामा छलफल भइरहेका बेला भारतको रूसी तेल आयातमा उल्लेखनीय गिरावट आएकोले सहमति हुने अनुमान गरिएको छ । दुई प्रमुख रूसी तेल कम्पनीहरू, रोसनेफ्ट र लुकोइलमाथि अमेरिकी प्रतिबन्धहरू नोभेम्बर २१ मा लागू भएका छन् र त्यसपछि रूसबाट भारतको तेल आयात घट्न थालेको छ ।

भारतको रूसी तेल आयात, जुन नोभेम्बरमा प्रति दिन लगभग १.७७ मिलियन ब्यारेल थियो, डिसेम्बरमा प्रति दिन लगभग १२ लाख ब्यारेलमा झरेको छ ।

यो संख्या भविष्यमा प्रति दिन १० लाख ब्यारेलभन्दा कम हुन सक्ने बताइएको छ । युक्रेन युद्ध पछि, भारत रूसको सबैभन्दा ठूलो तेल खरिदकर्ता बन्यो, जुन स्थिति ट्रम्प प्रशासनले बारम्बार प्रश्न उठाउँदै आएको छ ।

अमेरिकी अधिकारीहरूले भारतले रूसबाट तेल खरिद गरेर युक्रेनमाथिको आक्रमणलाई अप्रत्यक्ष रूपमा आर्थिक सहयोग गरिरहेको आरोप लगाउदै आएका छन् ।

Read More

एआई स्टार्टअप ग्रोकलाई २० बिलियन डलरमा एनभिडियाको अधिग्रहण

काठमाडौँ । विश्वको सबैभन्दा मूल्यवान चिप कम्पनी एनभिडियाले एआई स्टार्टअप ग्रोक (Groq) को सम्पत्ति लगभग २० बिलियन नगदमा प्राप्त गर्न सहमत भएको छ ।

एनभिडियाको यो अहिलेसम्मको सबैभन्दा ठूलो अधिग्रहण भएको बताइएको छ । पहिले, मेलानबक्सले २०१९ मा सबैभन्दा ठूलो सम्झौता गरेको थियो, जसको मूल्य लगभग ७ बिलियन डलर थियो । ग्रोक एआई अनुमान चिप्समा विशेषज्ञता रहेको छ । रिपोर्टका अनुसार ग्रोकको एलपीयू (भाषा प्रशोधन इकाई) चिपहरू १० गुणा छिटो र १० गुणा कम शक्तिमा ठूला भाषा मोडेलहरू (एलएलएमएस) चलाउन सक्षम रहेका छन् ।

एआई अनुमानले प्रशिक्षित एआई मोडेलहरूबाट वास्तविक-समय उत्तरहरू निकाल्ने कुरालाई जनाउँछ, जुन च्याटबटहरू, खोज इन्जिनहरू र एआई सहायकहरूको लागि महत्त्वपूर्ण मानिन्छ । रिपोर्टहरूले यो सम्झौता गैर-विशेष लाइसेन्सिङ मोडेलमा आधारित रहेको बताएका छन् । एनभिडियाले ग्रोकको अनुमान प्रविधिलाई लाइसेन्स दिनेछ । ग्रोकका संस्थापक, जोनाथन रस, र वरिष्ठ इन्जिनियरहरू एनभिडियामा सामेल हुनेछन्, तर ग्रोकक्लाउड व्यवसाय सम्झौताको हिस्सा नभएको बताइएको छ । किनकि ग्रोकले एक स्वतन्त्र कम्पनीको रूपमा काम गर्न जारी राख्नेछ ।

एनभिडिया पहिले नै एआई मोडेल तालिममा अग्रणी छ, तर यसले एएमडी, ग्रोक र सेरेब्रास जस्ता कम्पनीहरूबाट अनुमान क्षेत्रमा कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । यस सम्झौता मार्फत, एनभिडियाले आफ्नो कम-विलम्बता र वास्तविक-समय एआई प्रशोधन क्षमताहरूलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ । एनभिडियाका सीईओ जेन्सेन ह्वाङले कर्मचारीहरूलाई पठाएको इमेलमा ग्रोकको प्रविधिलाई एनभिडियाको एआई कारखाना वास्तुकलामा एकीकृत गरिने बताएका छन् ।

रिपोर्टहरू अनुसार, ग्रोकले सेप्टेम्बर २०२५ मा ७५० मिलियन डलर कोष जुटाएको थियो । त्यतिबेला कम्पनीको मूल्याङ्कन ६.९ बिलियन डलर थियो, जुन एक वर्ष अघि मात्र २.८ बिलियन डलर थियो । यसले एआई इन्फरन्स चिप्सको माग कति छिटो बढिरहेको छ भनेर देखाउँछ ।

