२०८३ बैशाख १३

रहेनन डंगोल, महानगरले दियो आइतबार शोक बिदा

काठमाडौँ, १३ वैशाख । काठमाडौं महानगरपालिकाले आइतबार तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा शोक बिदा दिएको छ । डंगोलको निधनको खबरसँगै महानगरमा शोकको वातावरण छाएको छ ।

महानगरका प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेले सूचना जारी गर्दै अत्यावश्यक सेवा बाहेक अन्य सबै कार्यालयहरूमा बिदा दिइएको जानकारी गराएका छन्। सहरको विकास, सहरी व्यवस्थापन र सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान दिएका डंगोलप्रति सम्मानस्वरूप यो बिदा दिइएको महानगरले जनाएको छ।

८२ वर्षीय डंगोलको निधन शुक्रबार, वैशाख १२ गते सिनामंगलस्थित केएमसी अस्पतालमा भएको हो । लामो समयदेखि पिसाव थैलीको क्यान्सरसँग जुधिरहेका डंगोलको मिर्गौलामा समेत समस्या देखिएपछि डायलाइसिस गराइँदै आएको थियो ।

वि.सं. २००४ साल माघ २९ गते जन्मिएका डंगोलले २०४३ सालको नगर पञ्चायत निर्वाचनमा प्रजातन्त्रवादी तर्फबाट उम्मेदवारी दिएर विजय हासिल गरेका थिए।

उनको निधनले काठमाडौं मात्र होइन, सम्पूर्ण सहरी विकासप्रति समर्पित समुदायमा अपूरणीय क्षति भएको महसुस गरिएको छ । महानगरपालिकाले उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

डंगोलको योगदान सधैं सम्झनामा रहिरहनेछ।