हेटौडा, १० वैशाख। बागमती प्रदेशमा लक्ष्य अनुसार राजस्व सङ्कलन हुन सकेन ।
घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेको हो ।
घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१÷८२ मा २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन हुने अनुमान गरिएकामा नौ महिनामा १६ अर्ब ७४ करोड २० लाख ८६ हजारमात्र सङ्कलन भएको छ ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव २०८१÷८२ मा घरजग्गा रजिस्ट्रेसनबाट सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा तीन अर्ब ३९ करोड ७१ लाख ७० हजार सङ्कलन भएको छ ।
त्यसैगरी, सवारीसाधन जाँचपास, ‘रुट परमिट’, सवारीचालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकरबापत आव २०८१÷८२ मा सात अर्ब ५० करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण भएकामा नौ महिनामा चार अर्ब ९३ करोड ५४ लाख ८९ हजार मात्र सङ्कलन भएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) बापत आठ अर्ब ६१ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएकामा पाँच अर्ब ६४ करोड ८१ लाख सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत तीन अर्ब ६९ करोड ३६ लाख प्राप्त हुने अनुमान गरिएकामा एक अर्ब ९२ करोड ४१ लाख २१ हजारमात्र असुली भएको छ ।