एनभिडिया र ग्रोकले आधिकारिक रूपमा २० बिलियन डलरको आंकडाको पुष्टि नगरेको सिएनबिसीको रिपोर्टमा उल्लेख छ र सम्झौता एन्टिट्रस्ट नियामकहरूबाट छानबिन हुन सक्ने बताइएको छ । यो सम्झौतालाई बढ्दो प्रवृत्तिको अंशको रूपमा हेरिएको छ जहाँ ठूला प्राविधिक कम्पनीहरूले सम्पूर्ण कम्पनीहरू किन्नुको सट्टा प्रविधि र प्रतिभामा ध्यान केन्द्रित गरिरहेका छन् । हालसालैका उदाहरणहरूमा माइक्रोसफ्ट र मेटा बीचको सम्झौताहरू समावेश छन् ।

Read More

संसद पुनःस्थापना प्राथमिकता हो, शान्तिपूर्ण वातावरणमा हुने चुनावको सामना गर्न एमाले तयार छ- ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन् । 

नेकपा एमालेको हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरु चुनावविरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने बताए ।

उनले भने- ‘अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन । वातावरण बनाउने सरकारले हो । हामीले वातावरण बिगारेका छैनौँ । वातावरण बन्छ भने हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौँ । हामीले मान्छे काट्छौँ, मार्छौ भनेका छैनौँ । त्यत्रो असुरक्षा हुँदा पनि हाम्रो सुरक्षा खोसिएको छ । कहिले जेनजीका नाममा मान्छे उचाले हमलाको प्रयास गरिएको छ । देशलाई पछाडि फर्काउने पक्षहरुबाट सचेत भएर युवाहरु लाग्नुपर्छ । राष्ट्रिय एकतालाई कायम गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्नु हाम्रो काम हो । यी अभिभाराहरु हाम्रो काँधमा रहेका छन् । युवाहरु गलत सङ्गत सोच तथा व्यक्तिगत स्वार्थीका पछाडि लाग्नुहुन्न ।’

राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै बोलाइएको बैठकमा सहभागी भएको र त्यहाँ आफूले आफूहरु चुनावको विरोधमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने स्पष्ट गरेको बताउँदै उमले प्रतिनिधिसभाको पुनःस्थापना छिटो हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिएको बताए ।

उनले गत भदौ २३ र २४ गतेको घटनामा स्थलमा खटिएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउन खोजिनु कानुन सम्मत नभएको स्पष्ट गरे । जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने- ‘स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको भएकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानुन विपरीत छ ।’

Read More

बालेन र लामिछानेबीच आजपनि भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच आज पनि भेटवार्ता भएको छ ।

आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा बालेन र लामिछानेबीच वान टू वान भेटवार्ता जारी रहेको हो ।

यसअघि सोमबार साँझ रास्वपाका निवर्तमान सांसद असिम शाहको निवासमा भेटेका बालेन र लामिछानेले विकल्पिक शक्ति निर्माण गर्ने विषयमा छलफल गरिरहेका छन् ।

सोमबारको भेटपछि बालेन र लामिछानेबीच केहि असमझदारी बढेको विषय बाहिर आएका बेला यो भेट भइरहेको छ । बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरेको भन्ने मिडियामा आएपछि लामिछानेले खण्डन गर्दै त्यहाँसम्म छलफल नपुगेको बताएका थिए ।

बालेनले राजनीतिक सक्रियता बढाएर विभिन्न दलका नेता र अभियन्ताहरुसँग भेटघाट गरिरहेका छन् ।

Read More

बालेन सक्रिय भएपछि हर्क साम्पाङको कटाक्ष

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाहले राजनीतिमा आउन सक्रियता बढाएपछि कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले जेनजीलाई उक्साएर मर्न लगाएर जेनजीको अन्त्यष्टिमा समेत ननिस्किएर लुकेर गेम खेल्ने गेमर पनि चुनावमा आउने भन्दै कटाक्ष गरेका हुन् ।

जेनजी आन्दोलनअघि नजिकको सम्बन्ध भएका बालेन र साम्पाङ जेनजी आन्दोलनपछि आफुलाई प्रधानमन्त्री बन्न सहयोग नगरेको भन्दै साम्पाङले बालेनलाई लगातार सामाजिक सञ्जालमा आक्रमण गर्दै आएका छन् ।

बालेनले फागुन २१ को निर्वाचनको समानुपातिक सुची बुझाउने पुष १३ र १४ को मिति नजिकिदै गर्दै राजनीतिक सक्रियता बढाएपछि राजनीति वृत तरंगित बनेको छ ।

 बालेनले हिजो बुधबार र आज राजनीतिक दलका नेताहरु, अभियन्ता र जेनजी आन्दोलनका नेताहरुसँग छलफल गरेर राजनीतिमा सक्रिय हुने तयारी गरिरहेका छन् ।

Read More

१७ बर्षपछि बंगलादेश फर्किए खालिदा जियाका छोरा तारिक

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन् । उनको पार्टी बीएनपीका एक लाख कार्यकर्ता ढाका विमानस्थल नजिकै उनको स्वागत गर्न भेला भएका छन् ।

रहमान २००८ मा पक्राउबाट बच्न लन्डन भागेका थिए । त्यतिबेला हसिना सरकारको समयमा उनीविरुद्ध धेरै भ्रष्टाचारका मुद्दाहरू लगाइएको थियो ।

बंगलादेशमा अर्को वर्ष फेब्रुअरी १२ मा आम चुनाव हुने तय भएको छ । शेख हसिनाको पार्टी, अवामी लिगलाई प्रतिबन्ध लगाइएकोले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) विजयको प्रमुख दावेदार मानिएको छ । बीएनपीकी अध्यक्ष खालिदा जिया ८० वर्षकी र सिकिस्त बिरामी रहेकाले रहमानलाई बंगलादेशको चुनावपछिको प्रधानमन्त्रीको लागि प्रमुख दावेदार मानिएको छ ।

बंगलादेशमा, तारिकलाई उनका परिवारका सदस्यले स्वागत गरेका थिए ।

विमानस्थलबाट निस्केपछि, तारिक रहमानले पार्टीका नेता र कार्यकर्ताहरूलाई धन्यवाद दिन ३०० फिट पैदल यात्रा गरेका थिए र त्यसपछि एभरकेयर अस्पतालमा उपचाररत आफ्नी आमा खालिदा जियालाई भेट्ने जाने बताइएको छ ।

बंगलादेश पुगेपछि तारिकले ६ हजार ३१४ दिन पछि बंगलादेश फर्किएको बताउदै अन्ततः बंगलादेशी माटोमा पुगेको बताएका छन् ।

Read More

बालेनले बढाए राजनीतिक सक्रियता

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् ।

आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा विभिन्न राजनीतिक दलका नेताहरु, सामाजिक अभियन्ता र जेनजी नेताहरुसँग परामर्श गर्दै आफ्नो राजनीतिक सक्रियता बढाएका हुन् ।

बालेनले यसअघि सोमबार रास्वपा सभापति रवि लामिछानेसँग गरेको भेटपछि आफ्नो सक्रियता बढाएका हुन् । लामिछानेको भेटमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने विषयमा छलफल भएको दाबी गरिएपनि लामिछानेले आफुहरुको छलफल त्यहाँसम्म नपुगेको बताएका थिए । स्रोतका अनुसार लामिछानेले बालेनलाई स्पष्ट रुपमा कुनै किसिम प्रस्ताव नगरेको बताइएको छ । लामिछानेबाट स्पष्ट प्रस्ताव नपाएपछि समयको चापलाई मध्यनजर गर्दै बालेन आफ्नै किसिमले अगाडी बढ्न लागेको बुझिएको छ । यस क्रममा उनले बुधबार पनि काँग्रेस नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाहीसहित दर्जनभर स्वतन्त्र व्यक्ति र नेताहरुसँग छलफल गरेको पाइएको छ ।

यसैबीच आज पनि बालेनले उर्जा मन्त्री कुलमान घिसिङ, काँग्रेस नेता सुनिल शर्मा, जेनजी अभियन्ता सुदन गुरुङ, सागर ढकालसहितसँग छलफल गर्दैछन् भने रास्वपा सभापति लामिछानेसँग आज फेरी छलफल हुने बताइएको छ ।

बालेनले रास्वपाले ठोस र स्पष्ट प्रस्ताव नदिएमा आफ्नै किसिमले वैकल्पिक शक्ति निर्माण गरेर अगाडी बढ्ने तयारी गरेका छन् ।

Read More

रुसको याकुतियाको तापक्रम -५६ डिग्री सेल्सियस

काठमाडौँ । रुसको याकुतियामा तापक्रम -५६ डिग्री सेल्सियसमा झरेको छ, जुन पृथ्वीकै सबैभन्दा कम मानिन्छ ।

याकुतियाको टिक्सी गाउँमा विगत तीन दिनदेखि तीव्र हिमपात भइरहेको छ । जताततै हिउँ रहेको र तिब्र गतिको हावाले उडाएको हिउँले मानिसहरूलाई बाहिर निस्कन अत्यन्तै गाह्रो बनाएको रिपोर्टमा उल्लेख छ ।

अवस्थालाई ध्यानमा राख्दै, प्रशासनले सबै विद्यालयहरूमा बिदा घोषणा गरेको छ र बालबालिकाहरूको सुरक्षा सुनिश्चित गर्न किन्डरगार्टेनहरू बन्द गरेको छ ।

निरन्तर हिमपातका कारण धेरै घरहरूको मुख्य ढोकासम्म हिउँ जमेको छ । केही ठाउँहरूमा, हिउँ यति धेरै छ कि मानिसहरू आफ्नो घरबाट बाहिर निस्कन सक्दैनन्। धेरै परिवारहरूलाई आवश्यक सामानहरू प्राप्त गर्न पनि कठिनाइ भइरहेको छ ।

मौसम विभागले आगामी दिनहरूमा चिसो बढ्न सक्ने चेतावनी दिएको छ, तापक्रम -६० डिग्री सेल्सियसमा झर्नेछ । मानिसहरूलाई आवश्यक कामको लागि मात्र बाहिर निस्कन सल्लाह दिइएको छ ।

स्थानीय प्रशासनले परिस्थितिको अनुगमन गरिरहेको छ र आवश्यक परेमा सहयोग प्रदान गर्ने तयारी गरिरहेको छ । मानिसहरूलाई अफवाहहरूलाई बेवास्ता गर्न र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

Read More